युट्युब म्युजिकमा वर्षौँदेखि प्लेलिस्ट व्यवस्थित गर्न प्रयोगकर्ताले निकै झन्झट बेहोर्नुपर्थ्यो । गीतहरू तल-माथि सार्नका लागि म्यानुअल रूपमा स्क्रोल गरिरहनुपर्ने बाध्यता थियो । तर गुगलले अन्ततः यो ठूलो कमजोरीलाई सुधार्दै प्लेलिस्टका गीतहरू फिल्टर र सर्टिङ गर्ने नयाँ विकल्पहरू थपेको छ।
अब भने युट्युब म्युजिकमा गीतको शीर्षक, कलाकार र एल्बमका आधारमा प्लेलिस्टलाई अल्फाबेटिकल रूपमा मिलाउन सकिनेछ । यसअघि यसमा म्यानुअल, टप भोटेड, नयाँ र पुराना गीतहरू पहिलो देखिने जस्ता सीमित फिल्टरहरू मात्र उपलब्ध थिए।
ढिलो गरी आएको आधारभूत सुविधा
यो सुविधा एन्ड्रोइडको युट्युब म्युजिक भर्सन ९.२०.५२ मा पहिलो पटक देखिएको हो । यो अपडेट ‘सर्भर-साइड’ बाट भइरहेकाले सबै प्रयोगकर्ताले एकै पटक पाएका छैनन् । एप अपडेट गरेकै भरमा यो फिचर तुरुन्तै नदेखिन सक्छ । यही कारणले गर्दा कतिपय प्रयोगकर्ताको फोनमा नयाँ विकल्प देखिइसकेको छ भने कतिपय अझै पनि पुरानै झन्झटिलो तरिकाले प्लेलिस्ट चलाउन बाध्य छन् ।
स्पोटिफाइ र एप्पल म्युजिक जस्ता प्रतिस्पर्धी एपहरूमा यो सुविधा एक दशकभन्दा अघिदेखि नै उपलब्ध थियो । त्यसैले सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले खुसी व्यक्त गरे पनि यति सामान्य फिचर ल्याउन गुगलले यति धेरै वर्ष लगाएकोमा आश्चर्य र असन्तुष्टि समेत प्रकट गरिरहेका छन् । धेरै पुराना र ठूला प्लेलिस्ट भएका प्रयोगकर्ताका लागि भने यो नयाँ परिवर्तन निकै उपयोगी हुनेछ ।
मूल्य वृद्धिसँगै प्रतिस्पर्धी बन्ने प्रयास
युट्युब म्युजिकले पछिल्लो समय स्पोटिफाइसँग प्रतिस्पर्धा गर्न धेरै नयाँ सुविधाहरू थपिरहेको छ । हालै कम्पनीले प्रिमियम प्रयोगकर्ताका लागि एआईबाट चल्ने प्लेलिस्ट फिचर पनि ल्याएको छ । यस फिचरले प्रयोगकर्ताको मुड वा प्रम्प्टका आधारमा गीतका मिक्सहरू बनाइदिन्छ ।
यो नयाँ सुविधा यस्तो समयमा आएको छ, जब गुगलले अमेरिकामा आफ्नो प्रिमियम सब्सक्रिप्सनको मूल्य बढाएर प्रतिमहिना १२ डलर पुर्याएको छ । यसको अर्थ प्रयोगकर्ताले पहिलेभन्दा बढी पैसा तिर्नुपरे पनि वर्षौँदेखि माग गरिरहेका आवश्यक सुविधाहरू भने पाउन थालेका छन् ।
प्रतिक्रिया 4