News Summary
Generated by OK AI. Editorially reviewed.- ‘क्लाइमेट स्मार्ट सिटीज’ परियोजनाअन्तर्गत काठमाडौं र चितवनका २० सरकारी विद्यालयलाई अनुदान वितरण गरिएको छ।
१२ जेठ, काठमाडौं । ‘क्लाइमेट स्मार्ट सिटीज’ परियोजनाअन्तर्गत काठमाडौं र चितवनका २० वटा सरकारी विद्यालयलाई अनुदान वितरण गरिएको छ । यसै परियोजनाको मुख्य साझेदार संस्था एनिमल नेपालले विद्यार्थीहरूमार्फत वातावरण संरक्षण, फोहोर व्यवस्थापन र मानव–जनावर–वातावरणबीचको सम्बन्धलाई जोड्ने काम गर्दै आएको छ ।
एनिमल नेपाल लामो समयदेखि पशुकल्याणमा सक्रिय रहे पनि यस वर्ष काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न विद्यालयका बालक्लब समितिहरूसँग मिलेर फरक क्षेत्रमा काम गरेको हो । यस परियोजना अन्तर्गत विद्यालयमा कम्पोष्ट मल बनाउने, विद्यालय परिसर सरसफाई, गमलामा फूल रोप्ने, विद्यालयका भित्तामा सन्देशमूलक चित्र कोर्ने जस्ता कामहरू गरिएका छन् ।
एनिमल नेपालले एक वर्षको कामको समीक्षा गर्न कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सहभागी विद्यालयका शिक्षक, बालक्लब समिति सदस्य तथा अभिभावकहरूले संस्थाको काम अत्यन्त उपलब्धिमूलक भएको बताए ।
घरमा पनि कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राख्ने बानी बालबालिकामा बसेको अभिभाकहरूले बताए । संस्थाले बालक्लब समितिहरूलाई पानी खाने बोतल, क्याप टोपी, झोला, विभिन्न स्टेसनरी सामग्री तथा गार्डेन सफाइका लागि आवश्यक औजारहरू समेत वितरण गरेको थियो ।
परियोजनाको मुख्य साझेदार एनिमल नेपालकी कार्यक्रम संयोजक सुलक्षणा राणाका अनुसार यो परियोजनाले प्लास्टिक प्रदूषण घटाउने, जनावरमाथि गरिने क्रूरताप्रति मानसिक प्रभाव कम गर्ने र बालबालिकामा करुणा तथा समानुभूतिको भावना विकास गर्ने लक्ष्य राखेको छ ।
क्रिएसन नेपालको नेतृत्वमा सञ्चालित यस परियोजनामा प्रत्येक विद्यालयमा ‘क्लाइमेट स्मार्ट क्लब’ गठन गरी विद्यार्थीहरूलाई नै नेतृत्वदायी भूमिका दिइएको थियो । विद्यार्थीहरूले आफैं योजना बनाएर रुख रोप्ने, फोहोर वर्गीकरण, डस्टबिन व्यवस्थापन, नाटक प्रदर्शन र समुदाय सरसफाइ जस्ता गतिविधि सञ्चालन गर्दैछन् ।
यो प्रकारको विद्यार्थी केन्द्रित दृष्टिकोणले बालबालिकाको नेतृत्व क्षमता विकास गर्दै दीर्घकालीन रूपमा वातावरण संरक्षण र पशुप्रति दयाभाव बढाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4