News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा केही दिनमै मनसुन भित्रिने तयारीमा रहेकाले काठमाडौँमा झाडापखाला र पानीजन्य रोगको जोखिम बढ्ने देखिन्छ ।
- सन् २०१५ मा गरिएको एक सर्वेक्षण अनुसार झन्डै ५० प्रतिशत हैजा संक्रमित जारको पानीका कारण बिरामी परेका थिए ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा यो वर्षको मनसुन केहीदिन भित्र भित्रिँदै छ । देशका विभिन्न ठाउँमा वर्षा भने भइरहेकै छ ।
मनसुनमा विशेषत पानीजन्य संक्रामक रोगहरू बढी देखिने गर्छन् । संक्रामक रोगहरू मध्ये झाडापखाला र ज्वरोका लक्षण भएका बिरामीहरू बढी देखिन्छन् यो समयमा ।
नेपालमा झाडापखालाका कारक मानिने संक्रामक रोगहरू धेरै देखिन्छ । यी मध्ये पनि हैजालाई तुलनात्मक रूपमा गम्भीर रोगको रुपमा लिने गरिन्छ । हैजा देखा परेपछि समयमै उपचार नपाए बिरामीको केही घण्टामा मृत्यु नै हुनसक्ने भएकाले पनि यो रोगप्रति गम्भीर हुनुपर्ने आवश्यकता देखिन्छ।
विश्व स्वस्थ संगठनका अनुसार सन् २०१० मा हाईटीमा फैलिएको हैजाको कारणले कम्तीमा ९ हजारले ज्यान गुमाउनु परेको थियो । कम्तीमा ८ लाख जति बिरामी भएका थिए ।
यसबाट पनि हैजालाई बेवास्ता गरे प्रकोपको रुप लिन सक्ने सामर्थ्य यसमा कति छ भन्ने देखाउदछ । काठमाडौंको अव्यवस्थित बसोबास, उच्च जनघनत्व, वर्षेनी पिउने पानीमा देखिने कोलिफोर्म ब्याक्टेरिया (अर्थात् दिसा मिश्रित पिउने पानी), वर्षेनीजसो काठमाडौंमा देखिने हैजाको जीवाणुका कारणले हैजाको जोखिम धेरै नै छ भन्ने देखाउँछ ।
नेपालमा हैजा शताब्दीऔं अघिदेखि देखिँदै आएको इतिहासमा भेटिन्छ । नेपालमा हैजा प्रकोपको बारेमा सन् १८८५ एक ब्रिटिश चिकित्सकले ‘द ब्रिटिश मेडिकल जर्नल’ मा लेख प्रकशित गरेको पाहिन्छ ।
उक्त लेखअनुसार सो समयमा करिब ५० हजार जनसंख्यामा हैजा फैलिएको थियो भने अनुमानित १० हजारले ज्यान गुमाएका थिए । वि. सं. १९९० मा हालको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ‘कलेरा अस्पताल’ को नामले स्थापना गरिएको थियो ।
लेखकले दुइ दशक अगाडि शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा सेवा सुरु गर्दा हैजाका बिरामीले अस्पताल भरिभराउ हुने गरेको कुरा यसको इतिहासमा उल्लेख छ ।
सन् २०१० मा हाइटीमा फैलिएको हैजाको स्रोत नेपाल नै भनिएको थियो । तर लेखकले पनि सो गलत कुराको खण्डन गर्दै लेख जर्नलमा प्रकाशित गरेको थियो । पछिल्लो समय हैजाको ठूलो प्रकोप नेपालमा देखिएको त छैन तर देखिन नै छोडेको पनि छैन । अर्थात् आजको मितिसम्म पनि हामीले प्रयोग गर्ने पिउने पानी वा खानेकुरा पूर्णरुपमा दिसा मुक्त छैन भन्ने बुझिन्छ।
हैजा ‘भिब्रियो कोलेरे’ नामक ब्याक्टेरियाले गर्दा हुने गर्दछ । यो ब्याक्टेरिया खानेकुरा तथा अझै विशेषत गरी संक्रमित पानी पिउँदा सर्ने गर्छ । संक्रमण भएको १२ घण्टा देखि ५ दिन भित्रमा हैजाका लक्षणहरू देखा पर्ने गर्छन् । सुरुमा चौलानी पानी जस्तो पातलो दिसा तारन्तार लाग्नु, वाकवाक वा बान्ता हुनु, पेट वा खुट्टाको मांसपेशी बाउँडिनु, बेचैनी जस्ता लक्षणहरू देखिने गर्दछ ।
समयमा उपचार नगरे निर्जलीकरणको संकेतहरू जस्तै मुटुको चाल तीब्र हुनु, रक्तचाप घट्नु, मुख सुक्खा हुनु जस्ता समस्याहरू देखा पर्ने गर्छन् । तत्काल उपचार नगरे बिरामीको केही घण्टामा नै मृत्यु हुन सक्दछ । खासगरी नेपालमा अस्पताल जानमा ढिलाइ वा अलमल गर्दा काठमाडौंमा नै हैजाको बिरामीले मृत्युवरण गरेको लेखकसँग अनुभव छ ।
केही वर्ष अगाडि कपिलवस्तुका केही वडाहरूमा फैलिएको हैजामा संक्रमित मध्ये मृत्यु हुने धेरै समयमा उपचार केन्द्रसम्म नपुग्नले भएको देखिन्छ । १० संक्रमित मध्ये १ जनामा हैजा कडा देखिने गर्दछ । कडा नदेखिएका संक्रमितले पनि एक देखि १० दिनसम्म संक्रमण फैलाउन सक्दछ ।
यो नै हैजा नियन्त्रणमा मुख्य चुनौती भएको देखिन्छ । जीवनजल अर्थात् ओरल रिहाईड्रेसन सोलुसनको प्रयोगले स्वास्थ्मा सुधार ल्याउन सक्छ । तर यदि दिसा तारन्तार भइरहे र बान्ता पनि निरन्तर भए तरुन्त उपचार केन्द्रमा जानु पर्छ । यसको निश्चित निदान दिसाको कल्चरबाट हैजाको ब्याक्टेरिया देखिएपछि मात्र गरिन्छ । हैजाविरुद्ध चिकित्सकको सल्लाहमा एन्टिबायोटिकको प्रयोग गर्न सकिन्छ । यसले छिटो बिरामीको स्वस्थ्यमा सुधारमा ल्याउँछ ।
नेपालमा पछिल्लो समयमा संक्रमण मुक्त नगरिएको पिउने पानीबाट हैजा फैलने गरेको पाहिन्छ ।
लेखकले सन् २०१५ मा गरेको एक सर्वेक्षणमा झन्डै ५० प्रतिशत हैजा संक्रमितमा जारको पानीबाट सरेको पाएको थियो । त्यो बेला धेरैले मेरो भनाइलाई विश्वास नै गरेका थिएनन्। किनभने जारको पानी भनेको सामान्यतय सुरक्षित र पिउनलाई तयार पारिएको हो भन्ने मान्यता छ ।
त्यस्तै हुनु पनि पर्ने हो । तर गर्मी मौसममा पिउने पानीको माग ह्वात्तै बढ्ने अनि माग अनुसारको आपूर्तिमा कमी हुँदा कतिपय व्यापारीले पिउने पानीलाई प्रशोधित वा निर्मुलिकरणबिना नै बजारमा बेच्ने गरेको पाइन्छ ।
चाखलाग्दो के छ भने, धाराको पानी सुरक्षित नहुने भन्ने मान्यताले गर्दा उमालेर वा फिल्टर गरेर वा निर्मुलिकरणका अरू उपायहरू अपनाएर पिउने गरेको पाहिन्छ जसले गर्दा संक्रमण हुने सम्भावना हाल धेरै कम भएको देखिन्छ ।
अझ केही दिन पछि मनसुन नै भित्रिने पूर्वानुमान मौसम महाशाखाले गरिसकेको छ। केही दिन अगाडि काठमाडौँमा भएको भारी वर्षा र कडा झाडापखालाको कारणले अस्पताल भर्ना हुने बिरामीको संख्या पनि बढ्दै गएको छ ।
पानीजन्य संक्रमण खासगरी हैजाको जोखिम काठमाडौँमा बढ्दै गएको संकेत गर्छ । गाउँ घरमा भौगोलिक विकटताले गर्दा कडा हैजा देखिए समयमा स्वस्थ केन्द्र पुग्नु समस्या हुन्छ । यस्ता ठाउँमा हैजाविरुद्धको खोप दिन सकिन्छ वा दिनु उपयक्त हुन्छ ।
जारको पानीको शुद्धताको यकीन गरेर मात्र पानी पिउँदा हैजाको जोखिमलाई न्यून गर्न सकिन्छ । महत्वपूर्ण भनेको हैजाको बारेमा सबैलाई सचेत गराउन सके यसबाट हुने गम्भीर अवस्थालाई रोक्न सकिन्छ ।
प्रतिक्रिया 4