News Summary
Generated by OK AI. Editorially reviewed.- पोषणविद् मोदनाथ पौडेलले तौल घटाउनु मात्र स्वास्थ्यको सूचक नभई सन्तुलित आहार, पर्याप्त निद्रा र स्वस्थ जीवनशैली अपनाउनु मुख्य प्राथमिकता हुनुपर्ने उल्लेख गरे ।
- सामाजिक सञ्जालमा तौल घटाउने नाममा गरिने प्रचारको पछि लाग्नुभन्दा विज्ञको सल्लाह र वैज्ञानिक प्रमाणमा आधारित खानपानमा ध्यान दिनुपर्ने उनले बताए ।
आजभोलि स्वस्थ जीवनशैली, तौल नियन्त्रण र डाइट सम्बन्धी विषयहरू सामाजिक सञ्जालदेखि घरपरिवारसम्म व्यापक रूपमा चर्चामा छन् । धेरै मानिसहरू तौल घटाउने वा बढाउने उद्देश्यले विभिन्न डाइट योजना, सप्लिमेन्ट, स्लिम टी तथा अनलाइन सल्लाहहरू पछ्याइरहेका छन् ।
वास्तवमा स्वस्थ रहनका लागि के आवश्यक छ ? के तौल घटाउनु नै स्वास्थ्यको मुख्य सूचक हो ? सामाजिक सञ्जालमा दिइने सबै सल्लाह विश्वासयोग्य हुन्छन् ? यिनै विषयमा केन्द्रित रहेर अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले पोषणविद् मोदनाथ पौडेलसँग कुराकानी गरेकी छन् । प्रस्तुत छ पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश :
के तौल घटाउनु नै स्वास्थ्यको मुख्य सूचक हो ?
मानिसले सबैभन्दा पहिले ‘मोटो’ वा ‘पातलो’ बन्ने होइन, ‘स्वस्थ’ बन्ने लक्ष्य राख्नुपर्छ । समाजमा समयअनुसार शरीरप्रतिको दृष्टिकोण बदलिँदै आएको छ । कुनै समय मोटोपनलाई सम्पन्नताको संकेत मानिन्थ्यो भने अहिले अत्यधिक मोटोपनलाई रोग वा कमजोरीका रूपमा हेर्ने प्रवृत्ति बढेको छ । यद्यपि शरीरको आकारभन्दा स्वास्थ्य अवस्था महत्वपूर्ण हुन्छ ।
यदि व्यक्ति स्वस्थ छ भने उसको तौल, उचाइ र शारीरिक बनावट स्वाभाविक रूपमा सन्तुलित रहने सम्भावना धेरै हुन्छ । त्यसैले तौल घटाउने वा बढाउनेभन्दा पहिले शरीरलाई स्वस्थ राख्ने खानपान र जीवनशैली अपनाउनुपर्ने हुन्छ ।
परम्परागत नेपाली खाना : सन्तुलित आहारको आधार हो वा होइन ?
नेपाली समाजमा परम्परागत रूपमा खाइँदै आएका रैथाने तथा स्थानीय खानाहरू स्वाभाविक रूपमा सन्तुलित हुने गर्दछन् । थकाली खानाजस्ता परिकारहरूलाई उदाहरणको रुपमा लिने हो भने परम्परागत भोजनमा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर तथा अन्य पोषक तत्वहरूको राम्रो सन्तुलन हुन्छ।
पहिलेका पुस्ताले खाने खानाले न त अत्यधिक मोटोपन निम्त्याउँथ्यो न त कुपोषण । तर अहिले खानाका विकल्पहरू बढ्दै जाँदा मानिसहरूमा अन्योल पनि बढेको छ । बजारमा नयाँ–नयाँ खाद्य सामग्री, प्रशोधित खाना तथा जेनेटिकली मोडिफाइड (जीएमओ) खाद्य पदार्थहरूको प्रवेशसँगै के खाने र के नखाने भन्ने भ्रम बढेको छ ।
लन्च र डिनरमा सकेसम्म आफ्नो परम्परागत र शरीरले स्वीकार गरेको खानालाई प्राथमिकता दिनुपर्छ । बिहानको खाना भने पर्याप्त, पौष्टिक र सन्तुलित हुनुपर्छ । यदि ब्रेकफास्ट र मुख्य भोजन व्यवस्थित भयो भने बीचका स्न्याक्सहरूमा हुने केही कमजोरीले ठूलो असर पर्दैन ।
सबैका लागि एउटै डाइट उपयुक्त हुन्छ ?
हरेक व्यक्तिको शरीर फरक हुन्छ । एउटै परिवारमा बस्ने, एउटै खाना खाने सदस्यहरूमा पनि कसैको तौल बढिरहेको हुन्छ भने कसैको घटिरहेको हुन्छ ।
यसको मुख्य कारण शरीरको मेटाबोलिज्म, पाचन प्रक्रिया, स्वास्थ्य अवस्था, उमेर, हर्मोन तथा जीवनशैलीमा हुने भिन्नता हो । उदाहरणका लागि, थाइराइड भएका व्यक्तिहरूमा मेटाबोलिज्म सुस्त हुन सक्छ । तर थाइराइड नभएका व्यक्तिहरूमा पनि विभिन्न कारणले मेटाबोलिज्म सुस्त हुनसक्छ ।
त्यसैले तौल बढ्यो भन्दैमा खाना कटौती गर्नु वा कसैले तौल घटाएको विधि आफूले पनि अपनाउनु वैज्ञानिक दृष्टिले उचित हुँदैन । सबैभन्दा पहिले तौल बढ्नु वा घट्नुको मूल कारण (रुट कज) पत्ता लगाउन आवश्यक हुन्छ ।
‘फूड इज मेडिसिन’ को अवधारणा के हो ?
‘फूड इज मेडिसिन’ अर्थात् ‘खानालाई औषधिका रूपमा प्रयोग गर्ने’ अवधारणा हो । यसको मूल सन्देश भनेको रोग लागेपछि मात्र औषधिमा निर्भर हुने होइन, बरु दैनिक जीवनमा सही खानपानमार्फत रोग रोकथाम गर्ने र स्वास्थ्य प्रवर्धन गर्ने हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार हृदयरोग, मधुमेह, उच्च रक्तचाप, मोटोपनलगायतका धेरै नसर्ने रोगहरू खानपान र जीवनशैलीसँग प्रत्यक्ष रूपमा सम्बन्धित छन् ।
उदाहरणका लागि फलफूल र हरियो सागसब्जीमा पाइने एन्टिअक्सिडेन्टहरूले शरीरलाई क्षति पुर्याउने फ्री रेडिकल्ससँग लड्न मद्दत गर्छन् । ओमेगा–३ फ्याटी एसिड भएका माछा, चिया बीउ तथा ओखरले मुटुको स्वास्थ्य सुधार गर्न सहयोग पुर्याउँछन् ।
उचित खानपानले धेरै स्वास्थ्य समस्याहरू नियन्त्रणमा राख्न सहयोग पुर्याउन सक्छ । तर यसको अर्थ औषधिको विकल्प खानालाई बनाउने भन्ने होइन । उदाहरणका लागि, अण्डा प्रोटिनको उत्कृष्ट स्रोत हो । तर सबैको शरीरले एउटै तरिकाले अण्डा पचाउँछ भन्ने छैन । बिरामी अवस्थामा अण्डा खाने तरिका परिवर्तन गर्नुपर्ने हुन सक्छ । त्यसैले कुनै खाना कसैलाई उपयुक्त नभएर समस्या भयो भन्दैमा त्यो खाना सबैका लागि हानिकारक हुन्छ भन्ने निष्कर्ष निकाल्न मिल्दैन।
सामाजिक सञ्जालका डाइट सल्लाह : कति विश्वास गर्ने ?
हाल सामाजिक सञ्जालमा स्वास्थ्य, तौल घटाउने उपाय तथा खानपान सम्बन्धी सामग्रीको बाढी नै आएको छ । कतिपय सामग्री वैज्ञानिक आधारमा तयार गरिएका भए पनि धेरैजसो सामग्री व्यक्तिगत अनुभव, व्यवसायिक लाभ वा लोकप्रियता बढाउने उद्देश्यले बनाइएका हुन्छन् ।
कुनै पनि स्वास्थ्य सम्बन्धी सामग्री हेर्दा सबैभन्दा पहिले त्यसलाई प्रस्तुत गर्ने व्यक्ति को हो, उसको विज्ञता के हो र उसले दिएको जानकारी वैज्ञानिक प्रमाणमा आधारित छ कि छैन भन्ने मूल्यांकन गर्नुपर्छ ।
मुटुरोग विशेषज्ञले मुटुसम्बन्धी सल्लाह दिन सक्छन्, हर्मोन विशेषज्ञले हर्मोन सम्बन्धी विषयमा बोल्न सक्छन् । त्यसैगरी पोषणसम्बन्धी विषयमा डाइटिसियन तथा पोषणविद्को भूमिका महत्वपूर्ण हुन्छ । एक क्षेत्रको विशेषज्ञले अर्को क्षेत्रको विषयमा दिएको सल्लाहलाई पनि आलोचनात्मक रूपमा मूल्यांकन गर्नुपर्ने हुन्छ ।
स्लिम टी, गार्सिनिया कम्बोजिया र चमत्कारी तौल घटाउने दाबी कतिको सहि हो ?
आजभोलि सामाजिक सञ्जाल र बजारमा गार्सिनिया कम्बोजिया, स्लिम टी, स्लिमिङ कफी लगायतका उत्पादनहरूको व्यापक प्रचार भइरहेको छ । यी उत्पादनले छिट्टै तौल घटाउने दाबी गर्छन् ।
तर कुनै एउटै खानेकुरा वा पेय पदार्थले मात्र मानिसलाई दुब्लो वा मोटो बनाउन सक्दैन । शरीरको तौल समग्र जीवनशैली, खानपान, निद्रा, शारीरिक गतिविधि, मानसिक स्वास्थ्य तथा जैविक अवस्थाको परिणाम हो ।
यदि कसैले स्लिम टी खाएर खाना नै कम गर्न थाल्यो भने केही समय तौल घट्न सक्छ । तर त्यो स्वस्थ तरिका होइन । यसले दीर्घकालीन रूपमा पोषण अभाव, कमजोरी तथा अन्य स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।
सन्तुलित आहार, पर्याप्त निद्रा, नियमित शारीरिक गतिविधि तथा स्वस्थ जीवनशैली नै तौल नियन्त्रणको दिगो उपाय हो । कुनै ‘जादुई’ उत्पादन वा ‘एकै उपाय’ ले दीर्घकालीन समाधान दिन सक्दैन ।
डाक्टर र डाइटिसियनको भूमिका फरक हुन्छ ?
डाक्टर र डाइटिसियन दुवैले बिरामीको स्वास्थ्य सुधार गर्ने उद्देश्य राख्छन् तर उनीहरूको कार्यक्षेत्र फरक हुन्छ । डाक्टरले रोगको निदान, परीक्षण तथा औषधि व्यवस्थापन गर्छन् भने डाइटिसियनले खानपानमार्फत स्वास्थ्य सुधार तथा रोग व्यवस्थापनमा सहयोग गर्छन् । त्यसैले डाइटिसियनले औषधि बन्द गराउन वा डाक्टरको उपचार प्रणालीलाई प्रतिस्थापन गर्न खोज्नु उचित हुँदैन ।
त्यसैगरी डाक्टरले पनि पोषणसम्बन्धी विस्तृत परामर्श दिनुभन्दा आवश्यक परे डाइटिसियनसँग सहकार्य गर्नु प्रभावकारी हुन्छ । बिरामीको हितका लागि बहु–विषयगत सहकार्य आवश्यक रहेको हुन्छ ।
तौल घटाउने र स्वास्थ्य सुधार्ने नाममा फैलाइएका भ्रमहरूबाट मुक्त हुन के गर्नुपर्छ ?
अहिलेको सबैभन्दा ठूलो चुनौती मानिसहरूमा बढ्दो भ्रम हो । सामाजिक सञ्जाल, विज्ञापन र अपूर्ण जानकारीका कारण मानिसहरू कहिले कुनै एउटा खानालाई पूर्ण रूपमा त्याग्न खोज्छन् भने कहिले कुनै एउटा खानेकुरालाई चमत्कारी समाधान ठान्छन् ।
वास्तवमा स्वास्थ्यको आधार भनेको सन्तुलित आहार, पर्याप्त निद्रा, नियमित शारीरिक गतिविधि, तनाव व्यवस्थापन र व्यक्तिगत आवश्यकताअनुसारको खानपान हो । सबैलाई एउटै डाइट, एउटै औषधि वा एउटै उपाय उपयुक्त हुँदैन ।
त्यसैले तौल घटाउने वा स्वास्थ्य सुधार गर्ने नाममा फैलाइने भ्रमहरूभन्दा वैज्ञानिक प्रमाण, योग्य विज्ञको सल्लाह र आफ्नो शरीरको आवश्यकतालाई प्राथमिकता दिनुपर्ने आवश्यकता झन् बढेको छ ।
प्रतिक्रिया 4