+
+
Shares

एप्पलको आईओएस २७ मा आउने उपयोगी एआई फिचरहरू

कम्पनीले सिरीबाहेक अन्य एपहरूमा पनि एआई फिचरहरू थप्दै छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १४:१४

९ असार, काठमाडौं । एप्पलले यस महिना आफ्नो ‘वर्ल्डवाइड डेभलपर्स कन्फरेन्स’ मा सिरीको नयाँ अपडेट घोषणा गर्‍यो।

कम्पनीले सिरीबाहेक अन्य एपहरूमा पनि एआई फिचरहरू थप्दै छ। यी फिचरहरू यो वर्षको अन्त्यतिर आउने आईओएस २७ अपडेटसँगै उपलब्ध हुनेछन्। अहिले यो डेभलपर बेटा भर्सनमा उपलब्ध छ। आईओएस २७ मा आउने साना तर उपयोगी एआई फिचरहरू यस प्रकार छन्।

बिल बाँड्ने फिचर : नयाँ अपडेटपछि प्रयोगकर्ताले एप्पल क्यासको सहयोगमा रेष्टुरेन्टको बिल आपसमा बाँड्न सक्नेछन्। यसका लागि बिलको फोटो खिचेर अपलोड गर्नुपर्छ। एआईले बिलबाट सामानको संख्या, टिप र जम्मा रकम जस्ता विवरणहरू आफैँ निकाल्छ। प्रयोगकर्ताले आफूले खाएको सामान रोजेर ग्रुप च्याटमा पठाउन सक्छन्। अरू साथीहरूले पनि आफ्नो हिस्सा रोजेर सिधै पैसा तिर्न सक्छन्। यसले कर र टिपको रकम पनि आफैँ हिसाब गर्छ।

पासवर्ड अपडेट : अहिले धेरै प्रयोगकर्ताले कडा पासवर्ड राख्ने गर्छन्। तर डाटा चोरी हुने घटनाका कारण पासवर्डहरू असुरक्षित हुने डर हुन्छ। एप्पलको नयाँ फिचरले एआईको प्रयोग गरेर कमजोर र चोरी भएका पासवर्डहरू पत्ता लगाउँछ। यसले प्रयोगकर्ताको अनुमतिमा वेबसाइटहरूमा आफैँ लगइन गरेर पासवर्डलाई बलियो भर्सनमा अपडेट गरिदिन्छ।


मेसेजेजमा वान-ट्याप सुझाव : आईफोनको मेसेजेज एपले अब कुराकानीको विषयका आधारमा विभिन्न सुझावहरू दिनेछ। यदि कसैले भेट्दा केही सामान ल्याउन भन्यो भने एआईले त्यसलाई रिमाइन्डरमा राख्ने सुझाव दिन्छ। कसैले फोटो माग्यो भने एआईले लोकेसन र मानिस पहिचान गरेर सही फोटो पठाउने विकल्प दिन्छ। यसले कुराकानी अनुसार क्यालेन्डरमा इभेन्ट थप्ने विकल्प पनि दिन्छ।

कल कन्ट्याक्स्ट : यो फिचरले कुनै कम्पनीको कस्टमर केयरमा फोन गर्दा आवश्यक विवरणहरू फोनको स्क्रिनमा नै देखाइदिन्छ। यदि तपाईंले एअरलाइन्समा फोन गर्नुभयो भने यसले इमेलबाट कन्फर्मेसन कोड खोजेर स्क्रिनमा देखाउँछ। यो फिचरले ब्याकग्राउन्डमा काम गर्छ र यसका लागि एआई असिस्टेन्टसँग बोलिरहनु पर्दैन। यो सबै काम डिभाइसमा नै हुने भएकाले गोपनीयता सुरक्षित रहन्छ।

क्यालेन्डर इभेन्ट थप्ने : अब प्रयोगकर्ताले सामान्य भाषामा वर्णन गरेर नै क्यालेन्डरमा इभेन्टहरू थप्न वा परिवर्तन गर्न सक्नेछन्। एआईले सो विपरणबाट मानिसको नाम र लोकेसन आफैँ छुट्याएर इभेन्टको टाइटल बनाउँछ। यसले गर्दा छुट्टाछुट्टै बक्समा विवरण भर्नुपर्ने झन्झट हुँदैन।

सर्टकट्समा एआई : आईफोनको शर्टकट्स एप प्रयोग गर्न पहिले प्राविधिक ज्ञान चाहिन्थ्यो। अब प्रयोगकर्ताले आफूलाई चाहिएको कुरा सामान्य भाषामा भनेर नै अटोमेसन तयार गर्न सक्छन्। जस्तै भोलिको क्यालेन्डर हेरेर राती अलार्म सेट गर्ने वा अफिसबाट निस्कँदा पार्टनरलाई आफैँ मेसेज जाने बनाउन सकिन्छ। डेलिभरी आउँदा घरको बत्ती आफैँ बल्ने अटोमेसन पनि यसबाट बनाउन सकिन्छ।

होम एपमा कम नोटिफिकेसन : स्मार्ट होम उपकरण प्रयोग गर्दा एउटै कामका लागि धेरै नोटिफिकेसन आउने समस्या हुन्थ्यो। अब होम एपको एआईले ती सबै गतिविधिलाई बुझेर एउटै नोटिफिकेसन मात्र पठाउनेछ। जस्तै कसैले गाडी ग्यारेजमा राखेर घरभित्र पसेको छ भने धेरै नोटिफिकेसनको सट्टा ‘कोही घर आयो र ग्यारेज बन्द भयो’ भन्ने एउटा मात्र नोटिफिकेसन आउँछ। यसमा भिडियो क्लिपहरू सर्च गर्ने फिचर पनि हुनेछ।

सफारीमा ट्याब अर्गनाइजर : सफारी ब्राउजरमा अब एआईले प्रयोगकर्ताले हेरिरहेका वेबसाइटहरू बुझेर ट्याबहरूलाई विषय अनुसार छुट्टाछुट्टै ग्रुपमा राखिदिन्छ। जस्तै भ्रमण सम्बन्धी धेरै ट्याब खुलेका छन् भने ती सबै ट्राभल ग्रुपमा बस्छन्। यो फिचरले प्रयोगकर्ताको ब्राउजिङ डाटा कसैलाई पनि नपठाउने भएकाले गोपनीयता सुरक्षित रहन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?