+

सिटामोलले मात्रै नघट्न सक्छ ‘लू’ को ज्वरो, बेवास्ता गर्दा ज्यानै जोखिममा

२०८३ असार  २ गते १६:२० २०८३ असार २ गते १६:२०
Shares
सिटामोलले मात्रै नघट्न सक्छ ‘लू’ को ज्वरो, बेवास्ता गर्दा ज्यानै जोखिममा

गर्मी बढ्दै जाँदा देशका विभिन्न क्षेत्रमा ‘लू’ लाग्ने जोखिम पनि बढ्न थालेको छ । केही वर्षअघिसम्म तराई–मधेशमा बढी देखिने अत्यधिक गर्मी अहिले पहाडी जिल्लाहरूमा समेत महसुस हुन थालेको छ । तापक्रम बढेसँगै तातो र सुख्खा हावा चल्ने, शरीरबाट अत्यधिक पसिना बग्ने र त्यसका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिने क्रम बढ्दो छ ।

धेरैजसो मानिस ज्वरो आउँदा सिटामोल खाएर आराम गर्ने गर्छन् । तर ‘लू’ लाग्दा शरीरको तापक्रम अत्यधिक बढ्न सक्छ र यस्तो अवस्थामा सिटामोलजस्ता ज्वरो घटाउने औषधिले मात्रै पर्याप्त काम नगर्न सक्छन् ।

किनभने ‘लू’ सामान्य संक्रमणका कारण हुने ज्वरो होइन, शरीरको तापक्रम नियन्त्रण गर्ने प्रणाली हाइपोथालामस नै प्रभावित हुने अवस्था हो । समयमै उपचार नपाए यसले मस्तिष्क, मुटु, मिर्गौला लगायतका महत्वपूर्ण अंगमा असर पुर्‍याउन सक्छ ।

विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला, दीर्घरोगी तथा घाममा लामो समय काम गर्ने व्यक्तिहरू ‘लू’ को उच्च जोखिममा हुन्छन् । त्यसैले, गर्मी बढिरहेका बेला यसको कारण, लक्षण र बच्ने उपायबारे जानकारी हुनु आवश्यक छ ।

‘लू’ किन लाग्छ र कसरी चिन्न सकिन्छ ?

मानव शरीरले सामान्य अवस्थामा पसिना निकालेर आफ्नो तापक्रम नियन्त्रण गर्छ । तर अत्यधिक गर्मीमा लामो समय बस्दा वा काम गर्दा शरीरबाट धेरै पसिना निस्कन्छ । यससँगै शरीरमा आवश्यक पानी र नुन (इलेक्ट्रोलाइट) को मात्रा पनि घट्न थाल्छ ।

जब शरीरले गुमाएको पानी र इलेक्ट्रोलाइटको पूर्ति गर्न सक्दैन, शरीरको तापक्रम असामान्य रूपमा बढ्न थाल्छ । यही अवस्थाले ‘लू’ लाग्ने जोखिम बढाउँछ ।

सुरुवाती अवस्थामा अत्यधिक प्यास लाग्ने, टाउको दुख्ने, चक्कर लाग्ने, कमजोरी महसुस हुने, भोक कम लाग्ने वा अत्यधिक थकान हुने जस्ता लक्षण देखिन सक्छन् । अवस्था गम्भीर हुँदै जाँदा वान्ता हुने, मांसपेशी दुख्ने, मुटुको धड्कन बढ्ने, छटपटी हुने, अनुहार रातो हुने र शरीर निकै तातो हुने जस्ता समस्या देखा पर्छन् ।

कतिपय अवस्थामा बिरामी बेहोस समेत हुन सक्छ । यस्तो अवस्थामा तुरुन्त उपचार नपाए ज्यानसमेत जोखिममा पर्न सक्छ । ‘लू’ को असर तत्काल मात्र होइन, दीर्घकालीन पनि हुन सक्छ । यसले रक्तचाप, मुटु तथा अन्य दीर्घरोग भएका व्यक्तिको स्वास्थ्य अवस्था थप जटिल बनाउन सक्छ ।

‘लू’ लागेमा तुरुन्त के गर्ने ?

कुनै व्यक्तिमा ‘लू’ को लक्षण देखिएमा सबैभन्दा पहिले उसलाई घाम वा तातो वातावरणबाट हटाएर चिसो र हावायुक्त स्थानमा राख्नुपर्छ । शरीरको तापक्रम घटाउने प्रयास तुरुन्त सुरु गर्नुपर्छ ।

बिरामीको कपडा खुकुलो बनाइदिनु वा आवश्यक परे हटाइदिनुपर्छ । चिसो पानीमा कपडा भिजाएर निधार, घाँटी, काखी तथा हातखुट्टामा राख्दा शरीर चिसो बनाउन मद्दत पुग्छ । चिसो पानीले शरीर पुछिदिँदा पनि राहत मिल्न सक्छ ।

यदि बिरामी होसमा छ भने उसलाई पानी, जीवनजल, कागती पानी, नरिवल पानी वा अन्य झोलयुक्त पदार्थ दिन सकिन्छ । यसले शरीरमा पानीको कमी पूर्ति गर्न मद्दत गर्छ ।

तर बिरामी बेहोस भएको छ, बोल्न गाह्रो भइरहेको छ, खुट्टामा बल छैन, अत्यधिक कमजोरी छ वा शरीरको तापक्रम निकै बढेको छ भने ढिलाइ नगरी स्वास्थ्य संस्थामा लैजानुपर्छ । गम्भीर अवस्थामा अस्पतालमा स्लाइन तथा अन्य आपत्कालीन उपचार आवश्यक पर्न सक्छ ।

‘लू’ बाट कसरी जोगिने ?

– बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म घामको प्रभाव बढी हुने भएकाले यो समयमा सकेसम्म बाहिर ननिस्कनु उपयुक्त हुन्छ ।

– बाहिर जानैपर्ने अवस्था भए पर्याप्त पानी पिएर मात्र निस्कने । छाता, टोपी वा टाउको छोप्ने कपडा प्रयोग गर्ने । यसले हल्का र सुतीका कपडा लगाउँदा तापक्रम व्यवस्थापन गर्न शरीरलाई सजिलो हुन्छ ।

-गर्मी मौसममा नियमित रूपमा पानी पिउनुपर्छ । प्यास लागेपछि मात्र होइन, प्यास नलागे पनि केही–केही समयमा पानी पिइरहनु उपयुक्त हुन्छ ।

-जीवनजल, कागती पानी, बेलको सर्बत, नरिवल पानी तथा अन्य झोलयुक्त पेय पदार्थले शरीरमा पानीको मात्रा कायम राख्न मद्दत गर्छन् ।

-खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । काँक्रो, खरबुजा, तरबुजा, सुन्तला, अंगुर, सलाद, सागसब्जी तथा पानीको मात्रा बढी भएका फलफूल र खाद्य पदार्थ उपयोगी मानिन्छन् । भारी, धेरै चिल्लो, तारेको वा अत्यधिक पिरो खानेकुरा कम खानु राम्रो हुन्छ ।

– मदिरा सेवन, अत्यधिक चिया, कफी तथा चिनी धेरै भएका पेय पदार्थले शरीरमा पानीको कमी बढाउन सक्ने भएकाले यस्ता पदार्थको सेवन सीमित गर्नुपर्छ ।

-त्यसैगरी, एसी वा अत्यधिक चिसो कोठाबाट एक्कासी चर्को घाममा निस्कँदा पनि समस्या हुन्छ । यस्तोमा शरीरको तापक्रममा एक्कसी ठूलो परिवर्तन आउन सक्छ । त्यसैले केही समय सामान्य वातावरणमा बसेर मात्र बाहिर निस्कनु उपयुक्त हुन्छ ।

– खेतबारी, निर्माणस्थल वा खुला ठाउँमा काम गर्ने व्यक्तिले बिहान वा साँझको समय रोज्नु राम्रो हुन्छ । कामको बीचमा विश्राम लिनु, पानी पिइरहनु र शरीरमा पानीको कमी हुन नदिनु अत्यन्त महत्वपूर्ण हुन्छ ।

गर्मीको मौसममा ‘लू’ सामान्य समस्या जस्तो लाग्न सक्छ, तर यसले गम्भीर स्वास्थ्य जटिलता निम्त्याउन सक्छ । त्यसैले तापक्रम बढिरहेका बेला पर्याप्त पानी पिउने, घामबाट जोगिने र शरीरमा देखिने प्रारम्भिक संकेतलाई बेवास्ता नगर्ने बानी नै ‘लू’ विरुद्धको सबैभन्दा प्रभावकारी सुरक्षा हो ।

ज्वोरो लु सिटामोल
डा. अवशेष भण्डारी
लेखक
डा. अवशेष भण्डारी
जनरल फिजिसियन, पेट तथा कलेजोरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १०८८४ अध्ययन : एमबीबीएस, एमडी (ग्यास्ट्रोइन्ट्रोलोजी) हाल काठमाडौंस्थित हेल्पिङ ह्याण्ड्स अस्पताल र ग्यास्ट्रो एण्ड लिभर फाउन्डेसनमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सिटामोलले मात्रै नघट्न सक्छ ‘लू’ को ज्वरो, बेवास्ता गर्दा ज्यानै जोखिममा

सिटामोलले मात्रै नघट्न सक्छ ‘लू’ को ज्वरो, बेवास्ता गर्दा ज्यानै जोखिममा

के उमेरसँगै महिनावारीको रक्तस्राव पनि परिवर्तन हुन्छ ?

के उमेरसँगै महिनावारीको रक्तस्राव पनि परिवर्तन हुन्छ ?

आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने, अब्स्ट्र्याक्ट पेश गर्न आह्वान

आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने, अब्स्ट्र्याक्ट पेश गर्न आह्वान

एचआईभी नियन्त्रणमा प्रगति भए पनि लाञ्छना र विभेद अझै

एचआईभी नियन्त्रणमा प्रगति भए पनि लाञ्छना र विभेद अझै

विश्वकप हेर्न रातभर बस्दा, स्न्याक्स खाँदा के कुरामा सतर्कता अपनाउने ?

विश्वकप हेर्न रातभर बस्दा, स्न्याक्स खाँदा के कुरामा सतर्कता अपनाउने ?

घाममा बसेर जुरुक्क उठ्दा किन चक्कर लाग्छ ?

घाममा बसेर जुरुक्क उठ्दा किन चक्कर लाग्छ ?