+
+
Shares

बर्डफ्लुले पोल्ट्री व्यवसाय संकटतिर, ६५ हजार कुखुरा नष्ट

काठमाडौं उपत्यकाभित्र पालिएका ब्रोइलर र लेयर्स कुखुरामा भने हालसम्म कुनै संक्रमण नदेखिए पनि पशु सेवा विभागले कडा निगरानी (सर्भिलेन्स) जारी राखेको छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ चैत १२ गते १९:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा कोशी प्रदेशका मोरङ, सुनसरी, झापा र चितवनमा बर्डफ्लु (एच५एन१) संक्रमण पुष्टि भई करिब ६५ हजार कुखुरा नष्ट गरिएको छ।
  • काठमाडौंमा बर्डफ्लु जंगली कागमा मात्र देखिएको छ र कीर्तिपुरमा १ सयभन्दा बढी काग मरेपछि नि:संक्रमण गरिएको छ।
  • भारतका विभिन्न राज्यमा पनि बर्डफ्लु फैलिएको र नेपाल-भारत सीमामा उच्च सतर्कता अपनाइएको छ, मानिसमा संक्रमण पुष्टि नभएको छ।

१२ चैत, काठमाडौं । नेपालमा फेरि एक पटक ‘बर्डफ्लु’ (एभियन इन्फ्लुएन्जा) ले जनस्वास्थ्य र पोल्ट्री व्यवसायमा गम्भीर संकट निम्त्याएको छ ।

सुरुमा कोशी प्रदेशका मोरङ, सुनसरी र झापामा फैलिएको बर्डफ्लु (एच५एन१) संक्रमण अहिले चितवनमा पनि देखापरेको पशुसेवा विभागले जानकारी दिएको छ ।

पछिल्ला दिनमा ब्रोइलर र लेयर्स कुखुरा मर्ने क्रम बढेसँगै किसानहरू परीक्षणका लागि दैनिक मरेका कुखुरा लिएर प्रयोगशाला पुग्ने गरेका छन् ।

कहाँ-कहाँ फैलियो संक्रमण ?

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगरका अनुसार मोरङ र सुनसरीका ५-५ तथा झापाको १ गरी जम्मा ११ स्थानका कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको छ ।

विराटनगरमा शंकास्पद देखिएका नमुनालाई अन्तिम पुष्टिका लागि काठमाडौंस्थित केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पठाउने गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख डा. अजयकुमार साहका अनुसार मोरङका ५ फार्ममा संक्रमण देखिएको छ ।

जसमा विराटनगर-४ को दाहाल कृषि फार्म, सुन्दरहरैँचा-४ को हलेसी महादेव कृषि फार्म, उर्लाबारी-८ को अठियावारी कृषि फार्म, कटहरी-२ को एटुजेड पोल्ट्री र कटहरी-६ को कामाख्या पोल्ट्री फार्म  छन् ।

विराटनगरको दाहाल फार्ममा रहेका ६ हजार लेयर्स कुखुरामध्ये ३ हजार आफैं मरेका थिए भने बाँकी ३ हजारलाई बर्डफ्लु पुष्टि भएपछि नष्ट गरिएको छ ।

यसैगरी सुनसरी इटहरी उपमहानगरपालिकास्थित ओको, लक्ष्मी, रानी र आलम कृषि फार्मका साथै गढी गाउँपालिका-५ को संगीत कृषि फार्ममा पनि बर्डफ्लु भेटिएको छ ।

सबैभन्दा बढी इटहरी-१९ स्थित ओको फार्मका कुखुरा नष्ट गरिएको छ । यस्तै झापाको दमक नगरपालिका-१० स्थित दमक एग्रिकल्चरमा बर्डफ्लु पुष्टि भएको छ ।

पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार चितवनमा पनि बर्डफ्लु पुष्टि भएको छ ।

तर, विभागले चितवनमा कुन ठाउँमा बर्डफ्लु पुष्टि भएको हो भन्ने खुलाएको छैन ।

‘अनावश्यक त्रास नफैलियोस् र नियन्त्रणको काममा असर नपुगोस् भनेर तत्कालका लागि स्थान गोप्य राखिएको छ,’ डा. उपाध्यायले अनलाइनखबरसँग भने, ‘प्रमुख जिल्ला अधिकारीको कार्यालयसँग समन्वय गरेर आजै त्यहाँ संक्रमित पन्छी नष्ट गर्ने काम हुन्छ ।’

काठमाडौंमा व्यावसायिक फार्म सुरक्षित, जंगली काग संक्रमित

काठमाडौंमा बर्डफ्लु देखिए पनि यो व्यावसायिक कुखुरामा नभई जंगली पन्छीमा मात्र सीमित छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको जंगल परिसरमा ठूलो संख्यामा कागहरू मृत फेला परेपछि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गरिएको थियो ।

मोलिक्युलर विधिबाट गरिएको परीक्षणले ती कागमा बर्डफ्लु भएको पुष्टि गरेपछि पशु सेवा विभागले कीर्तिपुर नगरपालिकालाई सुरक्षित तवरले मृत कागको व्यवस्थापन गर्न र त्यस क्षेत्रमा नि:संक्रमण गर्न निर्देशन दिएको छ ।

डा. उपाध्यायका अनुसार कीर्तिपुरस्थित त्रिवि जंगल क्षेत्रमा १ सयभन्दा बढी काग मरेका छन् । ‘हामीले जिउँदो कागलाई मार्ने काम गरेका छैनौं, तर मरेका करिब ६० देखि १ सयभन्दा बढी काग खाल्डो खनेर सुरक्षित गाड्ने काम गरिरहेका छौं,’ उनले भने, ‘सिनो खाने र हुलमा बस्ने कागको स्वभावका कारण एउटाबाट अर्कोमा रोग छिटो सरेको हो ।’

तर, काठमाडौं उपत्यकाभित्र पालिएका ब्रोइलर र लेयर्स कुखुरामा भने हालसम्म कुनै संक्रमण नदेखिए पनि विभागले कडा निगरानी (सर्भिलेन्स) जारी राखेको उनले दाबी गरेका छन् ।

नियन्त्रण प्रयास र उच्च सतर्कता

संक्रमण नियन्त्रण गर्न पुष्टि भएका क्षेत्रमा हालसम्म करिब ६५ हजार कुखुरा नष्ट गरिसकिएको डा. उपाध्यायले बताए ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) को नेतृत्वमा स्थानीय तह, प्रदेश र संघीय सरकारको समन्वयमा चार किल्ला तोकेर संक्रमित पन्छी तथा पदार्थ नष्ट गर्ने काम भइरहेको छ । चितवनमा पनि सीडीओ कार्यालयको समन्वयमा संक्रमित कुखुरा नष्ट गर्ने कार्य अघि बढिसकेको विभागले जनाएको छ ।

अन्य जिल्लामा रोग नफैलियोस् भनेर विभागले उच्च सतर्कता अपनाउँदै संक्रमित क्षेत्रबाट पन्छी ओसारपसारमा पूर्ण रोक लगाएको छ ।

संक्रमण जोखिम ध्यानमा राख्दै कीर्तिपुर नगरपालिकाले प्रभावित क्षेत्रबाट अन्डा, मासु, दाना र अन्य पन्छीजन्य सामग्री ओसारपसारमा पूर्ण रोक लगाएको छ ।

‘हामीले पोल्ट्री व्यवसायी, ह्याचरी, मासु र अन्डा उत्पादक संघसंस्थाहरूसँग छलफल गरेर सचेत गराएका छौं,’ डा. उपाध्यायले भने, ‘डाक्टरहरूलाई पनि संक्रमित क्षेत्रबाट भेटेरिनरी प्रमाणपत्र जारी नगर्न काउन्सिल मार्फत निर्देशन दिइसकेका छौं ।’

प्रहरी प्रशासन र सुरक्षा निकायको सहयोगमा अवैध ओसारपसारमा बन्देज लगाइएको छ भने देशभरिका क्वारेन्टिन चेकपोस्ट अलर्ट अवस्थामा राखिएको उनको भनाइ छ ।

किसानलाई ‘बायोसेक्युरिटी’ अपनाउन विभागको अपिल

पशु सेवा विभागले व्यवसायी र किसानहरूलाई नआत्तिन, तर आफ्नो फार्ममा उच्च ‘बायोसेक्युरिटी’ (जैविक सुरक्षा) अपनाउन आग्रह गरेको छ ।

संक्रमण थप फैलिन नदिन र पन्छी फार्महरूलाई सुरक्षित राख्न सबैभन्दा पहिले फार्मभित्र अनावश्यक व्यक्ति र सवारीसाधन प्रवेशमा पूर्ण रोक लगाउन विभागले आग्रह गरेको छ ।

यदि फार्म परिसरमा प्रवेश गराउनैपर्ने अवस्था आए अनिवार्य रूपमा नि:संक्रमण (डिसइन्फेक्सन) गरेरमात्र प्रवेश गराउनुपर्ने विभागको निर्देशन छ ।

संक्रमण एक फार्मबाट अर्को फार्ममा सर्न सक्ने जोखिम मध्यनजर गर्दै विभागले एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजान र कामदारहरूको आउजाउमा विशेष सतर्कता अपनाउन भनेको छ ।

फार्म वा खोरको प्रवेशद्वारमा अनिवार्य रूपमा चुना लगायत नि:संक्रामक औषधि राखिएको ‘फुटबाथ’ व्यवस्था गर्नुपर्ने छ ।

फार्मभित्र प्रवेश गर्दा प्रत्येक पटक फुटबाथमा टेकेर वा स्प्रे गरेरमात्र जानुपर्ने र खोरभित्र काम गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्नुपर्ने छ ।

खोरभित्र र बाहिर दैनिक नि:संक्रमण गर्नुका साथै फार्म परिसरमा कुकुर, बिरालो र मुसाजस्ता अन्य पशुपन्छी प्रवेश गर्न नसक्ने गरी सुरक्षित बारबन्देज गर्नसमेत विभागले सुझाव दिएको छ ।

व्यावसायिक पक्ष मध्यनजर गर्दै विभागले प्रयोग भइसकेका अन्डा राख्ने कागजको क्रेट (ट्रे) पुन: प्रयोग नगर्न सचेत गराएको छ ।

पन्छी तथा पन्छीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य सम्बन्धित निकायबाट भेटेरिनरी प्रमाणपत्र लिएरमात्र गर्नुपर्ने कानुनी व्यवस्था कडाइसाथ पालना गर्न भनिएको छ ।

पन्छी फार्ममा काम गर्ने व्यक्तिले व्यक्तिगत सुरक्षाका उपाय अवलम्बन गर्ने, नियमित साबुनपानीले हातखुट्टा धुने र स्वास्थ्यमा कुनै समस्या देखिए ढिला नगरी नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अपिल गरिएको छ ।

यदि फार्ममा पन्छी बिरामी परे वा मरे त्यसलाई जथाभाबी नफालेर यथाशक्य छिटो सुरक्षित तवरले खाल्डोमा गाड्न र त्यसको जानकारी तुरुन्त नजिकैको पशु सेवा निकायमा दिन विभागले आग्रह गरेको छ ।

अकस्मात धेरै संख्यामा पन्छी बिरामी परे वा मरे त्यसलाई लुकाउनुको सट्टा तुरुन्त सरकारी निकायमा खबर गरेर संक्रमण नियन्त्रणमा सहयोग गर्न विभागले सम्पूर्णमा अनुरोध गरेको छ ।

भारतमा पनि बर्डफ्लु, नेपाल-भारत सीमामा ‘हाई अलर्ट’

छिमेकी राष्ट्र भारतका विभिन्न राज्यमा पनि यो भाइरस तीव्र रूपमा फैलिएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार मार्च महिनामा मात्रै छत्तीसगढ, महाराष्ट्र, केरला लगायत राज्यमा बर्डफ्लु पुष्टि भएपछि धमाधम कुखुरा र अन्डा नष्ट गर्ने काम भइरहेको छ ।

छत्तीसगढ बिलासपुरको एक सरकारी फार्ममा ४ हजारभन्दा बढी कुखुरा मरेपछि त्यहाँका करिब २२ हजार ८ सय कुखुरा, २५ हजार अन्डा र ७९ क्विन्टल दाना नष्ट गरिएको छ । संक्रमण फैलन नदिन प्रभावित क्षेत्रमा २१ दिनसम्म कुखुरा बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।

महाराष्ट्र नागपुरस्थित सरकारी ह्याचरीमा भाइरस पुष्टि भएपछि १ हजार कुखुरा र १४ हजार अन्डा नष्ट गरिएको छ । यस्तै केरलाको कोझिकोड र अलप्पुझामा संक्रमण देखिएपछि २० हजार पन्छी मार्न आदेश दिइएको छ । चेन्नईको एउटा पार्कमा पन्छीहरू मरेपछि पार्क नै बन्द गरिएको छ ।

नेपाल र भारत दुवैतर्फ संक्रमण देखिएपछि उत्तर प्रदेश र बिहारसँग जोडिएका नेपालका सीमावर्ती नाकाहरूमा भारतीय प्रशासनले ‘हाई अलर्ट’ जारी गरेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

मानिसमा निगरानी

हालसम्म कुनै पनि मानिसमा यो भाइरस सरेको पुष्टि भएको छैन । बर्डफ्लू अर्थात् एभियन इन्फ्लुएन्जा (एच५एन१) भाइरसमा भइरहेको नयाँ उत्परिवर्तन (म्युटेसन) कोरोना भाइरसभन्दा पनि बढी घातक हुन सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

विगतमा मुख्यतया पन्छीहरूमा मात्र सीमित रहेको यो रोग पछिल्लो समय स्वरूप परिवर्तन गर्दै मानिसमा समेत सर्न सक्ने क्षमता विकास गरिरहेको छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बर्डफ्लु अत्यन्त घातक भाइरस भएकाले यसबाट बच्न उच्च सतर्कता अपनाउनुपर्ने बताएका छन् । यद्यपि, राम्ररी पकाएको मासु र अन्डा खाँदा यो रोग नसर्ने भएकाले आमउपभोक्तालाई नअत्तालिन उनले सुझाव दिएका छन् ।

डा. पुनका अनुसार एच५एन१ भाइरस पन्छीबाट मानिसमा सरेको खण्डमा निकै खतरनाक सावित हुन सक्छ । यसको मृत्युदर कम्तीमा ५० प्रतिशत रहेको अर्थात् संक्रमित दुई जनामध्ये एक जनाको ज्यान जान सक्ने जोखिम रहेको उनले बताए ।

सन् २०१९ मा नेपालमै एक जना २१ वर्षीय युवाको बर्डफ्लु संक्रमणबाट मृत्यु भएको घटनालाई स्मरण गराउँदै डा. पुनले यो भाइरसलाई विदेशमा मात्र लाग्ने रोग भनेर सामान्य रूपमा लिन नहुने र बेलैमा सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

यो भाइरस मानिसबाट मानिसमा सजिलै नसरे पनि संक्रमित पन्छीको प्रत्यक्ष सम्पर्कमा पुग्ने व्यक्तिहरू उच्च जोखिममा हुन्छन् । मरेका पन्छी, तिनको तरल पदार्थ, सुली र प्वाँखको माध्यमबाट भाइरस मानिसमा सर्न सक्छ ।

त्यसैले कुखुरापालक किसान, पन्छी ओसारपसार गर्ने ढुवानीकर्ता (चालक तथा सहचालक), बधशालामा काम गर्ने मजदुर र मासु विक्रेताहरूले विशेष जैविक सुरक्षा (बायोसेक्युरिटी) अपनाउनुपर्ने डा. पुनको भनाइ छ ।

साथै, काठमाडौंमा कागमा समेत संक्रमण देखिएको र काग उडेर एक ठाउँबाट अर्को ठाउँमा जाने भएकाले मानव नियन्त्रणभन्दा बाहिर गएर संक्रमण फैलने जोखिम थप बढेको उनले औँल्याएका छन् ।

जोखिम वर्गमा रहेका व्यक्तिलाई व्यक्तिगत सरसफाइ र सावधानी अपनाउनुका साथै ‘इन्फ्लुएन्जा ए’ विरुद्ध मौसमी खोप (फ्लु भ्याक्सिन) लगाउन डा. पुनले सुझाव दिएका छन् ।

‘संक्रमण भइहालेको अवस्थामा ‘ओसेल्टामिभिर’ जस्ता एन्टिभाइरल औषधि प्रयोगबाट उपचार गर्न सकिने भए पनि रोग लाग्नै नदिनु सबैभन्दा उत्तम उपाय हो,’ उनले भने, ‘सम्बन्धित निकायले यी जोखिममा रहेका वर्ग लक्षित गरी सचेतनामूलक कार्यक्रमहरू तीव्र पार्नुपर्ने आवश्यकता छ ।’

नेपालको पोल्ट्री व्यवसायको अवस्था

राष्ट्रिय तथ्यांक कार्यालयले हालै गरेको नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०८१/८२ अनुसार कुल २२ हजार ९ सय २८ फार्म/कृषकले व्यावसायिक कुखुरापालन गरेका छन् । जसमध्ये २१ हजार १ सय ४ ले मासु, १ हजार ७ सय ६ अन्डा उत्पादन र १ सय १८ ले चल्ला उत्पादन गर्दै आएका छन् ।

यी फार्ममध्ये ६३.७ प्रतिशतमात्र दर्ता भएको देखिएको छ । कुल फार्ममध्ये ७९.५ प्रतिशत फार्म पुरुष र २०.५ प्रतिशत फार्म महिलाले सञ्चालन गरेका छन् । कुल फार्ममा ९८ प्रतिशत व्यक्तिगत स्वामित्वमा सञ्चालनमा छन् ।

नेपालमा कुखुरा व्यवसायबाट एक वर्षमा ६० अर्ब ९६ करोड रुपैयाँ बराबरको मासु उत्पादन भई बिक्री हुने गरेको छ । त्यस्तै १४ अर्ब ८२ करोड बराबरको अन्डा, १० अर्ब २२ करोड बराबरको चल्ला र १ अर्ब बराबरको कुखुराको मल उत्पादन भई बिक्री भएको तथ्यांक  छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?