+

६ करोडको विश्वकप ट्रफी : आखिर केबाट बनेको छ?

फिफा विश्वकप ट्रफी अब इतिहासकै सबैभन्दा मूल्यवान बनेको छ । सन् २०२२ को कतार विश्वकपयता सुनको मूल्य तीव्र रूपमा बढेपछि ट्रफीको अनुमानित मूल्य पनि दोब्बरभन्दा बढी पुगेको छ ।

अहिले यसको धातुको मूल्य मात्रै करिब ७ लाख १३ हजार अमेरिकी डलर (झण्डै ६ करोड नेपाली रुपैयाँ) पुगेको छ । खेलाडीका लागि यसको भावनात्मक मूल्य अमूल्य भए पनि आर्थिक मूल्य पनि अब चकित पार्ने स्तरमा पुगेको छ ।

Advertisement

किन बढ्यो ट्रफीको मूल्य ?

सुनको मूल्य बढेकाले यसको मूल्य उकालो लागेको हो । किनकि, विश्वभर बढ्दो भू–राजनीतिक तनाव, आर्थिक अनिश्चितता र लगानीकर्ताहरूको सुनतर्फ बढेको आकर्षणका कारण अन्तर्राष्ट्रिय बजारमा सुन महँगिएको छ । त्यसको प्रत्यक्ष प्रभाव विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित ट्रफीमा पनि परेको हो ।

कति सुन प्रयोग गरिएको छ ?

फिफा विश्वकप ट्रफी ६.१७५ किलोग्राम तौलको छ । यो १८ क्यारेट सुनबाट बनेको हो, जसमा करिब ४.९३ किलोग्राम शुद्ध सुन प्रयोग गरिएको छ । त्यसैले, सुनको मूल्य बढ्दै जाँदा ट्रफीको अनुमानित मूल्य पनि स्वतः बढिरहेको छ । यही कारण विश्वकप ट्रफी खेलकुद इतिहासकै सबैभन्दा महँगा ट्रफीमध्ये एक मानिन्छ ।

चार वर्षमै दोब्बरभन्दा बढी वृद्धि

सन् २०२२ को कतार विश्वकपमा अर्जेन्टिनाले ट्रफी जित्दा यसको अनुमानित मूल्य करिब २ लाख ७७ हजार अमेरिकी डलर थियो । तर चार वर्षमै यो बढेर ७ लाख १३ हजार डलर पुगेको छ ।

अझ रोचक कुरा, सन् १९७४ मा अहिलेको डिजाइन पहिलोपटक सार्वजनिक हुँदा यसमा रहेको सुनको मूल्य केवल २५ हजार डलर जति मात्र थियो ।

किन महँगो ट्रफी ?

विश्वका धेरै प्रतिष्ठित खेल ट्रफीहरू स्टर्लिङ सिल्भर वा अन्य धातुबाट बनेका हुन्छन् । तर फिफा विश्वकप ट्रफी पूर्ण रूपमा सुनमा आधारित भएकाले यसको धातुको मूल्य अन्य ट्रफीभन्दा धेरै माथि पुगेको छ ।

यही कारण यसले यूईएफए च्याम्पियन्स लिग, सुपर बाउल र अन्य चर्चित प्रतियोगिताका ट्रफीहरूलाई मूल्यका हिसाबले धेरै पछाडि छोडेको छ । यही ट्रफी जित्नका लागि  विश्व फुटबलका उत्कृष्ट टिमहरु अहिले त्यही ट्रफी जित्नका लागि मैदनानमा पसिना बगाउन तयार हुन्छन् ।

जित्नेले राख्न पाउँछ त ?

धेरैलाई लाग्छ, विश्वकप जितेपछि टोलीले सुनको ट्रफी सधैंका लागि घर लैजान्छ । तर वास्तविकता फरक छ । मूल विश्वकप ट्रफी फिफाकै स्वामित्वमा रहन्छ । विजेता टोलीले पुरस्कार समारोहपछि ट्रफी फर्काउनुपर्छ र त्यसको सट्टा सुनको पत्र चढाइएको आधिकारिक प्रतिकृति प्राप्त गर्छ ।

त्यसैले, असली ट्रफी सधैं फिफाको संरक्षणमै रहन्छ । थप जानकारीका लागि अनलाइनखबरमा प्रकाशित विस्तृत सामग्री हेर्नुहोस्। लिंक तल दिइएको छ। www.onlinekhabar.com/2026/06/1946072