+
+
Shares

फेसन केवल लुगा होइन, आत्मविश्वास पनि हो

हरेक मानिससँग कुनै न कुनै असुरक्षा हुन्छ । तर धेरैले आफ्नो समस्या मात्र ठूलो हो भन्ने सोच्छन् । पर्सनल स्टाइल बाहिर होइन, आफूभित्र हुन्छ।

प्रकृति वस्ती प्रकृति वस्ती
२०८३ जेठ १२ गते १५:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामाजिक सञ्जालमा अरूसँग तुलना गर्ने बानीले मानिसको आत्मविश्वास कमजोर बनाउने हुँदा आफ्नो शरीरलाई स्वीकार गर्नु नै फेसनको पहिलो पाठ हो।

आजको डिजिटल समयमा फेसन मानिसको दैनिकीसँग गहिरोसँग जोडिएको विषय बनेको छ । सामाजिक सञ्जाल, टिकटक, फिल्म, सेलिब्रिटी संस्कृति र लगातार बदलिइरहने ट्रेन्डहरूले हरेक मानिसलाई कुनै न कुनै रूपमा प्रभावित गरिरहेका छन् ।

बिहानदेखि बेलुका सुत्ने बेलासम्म मोबाइल खोलेर हेर्दा विभिन्न प्रकारका फेसन, मेकअप, स्टाइल र ‘परफेक्ट’ शरीरका तस्वीरहरू देखिन्छ । त्यही कारण धेरै मानिसमा एउटा साझा प्रश्न जन्मिन्छ ‘किन त्यो लुगा अरूलाई जस्तो मलाई सुहाउँदैन ?’

धेरै पटक मानिसले आफूलाई मनपरेको सेलिब्रिटी, इन्फ्लुएन्सर वा साथीको स्टाइल नक्कल गर्न खोज्छन् । उनीहरूले लगाएको लुगा किन्छन्, उस्तै हेयरस्टाइल बनाउँछन्, उस्तै मेकअप गर्छन् । तर त्यसपछि पनि आफूलाई त्यति आत्मविश्वासी वा आकर्षक महसुस हुँदैन ।

यसको मुख्य कारण के हो भने फेसन केवल लुगाको कुरा होइन, यो व्यक्तित्व, शरीरको बनावट, आत्मस्वीकृति र जीवनशैलीसँग जोडिएको विषय हो। मानिसले सबैभन्दा पहिले आफूलाई बुझ्न सिक्नुपर्छ । अरूसँग तुलना गरेर होइन, आफ्नो शरीर, आफ्नो सहजता र आफ्नो व्यक्तित्वलाई आधार बनाएर स्टाइल निर्माण गर्नुपर्छ ।

हामी सबै फरक छौं । कसैको आँखा, कसैको नाक, कसैको शरीर, कसैको उचाइ फरक हुन्छ । यही फरकपन नै हाम्रो सुन्दरता हो । तर हामी त्यो स्वीकार गर्नुभन्दा पहिले अरूजस्तो बन्न खोज्न थाल्छौं ।

तुलना गर्ने बानीले कसरी आत्मविश्वास कमजोर बनाउँछ ?

आजभोलि धेरै मानिसको सबैभन्दा ठूलो समस्या भनेको निरन्तर तुलना हो । सामाजिक सञ्जालमा कसैलाई राम्रो देख्दा आफूलाई कम आँक्ने बानी बढिरहेको छ ।

कुनै अभिनेत्रीले लगाएको ड्रेस राम्रो लाग्यो भने मानिसले त्यही किन्छन् । कुनै टिकटक क्रिएटरको फेसन भाइरल भयो भने त्यही पछ्याउन खोजिन्छ । तर समस्या त्यतिबेला सुरु हुन्छ, जब त्यही लुगा आफूले लगाउँदा आफूलाई असहज महसुस हुन्छ । त्यसपछि धेरैले ‘म राम्रो छैन’, ‘मेरो शरीर ठीक छैन’, ‘मलाई केही पनि सुहाउँदैन’ भन्ने निष्कर्ष निकाल्न थाल्छन् ।

समस्या लुगामा होइन, तुलना गर्ने सोचमा हुन्छ । हामीले अरूलाई हेरेर आफूलाई मूल्यांकन गर्न थालेका छौं । उसको जस्तो आँखा, उसको जस्तो नाक, उसको जस्तो शरीर भयो भने मात्रै राम्रो देखिन्छ भन्ने सोच बनिसकेको छ । तर हामीले आफ्नै शरीरलाई कहिल्यै धन्यवाद दिँदैनौं ।

मानिसले आफ्नो शरीरलाई धेरै पटक केवल बाहिरी सौन्दर्यका आधारमा हेर्छ । तर शरीरले दैनिक जीवनमा गरिरहेको कामको कदर कमै गर्छ । हामीसँग आँखा छन्, त्यसैले संसार देखिरहेका छौं । कान छन्, त्यसैले सुन्न सकिरहेका छौं । हात छन्, त्यसैले काम गर्न सकिरहेका छौं । यी कुरालाई सेलिब्रेट गर्न सिक्नुपर्छ ।

जबसम्म मानिसले आफूलाई अरूसँग तुलना गर्न छोड्दैन, तबसम्म कुनै पनि फेसनले आत्मविश्वास दिन सक्दैन ।

आफ्नो शरीर बुझ्नु नै फेसनको पहिलो पाठ

धेरै मानिसले फेसन भन्नासाथ ट्रेन्ड, ब्रान्ड वा महँगो कपडालाई सम्झन्छन् । तर वास्तवमा फेसनको सुरुवात शरीर बुझ्नबाट हुन्छ । लुगा शरीरमै लगाइने हो । शरीर नै नबुझीकन फेसन कसरी बुझ्न सकिन्छ ?

हरेक मानिसको शरीर फरक हुन्छ । कसैको हिपमा तौल बढी देखिन्छ, कसैको पाखुरामा, कसैको पेट वरिपरि । कपडा लगाउँदा पनि कसैलाई माथि टाइट हुन्छ भने कसैलाई तल । यही कुराले शरीरको बनावट अर्थात् बडी सेपलाई संकेत गर्छ ।

सामान्य रूपमा मानिसको शरीरलाई ५ प्रकारमा विभाजन गरिन्छ । त्रिभुजाकार, उल्टो त्रिभुजाकार, आयतकार, गोलो र आवरग्लास अर्थात हेर्दा डमरूको आकार देखिने शरीर हुन्छ । तर कुनै पनि मानिस पूर्णरूपमा एउटै सेपमा फिट हुँदैन । मानिस केवल त्यससँग मिल्दोजुल्दो संरचनामा पर्छ।

 

हामी आफूलाई ‘पियर शेप’, ‘एप्पल शेप’ भनेर चिनाउँछौं । त्यो केवल शरीरको सन्तुलन बुझ्ने माध्यम हो । आफूलाई कुनै फ्रुटसँग तुलना गरेर त्यो अनुसार फिट छु कि छैन भनेर तनाव लिनु आवश्यक छैन ।

शरीरको बनावट बुझिसकेपछि कपडा छनोट गर्न सजिलो हुन्छ । कुन प्रकारको फिटिङ सहज हुन्छ, कुन कट राम्रो देखिन्छ, कुन कपडाले शरीरलाई सन्तुलित देखाउँछ भन्ने कुरा थाहा हुन्छ ।

कस्तो शरीरलाई ‘आइडियल बडी’ भन्ने ?

फेसन उद्योगले लामो समयसम्म एउटा ‘परफेक्ट बडी’ को अवधारणा निर्माण गर्‍यो । तर अहिले विस्तारै त्यो सोच बदलिँदै गएको छ । आइडियल बडी भन्ने केही हुँदैन । ‍सौन्दर्यको मापदण्ड समाज र संस्कृति अनुसार बदलिन्छ ।

कुनै देशमा गोरो छाला सुन्दर मानिन्छ भने कतै गहुँगोरो रङलाई आकर्षक मानिन्छ । कतै ठूलो ओठ सुन्दर मानिन्छ भने कतै लामो घाँटी । त्यसैले आफूलाई मोडल वा सेलिब्रिटीसँग तुलना गर्नु गलत हुन्छ ।

मोडलहरूको काम नै आफ्नो शरीरमा समय खर्च गर्नु हो । उनीहरूको जीवनशैली, डाइट, रुटिन, फिटनेस सबै त्यसैमा केन्द्रित हुन्छ । तर हाम्रो जीवन फरक हुन्छ । हामी अफिस जान्छौं, घर सम्हाल्छौं, बच्चा हुर्काउँछौं, दैनिक जिम्मेवारी पूरा गर्छौं ।

हरेक मानिससँग कुनै न कुनै असुरक्षा हुन्छ । तर धेरैले आफ्नो समस्या मात्र ठूलो हो भन्ने सोच्छन् । पर्सनल स्टाइल बाहिर होइन, आफूभित्र हुन्छ।

मानिसले ‘मलाई कस्तो स्टाइल सुहाउँछ ?’ भनी धेरै चिन्तन गरिरहेका हुन्छन् । यसको उत्तर बजार, टिकटक वा सेलिब्रिटीमा होइन, आफैँभित्र हुन्छ र खोज्नुपर्छ ।

पर्सनल स्टाइल भनेको आफूलाई सहज, आत्मविश्वासी र स्वाभाविक महसुस गराउने शैली हो ।

‘आफूलाई के मनपर्छ, कुन रङ लगाउँदा राम्रो लाग्छ, कुन कपडामा सहज महसुस हुन्छ, कुन स्टाइल आफ्नो व्यक्तित्वसँग मेल खान्छ– यही बुझ्ने प्रक्रिया नै पर्सनल स्टाइल हो ।

जब मानिसले आफ्नो स्टाइल पहिचान गर्छ, त्यसपछि उसलाई अरूसँग तुलना गर्नुपर्ने आवश्यकता पर्दैन । जब इनर वर्ल्ड र आउटर वर्ल्ड म्याच हुन्छ, त्यतिबेला आउने आत्मविश्वासलाई कसैले हराउन सक्दैन ।

दराजभरि कपडा हुँदा पनि ‘लगाउने केही छैन’ जस्तो लाग्छ, किन ?

यो विशेषगरी महिलाहरूको साझा समस्या हो । दराज कपडाले भरिएको हुन्छ, तर बाहिर जान लाग्दा ‘मसँग लगाउन केही छैन’ भन्ने महसुस हुन्छ । यसको कारण फेसनको अभाव होइन, स्पष्टताको अभाव हो ।

धेरैजसो मानिसले ट्रेन्ड, सेल, अरूको सल्लाह वा फोमोका कारण कपडा किन्छन् । आफूलाई वास्तवमा के आवश्यक छ भन्ने कुरा नबुझी किनमेल गर्दा वार्डरोब भरिन्छ, तर उपयोगी कपडा कम हुन्छ । यसलाई भान्सासँग तुलना गरेर हेरौं न । हामीलाई दैनिक जीवनमा भात र दाल चाहिन्छ । तर यदि किचन सस, स्न्याक्स र ब्रेडले मात्र भरिएको छ भने समस्या हुन्छ । वार्डरोब पनि त्यस्तै हो ।

यदि अधिकांश समय अफिस जाने हो भने अफिस वेयर बढी हुनुपर्छ । यदि जीवनशैली साधारण छ भने पार्टी वेयर मात्रै धेरै हुँदा त्यसले काम गर्दैन । धेरै मानिस ट्रेन्डको पछि लाग्छन् । एउटा सिजन भाइरल भएको कपडा अर्को सिजनपछि प्रयोग नै हुँदैन । परिणामस्वरूप दराज भरिन्छ, तर दैनिक जीवनका लागि आवश्यक कपडा अभाव हुन्छ ।

अफिस वेयरमा सादगी किन महत्वपूर्ण ?

अफिस फेसनमा सबैभन्दा महत्वपूर्ण कुरा सादगी र बहुउपयोगिता हो । अफिसका लागि न्युट्रल रङहरू उपयुक्त हुन्छन् । कालो, सेतो, बेज, क्यामेल, ग्रे, नेभी ब्लू आदि । यी रङहरू सजिलै मिक्स एण्ड म्याच गर्न सकिन्छ । राम्रो फिटिङ भएको सर्ट, साधारण टिसर्ट, फर्मल प्यान्ट, ब्लेजर वा कोट जस्ता बेसिक कपडा वार्डरोबमा हुनुपर्छ । पहिला बेसिक राम्रो क्वालिटीमा लिनुपर्छ । त्यसपछि लुगा मिलाउन गाह्रो हुँदैन ।

आमा बनेपछि किन बदलिन्छ फेसन सेन्स ?

आमा बन्नु महिलाको जीवनमा सबैभन्दा ठूलो परिवर्तनमध्ये एक हो । शरीर, भावना, समय, प्राथमिकता र आत्मछवि सबै बदलिन्छ । धेरै महिलाले बच्चा जन्मिएपछि आफूलाई बिर्सिन थाल्छन् । ‘मैले दुई वर्ष भयो ऐनामा आफूलाई हेरेको छैन’ भन्ने धेरै महिलाहरू भेटेको छु ।

बच्चाको हेरचाहमा यति धेरै समय र भावना खर्च हुन्छ कि महिलाहरूले आफूलाई प्राथमिकतामा राख्न छाड्छन् । शरीरमा आएको परिवर्तनले पनि आत्मविश्वास घटाउँछ । अझ समाजले गर्ने टिप्पणीले समस्या झन् गहिरो बनाउँछ ।

‘कति मोटाएकी’, ‘अहिलेसम्म घटेन’, ‘पहिला कस्ती थिई अहिले कस्ती भइन्’ जस्ता टिप्पणीले महिलालाई मानसिक रूपमा कमजोर बनाउँछ ।

आमा बनेपछि आफूलाई कसरी प्राथमिकतामा राख्ने

आमा बने पछि पनि महिलाले आफूलाई पूर्णरूपमा बिर्सिनु हुँदैन । मानसिकरूपमा सलब हुनु पनि खुसी भइरहनु जुरुरी छ । आफू खुसी भए मात्रै त्यो खुसी परिवारमा बाँड्न सकिन्छ ।

त्यसका लागि ठूलो परिवर्तन आवश्यक छैन । साना–साना सेल्फ–केयर रिचुअलले पनि ठूलो फरक पार्न सक्छ । बिहान केही मिनेट आफूलाई समय दिने, कपाल मिलाउने, स्किन केयर गर्ने, आफूलाई राम्रो लाग्ने कपडा लगाउने जस्ता कुराले आत्मविश्वास फर्काउन मद्दत गर्छ ।

घरमै बस्ने त हो नि भनेर पुरानो कपडा लगाउन आवश्यक छैन । घर बस्दा पनि आफूलाई राम्रो महसुस गराउने कपडा लगाउनुपर्छ ।

नयाँ आमाहरूका लागि आरामदायी र स्टाइलिस फेसन

बच्चा जन्मिएपछि धेरै महिलाले आफ्नो शरीर लुकाउन अत्यधिक ठूलो कपडा लगाउने गर्छन् । तर शरीरलाई लुकाउने होइन, सहज तरिकाले प्रस्तुत गर्ने प्रयास गर्नुपर्छ ।

नयाँ आमाहरूका लागि कटनका आरामदायी कुर्ता, सर्ट ड्रेस, फ्लोइ स्कर्ट, सिम्पल टप, लाइट आउटवेयर र सहज फिटिङ भएका कपडा लगाउनु राम्रो हुन्छ । विशेषगरी छाती र पेट क्षेत्रमा परिवर्तन आउने भएकाले त्यहाँ सहजता दिने डिजाइन रोज्नुपर्छ ।

शरीरको जुन भागले आत्मविश्वास दिन्छ, त्यसलाई हाइलाइट गर्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?