News Summary
Generated by OK AI. Editorially reviewed.- आन्द्रा हाम्रो मनोभाव र भावनासँग गहिरो रूपमा जोडिएको अंग हो, जसमा स्वतन्त्र स्नायु सञ्जाल हुन्छ र यसलाई \'दोस्रो मस्तिष्क\' भनिन्छ।
आन्द्रा केवल खाना पचाउने र पोषण तत्त्व अवशोषण गर्ने अंग मात्र होइन, यो हाम्रो मनोभाव र भावनासँग पनि गहिरो रूपमा जोडिएको अंग हो । आन्द्रामा आफ्नै स्वतन्त्र स्नायु सञ्जाल छ, जसलाई वैज्ञानिकहरूले ‘दोस्रो मस्तिष्क’ नाम दिएका छन् । यो प्रणाली हाम्रो भावना, सम्झना, निर्णय क्षमता र समग्र मानसिक स्वास्थ्यसँग निकै नजिकबाट सम्बन्धित छ ।
शरीरमा उत्पादन हुने करिब ५० प्रतिशत डोपामाइन (खुसी र आनन्दसँग जोडिएको हार्मोन) र ९०–९५ प्रतिशत सेरोटोनिन (भावना नियन्त्रण गर्ने हार्मोन) आन्द्रामै बन्छन् । त्यसैले, जब मन खिन्न हुन्छ, भोक कम लाग्छ । तनाव बढ्दा पखाला लाग्छ वा कब्जियत हुन्छ । वास्तवमा आन्द्राले भावनात्मक प्रतिक्रिया दिइरहेको हुन्छ ।
ब्रेन–गट अक्ष : मस्तिष्क र आन्द्राको दुईतर्फी सञ्चार
यो सम्बन्धलाई हाल ‘ब्रेन–गट अक्ष’ भनिन्छ । सरल भाषामा भन्नुपर्दा, मस्तिष्क र आन्द्राबीच निरन्तर दुईतर्फी सञ्चार हुने जटिल प्रणाली हो । यसले पाचन प्रक्रिया मात्र होइन, भावना, निद्रा र मानसिक स्वास्थ्यलाई समेत प्रभाव पार्छ ।
ब्रेन–गट अक्ष कुनै एक अंग होइन, बरु एउटा जटिल सञ्चार सञ्जाल हो जसमा मस्तिष्क, केन्द्रीय स्नायु प्रणाली, आन्द्राको आफ्नै स्नायु प्रणाली (दोस्रो मस्तिष्क) र आन्द्राभित्र बस्ने सूक्ष्म जीवाणुहरू (माइक्रोबायोटा) सामेल छन् । यसलाई मुख्य रूपमा तीनवटा मार्गबाट बुझ्न सकिन्छ ।
यसलाई हामी तीनवटा ‘हाइवे’ वा मार्गको रूपमा बुझ्न सक्छौं ।
१. स्नायु मार्ग : सबैभन्दा छिटो सञ्चार
पहिलो हो, स्नायु मार्ग, जुन सबैभन्दा छिटो सञ्चार गर्ने प्रणाली हो । आन्द्राभित्र रहेका करोडौं स्नायु कोषिकाहरू भेगस स्नायु मार्फत मस्तिष्कसँग प्रत्यक्ष रूपमा जोडिएका हुन्छन् । उदाहरणका लागि, स्वादिष्ट खाना देख्दा मुखमा पानी आउनु वा तनाव हुँदा अचानक पेट दुख्नु वा दिसा लाग्नु– यी सबै स्नायु मार्गको छिटो प्रतिक्रियाका उदाहरण हुन् ।
२. प्रतिरक्षा मार्ग : चेतावनी प्रणाली
आन्द्रा शरीरको सबैभन्दा ठूलो प्रतिरक्षा अंग हो । जब आन्द्राको सुरक्षा पर्खाल कमजोर हुन्छ वा सूक्ष्म जीवाणुहरूको सन्तुलन बिग्रिन्छ, तब हानिकारक जीवाणु र तिनका विषले सन्निने समस्या उत्पन्न गर्छन् ।
यो सूजनले रगतमार्फत मस्तिष्कसम्म ‘खतरा संकेत’ पठाउँछ, जसले थकान, मन खिन्न हुनु, भोक नलाग्ने जस्ता समस्या निम्त्याउछ।
३. हार्मोन मार्ग : गहिरो र दीर्घकालीन प्रभाव
आन्द्रा शरीरको ठूलो हार्मोन उत्पादन गर्ने अंग पनि हो । यहाँ ९० प्रतिशतभन्दा बढी सेरोटोनिन उत्पादन हुन्छ जसले हाम्रो भावना, निद्रा र भोक नियन्त्रण गर्छ । मस्तिष्कले तनावमा निकाल्ने कोर्टिसोल हार्मोनले आन्द्राको चाल र जीवाणु सन्तुलनलाई असर पार्छ । यो मार्ग ढिलो काम गर्छ तर प्रभाव गहिरो हुन्छ।
ब्रेन–गट अक्षले पार्ने प्रभाव
ब्रेन–गट अक्षले भावनात्मक स्वास्थ्य, मेटाबोलिजम, प्रतिरक्षा प्रणाली र व्यवहारलाई समेत प्रभाव पार्छ । चिन्ता र अवसादमा आन्द्राको सूक्ष्म जीवाणुहरूको भूमिका महत्वपूर्ण देखिएको छ ।
तनाव बढ्दा कोर्टिसोलले आन्द्राको चाल बिगार्छ र सूक्ष्म जीवाणु सन्तुलन बिग्रिन्छ । यसको परिणामस्वरूप पेट फुल्ने, पखाला, कब्जियत, अपच र इरिटेबल बाउल सिन्ड्रोम जस्ता समस्या देखिन्छन् ।
यो अक्ष पार्किन्सन, अटिज्म, अटोइम्युन रोग र मोटोपन जस्ता रोगसँग पनि जोडिएको छ । धेरै अध्ययनले आन्द्राको स्वास्थ्य राम्रो भएमा मानसिक स्वास्थ्य पनि सुधारिने देखाएका छन् ।
आन्द्रा र मस्तिष्कलाई स्वस्थ राख्ने ?
मस्तिष्क र आन्द्रालाई सन्तुलित राख्न केही जीवनशैली सुधार आवश्यक छन् । पोषणयुक्त खाना विशेषगरी फाइबर र किण्वित (फर्मेन्टेड) खाद्य पदार्थ जस्तै दही सेवन गर्नु महत्त्वपूर्ण हुन्छ ।
नियमित व्यायामले आन्द्राको स्वास्थ्य सुधार गर्छ ।
पर्याप्त निद्राले हार्मोन सन्तुलन कायम राख्छ । तनाव व्यवस्थापनका लागि ध्यान, योग वा आफ्ना भावना व्यक्त गर्ने अभ्यास उपयोगी हुन्छ । साथै, अनावश्यक औषधि, विशेषगरी एन्टिबायोटिकको प्रयोगमा सावधानी अपनाउनुपर्छ ।
प्रतिक्रिया 4