News Summary
Generated by OK AI. Editorially reviewed.- महिलाको उमेर बढ्दै जाँदा हर्मोनमा आउने परिवर्तनका कारण महिनावारीको स्वरूप, अवधि र नियमिततामा फेरबदल हुनु स्वाभाविक मानिन्छ।
धेरै महिलाले आफ्नो जीवनको कुनै न कुनै चरणमा महिनावारी पहिलेभन्दा फरक भएको अनुभव गर्छन् । कसैको रक्तस्राव अचानक धेरै हुन थाल्छ भने कसैको निकै कम हुन्छ । कतिपय महिलाको महिनावारी नियमित हुँदाहुँदै अनियमित हुन थाल्छ भने कतिपयको महिनावारीको अवधि नै छोटो वा लामो हुन सक्छ ।
यस्तो परिवर्तन देखिनु कतिको सामान्य हो ?
उमेरसँगै महिलाको शरीरमा हुने हार्मोनल परिवर्तनका कारण महिनावारीको स्वरूप परिवर्तन हुनु सामान्य प्रक्रिया हो । तर सबै परिवर्तन सामान्य हुँदैनन् । कतिपय अवस्थामा यस्ता परिवर्तन कुनै स्वास्थ्य समस्याको संकेत पनि हुन सक्छन् ।
पहिला बुझौं, महिनावारी किन परिवर्तन हुन्छ ?
महिनावारी महिलाको प्रजनन प्रणालीसँग प्रत्यक्ष रूपमा सम्बन्धित जैविक प्रक्रिया हो । यसलाई मुख्य रूपमा ‘एस्ट्रोजन’ र ‘प्रोजेस्टेरोन’ नामक हार्मोनले नियन्त्रण गर्छन् ।
उमेर बढ्दै जाँदा यी हार्मोनको मात्रा र सन्तुलनमा परिवर्तन आउँछ । यही कारणले महिनावारीको मात्रा, अवधि र नियमिततामा पनि परिवर्तन देखिन सक्छ ।
यसका अतिरिक्त तनाव, निद्राको कमी, तौलमा हुने परिवर्तन, खानपान, व्यायामको स्तर, गर्भावस्था, स्तनपान तथा केही स्वास्थ्य अवस्थाले पनि महिनावारीलाई प्रभावित गर्न सक्छन् ।
किशोरावस्थामा कस्तो हुन्छ महिनावारी ?
सामान्यतया किशोरीहरूमा पहिलो पटक महिनावारी सुरु भएपछि केही वर्षसम्म चक्र नियमित नहुन सक्छ । यस अवधिमा शरीर हार्मोनल सन्तुलन स्थापित गर्ने प्रक्रियामा हुन्छ ।
त्यसैले, कहिले महिनावारी चाँडै आउन सक्छ, कहिले ढिलो आउन सक्छ । रक्तस्राव पनि कहिले धेरै त कहिले कम हुन सक्छ । कतिपय किशोरीमा सुरुका वर्षहरूमा महिनावारी निकै भारी हुने र लामो समयसम्म रहने समस्या पनि देखिन्छ।
अधिकांश अवस्थामा यो सामान्य मानिन्छ । तर अत्यधिक रक्तस्राव, अत्यन्तै पीडा वा महिनौंसम्म महिनावारी नआउने अवस्था देखिएमा चिकित्सकीय परामर्श आवश्यक हुन सक्छ ।
२० देखि ३० वर्षको उमेरमा
प्रजनन क्षमताको दृष्टिले यो समयलाई महिलाको सबैभन्दा स्थिर चरण मानिन्छ । अधिकांश महिलामा महिनावारी नियमित हुने, चक्र पूर्वानुमान गर्न सकिने र रक्तस्राव पनि अपेक्षाकृत स्थिर हुने गर्छ ।
तर यस उमेर समूहमा पनि केही कारणले महिनावारीमा परिवर्तन आउन सक्छ ।
उदाहरणका लागिः
गर्भनिरोधक चक्की वा अन्य गर्भनिरोधक विधिको प्रयोग, अत्यधिक तनाव, अनियमित जीवनशैली, अत्यधिक तौल बढ्नु वा घट्नु, पोलिसिस्टिक ओभरी सिन्ड्रोम र थाइराइडसम्बन्धी समस्याले समस ल्याउन सक्छ ।
त्यसैगरी, गर्भावस्था र सुत्केरीपछिको अवस्थाले पनि महिनावारीको स्वरूप परिवर्तन गर्न सक्छ । कतिपय महिलामा बच्चा जन्मिएपछि पहिलेभन्दा बढी वा कम रक्तस्राव हुन सक्छ ।
३० देखि ४० वर्षपछि
३० वर्ष पार गरेपछि महिलाको शरीरमा सूक्ष्म हार्मोनल परिवर्तनहरू सुरु हुन सक्छन् । धेरै महिलाले यस अवधिमा महिनावारीको अवधि, रक्तस्रावको मात्रा वा चक्रमा सामान्य परिवर्तन अनुभव गर्न सक्छन् ।
यद्यपि, यो परिवर्तन सबैमा एकै प्रकारको हुँदैन । कतिपयमा कुनै उल्लेखनीय परिवर्तन नदेखिए पनि केही महिलामा महिनावारी केही अनियमित हुन थाल्न सक्छ ।
यो उमेर समूहमा पाठेघरमा फाइब्राइड, एडेनोमायोसिस, एन्डोमेट्रियोसिस वा अन्य स्त्रीरोगसम्बन्धी समस्याहरूको जोखिम पनि बढ्न सक्छ, जसले महिनावारीको प्रकृतिलाई असर गर्न सक्छ ।
पेरिमेनोपोज : सबैभन्दा धेरै परिवर्तन हुने चरण
सामान्यतया ४० वर्षपछिको अवधिमा महिलाहरू पेरिमेनोपोजमा प्रवेश गर्न थाल्छन् । यो मेनोपोज भनेको महिनावारी स्थायी रूपमा बन्द हुनुअघिको संक्रमणकालीन चरण हो ।
यस समयमा अण्डाशयबाट हार्मोन उत्पादन नियमित हुँदैन । कहिले एस्ट्रोजन धेरै उत्पादन हुन्छ भने कहिले कम। यही कारणले महिनावारीमा ठूलो उतारचढाव आउन सक्छ ।
पेरिमेनोपोजका क्रममा देखिन सक्ने परिवर्तनहरू
१. महिनावारी चाँडो वा ढिलो आउनु
२. अत्यधिक रक्तस्राव हुनु
३. धेरै कम रक्तस्राव हुनु
४. केही महिनासम्म महिनावारी नआउनु
५. स्पटिङ मात्र हुनु
६. महिनावारीको अवधि छोटो वा लामो हुनु
धेरै महिलाले यस चरणमा तातो महसुस हुने (हट फ्ल्यास), राति धेरै पसिना आउने, निद्रामा समस्या हुने तथा मुड परिवर्तन हुने अनुभव पनि गर्छन् ।
कुन परिवर्तन सामान्य मानिन्छ ?
विशेषज्ञहरूका अनुसार निम्न परिवर्तनहरू सामान्य मान्न सकिन्छः
– उमेरसँगै रक्तस्राव केही कम वा बढी हुनु
– महिनावारीको चक्रमा केही दिनको उतारचढाव हुनु
– तनाव वा जीवनशैलीका कारण कहिलेकाहीँ चक्र प्रभावित हुनु
– पेरिमेनोपोजका क्रममा अनियमितता देखिनु
तर यी परिवर्तनहरू अत्यधिक भएमा भने बेवास्ता गर्नु हुँदैन ।
कहिले चिकित्सकलाई देखाउनुपर्छ ?
महिनावारीमा हुने केही परिवर्तनले स्वास्थ्य समस्याको संकेत दिन सक्छ । निम्न अवस्था देखिएमा चिकित्सकसँग परामर्श लिनु उपयुक्त हुन्छ ः
– लगातार धेरै महिनासम्म अत्यधिक रक्तस्राव हुनु
– एक–दुई घण्टामा प्याड वा ट्याम्पोन परिवर्तन गर्नुपर्ने अवस्था आउनु
– ठूलो रगतको डल्ला बारम्बार निस्किनु
– महिनावारी सात दिनभन्दा बढी समयसम्म रहिरहनु
– दुई महिनाभन्दा बढी समय महिनावारी नआउनु
– महिनावारीबीच असामान्य रक्तस्राव हुनु
– अत्यधिक पेट दुखाइ वा असह्य पीडा हुनु
– रजोनिवृत्तिपछि पुनः रक्तस्राव हुनु
यस्ता लक्षणहरू फाइब्राइड, थाइराइड समस्या, हार्मोनल असन्तुलन, पोलिप, संक्रमण वा दुर्लभ अवस्थामा क्यान्सरसँग समेत सम्बन्धित हुन सक्छन् ।
स्वस्थ महिनावारीका लागि
महिनावारीलाई स्वस्थ राख्नका लागि समग्र जीवनशैलीमा ध्यान दिनु आवश्यक हुन्छ । सन्तुलित आहार, पर्याप्त निद्रा, नियमित व्यायाम, तनाव व्यवस्थापन तथा स्वस्थ तौल कायम राख्नाले हार्मोन सन्तुलनमा सकारात्मक प्रभाव पार्न सक्छ ।
त्यसैगरी, महिनावारीको चक्र, अवधि र रक्तस्रावको मात्रा नियमित रूपमा नोट गरेर राख्दा असामान्य परिवर्तन छिट्टै पहिचान गर्न सजिलो हुन्छ ।
प्रतिक्रिया 4