+

सुदूर अस्पतालको शय्या नम्बर २४

२०८३ असार  ४ गते १५:१२ २०८३ असार ४ गते १५:१२

छोराको शवसँगै उनका धेरै सपना पनि चिहानतिरै सेलाए । दुःखको श्रृंखला त्यतिमै रोकिएन । बाल्यकालमा जलेको खुट्टा फेरि गम्भीर घाइते भयो ।

सुदूर अस्पतालको शय्या नम्बर २४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दोधारा चाँदनी नगरपालिका वडा नम्बर ३ का शारीरिक रूपमा अशक्त गोपी ढोली आर्थिक अभावका कारण महाकाली प्रादेशिक अस्पतालमा उपचाररत छन्।

काँपिरहेका हात । सुकेका ओठ । सुक्दै गएको कायामा झुन्डिएका थोत्रा मैला लुगा । जसको छेउमा छ– तुर्लुङ्ग झुन्डिएको एउटा पिसाबको थैली । यी सबै झेल्दै अस्पतालको शय्यामा ढलिरहेको छ गोपी ढोलीको रुग्ण शरीर ।

अशक्त शरीर । तर आँखाभित्र अझै निभ्न बाँकी छ एउटा पुरानो थाकेको आशाको त्यान्द्रो ।

ह्वीलचियरमा शरीर घिसार्दै उनी मेडिकल स्टोरतर्फ लाग्छन् । मेडिकल स्टोरको ढोकासम्म पुगेर ‍बिस्तारै बोल्छन्, ‘निवेदन दिएको छु । मेरो सहयोग दोधारा चाँदनी नगरपालिका वडा नम्बर ३ बाट आउँछ हजुर । अहिले सचिव छैन रे । साइन भएपछि आउँछ रे ।’

त्यो ‘आउँछ रे’ वर्षौंदेखि उनको पछिपछि हिँडिरहेको छायाँ हो । जति पछ्याए पनि नभेटिने, जति पर्खिए पनि नआइपुग्ने ।

सुदूर नेपालको पनि अझ सुदूर सीमापारिको एउटा गाउँ, जहाँ २०३५ सालको असारमा गोपी जन्मिएका थिए । आकाशमा बादल फाटिरहेसँगै महाकाली उर्लिरहेको थियो । बाटो हिलाम्मे थियो । गाउँका बूढापाकाहरू भन्दै थिए– यो असारको भेलले पानी मात्रै नभएर धेरैको भाग्य पनि बगाउँछ जस्तो छ ।’

त्यो भनाइ गोपीको जीवनमा नियति नै बन्यो ।

जन्मिएको तीन महिनामै दुर्घटनाले उनको जीवनको दिशा फेरिदियो । एक दिन आमा घरधन्दामा व्यस्त थिइन् । बुबा ज्याला मजदुरीका लागि बाहिर निस्किएका थिए । त्यही बेला चुलो नजिकै सुताइएका उनी आगोमा परे । दुवै खुट्टा नराम्ररी जले ।

उनलाई देख्नेहरूले भन्थे, यो बच्चो बाँच्दैन होला । तर नबाँच्ने भनिएको बच्चो बाँच्यो तर बाँच्नु नै उनका लागि सजाय बन्दै गयो ।

विद्यालय पुगेपछि उनले किताबभन्दा धेरै अपमान पढे । कक्षाकोठाभन्दा बढी समाजले उनलाई शिक्षा दियो । त्यो शिक्षा यस्तो थियो– यो देशमा सबै मानिस बराबर हुँदैनन् ।

गरीबी, अशक्तता र जातीय विभेदको तेहेरो बोझ बोकेका गोपी अरूका लागि हाँसोको पात्र बने । मागेर खानेले पनि स्कुल आउनुपर्ने ? आफ्नो हालत हेरेर बस्नुपर्दैन ?’ यस्ता शब्दहरू उनका लागि पाठ्यपुस्तकमा कोरिएका अक्षरजस्तै बनिसकेका थिए ।

अन्ततः सामाजिक उत्पीडन र अभावको दोहोरो प्रहार थेग्न नसकी उनले किताब छाडे । समाते – ज्याला मजदुरीको बाटो ।

जीवन कष्टकर थियो । त्यही संघर्षका बीच १७ वर्षको उमेरमा उनको विवाह भयो । सन्तान जन्मिए । अशक्त खुट्टा बोकेर पनि उनी खेतबारीमा पसिना बगाउँथे, भारी बोक्थे, ज्याला मजदुरी गर्थे । अभावसँग दैनिक कुस्ती खेल्दै जीवन जसोतसो अघि बढिरहेको थियो । तर गरिबको जीवन नदी किनारको बालुवाको घरजस्तै हुन्छ – जसलाई भत्किन ठूलो आँधी चाहिँदैन, सानो छाल आए पुग्छ ।

यही सत्य गोपीले जीवनभर बारम्बार भोगिरहे।

अनि एक दिन नियतिले उनको जीवनको सबैभन्दा गहिरो घाउ दियो । २२ वर्षको जवान छोरा अप्रत्याशित रूपमा बित्यो । जसले आफूलाई बुढेसकालमा सहारा दिन्छ भन्ने सोचेका थिए, उसैको निष्प्राण शरीरलाई काँधमा बोकेर चिहानसम्म पुर्‍याउनुपर्ने दिन आयो ।

छोराको शवसँगै उनका धेरै सपना पनि चिहानतिरै सेलाए ।

दुःखको श्रृंखला त्यतिमै रोकिएन । बाल्यकालमा जलेको खुट्टा फेरि गम्भीर घाइते भयो ।

यतिबेला, सेतो कोठा । औषधिको गन्ध । बाहिर जेठको पोल्ने गर्मी छ । त्यही गर्मीभित्र उम्लिरहेको छ गोपीको जीवन । महाकाली प्रादेशिक अस्पतालको बेड नम्बर २४ पल्टिरहेका उनीसँग स्वास्थ्य बीमा छ, तर उपचारको सीमा पनि छ ।

अशक्त भत्ता छ तर त्यो जीवन धान्न पर्याप्त छैन । कोठाभित्र रोगभन्दा ठूलो समस्या पैसा बनेर उभिएको छ । श्रीमती र बुहारी छेउमै छन्, तर हात खाली छन् । औषधि पसलले गोपीको गरिबी बुझिरहन सक्दैनन्, उनीहरू नगद खोज्छन् । कुनै विन्ती चल्दैन ।

अस्ति औषधि लिन जाँदा श्रीमतीले बिन्ती गरिन् पछि तिर्छौं ।’ तर पैसा चल्ने बजारमा याचना कहाँ चल्थ्यो ।

गोपि आफैँ ह्विलचेयरमा बाहिर निस्किन्छन् आफ्नो अशक्त शरीर धकेल्दै । मेडिकल स्टोर पुगेर उनी भन्छन्, ‘दोधरा चाँदनी नगरपालिका वडा नम्बर ३ बाट सहयोग आउँछ हजुर । अहिले सचिव छैन रे ! निवेदन दिएको छु । साइन भएपछि राहत आउँछ रे ! अहिलेलाई औषधि दिनुस् ।

यो आउँछ रे ! नै उनको जीवनको सबैभन्दा लामो प्रतीक्षा बनेको छ । नेपालमा समृद्धि आउँछ रे । विकास आउँछ रे । रोजगार आउँछ रे । दलित अपहेलित नहुने दिन आउँछ रे ! समानता आउँछ रे ! स्वास्थ्य सेवा गाउँसम्म पुग्छ रे !

तर गोपी जस्ता मानिसहरूको जीवन भने त्यही ‘रे’ को अँध्यारो सुरुङभित्रै सीमित हुन्छ ।

अस्पताल गोपी ढोली शय्या
लेखक
भूमिका कुमारी विष्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सुदूर अस्पतालको शय्या नम्बर २४

सुदूर अस्पतालको शय्या नम्बर २४

हैजाको जोखिममा काठमाडौं !

हैजाको जोखिममा काठमाडौं !

रक्तदानपछि छिटै ताजा महसुस गर्न के-के खाने ?

रक्तदानपछि छिटै ताजा महसुस गर्न के-के खाने ?

स्वास्थ्य शिक्षा प्रवेश परीक्षामा केवल अंकको मात्रै प्रतिस्पर्धा कति उपयुक्त ?

स्वास्थ्य शिक्षा प्रवेश परीक्षामा केवल अंकको मात्रै प्रतिस्पर्धा कति उपयुक्त ?

रास्वपाको ‘स्वास्थ्य बीमा पुनर्संरचना मार्गचित्र’ र जोगीको कथा

रास्वपाको ‘स्वास्थ्य बीमा पुनर्संरचना मार्गचित्र’ र जोगीको कथा

सिटामोलले मात्रै नघट्न सक्छ ‘लू’ को ज्वरो, बेवास्ता गर्दा ज्यानै जोखिममा

सिटामोलले मात्रै नघट्न सक्छ ‘लू’ को ज्वरो, बेवास्ता गर्दा ज्यानै जोखिममा