+
+
Shares

परम्परागत बाजा संरक्षण गर्न कसिँदै युवापुस्ता

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८३ असार ७ गते २०:००

काठमाडौं । नेवार समुदायमा परम्परागत बाँसुरी बाजा निकै प्रसिद्ध छ । यस परम्परालाई जोगाएर राख्न एक पुस्तबाट अर्को पुस्तामा सीप हस्तान्तरण गरिरहनुपर्ने हुन्छ ।

यसै अनुसार मध्यपुर थिमि–१ लोकन्थलीस्थित सिद्धि गणेश दाफा भजन खलःले बाँसुरी बादन प्रशिक्षण आयोजना गरेको थियो । ९ महिनाको प्रशिक्षणपछि बाँसुरी बादन प्रशिक्षण समापन तथा प्रदर्शन कार्यक्रम (बाजा पिथनेगु ज्याझ्वः) आयोजना गरिएको छ ।

प्रशिक्षण समापन कार्यक्रमका अवसरमा आइतबार बाजासहित प्रदर्शन गरी नगर परिक्रममा गरिएको हो । ११ जनालाई दिइएको प्रशिक्षणमा ८ वर्षको बालकदेखि ६० वर्षसम्मका वृद्धसम्म सहभागी थिए ।

परम्परागत बाजा सिक्न पाउँदा आफूहरू निकै उत्साहित भएको प्रशिक्षणमा सहभागी युवाहरूले बताए । ‘हामी युवापुस्ताले संरक्षण नगरे कसले गर्छ’ प्रशिक्षक साहिल द्वारे भन्छन्, ‘नेवारी संस्कृति, बाजा तथा परम्पराको संरक्षण हाम्रो हातमा छ ।’

२३ वर्षीय गुरु द्वारे यस प्रशिक्षणका गुरू हुन् । यो परम्परागत सीप नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने भन्ने उद्देश्यले आफूले जानेको सीप सिकाएको उनले सुनाए ।

‘युवापुस्ताले नै संगीतको संरक्षण गर्नुपर्छ भन्ने मान्यताका साथ नेपाली गीतमात्र नभएर संगीतको धेरै कुरा पनि सिकाएको छु’ उनले भने, ‘राग, सुर, तानपुरा, नोटेसन र विट कसरी गन्ने भन्ने कुरा पनि सिकाएको छु।’

आधुनिक प्रविधिलाई पुरानो संगीतमा मिलाएर सिकाउने प्रयास गरेको उनले बताए । ‘बाँसुरी एउटा कला मात्र नभएर जीविकोपार्जन गर्ने साधन पनि बनाउन सक्ने होस् भन्ने उद्देश्यले सिकाइएको छ’ द्वारेले भने ।

उनले नेवारी परम्परामा महोत्वपूर्ण मानिने धाः बाजाको पनि प्रशिक्षण दिइरहेका छन् । उनका अनुसार अहिले ८ जनाले धाः बाजाको प्रशिक्षण लिइरहेका छन् ।

सिक्न इच्छा राख्ने व्यक्तिलाई सिकाउने गरेको उनले सुनाए । सबैको काम सकिएपछि बेलुकाको समयमा बाजा सिकाउने गरेको पनि उनले जानकारी दिए ।

‘प्रशिक्षार्थी सँगसँगै बसेर बाजा बजाउँदा बेग्लै आनन्द हुन्छ’ द्वारेले भने, ‘सबै उमेरका व्यक्ति आउने हुँदा हरेकलाई सिकाउँदा फरक–फरक अनुभव हुन्छ।

केही समयअघिसम्म नेवार समुदायमा बाजा बजाउने भन्नासाथ महर्जन अर्थात् ज्यापुहरूलाई बुझिन्थ्यो । अहिले यो ट्रेन्डमा परिवर्तन आएको छ । परम्परागत बाजा सिक्न युवाहरू निकै उत्सुक र लालायित रहेको द्वारेले सुनाए ।

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?