६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को साधारण सदस्यको संख्या ५ लाख नाघेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । चितवनमा भोलिबाट हुन लागेको पहिलो राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित केन्द्रीय समिति बैठकपछि पत्रकारसँग कुराकानी गर्दै उनले सो तथ्यांक प्रस्तुत गरेका हुन् ।
‘रास्वपाको साधारण सदस्यता अहिलेसम्म पाँच लाख नाघिसकेको महामन्त्री तथा हाम्रो संगठन विभागबाट प्राप्त भएको छ,’ प्रवक्ता झाले भने ।
यस्तै, ४ हजार ६३ वडामा पार्टीको वडा अधिवेशन भएर त्यहाँबाट प्रतिनिधित्व हुँदै केन्द्रीय महाधिवेशनसम्म पुगेको उनले बताए ।
उनका अनुसार केन्द्रीय महाधिवेशनअघि देशभरका ७५३ मध्ये ६१० पालिकाका अधिवेशन सम्पन्न भएका छन् । यस्तै १६५ निर्वाचन क्षेत्रमध्ये १०० वटामा क्षेत्रीय अधिवेशन र ७७ जिल्लामध्ये ६३ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको उनले जानकारी दिए ।
१३ वटा जिल्लाबाट तदर्थ समितिकै तर्फबाट महाधिवेशनमा सहभागिता भइरहेको उनले बताए ।
यस्तै, ६ वटा प्रदेशमा प्रदेश अधिवेशन सकिएको उनले जानकारी दिए । ‘मधेश प्रदेशको केही प्राविधिक कारणले बाँकी रह्यो । सहभागिता सन्तुलित छ,’ उनले भने ।
महाधिवेशनमा हालसम्म ३९१८ जना महाधिवेशन प्रतिनिधि दर्ता हुन आएको उनले बताए ।
प्रतिक्रिया 4