News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले समायोजनबाट आउनेहरूका लागि विना प्रतिस्पर्धा पद पाउने गरी विधान संशोधन गरेको छ ।
- नयाँ विधान अनुसार १५८ सदस्यीय केन्द्रीय समितिमा ९९ जना निर्वाचित र ५१ जना मनोनीत हुने तथा पदाधिकारी संख्या १९ पुर्याइएको छ ।
- चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन आइतबारदेखि शुरू हुँदै छ र प्रतिनिधिहरू आउने क्रम जारी छ ।
६ असोज, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समायोजनबाट आउनेहरूका लागि अतिरिक्त लाभ हुनेगरी विधान संशोधन गरिएको छ । शनिबार ५ घण्टा भन्दा बढी समय लगाएर सकिएको वर्तमान समितिको अन्तिम बैठकले समायोजनबाट आउनेहरूका लागि बिना प्रतिस्पर्धा पद प्राप्ति गर्नेगरी बाटो खुलाउँदै विधानमा व्यवस्था गरेको हो ।
बैठकबाट पारित विधानमा १५८ सदस्यीय केन्द्रीय सदस्य हुने व्यवस्था गरिएको छ । तीमध्ये ९९ सदस्य निर्वाचित हुने र ५१ सदस्यीय मनोनीत गर्ने गरी विधान संशोधन गरिएको छ । प्रदेश सभापतिहरू स्वत: केन्द्रीय समितिको पदेन सदस्य हुने भएका छन् ।
पदाधिकारीको संख्या १९ जना बनाइएको छ । पदाधिकारीमा वरिष्ठ नेता पनि रहनेगरी पदाधिकारी संख्या १९ जनाको बनाइएको छ । यसअघि विधानमा समावेश नगरिएको वरिष्ठ नेताको व्यवस्था संशोधित विधानमा भने राखिएको छ ।
सभापति, वरिष्ठ नेता, उपसभापति–३, महामन्त्री–२, सहमहामन्त्री–५ जनाको व्यवस्था गरिएको छ । उपसभापति १ र सहमहामन्त्री १ जना अनिवार्य महिला हुनुपर्ने व्यवस्था गरिएको छ ।
थप पदाधिकारीमा कोषाध्यक्ष १, सहकोषाध्यक्ष २, प्रवक्ता १ र सहप्रवक्ता ३ जना हुनेगरी विधानको व्यवस्था गरिएको छ । कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता र सहप्रवक्ता मनोनीत हुनेछन् ।
रास्वपा नेताहरूको अनुसार समायोजनबाट आउनेहरूलाई एकपटकका लागि ‘विशेष सुविधा’ हुनेगरी विधानको व्यवस्था गरिएको छ ।
सभापति रवि लामिछाने स्वयं समायोजनबाट रास्वपामा जोडिएकाहरूलाई यति छिट्टै प्रतिस्पर्धा गराउन उपयुक्त नहुने विचार राखेका थिए । रास्वपाका एक नेताले भने, ‘एकपटकका लागि समयोजनबाट आउनेहरूलाई प्रतिस्पर्धा गराउनु हुँदैन भन्ने भयो । अर्को अर्को पटक पनि त्यो सुविधा पाउने होइन ।’
सभापतिमा रवि लामिछाने निर्विकल्प छन् । वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाहले निरन्तरता पाउनेछन् । उपसभापतिमा डा. स्वर्णिम दोहोरिने छन् । रास्वपा स्रोतका अनुसार, अर्का उपसभापतिमा सुनिल लम्साल नाम करिब निश्चित जस्तै छ । बाँकी रहेको एक उपसभापतिमा महिलाका लागि प्रतिस्पर्धा गराउनु पर्ने हुन्छ ।

रास्वपाकै शीर्ष तहका एक नेताले भने, ‘उपसभापतिमा निर्वाचन भयो भने महिलाबाट उपसभापति हुनेहरूको लागि हुन्छ ।’ उपसभापतिमा लिमा अधिकारी, सोबिता गौतम, प्रतिभा रावल, समीक्षा बाँस्कोटा लगायत महिला नेताहरू आकांक्षी छन् ।
कार्यकारी पद महामन्त्रीमा भूपदेव शाह दोहोरिने भएका छन् । उनी बालेन निकट हुन् । रास्वपाको मूलधारबाट आएकाहरूबाट भने महामन्त्रीको टुंगो नलागेको नेताहरू बताउँछन् ।
मूलधारको रास्वपामा महामन्त्रीको आकांक्षी आधा दर्जन बढी छन् । हालका महामन्त्री कबिन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्य, प्रवक्ता मनिष झा, नेताहरू शिशिर खनाल, गणेश पराजुली लगायत महामन्त्री पदका आकांक्षी हुन् ।
केन्द्रीय सदस्यमा समेत समायोजनबाट आएकालाई सहज हुनेगरी निर्वाचित र मनोनीतको संख्या टुंगो लगाइएको छ । केन्द्रीय सदस्य ५१ जना मनोनीत गर्नेगरी संख्या बढाउनुमा समायोजनबाट आउनेहरूलाई थप्न सकिने मनसायले भएको नेताहरूले जानकारी गराएका छन् ।
पार्टी संरचनामा नयाँ रहेका बालेन पक्षका नेताहरू प्रतिस्पर्धा गर्दा पराजित हुनसक्ने विश्लेषणसहित उनीहरूलाई समेट्नका लागि मनोनीतको आकार बढाइएको अनौपचारिक कुराकानीका क्रममा नेताहरू बताउँछन् । ‘सभापतिले मनोनीत गर्ने ५० जनामा ५० प्रतिशत बालेन पक्षकै हुन्छन्,’ अर्का एक नेता भन्छन् ।

९९ जना निर्वाचित केन्द्रीय सदस्यमा प्रत्येक प्रदेशबाट ५/५ का दरले निर्वाचित हुने विधान संशोधन समितिका सदस्य गणेश पराजुलीले जानकारी गराए । ‘ती पाँच जनामा समावेशीताका आधारमा २ जना महिला हुनैपर्छ,’ पराजुलीले भने, ‘बाँकी ६४ केन्द्रीय सदस्यका खुला प्रतिस्पर्धी हुनेछन् ।’
निर्वाचनबाट चयन हुने ९९ केन्द्रीय सदस्यका लागि आकांक्षीहरूको लर्को लागेको छ । हालको केन्द्रीय समितिमा रहेका, विभागका सदस्य, समायोजनबाट आएकाहरू सयौंले केन्द्रीय सदस्यमा आकांक्षा देखाएका छन् । सभापति लामिछानेले केन्द्रीय सदस्यका लागि स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गरेका थिए । पार्टीहरूको महाधिवेशन सम्भवत सबैभन्दा बढी केन्द्रीय सदस्यको उम्मेदवारी पर्ने सूचना प्राप्त गरेको जानकारी गराएका थिए ।
महाधिवेशन प्रतिनिधिहरूका समेत समायोजितबाट आउनेहरूको लागि सहज बनाइएको छ ।
प्रवक्ता मनिष झाका अनुसार, समायोजनबाट आउनेका लागि थप तीन सय थप्न सकिने र त्यसका लागि दुई महामन्त्रीले निर्णय लिने जानकारी गराएका छन् । हालसम्म प्रतिनिधिहरूको यकिन तथ्यांक रास्वपाले बाहिर ल्याएको छैन । समयोजनबाट तीन सय थपिने अवस्थामा ४२ सय हारहारी महाधिवेशन प्रतिनिधि हुने जानकारी गराइएको छ ।
समावेशीताबारे बैठकमा उठ्यो प्रश्न
रास्वपाको पारित विधानमा केही केन्द्रीय सदस्यहरूले फरक मत राखेका छन् । पदाधिकारीमा महिला प्रतिनिधित्व २३ प्रतिशतमा खुम्च्याइएको छ ।
जसमा शनिबार दिउँसो बसेको अन्तिम केन्द्रीय समिति बैठकमा केही सदस्यहरूले फरक मत राखे । विधानको व्यवस्था अनुसार, ३३ प्रतिशत महिला सुनिश्चित हुनुपर्ने छ ।
‘३३ प्रतिशत मन्त्री बनेका छन् । तर पार्टीमा महिला पदाधिकारी २३ प्रतिशतमा खुम्च्याइएको विषय उठ्यो,’ एक केन्द्रीय सदस्यले भने, ‘पदाधिकारीमा ३३ प्रतिशत महिला सुनिश्चितको माग उठेको छ ।’
सह र उपमा मात्र महिला राख्न खोजेकोमा सदस्यहरूले फरक मत राखेको बैठकमा सहभागी ती नेताले बताए ।

सभापति लामिछानेले पदाधिकारीमा पनि ३३ प्रतिशत पुर्याउन विधान परिमार्जन गर्न सकिने बताएको बैठकमा सहभागी अर्का एक सदस्यले बताए । ‘सभापतिले परिमार्जन गर्न सकिने बताउनु भएको छ,’ ती सदस्यले भने ।
सभापतिले मनोनीत गर्ने ५० जनामा पनि महिला ३३ प्रतिशत हुनुपर्ने विषय बैठकमा उठेको छ । केन्द्रीय समितिमा दलितको संख्या पनि सुनिश्चित हुनुपर्ने सदस्यहरूले माग गरे ।
‘दलितको संख्या कम भएकोमा फरक मत आएको थियो । विधानमा सुनिश्चित गर्नुपर्ने माग उठेको हो,’ बैठक स्रोतले भन्यो ।
जेनजी सदस्य १० देखि १५ प्रतिशत, अल्पसंख्यक १ प्रतिशत र प्रवासका प्रतिनिधिले १० प्रतिशत आफूहरूको उपस्थिति माग गरेका छन् ।
स्रोतका अनुसार, महिलाको विषय तोसिमा कार्की, अल्पसंख्यकको विषयमा कुसुम महर्जन, दलितको विषयमा शिव नेपाली र खगेन्द्र सुनुवारले उठाएका थिए ।
जेनजीहरू पनि प्राथमिकतामा राख्नुपर्ने मागसहित केही सदस्यहरूले बैठकमा कुरा उठाएका थिए ।
अतिरिक्त अधिकार प्रयोग गर्दिनँ : सभापति लामिछाने
सदस्यहरूको धारणा सुनेपछि सभापति लामिछानेले आफूले अतिरिक्त अधिकार प्रयोग गर्ने अभ्यास नगरेको प्रष्ट पारे ।
विधान संशोधन हुँदा पदाधिकारीको संख्या बढाइएको र मनोनीतको संख्या पनि धेरै राखिएकोमा सभापति लामिछानेले विशेष परिस्थितिको रुपमा बुझ्न आग्रह गरे ।

‘सभापतिलाई अतिरिक्त अधिकार लिएको हो कि भन्ने प्रश्न पनि उठेको छ । यो विशेष परिस्थिति हो । मनोनीतको संख्या धेरै भएको हो कि पदाधिकारीको संख्या पनि प्रश्न उठेको छ । मलाई अतिरिक्त अधिकारको अभ्यास गर्ने परिपाटीलाई प्रशय दिइनँ जस्तो लाग्छ,’ उनले भनेका छन् ।
महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने सभापति लामिछानेले सुनाए । आफ्नो कार्यकाल अत्यन्त सुन्दर र ऐतिहासिक रहेको उनको भनाइ छ । ‘मुलुक र स्थायीत्वका लागि मुलुकलाई निकास दिनका लागि हामी एक ठाउँमा उभिएका छौं । परिणाम दिन सकिएन भने यसको कुनै अर्थ हुँदैन,’ लामिछानेले भनेका छन् ।
स्थापनाको ४ वर्षमा पहिलो शक्ति बनेको रास्वपाको वर्तमान कार्यसमितिको अन्तिम बैठक ५ घण्टा बढी समय लगाएर सकियो । सभापति थापाले बैठकको अन्त्य गर्दै एक अर्कालाई थ्याङ्कु र सरि भनौं भन्दै वर्तमान समितिको बैठक समापन गरे ।
पार्टी आधारभूमि चितवनमा पहिलो महाधिवेशन आयोजना गरेको रास्वपाले आइतबार महाधिवेशन उद्घाटन गर्दैछ । नयाँ नेतृत्व चयन गर्न प्रतिनिधिहरू चितवन आउने क्रम जारी छ । भरतपुरको गेष्ट हाउस चौरमा महाधिवेशनको उद्घाटन सत्र हुनेछ ।
प्रतिक्रिया 4