News Summary
Generated by OK AI. Editorially reviewed.- आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार उत्पादनमूलक उद्योगको वृद्धिदर २.८३ प्रतिशत पुग्ने र कुल गार्हस्थ उत्पादनमा यसको योगदान ५.७२ प्रतिशत रहने अनुमान छ ।
- विगतका वर्षहरूमा ऋणात्मक रहेको निर्माण क्षेत्र चालु आर्थिक वर्षमा २.२१ प्रतिशतले सकारात्मक लयमा फर्किने प्रक्षेपण गरिएको छ ।
- खानी तथा उत्खनन क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर गत आर्थिक वर्षको १.३९ प्रतिशतबाट बढेर ३.५२ प्रतिशत पुग्ने अनुमान छ ।
१३ जेठ, काठमाडौं । आर्थिक सर्वेक्षण २०८२/८३ ले मुलुकको औद्योगिक क्षेत्रमा क्रमिक सुधार भइरहेको देखाएको छ ।
सर्वेक्षणका अनुसार खानी तथा उत्खनन क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.५२ प्रतिशत रहने अनुमान गरिएको छ, जुन गत आर्थिक वर्षमा १.३९ प्रतिशतमात्र थियो ।
निर्माण क्षेत्रमा भएको सुधार र खानी तथा उत्खनन क्षेत्रको रोयल्टी संकलनमा भएको वृद्धिका कारण यो क्षेत्रको कुल मूल्य अभिवृद्धिमा उल्लेख्य सुधार देखिएको हो ।
यद्यपि, कुल गार्हस्थ उत्पादन (जीडीपी) मा खानी तथा उत्खनन क्षेत्रको योगदान भने गत वर्षको ०.४५ प्रतिशतको तुलनामा सामान्य घटेर ०.४३ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।
उत्पादनमूलक उद्योगतर्फ पनि आव २०८०/८१ को गिरावटपछि क्रमिक रूपमा सुधार देखिएको छ ।
सिमेन्ट, वनस्पति घिउ, कंक्रिट, फलामे रड, खोटो, सूर्तीजन्य पदार्थ, वायरिङ तार, जुट र बियर लगायत वस्तु उत्पादनमा भएको वृद्धिले यस क्षेत्रलाई चलायमान बनाएको छ ।
त्यस्तै भटमासको कच्चा तेल, फलामे रडको कच्चापदार्थ र कोइला लगायत कच्चापदार्थ आयातमा भएको वृद्धि तथा उत्पादित वस्तुको माग बढेका कारण यस क्षेत्रको वृद्धिदर २.८३ प्रतिशत पुग्ने अनुमान छ । गत आव यस्तो वृद्धिदर २.२७ प्रतिशत थियो ।
जीडीपीमा उत्पादनमूलक उद्योगको योगदान गत वर्ष ५.६६ प्रतिशत रहेकोमा यस वर्ष ५.७२ प्रतिशत पुग्ने अनुमान छ । पछिल्लो दशकमा यस क्षेत्रको औसत वृद्धिदर ४.०३ प्रतिशत थियो ।
लामो समयदेखि सुस्त रहेको निर्माण क्षेत्रले पनि यो वर्ष सकारात्मक लय समातेको छ । आव २०७९/८० र २०८०/८१ मा ऋणात्मक वृद्धिदर बेहोरेको यो क्षेत्र गत वर्ष ०.९६ प्रतिशतको झिनो वृद्धिमा रहेकामा चालु आव २.२१ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।
निर्माण सामग्री पैठारी र निर्माणजन्य औद्योगिक वस्तुको आन्तरिक उत्पादनमा भएको वृद्धिले निर्माण क्षेत्रको मूल्य अभिवृद्धिमा सुधार आएको उल्लेख छ ।
जीडीपीमा निर्माण क्षेत्रको योगदान ५.३५ प्रतिशतबाट बढेर ५.५२ प्रतिशत पुग्ने अनुमान छ ।
प्रतिक्रिया 4