+
+
Shares
ललितकला :

लाखौं खर्चेर बनाइएका भित्तेचित्र बिग्रिंदै, कसैले लिंदैनन् संरक्षणको दायित्व

विभिन्न सार्वजनिक स्थानमा भित्तेचित्र बनाउन काठमाडौं महानगरपालिकाले प्रतिष्ठानलाई ५० लाख रुपैंयाँ उपलब्ध गराएको थियो ।

सापेक्ष सापेक्ष
२०८३ जेठ १० गते १६:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक स्थानहरूमा भित्तेचित्र बनाउन ललितकला प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरेको थियो।
  • भित्तेचित्रहरू सडक, फुटपाथ निर्माण र केरमेटले बिग्रिएका छन् भने संरक्षणको जिम्मा प्रतिष्ठान र महानगरपालिकाबीच विवादमा छ।

काठमाडौं महनगरपालिकाले लाखौं खर्च गरेर बनाएको भित्तेचित्र संरक्षणको अभावमा बिग्रिन थालेका छन् । सहरी सौन्दर्यका लागि महानगरपालिकाले ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक स्थानहरूमा भित्तेचित्र बनाएको थियो ।

माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्ता, प्रदर्शनी मार्गका भित्ताहरू, अन्तरराष्ट्रिय विमानस्थल बाहिर, लैनचौरमा रहेको समाजकल्याण परिषद्को पर्खाल, सुन्धारा क्षेत्र, पद्य कन्या क्याम्पस, त्रिपुरेश्वर लगायतका क्षेत्रमा चित्रहरू बनाइएका थिए ।

तर, अहिले ती धेरै ठाउँका भित्तेचित्रहरू खुइलिन थालेका छन् । सडक, ढल, फुटपाथ निर्माण गर्दा धुलो जमेर चित्रहरू धुलाम्य भएका छन् भने कतिपय ठाउँमा पान, गुट्का खाएर भित्तामा थुक्दा चित्रहरू बिग्रिएका छन् । कतिपय ठाउँमा भित्ता उप्किएर चित्र बिग्रेका छन् भने कतिपयमा चित्रहरूमाथि केरमेट भएको छ ।

सबैभन्दा धेरै क्षति भने सुन्धारामा बनाइएका भित्ते चित्रहरूमा परेको देखिन्छ । नेपाल टेलिकमको भवनअघि बनाइएका अधिकांश चित्रहरू भित्ता उप्किएर कुरुप देखिन थालेका छन् । यसले उक्त ठाउँको सौन्दर्य बिगारेको छ ।

लिन मान्दैनन् कसैले संरक्षणको दायित्व

आफ्नो क्षेत्र पर्ने विभिन्न सार्वजनिक स्थानहरूमा भित्तेचित्र बनाउन महानगरपालिकाले प्रतिष्ठानलाई ५० लाख रुपैंयाँ उपलब्ध गराएको थियो । प्रतिष्ठानले चित्र बनाउन व्यक्ति र संस्थाहरूसँग सम्झौता गर्ने, कार्यादेश दिने, मूल्याङ्कन गर्ने, भुक्तानी गर्ने, जवाफदेहिता वहन गर्ने दायित्व थियो ।

तर, अहिले बिग्रिएको भित्ते चित्रहरूको संरक्षणको दायित्व प्रतिष्ठानले आफ्नो नभएको बताइरहेको छ । अनलाइनखबरसँगको कुराकानीमा प्रतिष्ठानका सूचना अधिकारी सुरेन्द्र गौतमले महानगरपालिकासँग २०८० फागुनमा भएको सम्झौतामा संरक्षणको कुरा उल्लेख नभएको बताए ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भने संरक्षणको जिम्मा पनि प्रतिष्ठानकै भएको जिकिर गरे । बनाएपछि संरक्षण पनि गर्नुपर्छ भन्ने उनको भनाइ छ ।

आफूहरूसँग रकम अभाव भएको र भित्तेचित्रहरूको संरक्षण गर्न नसकिने गौतमले जानकारी दिए ।बरु महानगरपालिकासँग फेरि सहकार्य गरेर बिग्रेका/बिगारिएका चित्रहरूलाई संरक्षण गर्न सकिने उनको भनाइ छ ।

भित्तेचित्र बनाउने थप योजनाबाट भने महानगर अहिले पछाडि सरेको प्रवक्ता मानन्धरले बताए ।

‘आफूले बनाएको चित्र बिग्रँदा मन रुन्छ’

सुन्धारा क्षेत्रमा बनाइएका भित्ते चित्रहरूमा प्रत्यक्ष संलग्न कलाकार हुने डीबी भण्डारी । यति चाँडै चित्रहरूमा क्षति पुग्नु अस्वभाविक उनी बताउँछन् । क्षति पछि आफूले पनि फिल्ड भिजिट गरेको जानकारी उनले दिए । त्यहाँका भित्ताहरू नै कमसल भएका कारण चित्रहरूमा क्षति पुगेको निष्कर्ष भण्डारीको छ ।

‘भित्ताबाट पानी रसाउँछ जस्तो छ’ उनले भने, ‘चित्रहरूको रङ उडेको छैन । तर, भित्ता उप्किएर झरेको छ’

यस्तो अवस्था देख्दा एउटा चित्रकारको मन रुने उनले सुनाए । आफूले गएर फेरि बनाउन गाह्रो भएको भन्दै उनले त्यसको जिम्मेवार महागरपालिका र प्रतिष्ठान नै हुनुपर्ने बताए । बनाउने बेलामै भित्ता र स्थानको राम्ररी अध्ययन नगर्दा यो समस्या आएको उनको भनाइ छ । नत्र सामान्य अवस्थामा लामो समयसम्म भित्ते चित्रहरू रहने उनले सुनाए ।

‘महानगरपालिकाले पनि पैसा दियो सकियो । प्रतिष्ठानले पनि बनाइदियो । सकियो, जस्तो भयो । तर, पानी लगाएर चित्र संरक्षण गर्ने, बिग्रेको, भत्केको ठाउँमा रिनोभेट गर्ने जस्ता काम भएनन्’ भण्डारी भन्छन् ।

त्यस्तै यसअघि पद्य कन्या क्याम्पसको भित्तामा बनाइएका चित्रहरूमा नियोजित रूपमा आक्रमण गरिएको थियो । सौगात तामाङले बनाएका विभिन्न जातजातीका पोर्ट्रेटमा अनुहार बिगारिने गरी केरमेट गरिएको थियो ।

आफूले बनाएको चित्रलाई त्यतिकै छाड्न मनले नमानेपछि आफ्नै खर्चमा पुन: रिनोभेट गरेको सौगताले अनलाइनखबरलाई सुनाए । उनका अनुसार चित्रहरूलाई केरमेट गर्ने, बिगार्नेलाई महानगरले कुनै कारवाही समेत गरेन । जब कि उक्त चित्र महानगरपालिकाले नै बनाएको हो । अहिले उनले रिनोभेट गरेपछाडिका चित्रहरू देख्न सकिन्छ ।

तर, म्युरल बनाइरहेका कतिपय कलाकारले भने प्रतिष्ठानले गलत तरिकाले काम गरेकाले भित्ते चित्रहरूको हालत यस्तो भएको बताउँछन् । सामान्य रङ प्रयोग गरेर कमसल भित्तामा धेरै भित्ते चित्रहरू बनाइएको उनीहरूको आरोप छ ।

‘सुन्धाराको भित्ता कमसल छ भन्ने थाहा हुँदाहुँदै पनि त्यसैमाथि चित्र बनाइएको थियो’ नाम उल्लेख गर्न नमान्ने ती एक भन्छन्, ‘त्यस्तोमा केही वर्षमै भित्ता बिग्रिहाल्छ । बाहिर कोटिङ गरेर चित्र बनाउन सकिन्थ्यो, जुन गरेको देखिएन ।’

फोटो: चन्द्रबहादुर आले

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?