+
+
Shares

जगदीश खरेल बोल्दा आक्रोशित कांग्रेस सांसद भन्छन्- प्रधानमन्त्रीझैँ बोलेपछि नियमापत्ति जनाएको हुँ

‘उहाँ मन्त्रिपरिषद्मा पनि हुनुहुन्न । त्यसकारण त्यो संसदीय मर्यादाविपरीत भयो भनेर हामीले नियमापत्ति जनाएका छौं’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १६:३८

१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले संसद्मा रास्वपा सांसद जगदीश खरेल प्रधानमन्त्रीझैँ जवाफमा उत्रिएकाले त्यसमा आफूले नियमापत्ति जनाएको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद खरेलले भाषण गरिहँदा कांग्रेस सांसद केरुङ आक्रोशित देखिएका थिए ।

लगत्तै सभामुख डोलप्रसाद अर्यालले बैठक १५ का लागि स्थगित गरेका थिए । बैठकपछि संसद् भवन परिसरमा पत्रकारसँग कुराकानी गर्दै कांग्रेस सांसद केरुङले रास्वपा सांसद खरेलको अभिव्यक्ति संसदीय मर्यादाविपरीत रहेको दाबी गर्दै त्यसलाई रोक्न आफूले सभामुख अर्यालसँग आग्रह मात्रै गरेको बताएका हुन् ।

‘हामीहरू बसिरहेको संसद् यो देशका जनप्रतिनिधिहरूको सर्वोच्च निकाय हो,’ उनले भने, ‘यो सर्वोच्च निकायमा सरकारका तर्फबाट जवाफदेहिता चाहियो भन्ने मात्रै हो हाम्रो एजेन्डा । यही कुरा जनताले पनि खोजिरहेका छन् ।’

त्यही सन्दर्भमा आज पनि विपक्षीहरूले प्रधानमन्त्रीको उपस्थिति चाहियो भनेर भनिरहेको र सभामुखसँग आग्रह गरिरहेको उनले बताए ।

‘हाम्रो नियमावली, कानुन र संविधानअनुसार संसद् चल्नुपर्‍यो भनेर सुरुदेखि नै हामी सम्माननीय सभामुख ज्युको ध्यानाकर्षण गराइरहेका थियौं । त्यसै सन्दर्भमा अवरोधका बाबजुद विधेयकहरू पेस गर्ने र त्यसमाथि छलफल प्रक्रिया अगाडि बढ्यो, त्यसपछि हामीले हाम्रो माग पूरा नभएकाले विरोध जनायौं,’ उनले अगाडि भने ।

त्यसरी विरोध जनाइरहँदा विधेयकमाथिको छलफलका क्रममा रास्वपा सांसद खरेलले प्रधानमन्त्रीले नै जवाफ दिएको जस्तो भान पारेर जवाफ दिन खोजेको उनले बताए ।

‘हामीले जम्मा के भनेका हौँ भने आज पेस भएको जुन विधेयक थियो, त्यसउपर उहाँले आफ्नो धारणा राख्नु संसदीय मर्यादाभित्र पर्दथ्यो । तर, उहाँ आफै प्रधानमन्त्रीको रूपबाट जवाफ दिएको हुनाले हामीले नियमापत्ति जनाएका हौँ,’ उनले भने ।

सांसद खरेलले आफै प्रधानमन्त्री जस्तै ठानेर जवाफ दिएको उनले बताए । ‘हामीले तपाईँबाट होइन, सम्माननीय प्रधानमन्त्री ज्युबाट नै हामीले जवाफ खोजेका हौं, यहाँ र हाम्रो हैसियत एउटै हो, विधेयक उपरको छलफलमा हामीले पनि नाम टिपाएका थियौं, हामी पनि सभामुख ज्युसँग संवाद गरिरहेका थियौं, वातावरण बन्छ भनेर अपेक्षा गरेका थियौं,’ उनले भने ।

सांसद खरेल प्रधानमन्त्री बालेनले पठाएको प्रतिनिधि पनि नभएको उनले बताए । ‘उहाँ मन्त्रिपरिषद्मा पनि हुनुहुन्न । त्यसकारण त्यो संसदीय मर्यादाविपरीत भयो भनेर हामीले नियमापत्ति जनाएका छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?