+
+
Shares

एआईले खोस्ला त जागिर ? यसो भन्छन् प्रविधि कम्पनीका सीईओ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते २१:०५

आधुनिक प्रविधि कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूले कम्पनीको नाफा, बोर्ड बैठक, बजारको प्रतिस्पर्धा र कर्मचारीको मनोबल जस्ता धेरै कुराहरू सम्हाल्नुपर्छ। तर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को वर्तमान युगमा उनीहरूका लागि अर्को एउटा अनौठो चुनौती थपिएको छ। प्रविधि क्षेत्रका यी नेतृत्वकर्ताहरूलाई अहिले सार्वजनिक मञ्चहरूमा हुटर वा गिज्याइने डर बढेको छ। त्यसैले अहिले उनीहरूलाई ‘हूटर रणनीति’को आवश्यकता पर्न थालेको छ।

यस वर्ष विभिन्न विश्वविद्यालयका दीक्षान्त समारोहहरूमा विद्रोही विद्यार्थीहरूले केही कर्पोरेट प्रमुखहरू विरुद्ध हुटिङ गरेका छन्। कम्पनीका अधिकारीहरूले एआईको भविष्यबारे उत्साहजनक भाषण गर्दा रोजगारीको बजारमा प्रवेश गर्न लागेका विद्यार्थीहरूले आक्रोश पोखेका हुन्। एरिजोना विश्वविद्यालयमा गुगलका पूर्व सीईओ एरिक स्मिटले हुटिङको सामना गर्नुपर्‍यो। यस्तै मिडिल टेनेसी स्टेट युनिभर्सिटीमा बिग मेशिन रेकर्ड्सका सीईओ स्कट बोर्चेटाले संगीत र सञ्चारमाध्यममा एआईको प्रभावबारे बोल्दा विद्यार्थीहरूबाट कडा विरोध खेपेका थिए।

यसै सन्दर्भलाई लिएर एउटा चर्चित प्रविधि पोडकास्ट ‘हार्ड फोर्क’ का प्रस्तोताहरूले गुगलका वर्तमान सीईओ सुन्दर पिचाईलाई एउटा रोचक प्रश्न सोधेका छन्। उनीहरूले पिचाईलाई आगामी महिना स्ट्यानफोर्ड विश्वविद्यालयको दीक्षान्त समारोहमा भाषण दिँदा उनको ‘हुटर रणनीति’ के हुनेछ भनी सोधेका थिए।

पिचाईका लागि यो चुनौती वास्तविक रुपमा छ । उनी एआईको क्रान्तिलाई नेतृत्व गर्ने संसारकै सबैभन्दा ठूलो कम्पनी हाँकिरहेका छन्। अर्कोतर्फ कलेज जीवन सकेर बजारमा आउन लागेका युवाहरू भने यही प्रविधिले आफ्नो भविष्यको जागिर खाइदिने चिन्तामा छन्।

प्रस्तोताहरूको प्रश्नमा पिचाईले आफू नयाँ पुस्ताप्रति सधैँ असाधारण रूपमा आशावादी रहेको बताएका छन्। एआईको आगमनले पनि आफ्नो यो सोचाइमा कुनै परिवर्तन नल्याएको उनको भनाइ छ। उनले भने, ‘मेरो उद्देश्य दीक्षान्त समारोहमा आफ्ना अनुभवहरू बाँड्नु हो र म त्यही गर्ने तयारीमा छु। यी स्नातकहरू नै भोलि एआईको प्रगतिलाई अगाडि बढाउने र यसको प्रभावसँग जुध्ने मुख्य हिस्सा बन्नेछन्।’

पिचाईले स्ट्यानफोर्ड विश्वविद्यालयमा अलि सकारात्मक वातावरण पाउने सम्भावना भने छ। यो विश्वविद्यालय सिलिकन भ्यालीको मुटुमा रहेको छ र यहाँ देशकै सबैभन्दा चर्चित एआई पाठ्यक्रमहरू पढाइन्छ। तैपनि सर्वसाधारणमा एआईप्रतिको धारणा भने निकै कमजोर देखिन्छ।

प्यु रिसर्च सेन्टरको एक अध्ययन अनुसार आधा जति अमेरिकीहरू आफ्नो दैनिक जीवनमा एआईको बढ्दो प्रयोगबाट उत्साहित हुनुको सट्टा बढी चिन्तित छन्। एआई च्याटबोटहरू सञ्चालन गर्न आवश्यक पर्ने नयाँ डाटा सेन्टरहरू आफ्ना समुदायमा स्थापना गर्न धेरै अमेरिकीहरूले विरोध गरिरहेका छन्।

यस वर्ष कम्तीमा एक दर्जन ठूला कम्पनीहरूले एआईका कारण कार्यक्षमता बढेको बहाना बनाउँदै कर्मचारीहरू कटौती गरेका छन्। एआईको प्रयोगका कारण अन्तरवार्ता प्रक्रिया लामो बन्दा युवाहरूलाई जागिर खोज्न झन् गाह्रो भएको छ।

सन् २०२६ को सुरुवातमा नयाँ स्नातकहरूको बेरोजगारी दर विगत ४ वर्षकै उच्च विन्दुमा पुगेको छ। पिचाईले पोडकास्टमा मानिसहरू यस प्रविधिको भविष्यलाई लिएर चिन्तित हुनु स्वाभाविक भएको स्वीकार गरेका छन्। उनले भने, ‘मानिसहरू यति ठूलो परिवर्तनलाई तत्काल आत्मसात् गर्नसक्ने गरी विकसित भएका छैनन्। यो परिवर्तनको गति संसारले अहिलेसम्म देखेको भन्दा पूर्ण रूपमा फरक छ।’

यसको ठीक विपरीत यसै महिना कार्नेगी मेलन विश्वविद्यालयको दीक्षान्त समारोहमा एनभिडियाका सीईओ जेन्सेन हुवाङले भने एआईको बचाउ गरेका थिए।

उनले एआई मानव जातिका लागि र भर्खरै करियर सुरु गर्न लागेका युवाहरूका लागि पूर्ण रूपमा सकारात्मक सावित हुने दाबी गरे। उनले स्नातकहरूलाई उत्साहित पार्दै भनेका थिए, ‘अहिले तपाईँहरूको सपना साकार पार्ने समय हो। करियर सुरु गर्नका लागि योभन्दा उत्तम समय अरू हुन सक्दैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?