News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन आयोजना गरिएको छ ।
- उद्घाटनसत्रमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र रास्वपा सभापति रवि लामिछानेको उपस्थितिलाई लिएर सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ ।
- रास्वपाका पूर्वमहामन्त्री डा. मुकुल ढकालले महाधिवेशनमा आफूलाई निमन्त्रणा नगरिएको भन्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाए ।
७ असार, काठमाडौं । चितवनको भरतपुरमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन हलभित्र मात्र नभएर सामाजिक सञ्जालका डिजिटल प्लेटफर्महरूमा पनि व्यापक बहसको विषय बन्यो ।
विभिन्न सञ्चारमाध्यम र रास्वपाकै आधिकारिक फेसबुक पेजबाट भएको प्रत्यक्ष प्रसारण (लाइभ) मा डिजिटल प्रयोगकर्ताहरूको निकै ठूलो सहभागिता देखियो ।
यो रिपोर्ट तयार पार्दासम्म रास्वपाकै आधिकारिक पेजको लाइभमा मात्र ८ लाख ३४ हजारभन्दा बढी भ्यूज देखिन्छ । सञ्जालबाटै आफ्नो उदयको जग खनेको यो दलको महाधिवेशनमा पनि सञ्जालको प्रभाव देखिएको छ ।
तर, आइतबार महाधिवेशन अवधिभर मञ्चमा विभिन्न दलका नेताहरुले अंकमाल गरिरहँदा सामाजिक सञ्जालमा कार्यकर्ताको जुहारी चलिरह्यो । सामाजिक सञ्जालका टिप्पणी र भिडियो लाइभमा आएका कमेन्टले पनि यस्तै देखाउँछ ।
शनिबारसम्म रास्वपाभित्रै र केही राजनीतिक वृत्तका व्यक्तिबीच आएका टिप्पणीबाहेक आम चासोमा देखिएका थिएनन् । हुन पनि पदाधिकारी तहमा सर्वसम्मत हुने समाचार आइरहँदा महाधिवेशनमा देखिने नेतृत्व छनोटको ‘टसल’ यस पार्टीभित्र देखिएको थिएन । अधिकांश विषय ‘स्वभाविक’ लाग्दा सामान्य चासोबाहेक त्यस्तो रोचक पक्ष नहुने अड्कलबाजी धेरैको देखिन्थ्यो ।
तर, आइतबार बिहानसम्म आइपुग्दा एकाएक सञ्जालभरी रास्वपा महाधिवेशनको उद्घाटनसत्रको चर्चा हुनथाल्यो । कारण थियो – चितवनको उक्त सत्रमा फरक दलका कसलाई निम्त्याइयो र को–को जान्छन् भन्ने विषयको चासो ।
नेपाली राजनीतिमा आफ्नो दलको महाधिवेशनमा अन्य दलका शीर्ष नेताहरूलाई अतिथिका रूपमा निमन्त्रणा गर्ने र शुभकामना आदानप्रदान गर्ने स्थापित संस्कार छ ।
रास्वपाले पनि यही परम्परालाई निरन्तरता दिँदै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई चितवन बोलायो, जसले गर्दा अन्य दलका नेता तथा कार्यकर्ताहरूको ध्यान पनि चितवनतिरै खिचियो ।

सुरुवातमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा रास्वपा महाधिवेशनमा नजाने समाचारहरू बाहिरिएपछि सामाजिक सञ्जालमा सबै दलका कार्यकर्ताहरूले यसबारे विभिन्न टीकाटिप्पणी गर्न थालेका थिए । थापा स्वयंले ‘प्रिय रवि लामिछाने’ लेख्दै सामाजिक सञ्जालबाटै पार्टी महाधिवेशनको शुभकामना दिन भ्याए ।
यसरी थापाले रास्वपा महाधिवेशनमा नजाने संकेत दिएपछि रास्वपाका कतिपय आक्रामक कार्यकर्ताहरूले त गगन थापालाई लक्षित गर्दै ‘सदन र सडकमा अनुहार देखाउन नसकेर नआउने बहाना बनाएको’ भन्नेसम्मका टिप्पणी गर्न भ्याए ।
तर कांग्रेस सभापति थापा महाधिवेशनको मञ्चमा गए ।
थापाले कार्यक्रम उद्घाटनका क्रममा घण्टी बजाए । रास्वपाका वरिष्ठ नेता बालेन शाहले दिएको घण्टी बजाउनासाथ विपक्षीले सामाजिक सञ्जालमा ट्रोल र खिसिट्यूरीको विषय बनाए ।
विशेषगरी कांग्रेसकै कतिपय कार्यकर्ताहरूले यसलाई चित्त बुझाइरहेका थिएनन् । सामाजिक सञ्जाल प्रयोगकर्ता निरु थापाले व्यङ्ग्य गर्दै लेखिन् – चितवन पुगेर गगन थापाले मन नलागी नलागी घण्टी बजाए ।
रास्वपा महाधिवेशनको भिडियो लाइभ चल्दै थियो । यही माहौलबीच कांग्रेसका कार्यकर्ता अनुपन जिसी जस्ता व्यक्तिहरू पनि रास्वपाको पेजबाट भइरहेको लाइभमा जोडिएर निरन्तर ‘वि लभ गगन थापा’ भन्दै कमेन्ट गर्न थाले । क्रमशः अन्य कांग्रेस कार्यकर्ता पनि थपिए । माथि दुई पार्टीका सभापति रवि लामिछाने र गगन थापा अंकमाल गरिरहँदा कमेन्ट सेक्सनमा तिनै पार्टीका कार्यकर्ताका जुहारी चलिरहे ।
रास्वपाले अघि सारेको ‘निलो क्रान्ति’को प्रसंगलाई लिएर विपक्षी दलका कार्यकर्ताहरूले ‘आगो क्रान्ति जिन्दावाद’ भन्दै व्यङ्ग्य समेत गरेका देखिन्थे ।
यसरी विपक्षी दलका प्रतिनिधि उपस्थिति हुनु र उक्त पार्टीको कार्यक्रम ढाँचाअनुसार घण्टी बजाइदिनुलाई रास्वपाका समर्थकहरूले वैकल्पिक शक्तिको स्वीकारोक्तिका रूपमा व्याख्या गरेको बुझ्न गाह्रो थिएन । सोही तर्कमा काउन्टर गर्न आइपुगेका अन्य दलका कार्यकर्ताको ‘इगो’ पनि कम्ति देखिन्थेन ।

नेताहरू बोल्ने क्रममा महाधिवेशनको मञ्चमा जब एमाले नेता प्रदीप ज्ञवाली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आ–आफ्नो धारणा राख्न थाले, तब हलभित्र र डिजिटल कमेन्ट सेक्सन दुवैतिर होहल्ला चल्यो ।
उपेन्द्र यादव मञ्चमा बोल्दै गर्दा सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले विगतको चर्चित ‘गौर हत्याकाण्ड’को प्रसङ्ग निकाले । त्यसमाथि छानबिन हुनुपर्ने भन्दै टिकाटिप्पणी विभिन्न पेजका लाइभ सेक्सनमा गएर हेर्दा देखिन्छ ।
त्यस्तै, एमाले नेता प्रदीप ज्ञवाली बोल्न उभिएपछि माहौल अझ बढी गर्मायो । ज्ञवालीले आफ्नो सम्बोधनका क्रममा जब रास्वपाको कार्यशैली, पपुलिजम र राजनीतिक परिपक्वतामाथि केही आलोचनात्मक टिप्पणी वा सुझाव दिन थाले, तब हलमा उपस्थित कार्यकर्ताहरूले तलबाट चर्को होहल्ला र हुटिङ गरे । त्यो हुटिङको प्रभाव फेसबुक लाइभको कमेन्ट सेक्सनमा पनि देखियो ।
कतिपय प्रयोगकर्ताहरूले त्यो अराजकतालाई अझ बढी प्रश्रय दिँदै कमेन्ट गरिरहेका थिए भने कतिपयले भने बोलाएका पाहुनालाई सम्मान दिनुपर्ने राजनीतिक शिष्टाचार सम्झाइरहेका थिए ।
यही भीडमा राम वाग्लेजस्ता रास्वपा कार्यकर्ता पनि थिए, जसले आफ्नै दलका साथीहरूलाई सम्झाउँदै कमेन्टमा लेखे, ‘कार्यक्रममा आउनुभएका सम्पूर्ण अतिथिजनमा कसैले नराम्रो कुराहरू नलेख्नु हुन आग्रह गर्दछु । प्लिज जय घण्टी ।’
पार्टी छाडेर गएका नेताहरूको सम्झना
रास्वपाले पहिलो महाधिवेशन गर्दैगर्दा यसको स्थापनाकालमा महत्वपूर्ण भूमिका खेलेर पछि विभिन्न कारणले पार्टी छाडेका वा कारबाहीमा परेका नेताहरूले सामाजिक सञ्जालमार्फत दिएका प्रतिक्रियालाई पनि चासोका साथ हेरियो ।
रास्वपाका पूर्वमहामन्त्री डा. मुकुल ढकालले महाधिवेशनकै दिन फेसबुकमा एउटा लामो र भावुक स्ट्याटस लेख्दै असन्तुष्टि जनाए । उनले लेखे, ‘विडम्बना ! पार्टीलाई फु लेखिसक्ने व्यक्ति प्रधानमन्त्री बनिसक्दा, पार्टी स्थापना गर्ने म महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ ।’
ढकालले महाधिवेशन केवल पद बाँडफाँड वा व्यक्ति चयनको कार्यक्रम मात्र बन्न नहुने भन्दै प्रतिनिधिहरूलाई सम्बोधन गरेर थप लेखे, ‘पद वा व्यक्तिमा सीमित हुनु राजनीति होइन, राजव्यक्ति गर्नु हो । राजनीति भनेको राज्य सञ्चालनका नीति, सिद्धान्त, विचार र कार्यदिशामाथिको बहस हो ।’
उनको यो पोष्टमाथि सामाजिक सञ्जालमा पक्ष र विपक्षमा चर्काचर्की पर्यो । अधिकांशले त गाली नै गरेका छन् । फेसबुक प्रोफाइलमा आएका दुईहजार लाइकमा ‘हाहा रियाक्ट’ मात्र झन्डै तीन सय हाराहारी छन् ।
त्यस्तै, पार्टीका अन्य पूर्वकेन्द्रीय सदस्य तथा विगतमा रास्वपा छाडेका कतिपय पुराना अनुहारहरूले पनि सामाजिक सञ्जालमा रास्वपाको सुरुवाती नारा ‘जान्नेलाई छान्ने’ र हालको आन्तरिक अभ्यासबीचको भिन्नतालाई लिएर टिप्पणी गरेका छन् ।
उनीहरूले पार्टी सुरु गर्दाका सिद्धान्तहरू र अहिले सत्ता राजनीतिमा पुगेपछि देखिएका विचलनहरूलाई तुलना गर्दै नेतृत्वलाई आफ्नो मूल बाटो नबिर्सन आग्रह गर्दै सञ्जालबाटै शुभकामना दिएको पनि देखिन्छ ।
हर्क साम्पाङको खोजी
रास्वपा महाधिवेशनको उद्घाटन सत्रमा नदेखिएपछि सामाजिक सञ्जालमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ खोजीको पात्र बने ।
बालेनसँगै राष्ट्रिय राजनीतिमा उदायका, अझ वैकल्पिक राजनीतिको वकालत गर्ने अर्का चर्चित पात्र साम्पाङ मञ्चमा नदेखिएपछि चासोको विषय बन्नु स्वभाविक हो । उनी त्यहाँ नजाने कुरा सामाजिक सञ्जालबाट यसअघि नै घोषणा गरेपनि थाहा नहुनेका लागि खोजीको विषय बने ।
प्रकाश कार्की नामका सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुक कमेन्टमा खोजेका छन् — हर्क खोइ, खोइ भन्दैछन्, सबैजना । कहाँ छन् नि बुढा ? लौन भनिदिनुपर्यो ।
यसरी सम्पाङको खोजी हुँदै गर्दा चितवन महाधिवेशनमा भने रैथाने थारु नृत्य देखाइँदै थियो । हर्कको खोजीसँगै महाधिवेशनमा देखाइएको सांस्कृतिक झाँकी र नृत्यमाथि पनि सामाजिक सञ्जालमा फरक खाले रचनात्मक अपेक्षाहरू देखिए ।
कार्यक्रममा थारु समुदायको परम्परागत नृत्य देखाइएको विषयलाई धेरैले तारिफ गरे पनि कतिपय प्रयोगकर्ताहरूले रास्वपा राष्ट्रिय स्वरूपको पार्टी भएकाले सबै प्रदेशको प्रतिनिधिमूलक नृत्य वा झाँकी देखाएको भए अझ बढी न्यायोचित र सुन्दर हुने अपेक्षा राखिरहेका थिए । फरक पार्टीका नेता र फरक किसिमका झाँकीहरुको अपेक्षा गर्नेहरुको कमी पनि सञ्जालमा देखिएको थिएन ।
विदेशमा रहेका नेपालीको उत्साह
यो महाधिवेशनलाई लिएर देश बाहिर रहेका गैरआवासीय नेपाली (डायस्पोरा) हरूमा पनि निकै ठूलो उत्साह देखियो । मलेसियाबाट प्रत्यक्ष प्रसारण हेरिरहेका विकास घलानले आफू मलेसियाबाट लाइभ जोडिएको बताउँदै नयाँ राजनीतिको उदयप्रति ठूलो भरोसा र उत्साह व्यक्त गरे ।
उनीजस्तै खाडी मुलुक, युरोप र अमेरिकामा रहेका हजारौँ नेपालीहरूले देशमा केही परिवर्तन हुने आशामा यो महाधिवेशन नियालिरहेका र कमेन्ट बक्समा लगातार घण्टी र राष्ट्रिय झण्डाका इमोजीहरू पठाएर ऐक्यबद्धता जनाइरहेका देखिए ।
‘जय घण्टी । अब रबि–बालेनले देश बनाउने हो । दुबैबाट हेर्दैछु…,’ सोनाम घले नामका प्रयोगकर्ताले लाइभ कमेन्ट गर्दै थिए । यसरी डायस्पोराको लागि पनि रास्वपा महाधिवेशन अत्यधिक चासोमा पर्नुलाई अस्वभाविक मान्न नहुने कतिपयको टिप्पणी देखिन्छ ।

हुन पनि रास्वपाले डिजिटल भोटिङ र प्रविधिको अधिकतम प्रयोग गर्ने विषयलाई वकालत गरिरहेकाले पनि उनीहरूको चासोमा परे ।
यसरी चितवनको मैदानमा झैँ डिजिटल मैदानमा यसको चर्चा हुनुमा रास्वपाकै प्रचारशैलीले पनि प्रभाव पारेको देखिन्छ ।
जस्तो, टिकटकमा महाधिवेशनका साना–साना भिडियो क्लिपहरू र रवि–बालेनको संयुक्त आगमनका दृश्यहरू भाइरल बने । पार्टी सभापति रवि लामिछाने स्वयंले सामाजिक सञ्जालबाटै आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दै आइरहेका थिए ।
उनले नै फेसबुकमा रास्वपा महाधिवेशनको प्रचारात्मक कभर फोटो राख्ने अभियान चलाएका थिए ।
आइतबार जब फेसबुक लाइभको कमेन्ट बक्स गालीगलौज, दलगत अहंकार र तुच्छ शब्दहरूले भरिँदै गइरहेको थियो, तब केही कार्यकर्ताले भने डिजिटल शिष्टाचार सिकाइरहेका देखिन्थे ।
जस्तो, विभिन्न दलका कार्यकर्ताहरू आपसमा झगडा गरिरहँदा तपेन्द्र खड्काजस्ता प्रयोगकर्ता जोड दिँदै लेखिरहेका भेटिन्थे – कृपया सभ्य कमेन्ट गरौँ । सचेत नागरिकको परिचय दिऔँ ।
प्रतिक्रिया 4