News Summary
Generated by OK AI. Editorially reviewed.- जारी युद्धविरामका बीच अमेरिकी सेनाले इरानको दक्षिणी बन्दरगाह सहर बन्दर अब्बास नजिकै मिसाइल राखिएका ठाउँ र डुंगा लक्षित गरी नयाँ आक्रमण गरेको छ ।
- अमेरिकी सेन्ट्रल कमान्डले आफ्ना फौजको सुरक्षाका लागि आत्मरक्षामा सो आक्रमण गरिएको दाबी गरेको छ ।
- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आक्रमणका बाबजुद दुई देशबीच शान्ति सम्झौता अझै सम्भव रहेको बताए ।
१२ जेठ, काठमाडौं । जारी युद्धविरामका बीच अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको छ ।
अमेरिकी सेनाका अनुसार इरानी मिसाइल राखिएका ठाउँ र समुद्री सुरुङ (माइन) राख्ने प्रयास गरिरहेका डुंगाहरूलाई लक्षित गर्दै हमला गरिएको हो ।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्ट्रल कमान्ड) ले एक विज्ञप्तिमा ती आक्रमण ‘आत्मरक्षा’का लागि गरिएको दाबी गरेको छ । सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले जारी युद्धविरामका बीच अमेरिकी सेना ‘संयम अपनाउँदै आफ्ना फौजको सुरक्षा गरिरहेको’ जिकिर गरेका छन् ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकासँगको वार्तामा केही प्रगति भएको तर द्वन्द्व अन्त्य गर्ने सम्झौता ‘तत्काल हुन नसक्ने’ बताएका बेला अमेरिकाले इरानमा आक्रमण गरेको हो ।
अमेरिकी सेन्ट्रल कमान्डका क्याप्टेन हकिन्सका अनुसार आक्रमण इरानको दक्षिणी बन्दरगाह सहर बन्दर अब्बास नजिकै गरिएको थियो । यो सहर इरानी नौसैनिक अड्डाको केन्द्र हो । यो क्षेत्र होर्मुज जलडमरूमध्य (स्ट्रेट अफ होर्मुज) क्षेत्रमा अवस्थित छ ।
यसअघि इरानी सरकारी सञ्चारमाध्यमहरूले बन्दर अब्बासमा विस्फोटको आवाज सुनिएपछि स्थानीय अधिकारीहरूले अनुसन्धान गरिरहेको बताएका थिए ।
इरानले भने यो समाचार तयार पार्दासम्म अमेरिकी आक्रमणबारे हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन । यसले अमेरिका–इरानबीच सम्भावित शान्ति सम्झौतामा कस्तो असर पार्ने हो भन्ने स्पष्ट छैन ।
आक्रमणपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने शान्ति सम्झौता अझै सम्भव रहेको बताएका छन् ।
भारत भ्रमणमा रहेका रुबियोले पत्रकारहरूसँग कुरा गर्दै भनेका छन्, ‘प्रगति गर्न सकिन्छ कि भनेर हेर्नेछौं । प्रारम्भिक दस्तावेजको भाषाबारे धेरै छलफल भइरहेको छ, त्यसैले केही दिन लाग्न सक्छ ।’
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता सम्पन्न गर्न इच्छा व्यक्त गरेको पनि बताए । ‘उहाँले या त राम्रो सम्झौता गर्नुहुन्छ या सम्झौता नै हुँदैन,’ रुबियोले भनेका छन् ।
सप्ताहन्तमा ट्रम्पले अमेरिका र इरान दुवै पक्ष शान्ति सम्झौताको नजिक पुगेको संकेत दिएका थिए । तर पछि उनले वार्ताकारहरूलाई ‘हतार नगर्न’ निर्देशन दिएको बताएका थिए । रुबियोले पनि सोमबारसम्म सहमति हुन सक्ने बताएका थिए ।
तर इरानी प्रवक्ता बकाईले भने ‘धेरैजसो विवादित विषयमा निष्कर्ष नजिक पुगेका छौं भन्ने सही हो । तर यसले सम्झौता तत्काल हुँदैछ भन्ने दाबी कसैले गर्न सक्दैन,’ भनेका थिए ।
वार्तामा छलफल भइरहेको प्रारम्भिक समझदारीपत्र (मेमोरान्डम अफ अन्डरस्ट्यान्डिङ) मा ६० दिनका लागि युद्धविराम थप गर्ने, होर्मुज जलडमरूमध्य पुन: सञ्चालन गर्ने र इरानको आणविक कार्यक्रमबारे थप वार्ता गर्ने योजना समावेश रहेको बताइएको छ ।
प्रतिक्रिया 4