६ असार, गुल्मी । ‘लागुऔषधको चुनौती चिनौं : सामाजिक समाधानको बाटो खोजौं’ भन्ने नारासहित लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को अवसरमा गुल्मीमा सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको छ।
जिल्ला प्रशासन कार्यालय गुल्मीको आयोजनामा सञ्चालन भएको अभियानको शुभारम्भ प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले गरेका हुन । कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालय, सुरक्षा निकाय, निजी क्षेत्र, सञ्चारकर्मी र नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रमका क्रममा औषधी व्यवसायी संघ गुल्मीले २० वटा लागुऔषध सेवन परीक्षण (डोप टेस्ट) किट सहयोगस्वरूप उपलब्ध गराएको छ ।
किट सवारी चालक तथा शंकास्पद व्यक्तिहरूको परीक्षणमा प्रयोग गरिने जनाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार असार ६ देखि १२ गतेसम्म विभिन्न सचेतनामूलक तथा नियन्त्रणमुखी कार्यक्रम सञ्चालन गरिनेछन् ।
अभियानअन्तर्गत सवारी साधन, होटल तथा जोखिमयुक्त स्थानहरूमा निगरानी र चेकजाँच, सवारी चालकहरूको लागुऔषध परीक्षण, पर्चा–पम्प्लेट तथा स्टिकर वितरण, एफएम रेडियो, टेलिभिजन र पत्रपत्रिकामार्फत जनचेतनामूलक सन्देश प्रवाह गरिनेछ ।
त्यसैगरी समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत वडा तथा टोलस्तरसम्म सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने, होटल तथा यातायात व्यवसायी, औषधी व्यवसायी र युवा क्लबहरूसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम गरिने भएको छ ।
विद्यालय तथा कलेजहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै सबै माध्यमिक विद्यालय र कलेजमा ‘एन्टी ड्रग क्लब’ गठन गरिने योजना रहेको छ। अभियान अन्तर्गत असार ११ गते जिल्ला प्रशासन कार्यालयको गेटअगाडि सचेतनामूलक भिडियो प्रदर्शनी गरिनेछ भने असार १२ गते प्रभातफेरीसहित सप्ताहव्यापी कार्यक्रमको समापन गरिनेछ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले लागुऔषध दुर्व्यसन, ओसारपसार तथा बिक्री–वितरण नियन्त्रणका लागि सबै सरोकारवाला र नागरिकलाई जिम्मेवार बन्न आग्रह गर्दै अभियानलाई सफल बनाउन सक्रिय सहभागिताको आह्वान गरेको छ ।
प्रतिक्रिया 4