+
+
Shares

आलु उत्पादन ३७ लाख टन नाघ्ने अनुमान, बिउमा अझै चुनौती

आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आव आलु उत्पादन ३७ लाख टनभन्दा बढी हुने अनुमान छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्षमा मुलुकभर ३७ लाख ५६ हजार ९ सय ६६ टन आलु उत्पादन हुने सरकारी प्रक्षेपण रहेको छ ।
  • नेपाललाई आलु बालीमा आत्मनिर्भर बनाउन उत्पादकत्व बढाएर प्रतिहेक्टर १७.८६ टन पुर्‍याउनुपर्ने आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
  • नेपाल आलुको बिउमा ५० प्रतिशत परनिर्भर छ भने आवश्यक बिउमध्ये आधा मात्र स्वदेशमा व्यवस्थापन हुने गरेको छ ।

१३ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष मुलुकमा आलु उत्पादन र उत्पादकत्वमा वृद्धि हुने प्रक्षेपण गरिएको छ ।

सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आव आलु उत्पादन ३७ लाख टनभन्दा बढी हुने अनुमान छ ।

यस वर्ष २ लाख २३ हजार ८ सय ६९ हेक्टर क्षेत्रफलमा आलु खेती भई कुल ३७ लाख ५६ हजार ९ सय ६६ टन उत्पादन हुने अनुमान गरिएको छ । यस वर्ष आलुको उत्पादकत्व १६.७८ टन प्रतिहेक्टर रहने सरकारको प्रक्षेपण छ ।

नेपाललाई आलु बालीमा पूर्णरूपमा आत्मनिर्भर बनाउन हालको उत्पादकत्व बढाएर १७.८६ टन प्रतिहेक्टर पुर्‍याउनुपर्ने अध्ययनले देखाएको छ । यदि उत्पादकत्व नबढेको खण्डमा थप १५ हजार ३ सय ७४ हेक्टर क्षेत्रफलमा आलु खेती विस्तार गर्नुपर्ने सर्वेक्षणमा उल्लेख छ ।

बिउमा परनिर्भरता कायमै

उत्पादन बढे पनि आलुको बिउमा भने नेपाल अझै ५० प्रतिशत परनिर्भर रहेको पाइएको छ । हाल मुलुकमा ४ लाख २३ हजार १० टन आलुको बिउ आवश्यक रहेकामा स्वदेशी किसानबाट ५० प्रतिशतमात्र व्यवस्थापन हुँदै आएको छ ।

देशभरि वार्षिक ९ लाख दाना आलुको पूर्व मूलबिउको माग छ । तर, सरकारी क्षेत्रबाट २ लाख र निजी क्षेत्रबाट ६ लाख गरी जम्मा ८ लाख दानामात्र उत्पादन हुने गरेको छ । चालु आव फागुन मसान्तसम्म सरकारी फार्महरूबाट १ लाख ११ हजार १ सय ३० दाना पूर्व मूलबिउ उत्पादन भएको छ ।

सिन्धुपाल्चोकस्थित आलुबाली विकास केन्द्र निगालेमा चालु आव फागुनसम्म १६ किलो ’ट्रु पोटाटो सिड’ उत्पादन भएको छ । गत आव यहाँ १९.५ किलो बिउ उत्पादन भएको थियो ।

यस्तै यस केन्द्र अन्तर्गतका फार्महरूमा स्रोत बिउ आलु उत्पादनमा भने उल्लेख्य वृद्धि भएको छ । गत वर्ष २०.१० टन स्रोत बिउ उत्पादन भएकोमा यस वर्ष फागुनसम्ममै ३०.०६ टन उत्पादन भइसकेको सर्वेक्षणले देखाएको छ ।

सरकारले आलु उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने लक्ष्य राखे पनि गुणस्तरीय बिउको उपलब्धता र उत्पादकत्व वृद्धिमा अझै ठोस पहल आवश्यक देखिएको विज्ञहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?