वैज्ञानिकहरूले मानव इतिहासमै पहिलो पटक प्रयोग गरिएका सबैभन्दा पुराना काठका हाते औजारहरू फेला पारेका छन्। ग्रीसको एक प्राचीन तालको किनारमा भेटिएका यी परम्परागत औजारहरू करिब ४ लाख ३० हजार वर्ष पुराना रहेकाे खाेजकर्ताहरुकाे दाबी छ ।
युनिभर्सिटी अफ रिडिङ र जर्मनीको युनिभर्सिटी अफ ट्युबिन्जेनका वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय टोलीले ग्रीसको ‘मराथुसा १’ नामक पुरातात्त्विक स्थलमा यी वस्तुहरू फेला पारेका हुन्। वैज्ञानिक जर्नल ‘पीएनएएस’मा प्रकाशित प्रतिवेदन अनुसार यी औजारहरूमध्ये एउटा ‘एल्डर’ जातको काठ र अर्को ‘विलो’ वा ‘पपलर’ जातको काठबाट बनेको हो। यस खोजले काठका औजार प्रयोगको इतिहासलाई कम्तीमा ४० हजार वर्ष पछाडि धकेलिदिएको छ।
खोजिएको ठाउँमा काठका औजारका साथै ढुङ्गे औजार र प्राचीन हात्तीका अवशेषहरू पनि भेटिएका छन्। यसले आदिम मानवहरूले तालको किनारमा जनावरहरूको सिकार गर्ने र मासु काट्ने गर्थे भन्ने देखाउँछ। ढुङ्गा जस्तो काठ लामो समयसम्म सुरक्षित रहन गाह्रो हुने भए पनि त्यहाँको विशेष वातावरणका कारण यी औजारहरू जोगिएका हुन्। वैज्ञानिकहरूका अनुसार यी काठका लौराहरू जमिन खन्न वा रुखको बोक्रा निकाल्न प्रयोग गरिन्थ्यो।
यसअघि बेलायत, जर्मनी, जाम्बिया र चीनमा पनि पुराना काठका हतियार र औजारहरू भेटिएका थिए। तर ती सबै ग्रीसमा भेटिएका औजारभन्दा नयाँ हुन्।
प्रतिक्रिया 4