+
+
Shares

९० वर्षको उमेरमा पनि मस्तिष्कको क्षमतामा सुधार आउन सक्ने

बढ्दो उमेरसँगै मानिसको मानसिक तीक्ष्णता र सोच्ने क्षमता कमजोर हुँदै जान्छ भन्ने आम मान्यतालाई चुनौती दिँदै एक नयाँ अनुसन्धान सार्वजनिक भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते १४:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टेक्सस विश्वविद्यालयको एक अध्ययनले ९० वर्षभन्दा बढी उमेरका मानिसको मस्तिष्क स्वास्थ्यमा पनि सुधार ल्याउन सकिने तथ्य पत्ता लगाएको छ ।
  • वैज्ञानिक जर्नल 'साइन्टिफिक रिपोर्ट्स' मा प्रकाशित यस अनुसन्धानमा १९ देखि ९४ वर्ष उमेर समूहका ३ हजार ९ सय ६६ जना सहभागी थिए ।
  • अनुसन्धानका अनुसार दैनिक ५ देखि १५ मिनेटको मस्तिष्क अभ्यासले मानिसको सोच्ने स्पष्टता र भावनात्मक सन्तुलनमा उल्लेख्य सुधार ल्याउँछ ।

३१ जेठ, काठमाडौं । बढ्दो उमेरसँगै मानिसको मानसिक तीक्ष्णता र सोच्ने क्षमता कमजोर हुँदै जान्छ भन्ने आम मान्यतालाई चुनौती दिँदै एक नयाँ अनुसन्धान सार्वजनिक भएको छ। ‘द युनिभर्सिटी अफ टेक्सस एट डालस’ अन्तर्गतको ‘सेन्टर फर ब्रेनहेल्थ’ का अनुसन्धानकर्ताहरूले गरेको तीन वर्ष लामो अध्ययनले ९० वर्षभन्दा बढी उमेर पुगेका मानिसको मस्तिष्क स्वास्थ्यमा पनि सुधार ल्याउन सकिने देखाएको हो।

वैज्ञानिक जर्नल ‘साइन्टिफिक रिपोर्ट्स’ मा प्रकाशित यस अध्ययनमा १९ देखि ९४ वर्ष उमेर समूहका ३ हजार ९ सय ६६ जना व्यक्तिहरूलाई समावेश गरिएको थियो।

अनुसन्धानका क्रममा सहभागीहरूले दैनिक मात्र ५ देखि १५ मिनेट मस्तिष्कलाई क्रियाशील बनाउने विभिन्न अभ्यासहरू (ब्रेन-ट्रेनिंग एक्टिभिटिज) गरेका थिए। तीन वर्षको निरन्तर ट्र्याकिङपछि अनुसन्धानकर्ताहरूले उनीहरूको सोच्ने स्पष्टता, भावनात्मक सन्तुलन र जीवनप्रतिको दृष्टिकोणमा मापनयोग्य सुधार पाएका हुन्।

मस्तिष्कको स्वास्थ्यमा आएको यो परिवर्तन मापन गर्न अनुसन्धान टोलीले ‘ब्रेनहेल्थ इन्डेक्स’ नामक एक विशेष विधि प्रयोग गरेको थियो। यस सूचकाङ्कले मानिसको निद्राको गुणस्तर, खुसीको स्तर र जटिल सोच्ने क्षमतासहित करिब २० वटा सूचकहरूलाई मूल्याङ्कन गर्छ।

अध्ययनकी प्रमुख लेखिका डा. लोरी कूकका अनुसार हरेक मानिसको मस्तिष्क औँठाको छाप जस्तै अद्वितीय हुन्छ र यसमा सधैँ विकासको सम्भावना रहन्छ। यो अध्ययनले उमेर बढेपछि मस्तिष्क कमजोर हुनै पर्छ भन्ने पुरानो धारणालाई गलत साबित गरिदिएको छ।

यस अनुसन्धानको अर्को रोचक पक्ष के छ भने जुन सहभागीहरूको सुरुवाती मस्तिष्क स्वास्थ्य सूचकाङ्क (स्कोर) सबैभन्दा कम थियो, उनीहरूमा समयसँगै सबैभन्दा ठुलो सुधार देखियो। कम स्कोर भएका मानिसहरू आफ्नो मानसिक स्वास्थ्यप्रति बढी चिन्तित र उत्प्रेरित हुने भएकाले उनीहरूले अभ्यासमा बढी समय लगानी गरेको र त्यसको परिणाम पनि राम्रो देखिएको अध्ययनले जनाएको छ। यद्यपि, पहिलेदेखि नै राम्रो मानसिक क्षमता भएका व्यक्तिहरूमा पनि सुधारका लक्षणहरू रेकर्ड गरिएका छन्।

सेन्टर फर ब्रेनहेल्थकी प्रमुख निर्देशक डा. स्यान्ड्रा बन्ड च्यापम्यानले मस्तिष्कको क्षमता उमेरले नभई सम्भावनाले निर्धारण गर्ने प्रष्ट पारिन्। उनका अनुसार मस्तिष्कमा कुनै समस्या वा रोग देखिनु अगावै यसलाई स्वस्थ राख्न गरिने प्रयासहरू बुढ्यौली उमेरमा पनि निकै प्रभावकारी हुन्छन्।

अनुसन्धानकर्ताहरूका अनुसार मानिसको उमेर, लिङ्ग वा शैक्षिक योग्यता जस्ता कुराले मस्तिष्कको सुधारमा कुनै फरक पार्दैन, बरु व्यक्ति यी अभ्यासहरूमा कति धेरै संलग्‍न हुन्छ भन्ने कुराले मात्र मुख्य भूमिका खेल्छ। यस विषयलाई थप स्पष्ट पार्न डालस क्षेत्रका करिब ४०० सहभागीहरूको १ हजार २ सय भन्दा बढी मस्तिष्क स्क्यान (ब्रेन इमेजिङ) गरेर थप दीर्घकालीन अनुसन्धान पनि जारी राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?