+
+
Shares

वैदेशिक व्यापार र निर्यात दुवैमा कीर्तिमान   

यसअघि आव २०७८/७९ मा सर्वाधिक वैदेशिक व्यापार भएको थियो । त्यसबेला वार्षिक २१ खर्ब २० अर्ब ४७ करोडको वैदेशिक व्यापार भएकोमा यस वर्ष ११ महिनामै नयाँ कीर्तिमान बनेको हो ।

अच्युत पुरी अच्युत पुरी
२०८३ असार ८ गते १५:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्षको ११ महिनामा नेपालको वैदेशिक व्यापार २१ खर्ब ७२ अर्ब ६ करोड रुपैयाँ पुगेर नयाँ कीर्तिमान कायम भएको छ ।
  • जेठ मसान्तसम्म नेपालको निर्यात इतिहासकै उच्च २ खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ बराबर पुगेको भन्सार विभागले जनाएको छ ।
  • कुल निर्यातमा सोयाबिन तेलको हिस्सा प्रमुख रहेको छ भने स्थानीय उत्पादनतर्फ १२ अर्ब १ करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ ।

८ असार, काठमाडौं । नेपालको वैदेशिक व्यापार आकार र निर्यात व्यापार दुवैमा कीर्तिमान बनेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (जेठ मसान्त) सम्मको तथ्यांक अनुसार वैदेशिक व्यापार आकार २१ खर्ब ७२ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । यो इतिहासकै उच्च हो ।

यसअघि आव २०७८/७९ मा सर्वाधिक वैदेशिक व्यापार भएको थियो । त्यसबेला वार्षिक २१ खर्ब २० अर्ब ४७ करोडको वैदेशिक व्यापार भएकोमा यस वर्ष ११ महिनामै नयाँ कीर्तिमान बनेको हो ।

नेपालको वैदेशिक व्यापार इतिहासमा तेस्रो पटक २० खर्बमाथिको वैदेशिक व्यापार भएको छ । गत आव २०८१/८२ मा वैदेशिक व्यापार आकार २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ थियो ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी) का सूचना अधिकारी कृष्णराज बजगाईंका अनुसार अघिल्लो पटक आयातमा उछाल आउँदा नयाँ कीर्तिमान बनेको थियो ।

यसपालि निर्यात व्यापारले सहयोग गरेको छ । ‘त्यस वर्ष आयातमा उछाल आउँदा रेकर्ड बनेको थियो, अहिलेको सन्दर्भमा सकारात्मक पक्ष निर्यातको उच्च बिन्दु हो,’ उनले भने ।

निर्यात इतिहासकै उच्च

यस वर्ष ११ महिनामा निर्यात २ खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख बराबर पुगेको छ । यो अहिलेसम्मकै उच्च बिन्दु हो । गत आव (१२ महिना) अवधिमा निर्यात २ खर्ब ७७ अर्ब ३ करोड थियो ।

गत वर्ष बनेको कीर्तिमान यस वर्ष ११ महिनामै तोडिएको छ । गत आव ११ महिनामा २ खर्ब ४७ अर्ब ५७ करोड बराबरको वस्तु निर्यात भएको थियो ।

टीईपीसीका सूचना अधिकारी बजगाईंले निर्यात व्यापारले उच्च बिन्दु छोएको जानकारी दिए । उनका अनुसार यस बिन्दुबाट अब निर्यात व्यापारलाई माथिल्लो स्तरमा लैजान सरकार, निजी क्षेत्र र सरोकारवालाले अझ प्रयास गर्नुपर्ने समय आएको उनी बताउँछन् । गत आव ११ महिनाको तुलनामा निर्यात १२.२८ प्रतिशत बढेको छ ।

जेठसम्मको वैदेशिक व्यापार

आयात : १८ खर्ब ९४ अर्ब

निर्यात : २ खर्ब ७७ अर्ब

कुल वैदेशिक व्यापार : २१ खर्ब ७२ अर्ब

व्यापार घाटा : १६ खर्ब १६ अर्ब

आयात/निर्यात अनुपात : ६.८१

आयात हिस्सा : ८७.२० प्रतिशत

निर्यात हिस्सा : १२.८०

यस वर्ष निर्यातमा आएको उछालमा सोयाबिन तेलको भूमिका मुख्य छ । नेपालले ११ महिनामा १ खर्ब १३ अर्ब रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात गरेको छ । सोयाबिन तेल नेपालमा तेस्रो मुलुकबाट आयात हुन्छ र भारतीय बजारमा निर्यात हुन्छ ।

टीईपीसीका सूचना अधिकारी बजगाईंका अनुसार यसरी हुने निर्यातले नेपालमा मूल्य अभिवृद्धि हुँदा मुलुकलाई लाभ नै पुग्छ । साथै, स्वदेशी उद्योगमा रोजगारी सिर्जना भइरहेको छ । सोहीकारण व्यापारको यस्तो प्रवृत्ति स्थायी बनाउन प्रयास गर्नुपर्ने उनको भनाइ छ ।

तथ्यांक अनुसार निर्यातको दोस्रो स्थानमा अलैँची छ । यस वर्ष १२ अर्ब १ करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । जुन गत वर्षको वार्षिक निर्यातभन्दा झन्डै दोब्बर धेरै हो । गत वर्ष कुल ७ अर्ब ६८ करोडको अलैँची निर्यात भएको थियो ।

अलैँची नेपालको स्थानीय उत्पादन हो । यस्ता वस्तु निर्यात वृद्धिले दिगो निर्यातमा योगदान गर्ने विज्ञ बताउँछन् । यस वर्ष ११ महिनामा बढी निर्यात भएका वस्तुको तेस्रो स्थानमा कार्पेट छ । जुन ९ अर्ब ३८ करोड बराबर निर्यात भएको छ ।

चौथो स्थानमा सूर्यूमखी तेल छ । जुन ७ अर्ब ९९ करोडको निर्यात भएको तथ्यांक छ । पाँचौं स्थानमा पाम आयल छ । यसबाट मुलुकले ६ अर्ब १४ करोड रुपैयाँ बराबर विदेशी मुद्रा आर्जन गरेको छ ।

यस वर्ष कुल वैदेशिक व्यापारमा निर्यात हिस्सा २.१८ प्रतिशतले  कमी आएको छ । यसो हुनुमा निर्यातको तुलनामा आयातको वृद्धिदर बढी हुनु हो ।

महँगीले आयातमा चाप

यस वर्ष वस्तु निर्यातमा विश्वव्यापी महँगी चाप स्पष्ट देखिन्छ । खासगरी इन्धन आयातमा मुलुकले धेरै मूल्य तिरेर गत आवभन्दा कम मात्रामा आयात गर्नुपरेको छ । सोहीकारण पछिल्ला दिनमा हरेक महिनाजसो २ खर्बमाथि आयात पुगेको छ ।

भन्सार विभागका अनुसार यस वर्ष १९ खर्बको आयातमा सबैभन्दा धेरै हिस्सा इन्धनको छ । डिजेल आयातमा ११ महिनामा १ खर्ब ५२ अर्ब रुपैयाँ विदेशिएको छ । कच्चा सोयाबिन तेल आयातमा १ खर्ब १९ अर्ब विदेशिएको तथ्यांक छ ।

त्यस्तै पेट्रोल आयातमा ६८ अर्ब १७ करोड र खाना पकाउने एलपी ग्यास आयातमा ५२ अर्ब २१ करोड रुपैयाँ विदेशिएको छ । ११ महिनामा ४३ अर्ब ४५ करोडका स्मार्ट फोन आयात भएका छन् । सुन २५ अर्ब ७५ करोडको भित्रिएको छ ।

सवारीसाधन र पार्टपुर्जा आयातमा १ खर्ब १२ अर्ब रुपैयाँ विदेशिएको भन्सार विभागले जनाएको छ । इन्धन आयातमा मात्र कुल ३ खर्ब ४३ अर्ब लागत लागेको देखिन्छ । निर्यातमा कच्चापदार्थका रूपमा प्रयोग भइरहेको वनस्पति तेल तथा घिउ आयातमा १ खर्ब ६२ अर्ब बराबर लागत लागेको देखिएको छ ।

भारत र चीन मुख्य साझेदार

नेपालको वैदेशिक व्यापारका मुख्य साझेदार देश भारत र चीन हुन् । ११ महिनामा भारतबाट नेपालमा १० खर्ब ९२ अर्ब रुपैयाँको वस्तु भित्रिएको छ । नेपालबाट भारततर्फ २ खर्ब २८ अर्बको वस्तु निर्यात भएको छ ।

उता, चीनबाट नेपालमा ३ खर्ब ८२ अर्बको वस्तु आयात भएको छ । निर्यात भने १ अर्ब ५८ करोडको मात्र भएको छ । अर्जेन्टिनाबाट १ खर्ब ५ अर्बको वस्तु आयात भएको छ । युनाइटेड अरब इमिरेट्स (यूएई) बाट ५० अर्ब ९९ करोडको वस्तु भित्रिँदा १ अर्ब ६२ करोडको वस्तु निर्यात भएको छ ।

त्यस्तै अमेरिकाबाट २९ अर्ब १० करोडको वस्तु भित्रिएको छ । त्यहाँ नेपालबाट १८ अर्ब ५८ करोडको वस्तु निर्यात भएको छ । नेपालले १ सय ५० भन्दा बढी देशसँग व्यापार गर्छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?