+
+
Shares

एप्पलले सच्यायो आईफोनको गम्भीर सुरक्षा त्रुटि : मेटिएका म्यासेज अब प्रहरीले निकाल्न नसक्ने

एप्पलले बुधबार आईफोन र आईप्याडका लागि एक नयाँ सफ्टवेयर अपडेट जारी गर्दै एउटा यस्तो ‘बग’  सच्याएको छ, जसको फाइदा उठाएर सुरक्षा निकायले प्रयोगकर्ताका मेटिएका सन्देश समेत निकाल्न सक्थे। 

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १० गते १४:१५

एप्पलले बुधबार आईफोन र आईप्याडका लागि एक नयाँ सफ्टवेयर अपडेट जारी गर्दै एउटा यस्तो ‘बग’  सच्याएको छ, जसको फाइदा उठाएर सुरक्षा निकायले प्रयोगकर्ताका मेटिएका सन्देश समेत निकाल्न सक्थे।

यो समस्याका कारण ‘सिग्नल’ जस्ता मेसेजिङ एपहरूबाट स्वतः मेटिने वा प्रयोगकर्ता आफैँले मेटाएका सन्देशहरूको विवरण पनि फोनको ‘नोटिफिकेसन क्यास’ मा एक महिनासम्म सुरक्षित रहने गरेको थियो।

स्वतन्त्र सञ्चार माध्यम ‘४०४ मिडिया’ ले यसै महिना एउटा रिपोर्ट सार्वजनिक गरेको थियो। उक्त रिपोर्ट अनुसार अमेरिकी जाँचबुझ निकाय एफबीआईले एक अभियुक्तको आईफोनबाट ‘सिग्नल’ एपमा सेट गरिएको समय सकिएर मेटिइसकेका सन्देशहरू पनि प्राप्त गर्न सफल भएको थियो। ती सन्देशहरू एपबाट मेटिए पनि फोनको नोटिफिकेसन डाटाबेसमा सुरक्षित रहेका थिए।

एप्पलले आफ्नो सुरक्षा सूचनामा यो त्रुटिका कारण “मेटाउनका लागि चिन्ह लगाइएका नोटिफिकेसनहरू सोचेभन्दा बढी समयसम्म उपकरणमा रहन सक्ने” स्वीकार गरेको छ। कम्पनीले हालै सार्वजनिक भएको iOS 26.4.2 र पुराना मोडलका लागि iOS 18.7.8 मार्फत यो समस्या समाधान गरेको छ।

सिग्नल एपकी अध्यक्ष मेरिडिथ ह्विटेकरले कुनै पनि मेटिएका सन्देशका नोटिफिकेसनहरू अपरेटिङ सिस्टमको डाटाबेसमा रहनु नहुने बताउँदै यस विषयमा एप्पलको ध्यानाकर्षण गराभएकी थिइन ।

यो समाचारले गोपनीयताका क्षेत्रमा काम गर्ने कार्यकर्ताहरूलाई चिन्तित बनाएको थियो। सामान्यतया जोखिममा रहेका प्रयोगकर्ताहरूले आफ्नो कुराकानी गोप्य राख्न ‘डिसएपियरिङ मेसेजेज’ फिचर प्रयोग गर्छन्, तर फोनको प्रणालीमै नोटिफिकेसन सुरक्षित रहँदा यो सुरक्षा फिचर निष्प्रभावी बनेको थियो।

एप्पलले यो समस्या किन र कसरी उत्पन्न भयो भन्नेबारे स्पष्ट जानकारी नदिए पनि यसलाई तत्कालै सच्याएको छ। प्रयोगकर्ताहरूलाई आफ्ना आईफोन र आईप्याडहरू तुरुन्तै अपडेट गर्न सुझाव दिइएको छ ताकि मेटिएका सन्देशहरू कुनै पनि डिजिटल फरेन्सिक उपकरणमार्फत पुनः प्राप्त गर्न नसकियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?