+
+
Shares

काठमाडौं गोकर्णेश्वरका ३ वडामा बर्डफ्लु पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १२:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका तीन वटा वडामा घातक बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ ।
  • सङ्क्रमण फैलिएका क्षेत्रका पङ्क्षी, अण्डा र दाना नष्ट गरी ती क्षेत्रमा निसंक्रमण कार्य तीव्र पारिएको छ ।
  • नगरपालिकाले पङ्क्षी फार्ममा जैविक सुरक्षा अपनाउन र मासुजन्य पदार्थ राम्ररी पकाएर मात्र उपभोग गर्न आग्रह गरेको छ ।

१२ चैत, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका ३ वटा वडामा घातक मानिने ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ (बर्डफ्लु) पुष्टि भएको छ ।

नगरपालिकाको वडा नं. २, ३ र ४ मा बर्डफ्लुको सङ्क्रमण देखिएसँगै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन अपिल गरेको छ । नगरपालिकाले यसको नियन्त्रण र रोकथामका लागि विशेष अभियान सुरु गरेको जानकारी दिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामनारायण मौलीले रोग पुष्टि भएका क्षेत्रहरूमा रहेका सम्पूर्ण हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पंक्षीहरू तथा तिनका अन्डा र दानालाई पूर्णरूपमा नष्ट गर्ने कार्य भइरहेको बताए ।

रोग अन्य क्षेत्रमा फैलिन नदिनका लागि प्रभावित क्षेत्रमा सुरक्षित तवरले पंक्षीहरूको विसर्जन (डिस्पोज) गरी निसंक्रमणको कार्यलाई तीव्रता दिइएको छ । बर्डफ्लु पंक्षीहरूबाट मानिसमा समेत सर्न सक्ने उच्च जोखिमयुक्त ‘जुनोटिक’ रोग भएकाले नगरपालिकाले सर्वसाधारण र फार्म सञ्चालकहरूका लागि निर्देशनहरू जारी गरिएको छ ।

नगरपालिकाले पंक्षी फार्महरूमा अनावश्यक व्यक्ति र सवारी साधनको प्रवेशलाई पूर्णतः निषेध गर्न र प्रवेश गराउनै पर्ने अवस्थामा अनिवार्य रूपमा निसंक्रमण गरेर मात्र प्रवेश गराउन अनुरोध गरेको छ ।

यस्तै, एउटा फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जाँदा सङ्क्रमण फैलने डर हुने भएकाले त्यसो नगर्न र प्रयोग भइसकेका अन्डा राख्ने कागजको क्रेटलाई पुनः प्रयोग नगर्न समेत सचेत गराइएको छ ।

रोग नियन्त्रणका लागि फार्मको जैविक सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्दै नगरपालिकाले फार्म वा खोरको प्रवेशद्वारमा अनिवार्य रूपमा चुन वा निसंक्रामक औषधि राखिएको ‘फुटबाथ’ को व्यवस्था गर्न र फार्मभित्र प्रवेश गर्दा छुट्टै बुट तथा एप्रोन प्रयोग गर्न निर्देशन दिएको छ ।

फार्म परिसरलाई दैनिक रूपमा निसंक्रमण गर्न र फार्मभित्र कुकुर, बिरालो, मुसा जस्ता अन्य जनावरलाई प्रवेश गर्न नदिन समेत भनिएको छ ।

उपभोक्ताहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै नगरपालिकाले मासु तथा मासुजन्य पदार्थहरूलाई राम्ररी पकाएर मात्र सेवन गर्न र पंक्षीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न सूचित गरेको छ ।

यदि कसैको फार्म वा घरपालुवा पंक्षीहरू अचानक धेरै संख्यामा बिरामी परेमा वा मरेमा, त्यसलाई जथाभाबी नफ्याँकी सुरक्षित तवरले खाडलमा गाड्न र तुरुन्तै नजिकको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

‘सतर्क बनौँ, बर्डफ्लुबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऔँ’ भन्ने आह्वानका साथ गोकर्णेश्वर नगरपालिकाले यस महामारीलाई नियन्त्रणमा लिन आम जनसमुदाय र सरोकारवालाहरूबाट निरन्तर सहयोगको अपेक्षा गरेको छ । सङ्क्रमण देखिएका क्षेत्रमा प्राविधिक टोली खटाइएको र स्थिति नियन्त्रणमा लिन नगरपालिका प्रतिबद्ध रहेको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?