News Summary
Generated by OK AI. Editorially reviewed.- श्रीमती र छोरीको मृत्युपछि एक्ला भएका भूपू सैनिकका छोरा बुहारी डिभी चिट्ठा परेर पाँच वर्षअघि अमेरिका गएका हुन् ।
- अमेरिका पुगेका उनी त्यहाँको व्यस्त जीवनशैली र एक्लोपन सहन नसकी एक महिनामै स्वदेश फर्किएर एक्लै बस्न थालेका छन् ।
- उनले छोराका साथीसँग कुराकानी गर्दै बुढ्यौली उमेरमा आमाबाबुलाई छोडेर विदेशी भूमिमा नजान र स्वदेशमै रहन आग्रह गरेका छन् ।
आर्मीको पिन्सिन खान्छु
घरको भाडा खान्छु
पैसाको के दु:ख छ र ?
दु:ख अरू नै कुराको छ मास्टर बाबु
छिमेकीले छोरी खाइस् भन्छन्
स्वास्नी खाइस् भन्छन्
मैले किन खान्थें र कठै
छोरी क्यान्सरले खायो
बुढी दमले खायो
ए बुढी,
यति अचाक्ली सिगरेट नखा न हो भन्थें
खाए नि मर्छु नखाए नि मर्छु
बरु खाएरै मर्छु
भो अब मलाई गाली नगर बुढा भन्थी
बाख्राको पाठो जस्तो उफ्रिहिंड्ने नाति थियो
चरीकी बचेरी झैं चिर्बिर गर्ने नातिनी थिई
घाम भन्दा चाँडै उठ्थे
घरै उज्यालो पार्थे
बुहारी पनि असल परेकी हो
छोरो पनि जाती थियो
खोइ भाग्य आयो कि दुर्भाग्य आयो
पाँच साल भो सबैलाई डीभीले खायो
पाताल पनि देखें मास्टर बाबु
एकै महिनामा आत्तिएर फर्किएँ
छोराबुहारीको धपेडी हेरेर आएँ
मलाई त
महिना दिन पनि वर्ष दिन जत्तिकै भयो
छोरा, बुहारी काममा दगुर्छन्
नाति, नातिनी स्कूल दगुर्छन्
त्यो जेल जस्तो घरमा
धुमधुम्ती एक्लै कसरी बस्नु
कतिन्जेल बस्नु
भन्न त अब हरियो पत्तो बनाम्नी हो बा
यतै बस्नी हो भन्थे
मन अडिएन
घरभरि जहान थिए र पो घर स्वर्ग थियो
अब यो भूत बंगलालाई केको घर भन्नु !
मसानघाट जस्तो एकलास !
माथिल्लो तलामा म बस्छु
तल भाडामा बस्छन्
धन्न अहिलेसम्म त हातगोडा दह्रै छन्
तल–माथि गर्दैछु
छोराको साथी हुनुहुँदो रै’छ
मलाई त छोराकै झल्को मेटियो
पढाएर फर्किंदा मेरा घर पस्दै गर्नु
चिया, पानी खाएर जानु
एउटा अर्को कुरो पनि भनिहाल्छु भो
हुन त
हजुर जस्तो अक्षरसँग खेल्ने मुन्छेलाई
म बन्दुकसँग खेलेको मुन्छेले के सिकाउनु
तर पनि
गोडाले कहिल्यै
देशको सिमाना नाघ्न हुँदैन
माटो रुन्छ
बुढा बा–आमा टुहुरा बनाउन हुँदैन
आँसु लाग्छ
मैले त छोरालाई पनि त्यै भनेर छोड्या छु
घोसेमुन्टो लगायो जवाफ दिन सकेन
खोइ के छ कुन्नि त्यसको मनमा
फर्किआए पनि हुन्थ्यो
यहाँ त्यसलाई के नपुग्दो थियो र ?
हाल: अमेरिका
प्रतिक्रिया 4