News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा हैजा अझै चुनौतीपूर्ण जनस्वास्थ्य समस्याका रूपमा रहेको जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले बताए ।
- मुख्यतया दूषित पानीबाट सर्ने हैजा नियन्त्रणका लागि सुरक्षित खानेपानी, सरसफाइ र क्लोरिनेसनमा जोड दिनुपर्ने उनको सुझाव छ ।
नेपालमा हैजा मुख्यतः पानीबाट फैलिने गरेको विगतको अनुभव र परीक्षणले देखाउँछ । यद्यपि संक्रमित खानेकुराहरू; काँचै खाने तरकारी वा फलफूललाई हैजा संक्रमित पानीले धोएर खाँदा पनि हैजाको जोखिम हुने गर्छ ।
हैजा अझै पनि नेपालमा चुनौतीपूर्ण जनस्वास्थ्य समस्याका रूपमा रहेको जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बताउँछन् ।
जाजरकोट–रुकुम महामारीदेखि काठमाडौंको खानेपानी प्रणाली, सरसफाई, खोप, जीवनजल र भविष्यका जोखिमसम्मका विषयमा डा. मरासिनीसँग गरिएको कुराकानविह :
नेपालमा हैजाको अवस्था अहिले कस्तो छ ?
नेपालमा हैजा पूर्णरूपमा नियन्त्रणमा आएको अवस्था छैन । पहिलाको तुलनामा केही घटेको छ, तर पूर्णरूपमा निर्मूल भएको भने होइन । नेपाल विगतदेखि नै हैजाको प्रकोप देखिने देश हो । विशेषगरी दक्षिण एसियामा, बंगलादेशको ढाका क्षेत्रलाई हैजाको उच्च जोखिम क्षेत्र मानिन्छ । वैज्ञानिकहरूका अनुसार गंगा नदी क्षेत्र हुँदै हैजाको जीवाणु विभिन्न देशमा फैलिने सम्भावना हुन्छ र त्यसको प्रभाव नेपालमा पनि देखिन्छ ।
जाजरकोट–रुकुम महामारीलाई कसरी सम्झनुहुन्छ ?
२०६६/६७ सालतिर जाजरकोट र रुकुममा ठूलो महामारी फैलिएको थियो । सरकारी तथ्यांकअनुसार करिब ६० हजार मानिसले उपचार गराएका थिए । हाम्रो अनुमानमा संक्रमित संख्या झन्डै १ लाख ४० हजारसम्म पुगेको थियो ।
त्यो नेपालको ठूलो जनस्वास्थ्य संकटमध्ये एक थियो । दुर्गम भूगोल, सडक अभाव, खोलानाला र कठिन पहुँचका कारण बिरामीलाई स्वास्थ्य संस्थासम्म ल्याउन निकै कठिन भयो । हेलिकोप्टर पठाउँदा पनि अवतरण गर्ने ठाउँ थिएन ।
त्यसपछि मैले ‘हरेक वडामा एउटा हेलिप्याड’ भन्ने अवधारणा अघि सारेको थिएँ । केही ठाउँमा बने पनि अझै धेरै ठाउँमा आपत्कालीन उद्धारको पूर्वतयारी पर्याप्त छैन । सरकार, स्वास्थ्यकर्मी, गैरसरकारी संस्था र स्वयंसेवी सबै परिचालन भएपछि करिब २० दिनभित्र महामारी नियन्त्रणमा ल्याउन सफल भएका थियौँ ।
त्यो महामारीपछि नेपालले के सिक्यो ?
त्यो महामारीपछि नेपालमा ‘एक घर, एक चर्पी’ अभियान सुरु भयो । देशभर चर्पी निर्माण अभियान चलाइयो । खुला दिसामुक्त अभियानले पनि संक्रामक रोगहरूको जोखिम कम गर्न धेरै सहयोग गर्यो ।
त्यसपछि हैजा, झाडापखाला र अन्य पानीजन्य रोगको जोखिम केही कम भएको छ । तर जोखिम समाप्त भएको छैन । पछिल्ला वर्षहरूमा वीरगञ्जजस्ता शहरमा पनि हैजाको प्रकोप देखिएको थियो । त्यसैले त्यो माहामारीबाट सिकेर त्यस्तो समस्या हुन नदिन के गर्ने भन्ने कुरा सिक्न अझै बाँकी नै छ ।
हैजा किन फैलिन्छ ?
हैजा मुख्यतः दूषित पानीबाट फैलिन्छ । यो धेरै पहिले नै वैज्ञानिक रूपमा प्रमाणित भइसकेको कुरा हो । काठमाडौं उपत्यकामा पुराना खानेपानी पाइप र ढल प्रणाली नजिक–नजिक हुँदा जोखिम बढी हुन्छ । कतै पाइप फुट्यो भने पानी नआएको बेला ढलको पानी पाइपभित्र पस्न सक्छ । फेरि पानी वितरण हुँदा त्यही दूषित पानी घरघर पुग्छ । त्यसले हैजा, टाइफाइड र जन्डिस फैलाउन सक्छ । मेलम्ची परियोजनापछि धेरै ठाउँमा नयाँ पाइप बिछ्याइएकाले जोखिम केही घट्ने अपेक्षा छ ।
हैजा रोक्न सबैभन्दा प्रभावकारी उपाय के हो ?
सबैभन्दा महत्वपूर्ण कुरा सुरक्षित खानेपानी हो । जहाँ सामुदायिक खानेपानी प्रणाली छ, त्यहाँ नियमित पानी परीक्षण गर्नुपर्छ । पानी वितरण गर्नुअघि रिजर्भ ट्यांकीमा क्लोरीन वा ब्लीचिङ पाउडर हाल्नुपर्छ । क्लोरीनले पानीमा भएका जीवाणु मारिदिन्छ । क्लोरीनबिना पानी वितरण गर्नुहुँदैन ।
सर्वसाधारणले व्यक्तिगत रूपमा के सावधानी अपनाउनुपर्छ ?
म सधैं ‘तीन सफा’ भन्ने कुरा गर्छु:- हात सफा, पानी सफा र खाना सफा । साबुनपानीले हात धुनुपर्छ । उमालेको वा पियुस ट्याब्लेट हालिएको पानी मात्रै पिउनुपर्छ । ताजा पकाएको खाना खानुपर्छ । बासी भात खाने, बिहान पकाएको खाना बेलुका खाने, राम्रोसँग नताताई खाने बानीले झाडापखाला र फुड पोइजनिङ बढाउन सक्छ ।
हैजाको खोप कत्तिको प्रभावकारी छ ?
अहिले मुखबाट खाने हैजाको खोप उपलब्ध छ । दुई मात्रा खोप दिइन्छ र यसले करिब पाँच वर्षसम्म सुरक्षा दिन्छ । तर यसको उत्पादन सीमित छ । सबैलाई सहज रूपमा उपलब्ध छैन । त्यसैले महामारी फैलिएको क्षेत्रमा नियन्त्रणका लागि प्रयोग गरिन्छ ।
हैजाको मुख्य लक्षण के हो ?
सबैभन्दा मुख्य लक्षण पानीजस्तो पखाला हो, जसलाई ‘वाटरी डायरिया’ भनिन्छ । धेरैजसो बिरामीलाई ज्वरो आउँदैन, पेट पनि खासै दुख्दैन । त्यसैले धेरैले सामान्य झाडापखाला भनेर बेवास्ता गर्छन् ।
तर हैजामा शरीरबाट धेरै पानी बाहिरिन्छ । बिरामी छिट्टै डिहाइड्रेसनमा जान्छ र मृत्यु पनि हुन सक्छ । मैले सयौँ बोतल सलाइन चढाएर बल्ल ज्यान बचेका बिरामी पनि देखेको छु । त्यसैले पानीजस्तो दिसा आयो भने तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्छ ।
जीवनजल (ओआरएस) कत्तिको उपयोगी छ ?
जीवनजल अत्यन्त महत्वपूर्ण छ । झाडापखाला हुँदा शरीरबाट गएको पानी र नुनको मात्रा पूर्ति गर्न यसले मद्दत गर्छ । भारत–बंगलादेश सीमामा शरणार्थी संकटका बेला पर्याप्त सलाइन नहुँदा नुन–चिनी मिसाएको पानी खुवाउने अभ्यास सुरु गरिएको थियो । त्यसैबाट जीवनजलको अवधारणा विकसित भएको हो । तर जीवनजल खुवाउँदैमा अस्पताल नजाने भन्ने होइन । गम्भीर बिरामीलाई तत्काल उपचार आवश्यक हुन्छ ।
नेपालमा अनुसन्धान र निगरानीको अवस्था कस्तो छ ?
बंगलादेशमा डायरियल डिजिज रिसर्च सेन्टर छ । भारतको कोलकातामा कलेरा अनुसन्धान केन्द्र छ । तर नेपालमा हैजामाथि केन्द्रित अनुसन्धान गर्ने संस्था छैन । त्यसैले किन संक्रमण भइरहेछ, कुन क्षेत्रमा जोखिम बढी छ भन्ने कुरा गहिरो रूपमा अध्ययन गर्न कठिन भइरहेको छ ।
सरकारले अब के गर्नुपर्छ ?
सरकारले सुरक्षित खानेपानी, क्लोरिनेसन, सरसफाइ र जनचेतनामा अझै जोड दिनुपर्छ । स्थानीय तहलाई स्पष्ट निर्देशिका दिनुपर्छ । गाउँगाउँमा हात धुने, उमालेको पानी खाने, खुला दिसापिसाब नगर्ने, ताजा खाना खाने सन्देश पुर्याउनुपर्छ।
राजमार्गमा खुला ठाउँमा यात्रुलाई दिसापिसाब गराउने प्रवृत्ति पनि रोक्नुपर्छ । सार्वजनिक शौचालय निर्माण गरेर त्यही प्रयोग अनिवार्य गरिनुपर्छ ।
हैजा नियन्त्रणका लागि अब नेपालले केमा बढी ध्यान दिनुपर्छ ?
हैजा घट्दो क्रममा छ, तर समाप्त भएको छैन । सुरक्षित पानी, सरसफाइ र जनचेतनामा लापरवाही भयो भने फेरि कुनै पनि बेला महामारी फैलिन सक्छ । त्यसैले सरकार, स्वास्थ्यकर्मी र नागरिक सबैले मिलेर काम गर्नुपर्छ । सुरक्षित पानी र सरसफाइ नै हैजा नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय हो ।
प्रतिक्रिया 4