News Summary
Generated by OK AI. Editorially reviewed.- खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रसुवाको लाङटाङमा दोस्रो लाङटाङ ट्रेल रन प्रतियोगिता आयोजना गरिएको छ।
- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ, पर्यटनमन्त्री सूरज श्रेष्ठ र आर्थिक मामिला मन्त्री प्रभात तामाङले सो प्रतियोगिताको उद्घाटन गर्नुभयो।
- क्यान्जिनमा रहेको २००९ सालमा स्थापित नेपालकै ऐतिहासिक याक चिज उद्योगले स्थानीय हिमाली अर्थतन्त्रमा टेवा पुर्याउँदै आएको छ।
६ असार, काठमाडौं । मानिसको जीवनमा केही यात्राहरू यस्ता हुन्छन्, जसले केवल नयाँ ठाउँको परिचय मात्र गराउँदैनन्, जीवनलाई नयाँ दृष्टिकोण पनि दिन्छन् । हिमालको काखमा अवस्थित लाङटाङ भ्यालिको मेरो छ दिने यात्रा पनि यस्तै अविस्मरणीय अनुभव बन्यो । प्राकृतिक सौन्दर्य, चुनौतीपूर्ण पदयात्रा, हिमाली संस्कृतिसँगको साक्षात्कार र खेल पर्यटनको उत्साहले भरिएको यो यात्रा आज पनि स्मृतिमा ताजै छ ।
यात्राको सुरुवात एक सामान्य भेटघाटबाट भएको थियो । काठमाडौँको नयाँ बानेश्वरमा फोटो पत्रकार भरतबन्धु थापासँग चिया पिउँदै गफ गरिरहेका बेला उहाँले अचानक सोध्नुभयो, “लाङटाङ जान्छौ ?” मैले पनि कुनै हिचकिचाहट नगरी “हुन्छ” भनें । केही समयपछि गगनराज न्यौपानेको फोन आयो । उहाँले दोस्रो लाङटाङ ट्रेल रनका अवसरमा मिडिया टोलीसँग लाङटाङ जाने जानकारी दिनुभयो । यसरी मेरो लामो समयदेखि मनमा रहेको लाङटाङ पुग्ने चाहना पूरा हुने अवसर जुट्यो ।
पहिलो दिन : स्याफ्रुबेँसीदेखि बाँसबारी सम्म
जेठ १९ गते बिहान सामाखुसीबाट हाम्रो टोली चारवटा बसमा रसुवातर्फ प्रस्थान गर्योन । खेलाडी, आयोजक, अफिसियल, स्वास्थ्यकर्मी र सञ्चारकर्मी गरी करिब एक सय जना भन्दा बढी सहभागी थिए । काठमाडौँको व्यस्त वातावरण छाडेर टोखा, नुवाकोट हुँदै रसुवाको स्याफ्रुबेँसी पुग्दा दिउँसो भइसकेको थियो । त्यहाँबाट सुरु भएको पैदल यात्रा नै वास्तवमा लाङटाङको वास्तविक परिचय थियो ।
जुम्लाको पहाडी भूगोलमा हुर्किएको हुनाले उकालो–ओरालो मलाई नयाँ विषय थिएन । त्यसैले यो यात्रा सहजै पूरा गर्ने आत्मविश्वास थियो । तर लामो समय देखि काठमाडौँको सहज जीवनशैलीमा अभ्यस्त शरीरले भने फरक अनुभव गरायो । उकालो बाटोले शरीरलाई निकै परीक्षा लियो । ऊर्जा तामाङको नेतृत्वमा अघि बढेको टोली बाँसबारीतर्फ लम्किरहेको थियो । साँझ सम्मको कठिन यात्रापछि बाँसबारी पुग्दा शरीर थकित भए पनि मन भने उत्साहित थियो ।
खोलाको सुसाइ, जंगलको शान्त वातावरण र यात्राको थकानले पहिलो रात निकै स्मरणीय बनायो । होटल अभावका कारण हामी सञ्चारकर्मीहरू टेन्टमा बस्यौँ । प्रकृतिको काखमा बितेको त्यो रातले शहरको कृत्रिम जीवनभन्दा प्रकृतिको नजिक रहनुको आनन्द कति ठूलो हुन्छ भन्ने अनुभूति गरायो ।
दोस्रो दिन : लाङटाङ भ्यालितर्फ

दोस्रो दिनको यात्रा अझ कठिन थियो । बिहानै देखि सुरु भएको यात्रा रिम्चे, लामा होटल, रिभरसाइड, घोडा तबेला हुँदै लाङटाङ उपत्यकातर्फ अघि बढ्यो । बाटोभरि देखिने हरिया वन, झरना, नदी र हिमालका झल्काहरूले थकानलाई बिर्साइरहेका थिए । उकालो चढ्दै जाँदा हावामा चिसोपन बढ्दै गयो भने हिमालहरू झन् नजिकिँदै गए ।
साँझ लाङटाङ भ्याली पुग्दा शरीर थाकेको थियो तर मनमा छुट्टै उत्साह थियो । त्यहाँ पुगेपछि २०७२ सालको विनाशकारी भूकम्पको पीडा पनि नजिकबाट बुझ्ने अवसर मिल्यो । स्थानीयले पुरानो लाङटाङ गाउँ हिमपहिरो र हिमतालको भेलले बगाएको दर्दनाक कथा सुनाए । सयौँ मानिसको ज्यान गएको त्यो घटना सम्झँदा मन भारी भयो । तर त्यही स्थानमा पुन: नयाँ बस्ती निर्माण गरी जीवनलाई अघि बढाएका स्थानीयको साहसले भने प्रेरणा दियो ।
लाङटाङ उपत्यकाको हिमाली वातावरण साँच्चै मोहक थियो । वरिपरि सेता हिमाल, चिसो हावा र शान्त वातावरणले थकानलाई क्षणभरमै बिर्साइदियो । यद्यपि लगातारको पदयात्राका कारण मेरो खुट्टामा चोट लागेको थियो । जुत्ताले घोटेर रगत समेत बगेको थियो । मेडिकल टोलीले उपचार गरिदिएपछि केही राहत मिल्यो । तर त्यो रात खुट्टाको पीडाले राम्ररी निदाउन भने सकिएन ।
तेस्रो दिन : क्यान्जिन गुम्बा र क्यान्जिन रीको मोह

तेस्रो दिन लाङटाङ भ्यालीबाट क्यान्जिन गुम्बातर्फ लाग्यौँ । यो दिन दूरी कम भए पनि दृश्यावलोकनका हिसाबले सबैभन्दा रमणीय थियो । मुन्डु र सिन्दुम हुँदै क्यान्जिन गुम्बा पुग्दा स्वर्गको कुनै कुनामा आइपुगेको अनुभूति भयो । समुद्री सतहबाट करिब ३,८७० मिटर उचाइमा रहेको यो स्थान चारैतिर हिमालले घेरिएको छ ।
क्यान्जिन गुम्बा पुगेपछि मलाई क्यान्जिन री चढ्ने इच्छा जाग्यो । साथीहरूले कठिन आरोहण भएकाले नजान सुझाव दिए । तर हिमालको आकर्षणले मलाई रोक्न सकेन । एकजना साथीलाई लिएर उकालो लागेँ । जति माथि चढ्दै गयो, उति नै प्रकृतिको सौन्दर्य खुल्दै गयो । करिब दुई घण्टाको कठिन यात्रापछि क्यान्जिन रीको चुचुरोमा पुग्दा प्राप्त भएको अनुभूति जीवनकै अनुपम क्षणमध्ये एक बन्यो ।
त्यहाँबाट देखिने हिमालका शृङ्खला, तल चम्किरहेका हिमताल, बादलको खेल र लाङटाङ उपत्यकाको विहंगम दृश्यले मनलाई पूर्ण रूपमा मोहित बनायो । त्यो क्षणमा लागिरहेको थियो—हिमालभन्दा माथि म छु र आकाशलाई छुने दूरी अब धेरै टाढा छैन । प्रकृतिले दिएको त्यो आनन्द शब्दमा व्यक्त गर्न गाह्रो छ ।
चौथो दिन : विश्राम र याक चिज उद्योगको अवलोकन

चौथो दिन खेलाडीहरूलाई विश्राम दिइएको थियो । तर मेरो उत्सुकता अझै बाँकी थियो । नेपालकै प्रसिद्ध याक चिज उद्योग अवलोकन गर्ने अवसर मिल्यो । २००९ सालमा स्थापना भएको उक्त उद्योग नेपालको हिमाली अर्थतन्त्रको महत्वपूर्ण हिस्सा रहेछ । त्यहाँका कर्मचारीहरूसँग कुराकानी गर्दा चौँरीपालन घट्दै जाँदा उत्पादनमा परेको प्रभावबारे जानकारी पाइयो । याक चिजको स्वाद मात्र होइन, त्यसको इतिहास र महत्वबारे पनि धेरै कुरा सिक्ने अवसर मिल्यो ।
त्यसपछि पञ्चताल सम्म पुगेर हिमाली प्रकृतिको अर्को रूप नियाल्ने अवसर मिल्यो । तालको किनारमा बसेर हिमालको प्रतिबिम्ब हेर्दा प्रकृतिको अनुपम सौन्दर्यप्रति अझ बढी सम्मान जाग्यो ।
पाँचौँ दिन : लाङटाङ ट्रेल रनको रोमाञ्च
पाँचौँ दिन दोस्रो लाङटाङ ट्रेल रनको मुख्य दिन थियो । बिहानै देखि खेलाडीहरू उत्साहित देखिन्थे । मौसम प्रतिकूल हुँदा कार्यक्रम केही ढिला भए पनि उत्साहमा कमी आएको थिएन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ, पर्यटन मन्त्री सूरज श्रेष्ठ र आर्थिक मामिला मन्त्री प्रभात तामाङको उपस्थितिमा प्रतियोगिताको उद्घाटन भयो ।
खेल पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले लाङटाङलाई थप परिचित बनाउने विश्वास सबैमा थियो । उद्घाटनपछि खेलाडीहरू दौडिन थाले । हिमालको काखमा, चुनौतीपूर्ण पदमार्गमा खेलाडीहरू दौडिरहेको दृश्य साँच्चिकै प्रेरणादायी थियो ।
म पनि उनीहरूको पछिपछि स्याफ्रुबेँसीतर्फ लागेँ । उक्लिन तीन दिन लागेको बाटो एकै दिनमा ओरालो झर्दा फरक अनुभव भयो । साँझ स्याफ्रुबेँसी पुग्दा विजेताहरू सम्मानित भइसकेका थिए । उनीहरूको अनुहारमा देखिएको सफलताको खुसीले कार्यक्रमको महत्व झन् बढाएको थियो ।
छैटौ दिन : स्याफ्रुबेँसी देखि काठमाडौं

पाँच दिनको भोलिपल्ट बिहान हामी सबै काठमाडौँ फर्कियौँ । सामाखुसीमा बसबाट ओर्लिँदा यात्रा समाप्त भएको थियो, तर मन भने अझै लाङटाङकै हिमालहरूमा डुलिरहेको थियो । पाँच दिनको त्यो यात्रा केवल पदयात्रामा मात्र सिमित भएन, त्यो आत्मविश्वास, साहस, मित्रता, प्रकृतिप्रेम र नयाँ अनुभवहरूको संगम थियो ।
निष्कर्ष
छ दिनको यो यात्रा केवल पदयात्रा थिएन । यो प्रकृति, इतिहास, संस्कृति र आत्मविश्वास सँगको साक्षात्कार थियो । हिमालको काखमा बिताएका ती दिनहरूले थकान भन्दा बढी ऊर्जा, दु:ख भन्दा बढी आनन्द र यात्रा प्रतिको मोह अझ गाढा बनाए ।
लाङटाङका हिमाल, त्यहाँका बस्ती, स्थानीयको आत्मीयता र पदमार्गका हरेक पाइला आज पनि स्मृतिमा ताजा छन् । सायद त्यसैले लाङटाङ मेरो लागि केवल एउटा गन्तव्य होइन, जीवनभर सम्झिरहने एउटा अनुपम अनुभूति बनेर बसेको छ ।
आज पनि जब लाङटाङको नाम सुन्छु, आँखाअघि सेता हिमाल, चिसो हावा, क्यान्जिन रीको चुचुरो, याक चिज उद्योग, ट्रेल रनका खेलाडीहरू र हिमालको काखमा बसेको शान्त बस्तीको दृश्य ताजै भएर आउँछ । यही कारणले लाङटाङ मेरो लागि केवल एउटा पर्यटकीय गन्तव्य होइन, जीवनभर सम्झिरहने एउटा अविस्मरणीय यात्रा बनेर बसेको छ ।



प्रतिक्रिया 4