+
+
Shares

कैलाली घटना पीडितको प्रश्न- गाडीले वन अतिक्रमण गरेको देख्नु भएको छ ?

गाडीले वनजंगल कसरी अतिक्रमण गर्छ ? भन्दै उनले राज्यलाई प्रश्न गरेका छन् । ‘मलाई यो बताइदिनु, गाडीले कहाँकहाँ वनजंगल अतिक्रमण गरेको देख्नुभएको छ ?, कुन कानुनमा लेखेको छ गाडी भिरबाट खसाल्नु भनेर ?

नारायण अधिकारी नारायण अधिकारी
२०८३ असार १ गते १९:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलालीको गोदावरीमा वनका कर्मचारीले स्थानीयको टेम्पो भिरबाट खसालेको भिडियो सार्वजनिक भएपछि उक्त कार्यको चौतर्फी विरोध भइरहेको छ ।
  • टेम्पो भिरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले वन कार्यालयका १२ जना कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
  • सुदूरपश्चिम प्रदेश सरकारले घटनाको छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

१ असार, काठमाडौं । सोमबार सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भयो । उक्त भाइरल भिडियोमा केही व्यक्तिले टेम्पोलाई धकेल्दै भिरबाट खसालेको देखिन्छ ।

टेम्पो भिरबाट खसालेपछि ठूलै बहादुरी गरे जस्तो गरी कराएको समेत भिडियोमा सुनिन्छ । यसरी टेम्पो भिरबाट खसाल्नेमा वन रक्षकको पोशाक लगाएका व्यक्ति र वनका अन्य कर्मचारीहरू हुन् ।

यो भिडियो कैलालीको गोदावरी नगरपालिका–४ स्थित भीमदत्त राजमार्गको बासपानी भन्ने ठाउँको हो । घटना २९ जेठको भए पनि भिडियो भने हिजो आइतबार मात्रै सार्वजनिक भएको थियो । भिडियो सार्वजनिक भएपछि अमानवीय काम भएको भन्दै सर्वत्र टीकाटिप्पणी भइरहेको छ ।

गोदावरी सामुदायिक वनको सडक किनारमा उक्त टेम्पो रहेको र गाईमारे चुरे वन क्षेत्रको अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट खसालिएको बताइएको छ । यो टेम्पो धनी स्थानीय धनादेवी धामी हुन् ।

धामीको परिवारमा अहिले श्रीमान्, तीन छोरा, दुई बुहारी र पाँच नातिनी छन् । तीनै छोरा मजदुरीको क्रममा भारतमा छन् भने बाँकी परिवार कैलालीमा बस्दै आएको छ ।

धनादेवीको परिवारको गुजारा चलाउने स्रोत नै टेम्पो रहेको बताइएको छ । उनका श्रीमान् टेम्पोमा राखेर सामान बेच्दै आएका थिए । त्यही टेम्पो २९ जेठमा वनका कर्मचारीले भिरबाट खसालेपछि उनीहरूको गुजारा चलाउने स्रोत नै बन्द भएको छ ।

घटनाबारे अनलाइनखबरले धनादेवीसँग सम्पर्क गरेको छ । सम्पर्क गर्दा धनादेवीले आफू यही विषयमा छलफलका लागि नगरपालिकामा व्यस्त रहेको बताइन् । र, भाइ नाता पर्ने दीपेश ऐरीलाई मोबाइल दिइन् । हामीले ऐरीसँग यस विषयमा कुराकानी गरेका छौं ।

ऐरीले आफू चालक रहेको बताए । घटनाका बेला दिदीले सम्पर्क गरेर टेम्पो घर लगिदिन भनेको तर त्यतिबेला आफू टाढा रहेकोले सम्भव नभएको बताए । घर आउँदा भने टेम्पो भिरबाट खसालिसकेको उनको भनाइ छ ।

‘वनले टेम्पो हटाउन भनेपछि दिदीले मलाई फोन गर्नु भएको थियो । म बाहिर थिएँ । आउँदा टेम्पो भिरबाट खसालिसकेको रहेछ,’ ऐरीले भने ।

गाडीले वनजंगल कसरी अतिक्रमण गर्छ ? भन्दै उनले राज्यलाई प्रश्न गरेका छन् । ‘मलाई यो बताइदिनु, गाडीले कहाँकहाँ वनजंगल अतिक्रमण गरेको देख्नुभएको छ ?,’ उनले भने, ‘कुन कानुनमा लेखेको छ गाडी भिरबाट खसाल्नु भनेर ?’

राज्यलाई कर तिरेको, ब्लुकसमेत भएको, अर्काको निजी सम्पत्ति तोडफोड गर्ने, फाल्नेलाई कडा कारबाही हुनुपर्ने धनादेवीको माग छ । वनका कर्मचारीले उक्त टेम्पो टायर नभएको पुरानो, फलामको अस्थिपञ्जर मात्र भएको, गुड्न नस्क्ने अवस्थाको रहेको दाबी गरेका थिए । तर टेम्पो धनी भने त्यो कुरा मान्न तयार छैनन् । टेम्पो उनीहरूले भने जस्तो नरहेको धनादेवी पक्षको दाबी छ ।

टेम्पो भिरबाट खसालेपछि गुजारा चलाउनसमेत गाह्रो भएको ऐरीले बताए । अब पुलमुनि गएर सुत्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । उनले आफूसमेत पीडित रहेको दाबी गरे । आफ्नो गरिखाने टहरासमेत वनले भत्काएको दाबी उनको छ ।

यही टेम्पोमा राखेर चाउचाउ, बिस्कुट, पानी बेचेर धनादेवीको परिवारको गुजारा चल्दै आएको थियो । अहिले यही विषयमा छलफल गर्न नगरपालिकमा रहेको उनले बताइन् । यो विषयमा वनका कर्मचारीहरूसँग हिजो आइतबार पनि कुराकानी भएको बताइएको छ । स्रोतका अनुसार वनका कर्मचारीले टेम्पो भिरबाट निकाल्दिने र २५ हजार रुपैयाँ दिने बताएका थिए । त्यसपछि कतै उजुरी नगरी मिलापत्र गर्नुपर्ने प्रस्ताव उनीहरूको थियो । तर उक्त प्रस्ताव धनादेवीको परिवारले मानेन ।

तीन भाइ छोराले भारतमा मजदुरी गरेर कमाएको पैसाले धनादेवीले टेम्पो खरिद गरेको बताइन् । कहाँबाट कसरी हुन्छ आफूले न्याय पाउनुपर्ने उनको भनाइ छ ।

१२ जना प्रहरी हिरासतमै

टेम्पो भिरबाट खलासेको घटनामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई आइतबार नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा सूचना अधिकारी योगेन्द्र तिम्सिनाले बताए ।

उनका अनुसार अहिले पनि उनीहरू प्रहरी हिरासतमै छन् । यद्यपि, म्याद थप भने भएको छैन । ‘उहाँहरू हाम्रै हिरासतमा हुनुहुन्छ । हामी अनुसन्धान गर्दैछौं,’ उनले भने ।

अहिलेसम्म टेम्पो पीडित पक्षबाट जाहेरी नआएकाले म्याद थप गर्ने वा नगर्ने यकिन हुन नसकेको उनले बताए । उजुरी आएको अवस्थामा म्याद लिएर अनुसन्धान गर्ने प्रहरीले बताएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा पनि वनका कर्मचारीको भनाइ बाझिएको छ । वनका कर्मचारीले टेम्पो थोत्रो, कामै नलाग्ने, फलामको अस्थिपञ्जर मात्र रहेको बताएका थिए । तर प्रहरीले उनीहरूले भने जस्तो थोत्रो नरहेको बताएको छ ।

अमानवीय काम

यस घटनासँग सम्बन्धित १२ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । यस बारेमा जानकारी गराउँदै प्रहरीले सामाजिक सञ्जालमा पोस्टसमेत गरेको थियो । उक्त पोस्ट आफ्नो स्टोरीमा राख्दै गृहमन्त्री सुधन गुरुङले पनि घटना अमानवीय रहेको बताएका छन् ।

‘अमानवीय काम गर्ने १२ जना सरकारी कर्मचारी पक्राउ छन्,’ गृहमन्त्री गुरुङले उल्लेख गरेका छन् । गृहमन्त्री मात्रै होइन, सर्वसाधारणले पनि यस घटनालाई अमानवीय भनेका छन् ।

संवैधानिक कानुनविद् डा. भीमार्जुन आचार्यले राज्यको बर्बरता भन्दै खेद प्रकट गरेका छन् । ‘के हाम्रो समाज, हामी, हाम्रा शासक र हाम्रा राष्ट्रसेवक यो हदसम्म क्रुर छ र छौं ? सत्ता र संसद्मा बसेकाहरूको टेम्प्रामेन्टको असर तलसम्म पर्ने गर्छ । जसको परिणाम एकपछि अर्को देखिँदैछ । गरिखाने र हुँदा खानेमाथिको राज्य बर्बरता खेदजनक छ । यस्तो बर्बरता बन्द गरियोस्,’ आर्चायले भनेका छन् ।

के हो घटना ?

गोदावरी नगरपालिका–४ का वडाध्यक्ष हेमप्रकाश मल्लका अनुसार यो घटना भएको ठाउँ जंगल भएकाले शीतल मानिन्छ । जहाँ गाडी राख्ने, चिया–खाजा, पानी खाने गरिन्छ । गोदावरी नगरपालिकाको भू–भागमध्ये करिब ४० प्रतिशत भू–भाग ४ नम्बर वडामा पर्छ ।

अहिलेको यो घटना यही ४ नम्बर वडाको हो । जंगलमा बस रोक्ने, शौचसमेत गराउने गरिएकाले स्थानीयले भने यही मौकामा केही सानोतिनो व्यापार गर्न सकिने भन्दै विगतदेखि नै खुद्रे व्यापार गर्दै आएको उनी बताउँछन् ।

‘छाप्रो बनाउनेदेखि ठेलामा सामान लगेर बेच्ने गरिन्थ्यो । स्थानीय बिहान सामान लिएर जाने र साँझ परेपछि आफ्नो घर फर्कने गर्थे,’ वडाध्यक्ष भन्छन् । धनादेवीको परिवार भने पछिल्लो समय टेम्पोमा सामान लगेर बेच्ने गर्थ्यो ।

स्थानीयले खुद्रे व्यापार गरेको यो भाग भने वन क्षेत्र हो । स्थानीयले खुद्रे व्यापारका लागि प्रयोग गरेको सडक किनाराको यही जमिन अतिक्रमण भयो भन्दै वन कार्यालयले हटाउने अनि फेरि छाप्रो बनाएर व्यापार गर्ने प्रक्रिया चलिरहन्थ्यो ।

२९ जेठमा यस ठाउँका छाप्रा हटाउने क्रममा टेम्पो भिरबाट खसालियो । तर अतिक्रमण छाप्रा हटाउनेबारे भने आफूलाई कुनै जानकारी नभएको वडाध्यक्षको भनाइ छ ।

यता, डिभिजन वन कार्यालय कैलालीले भने आइतबार नै एक विज्ञप्ति निकाल्दै यो विषयको खण्डन गरेको छ । ५ महिना अघिदेखि छाप्राहरू खडा गरिएको दाबी वनको छ ।

‘टेम्पो गुड्ने वा चालु अवस्थामा रहेको सवारी होइन । इन्जिन पूर्ण रूपमा बिग्रिएको, धकेलेर सार्नसमेत गाह्रो हुने फलामे अस्थिपञ्जर थियो । टेम्पो हटाउन भन्दा नहटाई जे गरे गर्नुस् भन्दै अटेरी गरेर गालीगलोजमा उत्रिए । त्यसपछि बल प्रयोग गरी हटाउन खोज्दा अनियन्त्रित भई दुर्घटनावश भिरबाट खस्न पुगेको हो,’ विज्ञप्तिमा दाबी गरिएको छ ।

तर, सार्वजनिक भिडियोमा भने वन कार्यालयले भने जस्तो थोत्रो टेम्पो पनि देखिँदैन भने हटाउन खोज्दा दुर्घटनावश नभई जानी–जानी नै भिरबाट खसालेको देखिन्छ ।

यो घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले छानबिन समिति गठन गरिएको बताएको छ ।

समितिमा धनगढीका प्रदेश वन निर्देशक हेमराज बिष्ट, सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन अधिकृत जनक पाध्या, यातायात कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी र मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा छन् ।

समितिलाई ७ दिनभित्र छानबिन टुंग्याएर प्रतिवेदन पेस गर्न भनिएको छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?