+
+
Shares

रास्वपालाई शुभचिन्तकको सुझाव : ५ भोट नल्याउने मानिस केन्द्रीय सदस्य भनेर दौडिएका छन्

‘म कुन धरातलमा छु’ भन्ने नबुझिकन धेरैजसो साथीहरू केन्द्रीय सदस्य भनेर दौडिएको मैले देखिरहेको छु।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १०:३९

९ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गतको बन्दसत्र हिजो हुनुपर्ने थियो, तर आजका लागि सारिएको छ। अहिले यहाँ प्रतिनिधिको कार्ड र खाजाको कुपन वितरण गर्ने काम भइरहेको छ। त्यसपछि बन्दसत्र सुरु गर्ने रास्वपाको तयारी छ। बिहानैदेखि प्रतिनिधि र शुभेच्छुकहरू आउने क्रम जारी छ।

चितवनवासी समर्थक र सल्लाह-सुझाव दिने स्थानीय नेताहरू पनि यहाँ छन्। महाधिवेशन लम्बिएसँगै रास्वपाले कस्तो नीति र नेतृत्व लिनुपर्छ भन्ने विषयमा पनि यहाँ चर्चा भइरहेको छ। अनलाइनखबरले रास्वपाका एक स्थानीय शुभचिन्तक रमाकान्त न्यौपानेसँग कुरा गरेको छः

रास्वपाको पहिलो महाधिवेशनलाई कसरी हेरिरहनुभएको छ ?

म रविजीको अभियानमा सुरुदेखि नै दायाँबायाँ नलागी पूर्ण विश्वस्त भएर लागेको मान्छे हुँ। म धेरै खण्डन-मण्डन गर्दिनँ। हिजो सानो परिवार थियो, मिलेर बसेको थियो। आज ठूलो परिवार हुँदाखेरि केही गन्जागोल हुनु स्वाभाविक हो। शिक्षा, स्वास्थ्य, रोजगार र गाँस, बास, कपासको अवधारणा बोकेर जनताका समस्या समाधान गर्न उहाँ अगाडि बढ्नुभएको छ। यसमा हाम्रो साथ-सहयोग छँदै छ। तर, मेरो मुख्य सुझाव- पार्टीमा ‘एक व्यक्ति, एक पद’ लागू भयो भने सबैलाई स्थान रहन्छ। एउटै व्यक्तिले सबै पद समेट्ने हो भने अरू साथीभाइ र इष्टमित्रले स्थान पाउँदैनन्।

तल्लो तह (ग्रासरुट) मा राम्रो सम्पर्क नभएका, जसले पाँचवटा भोट पनि ल्याउन सक्दैनन्, त्यस्ता मान्छेहरू ‘केन्द्रीय सदस्य हुन्छु’ भन्दै दौडिएका छन्। भोलि बिहान केन्द्रीय सदस्यमा हार्नुभयो भने उहाँहरूले सांसदको टिकट पनि पाउनुहुन्न। सबभन्दा पहिले जग बलियो बनाउनुपर्छ, ग्रासरुट राम्रो बनाउनुपर्छ।

‘म कुन धरातलमा छु’ भन्ने नबुझिकन धेरैजसो साथीहरू केन्द्रीय सदस्य भनेर दौडिएको मैले देखिरहेको छु। मैले कसैको खण्डन गर्न खोजेको होइन, तर आफ्नो जग कति बलियो छ भन्ने कुरा ख्याल गर्नुपर्छ। जुन प्रदेशबाट उठ्दै हुनुहुन्छ, त्यहाँका वडा सदस्यदेखि वडा सभापतिहरूसम्मको नाम थाहा छ कि छैन ?

कुन-कुन वडामा गएर पार्टी सङ्गठन बनाउनुभएको छ ? त्यो ख्याल छैन। गाउँमा गयो भने कसैलाई चिन्दैनन्, अनि यहाँ आएर ‘म केन्द्रीय सदस्य हुन्छु’ भन्छन्। उस्तै पर्‍यो भने घरकै मान्छेले पनि चिन्दैनन्। यस्तो परिस्थिति आइरहेको छ।

तपाईंको भनाइअनुसार सांसद भएका व्यक्तिहरू केन्द्रीय समिति वा पदाधिकारीमा उठ्न हुँदैन भन्ने हो ?

त्यो सबै कुरा मैले जानिनँ। ‘एक व्यक्ति, एक पद’ हुनुपर्छ भन्ने कुरा उहाँहरू आफैँले बुझ्ने कुरा हो। म साङ्केतिक रूपमा मात्रै भन्दै छु। सबैलाई अवसर दिनुपर्छ र तल्लो तहमा सबैलाई मिलाएर लानुपर्छ। अहिले स्थानीय तहको चुनाव जित्न एकदमै गाह्रो छ।

तपाईं पहिला कुन पार्टीमा हुनुहुन्थ्यो ?

पहिला म नेपाली काङ्ग्रेसमा थिएँ। यहाँ विभिन्न पार्टीबाट आएका साथीहरू हुनुहुन्छ। अहिले पुराना पार्टीहरू गठबन्धन गरेर एकातिर जोडिने स्थिति ल्याइरहेका छन्। विगतमा रास्वपालाई आएको भोटमा सामाजिक सञ्जाल र प्रवासी नेपाली (एनआरएन) साथीहरूको ठूलो सहयोग थियो। तर अब स्थानीय तह बलियो बनाउन सकिएन भने टाउको एकातिर, शरीर अर्कोतिर हुन्छ। टाउकाले एकातिर देखाउँछ, शरीर अर्कोतिर जान्छ। यसले हामीलाई एकदम घात पुग्छ।

बालेनजी, रविजी, स्वर्णिम, सोबिता, विराजभक्तलगायत सबै केन्द्रीय नेताहरूले यो कुरा सोच्नुपर्छ। ग्रासरुटमा बलियो बनाउनुभएन भने भोलि अर्को चुनावमा हामी कुन स्थितिमा पुग्छौँ भन्ने कुरा उहाँहरूले बुझ्नुपर्छ। आजै सबै पद हत्याउने कोसिस गर्नु हुँदैन।

भनेपछि सांसद वा मन्त्री भएकाहरू केन्द्रीय सदस्यमा नउठे हुन्थ्यो भन्ने तपाईंको धारणा हो ? यो तपाईंको मात्रै बोली हो कि आम कार्यकर्ताको पनि ?

मैले साङ्केतिक भाषा मात्रै बोलेको हुँ, बुझ्नेले कुरा बुझ्नुपर्छ। आम कार्यकर्ताको भनाइ पनि यही हो। यहाँका लगभग ९५ प्रतिशत मान्छेले ‘एक व्यक्ति, एक पद’ हुनुपर्छ भनेका छन्। एउटा कविले भनेका छन् नि- ‘हे मानव, किन गर्छस् मानवताको अपमान !’

मान्छे भएर मान्छेलाई अपमान गर्न हुँदैन। हिजो जनताले मत दिएर आफूहरू माथि पुग्ने, अनि आज तिनै जनता वा कार्यकर्तालाई अपमान गर्‍यो भने भोलि कुन घरमा गएर पस्ने ? जुन घरको मान्छेलाई अपमान गर्‍यो, भोलि त्यही घरमा पसेर कसरी खाना खाने ? त्यसैले अपमान गर्न हुँदैन।

अब केन्द्रीय समितिको निर्वाचन हुँदै छ, पदाधिकारीको पनि चुनाव गर्नुपर्छ कि पर्दैन ? 

मेरो धारणा के हो भने, केन्द्रले राम्रोसँग सोचोस्। म धेरै कुरा गर्न चाहन्नँ, साङ्केतिक रूपमा मात्रै भन्न चाहन्छु। बस, त्यति हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?