देशका विभिन्न स्थानमा बेला–बेलामा बर्ड फ्लू संक्रमण देखिने घटनाले उपभोक्तामाझ चिन्ता र अन्योल बढाउने गरेको छ । कुनै फार्ममा संक्रमण पुष्टि भएको समाचार सार्वजनिक हुनेबित्तिकै धेरै मानिसको मनमा एउटै प्रश्न उठ्छ, अब कुखुराको मासु खान सुरक्षित छ कि छैन ?
यिनै जिज्ञासाको जवाफ जस्ताको त्यस्तै :
१. बर्ड फ्लू मानिसमा कसरी सर्छ ? कस्ता व्यक्तिमा जोखिम बढी हुन्छ ?
बर्ड फ्लू संक्रमित पन्छीको दिसा, र्याल, प्वाँख वा शरीरबाट निस्कने तरल पदार्थमार्फत मानिसमा सर्न सक्छ । विशेषगरी फार्ममा काम गर्ने, कुखुरा काट्ने, मरेका पन्छी व्यवस्थापन गर्ने वा संक्रमित खोर सफा गर्ने व्यक्तिमा जोखिम बढी हुन्छ । भाइरस दूषित धुलो वा हावासँग मिसिएर पनि शरीरमा प्रवेश गर्न सक्छ ।
तर, मानिसबाट मानिसमा सहज रूपमा फैलिने रोग भने अझै बनेको छैन ।
२. बर्ड फ्लू संक्रमित कुखुराको मासु खान मिल्छ ?
यदि राम्ररी पकाएर खाने हो भने त्यसमा भएको भाइरस बाँच्न सक्दैन, जसले संक्रमणको जोखिम गराउँदैन । तर काँचो वा राम्ररी नपाकेको मासुमा जोखिम रहन्छ ।
यो भाइरस कम्तीमा ७० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा निष्क्रिय हुन्छ । त्यसैले, मासु र अण्डा राम्ररी पकाएर खाइयो भने डराउनुपर्ने अवस्था हुँदैन । तर काँचो मासु छोएपछि साबुनपानीले हात धुनु, काँचो र पाकेको खानेकुरा अलग राख्नु र भान्सामा सरसफाइमा ध्यान दिनु आवश्यक हुन्छ ।
यद्यपि, अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य मापदण्डअनुसार संक्रमित जनावरलाई खाद्य शृङ्खलामा प्रवेश गर्न दिनु जोखिमपूर्ण मानिन्छ । मापदण्डअनुसार संक्रमण पुष्टि भएमा कुखुराको मासु उपभोगका लागि उपयुक्त हुँदैन । त्यसैले, भाइरस नष्ट हुन सक्ने सम्भावना भए पनि संक्रमित कुखुराको मासु खान सिफारिस गरिँदैन ।
३. बर्ड फ्लू भएको कुखुरा कसरी चिन्ने ? कस्ता देखिन्छन् ?
अचानक धेरै कुखुरा मर्नु, दाना कम खानु, सुस्त हुनु, अण्डा कम दिनु, सास फेर्न गाह्रो हुनु वा टाउको सुन्निनु बर्ड फ्लूका मुख्य संकेत हुन् । यस्ता लक्षण देखिए तुरुन्त पशु सेवा कार्यालयलाई खबर गर्नुपर्छ । संक्रमण लुकाउँदा जोखिम झन् बढ्न सक्छ ।
४. बर्ड फ्लू भएको कुखुरा बजारमा कसरी पुग्न सक्छ ?
सामान्य अवस्थामा सरकारी निकायले संक्रमण पुष्टि भएको क्षेत्रका कुखुरा नियन्त्रणमा लिएर नष्ट गर्ने व्यवस्था गर्छन् । साथै, त्यस्ता क्षेत्रमा निगरानी बढाइन्छ र बिक्री वितरणमा रोक लगाइन्छ ।
तर केही अवस्थामा जानकारीको अभाव, लापरबाही वा आर्थिक क्षति कम गर्ने प्रयासका कारण संक्रमित वा शंकास्पद कुखुरा लुकाएर बिक्री गर्ने जोखिम रहन्छ । यही कारण उपभोक्ताले जथाभावी स्रोतबाट मासु खरिद गर्नु हुँदैन ।
विश्वसनीय, स्वीकृत र नियमित अनुगमन हुने पसलबाट मात्र मासु खरिद गर्नु बुद्धिमानी हुन्छ ।
५. बर्ड फ्लू देखिएपछि सबै कुखुराको मासु खान छोड्नुपर्छ ?
आवश्यक छैन । बर्ड फ्लू देखिएको भन्दै सबै कुखुराको मासु असुरक्षित हुन्छ भन्ने होइन । सम्बन्धित निकायले रोगमुक्त र सुरक्षित भनी प्रमाणित गरेका फार्मबाट उत्पादन भएका कुखुरा तथा तिनका उत्पादनहरू सामान्य रूपमा उपभोग गर्न सकिन्छ ।
उपभोक्ताले के–के सावधानी अपनाउनुपर्छ ?
कुखुराको मासु खरिद गर्दा त्यसको स्रोतबारे ध्यान दिनुपर्छ । बिरामी, अस्वाभाविक रूपमा मरेका वा शंकास्पद देखिएका कुखुराको मासु प्रयोग गर्नु हुँदैन ।
मासु काट्ने, धुने र पकाउने क्रममा सरसफाइमा विशेष ध्यान दिनुपर्छ । काँचो मासुसँग सम्पर्क भएका भाँडा, चक्कु, काट्ने बोर्ड र हातलाई साबुनपानीले राम्ररी सफा गर्नुपर्छ । मासु पूर्ण रूपमा पाकेको सुनिश्चित गर्नुपर्छ । यस्ता सामान्य सावधानीले विभिन्न खाद्यजन्य संक्रमणबाट जोगिन मद्दत गर्छ ।
तर संक्रमण पुष्टि भएका, शंकास्पद वा नियन्त्रण क्षेत्रभित्रका कुखुराको मासु भने प्रयोग गर्नु हुँदैन । उपभोक्ताले आधिकारिक सूचना तथा स्वास्थ्य निकायको सल्लाहलाई आधार मानेर निर्णय लिनुपर्छ ।
प्रतिक्रिया 4