गुगलले आफ्नो सर्च इन्जिनमा एआई प्रविधिको अत्यधिक प्रयोगका कारण प्रयोगकर्ताहरूले परम्परागत ‘ब्लु लिङ्क’ गुमाउँदै गएका छन् । गुगलले अहिले प्रयोगकर्ताहरूलाई एआई मोडतर्फ धकेल्दै छ । तर एआईले दिने यस्ता जवाफहरू सधैँ सही र तथ्यपरक हुन्छन् भन्ने सुनिश्चितता हुदैन । त्यसैले गर्दा, प्रयोगकर्ता आफैँले पुनः फ्याक्ट चेक गर्नुपर्ने अतिरिक्त झन्झट थपिएको छ ।
यस्तो अवस्थामा यदि तपाईँ ब्लु लिङ्कहरू देखिने सर्च पेज चाहनुहुन्छ, आफ्नो डिजिटल गोपनीयता बलियो बनाउन खोज्दै हुनुहुन्छ वा कुनै स्वतन्त्र सर्च इन्जिनको खोजीमा हुनुहुन्छ भने केही उत्कृष्ट विकल्पहरू उपलब्ध छन्।
१. कागी

कागी एउटा विज्ञापन-रहित र सब्सक्रिप्सन (शुल्क तिरेर चलाइने) मोडलमा आधारित सर्च इन्जिन हो ।
विशेषताहरू
यो सशुल्क मोडलमा चल्ने भएकाले कागीसँग प्रयोगकर्ताको डाटा बेच्ने, सर्च ट्र्याक गर्ने वा क्लिक बढाउनका लागि कस्टमाइज गर्ने कुनै स्वार्थ हुँदैन । यसको गोपनीयता नीति निकै कडा छ । यसले सर्चहरूलाई अज्ञात राख्छ ।
मूल्य
यसको सुरुवाती प्लान प्रतिमहिना ५ अमेरिकी डलर (३०० वटा सर्चका लागि) र अनलिमिटेड सर्चका लागि प्रतिमहिना १० अमेरिकी डलर तोकिएको छ । वार्षिक प्लान लिँदा १० प्रतिशत छुट पाइन्छ । प्रतिबद्धता जनाउनु अघि प्रयोगकर्तालाई बानी पार्न यसले १०० वटा सर्चसम्म नि:शुल्क ट्रायलको सुविधा दिन्छ ।
फाइदा
धेरैलाई सर्च इन्जिनका लागि पैसा तिर्ने कुरा अनौठो लाग्न सक्छ, तर इन्टरनेटको वास्तविकता के हो भने यदि तपाईँ पैसा तिर्नुहुन्न भने तपाईँ आफ्नो बहुमूल्य डाटाद्वारा भुक्तानी गरिरहनुभएको हुन्छ । आजकाल गुगल सर्चमा एआईद्वारा सिर्जित एसईओ स्पाम अत्यधिक देखिन्छ । तर कागीमा विज्ञापनदाताहरूको प्रभाव नहुने भएकाले यसको नतिजा निकै परिस्कृत र प्राविधिक सर्चका लागि उत्कृष्ट मानिन्छ ।
२. डकडकगो : सबैभन्दा सजिलो र नि:शुल्क विकल्प

गोपनीयतालाई प्राथमिकता दिने सर्च इन्जिनहरूमध्ये डकडकगो सबैभन्दा बढी चर्चित नाम हो । यो एक पूर्णरूपमा नि:शुल्क सेवा हो।
विशेषताहरू
यसले सर्चका लागि माइक्रोसफ्टको बिंग र अन्य एपीआईका साथै आफ्नै वेब क्राउलरको प्रयोग गर्छ । यसले मोबाइल ब्राउजर एप, डेस्कटप एक्स्टेन्सन र इमेल प्रोटेक्सन जस्ता सेवाहरू पनि प्रदान गर्दछ ।
‘ब्याङ’ सर्टकट
यसको एउटा उपयोगी विशेषता सर्टकट कोडहरू हुन् । उदाहरणका लागि, सर्च बक्समा !w टाइप गरेर केही खोज्दा सिधै विकिपिडिया खुल्छ भने !ste टाइप गर्दा सिधै ‘स्टिम’ मा सर्च हुन्छ । यसले प्रयोगकर्ताको समय बचाउँछ।
इन्स्ट्यान्ट आन्सर
यसमा हिसाब गर्न, क्यालेन्डर हेर्न वा स्टपवाच चलाउनका लागि सर्च पेजको माथिल्लो भागमै ‘इन्स्ट्यान्ट आन्सर’ सेक्सन राखिएको छ ।
कमजोरी
यदि तपाईँ शतप्रतिशत उच्च गोपनीयता चाहनुहुन्छ भने डकडकगो सबैभन्दा उत्तम नभइदिन सक्छ, किनकि यसले केही ट्र्याकरहरू लोड गर्छ र नतिजाहरूका लागि माइक्रोसफ्टको पूर्वाधारमा निर्भर रहन्छ । तैपनि, गुगलको तुलनामा यो गोपनीयताका हिसाबले निकै माथि छ र यसमा सजिलै सिफ्ट हुन सकिन्छ ।
३. मोजिक : पूर्णरूपमा स्वतन्त्र इन्डेक्सिङ भएको नि:शुल्क सेवा

मोजिक एउटा पूर्णरूपमा स्वतन्त्र सर्च इन्जिन हो, जसले आफ्नो वेब क्राउलर र इन्डेक्स आफैँले शून्यबाट निर्माण गरेको छ । यसको अर्थ यो नतिजाहरूका लागि गुगल वा बिंग जस्ता अरू कुनै पनि ठूला प्रविधि कम्पनीमा निर्भर छैन ।
विशेषताहरू
यसको सबैभन्दा ठूलो सबल पक्ष भनेकै उच्च तहको गोपनीयता हो । तर यसको कमजोरी के हो भने यसको आफ्नै मात्र डाटाबेस भएकाले कहिलेकाहीँ केही सामग्रीहरू छुट्न सक्छन् वा गुगलको तुलनामा कम विकल्पहरू उपलब्ध हुन सक्छन् ।
फाइदा
यो प्रयोग गर्न पूर्ण रूपमा नि:शुल्क छ । विशेषगरी अमेरिकी प्रविधि पूर्वाधार वा सर्भरहरूबाट आफ्नो सर्च डाटा पास हुन नदिने उच्च सुरक्षा चासो भएका प्रयोगकर्ताहरूका लागि मोजिक संसारकै सबैभन्दा उत्कृष्ट विकल्प हो।
के छ त मुख्य चुनौती ?
माथि उल्लेखित कुनै पनि सर्च इन्जिनहरू गुगलको शतप्रतिशत हुबहु प्रतिस्थापन भने होइनन् । विशेषगरी ‘इमेज सर्च’ र गुगल म्याप्सको इन्टिग्रेसनको अनुभव अझै पनि गुगलमै बढी सहज र उत्कृष्ट छ । तर, दैनिक साधारण सर्चका लागि यी विकल्पहरू गुगल जत्तिकै वा त्योभन्दा पनि राम्रा छन् । विज्ञापन र एसईओको फोहोरबाट मुक्त हुन ‘कागी’ उत्तम छ । सजिलो विकल्पका लागि ‘डकडकगो’ ठीक छ ।
कसैको नियन्त्रणमा नरहेको स्वतन्त्र अनुभवका लागि ‘मोजिक’ उत्कृष्ट छ । गुगलमा भइरहेका पछिल्ला झन्झटिलो परिवर्तनका कारण यी वैकल्पिक सर्च इन्जिनहरू परीक्षण गर्ने यो सबैभन्दा उपयुक्त समय हो ।
प्रतिक्रिया 4