+
+
Shares

बौरिँदै छ सिंहदरबार वैद्यखाना

राजनीतिक हस्तक्षेप, नेतृत्वको अस्थिरता, व्यक्तिगत स्वार्थ र व्यवस्थापकीय कमजोरीले सिंहदरबार वैद्यखानालाई कमजोर बनायो । उत्पादन घट्यो, बजार खुम्चियो । पछिल्ला दिनमा अस्तित्व जोगाउन संघर्ष गरिरहेको यो संस्था अहिले आफ्नै खुट्टामा उभिन प्रयासरत छ ।

पुष्पराज चौलागाईं शंकर गिरी पुष्पराज चौलागाईं, शंकर गिरी
२०८३ असार ३ गते २१:२६

३ असार, काठमाडौं । देशकै पुरानो आयुर्वेद औषधि उत्पादक संस्था सिंहदरबार वैद्यखाना वर्षअघिसम्म अस्तित्वको लडाइँ लड्दै थियो । मूल गेटमा ताल्चा झुन्डिएको थियो भने उत्पादनसमेत ठम्प थियो ।

बजारसँगको सम्बन्ध क्रमशः कमजोर हुँदै गएको थियो र कर्मचारीहरू महिनौँसम्म तलब नपाउँदा निराश थिए । कतिपयले त यो सरकारी संस्थालाई ‘कोमामा पुगेको संस्था’ को संज्ञासमेत दिन थालेका थिए ।

तर, आज त्यही वैद्यखानाको उत्पादन कक्षमा चहलपहल देखिन्छ । औषधिका बोतलहरू भरिँदै छन् । आयुर्वेदिक औषधि उत्पादन भइरहेको छ । कर्मचारी सामग्री प्याकेजिङमा व्यस्त देखिन्छन् । लामो समयसम्म सुनसान बनेका कक्षहरूमा कामको रौनक फर्किएको छ ।

सरकारी अस्पतालदेखि स्थानीय तहसम्म वैद्यखानाका औषधि पुग्न थालेका छन् । वर्षौंको जडता चिर्दै संस्थाले पुनर्जीवनको संकेत दिएको छ । सिंहदरबार वैद्यखानाका निर्देशक डा. प्रदीप केसीका अनुसार आफूले जिम्मेवारी सम्हाल्दा संस्था लगभग ‘मल्टिपल अर्ग्यान फेलर’ जस्तै अवस्थामा थियो ।

‘म आउँदा उत्पादन पूर्ण रूपमा बन्द थियो । कच्चा पदार्थ थिएनन्, ठेक्का प्रक्रिया अघि बढेको थिएन, कर्मचारीले ७ महिनासम्म तलब पाएका थिएनन् । संस्थाभित्र कुनै पनि प्रणालीले प्रभावकारी रूपमा काम गरिरहेको थिएन,’ उनले सम्झिए ।

डा. केसीका अनुसार समस्या उत्पादनको मात्रै थिएन । संस्थागत संरचना, निर्णय प्रक्रिया र व्यवस्थापनका कमजोरीले वैद्यखाना थलिएको थियो । विकास समिति मोडलमा सञ्चालन भइरहेको संस्थामा नेतृत्व स्थायित्वको अभाव, राजनीतिक हस्तक्षेप र अधिकारहीन व्यवस्थापनले चुनौती थपेको थियो ।

डा. प्रदीप केसी, निर्देशक/सिंहदरबार वैद्यखाना

वैद्यखानालाई पुनर्जीवित गर्ने पहिलो कदम रूपमा उत्पादनका आधारभूत आवश्यकता सुनिश्चित गर्नतर्फ डा. केसी लागे । ‘औषधि बनाउन कच्चा पदार्थ चाहिन्छ । त्यसैले हामी सबैभन्दा पहिले कच्चा पदार्थको टेन्टर र प्याकेजिङ सामग्रीको व्यवस्थापन तर्फ लाग्यौं,’ डा. केसी भन्छन् ।

सरकारी खरिद प्रक्रियाका जटिलता, आपूर्तिकर्ताको लापरबाही र पुराना अवरोधहरू हटाउँदै आवश्यक कच्चा पदार्थको आपूर्ति सुनिश्चित गरियो । त्यसपछि मात्र उत्पादन लाइन क्रमशः सञ्चालनमा आउन थाले ।

आर्थिक वर्ष २०८१/८२ संस्थालाई पुनः खडा गर्ने संघर्षमै बित्यो । तर २०८२/८३ को सुरुवातसँगै वैद्यखानाले उत्पादन विस्तारको नयाँ चरण सुरु गर्‍यो ।

प्रदेश र स्थानीय तहसम्म औषधि

वैद्यखानाको पुनर्जागरणको एउटा महत्वपूर्ण मोड कोशी प्रदेशसँगको सरकारी–सरकारी (जीटुजी) सम्झौता बन्यो ।

प्रदेशका स्वास्थ्य संस्थालाई आवश्यक आयुर्वेदिक औषधि उपलब्ध गराउने जिम्मेवारी पाएपछि संस्थाले आफ्नो उत्पादन क्षमता प्रमाणित गर्ने अवसर पायो । त्यसयता वैद्यखानाले कोशी, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशलाई औषधि आपूर्ति गरिसकेको छ ।

सरकारी अस्पतालका स:शुल्क फार्मेसीहरूसँग सहकार्य विस्तार गर्‍यो । सरकारदेखि सरकार (जीटुजी) मोडलमार्फत औषधि आपूर्ति गर्ने व्यवस्था सुरु गरियो ।

सुर्खेत, झापा, हेटौँडा, पोखरा, लुम्बिनीलगायत देशका विभिन्न भागका अस्पतालहरूसँग सम्झौता गरी आयुर्वेदिक औषधिको पहुँच विस्तार गरियो । वैद्यखानाले १३० बढी स्थानीय तह र करिब ४० जिल्लासम्म पहुँच विस्तार गरी आफूलाई बजारमा पुनः स्थापित गर्ने प्रयास गरेको छ ।

सरकारले निःशुल्क वितरण गर्दै आएको ३५ प्रकारका आयुर्वेद औषधिमध्ये ३२ प्रकारका औषधि वैद्यखानाले नै उत्पादन गर्छ । ‘यदि सरकारी निकायले पहिलो प्राथमिकतामा वैद्यखानाका उत्पादन प्रयोग गर्ने नीति प्रभावकारी रूपमा लागु भयो भने संस्थाको आत्मनिर्भरता अझ बलियो हुनेछ,’ डा. केसी भन्छन् ।

नाफा उन्मुख

उत्पादन र बजार विस्तारसँगै संस्थाको आर्थिक अवस्था पनि सुधारोन्मुख छ ।

आर्थिक वर्ष २०७९/८० मा वार्षिक १ करोडको हाराहारीमा सीमित रहेको वैद्यखानाले चालु आर्थिक वर्षमा साढे १२ करोड रुपैयाँभन्दा बढीको कारोबार गरिसकेको छ ।

यो अघिल्लो वर्षको तुलनामा करिब पाँच गुणा वृद्धि हो । आर्थिक रूपमा धराशायी बनेको वैद्यखाना अहिले भने नाफाको बाटोमा छ । चालु आर्थिक वर्ष २०८२/८३ मा सबै खर्च कटाएर करिब ४ देखि ५ करोड रुपैयाँ सञ्चित कोषमा जम्मा हुने अनुमान गरिएको छ ।

‘पहिले वैद्यखाना घाटामा गएको संस्थाका रूपमा चिनिन्थ्यो,’ डा. केसी भन्छन्, ‘अहिले हामी ऋणात्मक अवस्थाबाट धनात्मक दिशातर्फ अघि बढिरहेका छौं ।’

उत्पादन बढाउन मात्र नभई गुणस्तर सुधारमा पनि वैद्यखाना केन्द्रित हुने केसीको दाबी छ । संस्थाले ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) अनुरूप उत्पादन प्रणाली विकास गर्ने काम अघि बढाएको केसीले बताए ।

उनका अनुसार अनुसन्धान तथा विकास (आरएन्डडी) इकाइ स्थापना गरी पुराना आयुर्वेदिक सूत्रहरूको वैज्ञानिक परीक्षण र आधुनिकीकरणमा समेत काम सुरु गरिएको छ ।

‘हाम्रा धेरै औषधि दशकौँदेखि उही स्वरूपमा छन् । अब तिनलाई आधुनिक उत्पादन प्रणालीमा रूपान्तरण गर्ने लक्ष्य छ,’ डा. केसीले दाबी गरे ।

अझै छन् चुनौती

यद्यपि, वैद्यखानाको यात्रा अझै सहज छैन । डा. केसीका अनुसार संस्थाको सबैभन्दा ठूलो समस्या यसको दीर्घकालीन संरचनागत स्थायित्व हो ।

हाल विकास समिति मोडलमा सञ्चालन भइरहेको संस्थालाई कम्पनी मोडलमा लैजाने वा नयाँ संरचनामा पुनर्गठन गर्नेबारे छलफल भइरहेको छ । कर्मचारी व्यवस्थापन, उत्तराधिकारी प्रणाली, वित्तीय स्वायत्तता र संस्थागत नेतृत्वको स्थायित्व जस्ता प्रश्न अझै समाधान हुन बाँकी छन् ।

वैद्यखानाको उत्पादन क्षमता विस्तार र भौतिक संरचना आधुनिकीकरणका लागि आवश्यक लगानी अभाव प्रमुख समस्या बनेको छ ।

डा. केसीका अनुसार वैद्यखानालाई हरेक वर्ष कम्तीमा पाँच करोड रुपैयाँ पूँजीगत अनुदान आवश्यक छ । अघिल्लो आर्थिक वर्षको अन्त्यतिर अर्थ मन्त्रालयबाट प्राप्त डेढ करोड रुपैयाँले उत्पादन विस्तारमा केही राहत दिएको भए पनि दीर्घकालीन सुधारका लागि त्यो पर्याप्त छैन ।

पुराना भवन, जीर्ण उपकरण र सीमित स्रोत-साधनबीच काम गरिरहेकाले सरकारले विशेष प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

वैद्यखानाबाट उत्पादित आयुर्वेदिक औषधिहरूको माग उच्च छ । पछिल्ला वर्षहरूमा निजी कम्पनीहरू आए पनि वैद्यखानाले प्रतिस्पर्धा गर्न सक्छ । तर त्यसका लागि नेतृत्वमा स्थायित्व दिनुका साथै उद्योगलाई आधुनिकीकरण गर्नुपर्ने पूर्वकार्यकारी निर्देशकहरू बताउँछन् ।

सरकारी अस्पतालदेखि स्थानीय तहसम्म वैद्यखानाका औषधि पुग्न थालेका छन् । वर्षौंको जडता चिर्दै संस्थाले पुनर्जीवनको संकेत दिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसार औषधि उत्पादन गर्न ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मा जानुपर्छ । लामो इतिहास बोकेको वैद्यखानामा औषधि उत्पादन गर्ने प्रायः उपकरण पनि पुराना छन् । सरकारले स्थायी नेतृत्व दिएर नयाँ प्रविधि अपनाइयो भने वैद्यखानालाई उकास्न सकिन्छ ।

काठमाडौंको व्यस्त शहरी क्षेत्रमा रहेको उत्पादन केन्द्र पनि अर्को चुनौती बनेको छ । एक समय शहरको किनारामा रहेको वैद्यखाना अहिले महानगरको बीच भागमा परिसकेको छ । जसले उत्पादन विस्तारका सम्भावनालाई सीमित बनाएको छ ।

वैद्यखानालाई औषधि उत्पादन केन्द्रका रूपमा मात्र होइन, जडीबुटीमा आधारित ग्रामीण अर्थतन्त्रको आधारका रूपमा हेर्नुपर्ने डा. केसी बताउँछन् ।

नेपालभर पाइने जडीबुटीको व्यवस्थित संकलन, प्रशोधन र खरिद प्रणाली विकास गर्न सके हजारौं ग्रामीण परिवारको आयआर्जनसँग यो क्षेत्र जोडिन सक्ने उनको विश्वास छ ।

‘जडीबुटीको स्रोत गाउँमा छ । त्यसलाई बजारसँग जोड्न सके वैद्यखानाले औषधि मात्र होइन, रोजगारी पनि उत्पादन गर्न सक्छ,’ उनी भन्छन् ।

८४ प्रकारका औषधि उत्पादन

हाल वैद्यखानामा विभिन्न प्याकेजिङ आकारसहित १०५ प्रकारका उत्पादन तयार भइरहेका छन् । एउटै औषधिका विभिन्न आकार हटाएर गणना गर्दा करिब ८४ प्रकारका औषधि उत्पादन हुने गर्छन् ।

बजारमा सबैभन्दा बढी माग हुने उत्पादनमा शिलाजित, च्यवनप्राश, अभिपत्तीकर चूर्ण, सितोपलादी चूर्ण र त्रिफला लगायतका औषधि पर्छन् । आगामी आर्थिक वर्षमा थप ५० देखि ६० प्रकारका नयाँ औषधि उत्पादन गर्ने योजना पनि संस्थाले बनाएको छ ।

राजा प्रताप मल्लको पालामा आयुर्वेदिक औषधि उत्पादन गर्न वैद्यखानाको स्थापना भएको मानिन्छ । राणा प्रधानमन्त्री जंगबहादुरको पालामा थापाथली सारिएको वैद्यखानालाई जुद्धशमशेरले सिंहदरबारमा सारेपछि ‘सिंहदरबार वैद्यखाना’ नाम पायो । त्यसबेला राजदरबार, प्रधानमन्त्री र उच्च ओहोदाका मात्रै वैद्यखानाको औषधि प्रयोग गर्न पाउँथे ।

प्रजातन्त्र आएपछि वैद्यखानाको औषधि सर्वसाधारणले पनि उपभोग गर्न पाए । २०५२ सालबाट सिंहदरबार वैद्यखाना, स्वास्थ्य मन्त्रालय अन्तर्गतको विकास समितिको रूपमा सञ्चालित छ ।

सुरुका वर्षहरूमा पूर्वाधारमा लगानी भयो । त्यो बेला १७५ थरीसम्म औषधि उत्पादन हुन थाल्यो । वैद्यखानाको नेतृत्व गरेकाहरूका अनुसार ६० को दशकसम्म पनि वैद्यखाना राम्रै चलेको थियो । अपवाद बाहेक नेतृत्वमा अस्थिरता रहेन ।

वैद्यखानाले उत्पादन गरेका च्यवनप्राश, त्रिफला चूर्ण, दशमुल तेलदेखि अन्य अनेकौं आयुर्वेदिक औषधिहरू दशकौंसम्म नेपाली घर–घरमा पुगे । यसका केही उत्पादनले अन्तर्राष्ट्रिय बजारमा समेत पहिचान बनाएका थिए ।

७० को दशकसँगै राजनीतिक चलखेल हुन थाल्यो । स्वास्थ्य मन्त्रालयको नेतृत्वमा बस्नेहरूले आफू र पार्टी अनुकूल प्रबन्ध निर्देशक बनाउन थाले । हरेक वर्ष जस्तो नेतृत्व फेरिन थाल्यो, त्यहीबेला कर्मचारीहरूले पनि सेवा–सुविधाको माग उठाउन थाले ।

वैद्यखानालाई पछिल्ला वर्षहरूमा राजनीतिक हस्तक्षेप, नेतृत्वको अस्थिरता, व्यक्तिगत स्वार्थ र व्यवस्थापकीय कमजोरीले यो संस्थालाई क्रमशः कमजोर बनायो । उत्पादन घट्दै गयो, बजार खुम्चिँदै गयो । एक समय यस्तो आयो जब देशकै गौरव मानिएको वैद्यखाना अस्तित्वको संकटमा पुग्यो । तर अहिले संस्थाले फेरि आफूलाई उभ्याउने प्रयास गरिरहेको छ ।

 

 

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?