१४ वैशाख, काठमाडौं । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ मा नेपालमा दर्ता भएका चिकित्सकको तथ्यांकमा गम्भीर त्रुटि भेटिएको छ ।
नेपाल मेडिकल काउन्सिलको वास्तविक दर्ता प्रणाली नबुझी तथ्यांक दोहोर्याएर गणना गर्दा देशभर ५४ हजार बढी चिकित्सक रहेको विवरण समावेश भएको पाइएको छ ।
आर्थिक सर्वेक्षणमा भनिएको छ, ‘२०८२ फागुनसम्म नेपालमा ३५ हजार १८७ मेडिकल चिकित्सक, ६ हजार ८३ दन्त चिकित्सक र १२ हजार ९५३ विशेषज्ञ चिकित्सक गरी कूल ५४ हजार २३३ चिकित्सक दर्ता भएका छन् ।’
तर, नेपाल मेडिकल काउन्सिलको वास्तविक तथ्यांकअनुसार देशमा मेडिकल र दन्त चिकित्सक गरी दर्ता भएका चिकित्सकको संख्या ४१ हजार २७० मात्रै छ ।
काउन्सिलका अनुसार विशेषज्ञ चिकित्सकका रूपमा उल्लेख गरिएका १२ हजार ९५३ जना व्यक्ति छुट्टै नयाँ चिकित्सक नभई पहिले नै मेडिकल (एमबीबीएस) वा डेन्टल (बीडीएस) चिकित्सकका रूपमा दर्ता भइसकेका व्यक्ति हुन् ।
काउन्सिलका एक सदस्यका अनुसार एमडी, एमएस वा एमडीएस उपाधि हासिल गरेपछि उनीहरूले थप रूपमा विशेषज्ञ दर्ता मात्र प्राप्त गर्छन् । तर उनीहरू नयाँ चिकित्सकका रूपमा पुनः दर्ता हुँदैनन् ।
‘पहिले नै दर्ता भइसकेका चिकित्सकलाई फेरि विशेषज्ञका रूपमा छुट्टै जोड्दा कूल संख्या कृत्रिम रूपमा बढेको देखियो,’ ती सदस्य भन्छन्, ‘यसरी दोहोर्याएर गणना गर्दा डाक्टरको संख्या करिब १३ हजार बढी देखिन्छ ।’
काउन्सिलका अधिकारीहरूले आर्थिक सर्वेक्षण तयार गर्ने क्रममा नेपाल मेडिकल काउन्सिलको दर्ता प्रणालीको संरचना नबुझ्दा यस्तो त्रुटि भएको हुन सक्ने बताएका छन् । उनीहरूका अनुसार अर्थ मन्त्रालयका सम्बन्धित कर्मचारीहरूले विशेषज्ञ चिकित्सकलाई छुट्टै श्रेणीका नयाँ दर्ता मानेर कूल संख्यामा समावेश गरेका कारण तथ्यांक बढेर प्रस्तुत भएको हो ।
‘यो जानाजानी गरिएको हो वा प्राविधिक कमजोरी हो स्पष्ट छैन, ती अधिकारी भन्छन्, ‘तर प्रणालीगत वर्गीकरण नबुझ्दा यस्तो त्रुटि भएको देखिन्छ ।’
प्रतिक्रिया 4