+
+
Shares

विवादका बीच लम्कीचुहा प्रादेशिक अस्पताल उदघाटन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १४ गते १०:१३

१४ जेठ, कैलाली । स्थानीय सरकारसँगको विवादका बीच कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल उदघाटन भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मेयर सुशीला शाहीसँगको विवाद बीच आज बिहान अस्पताल उदघाटन गरेका हुन् ।

विवाद कायम रहेका बेला अस्पताल उदघाटन कार्यक्रम राखिएपछि आज बिहानैदेखि अस्पताल र सडक क्षेत्र वरपर उल्लेख्य संख्यामा सुरक्षाकर्मी खटाएर सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

१५ शय्याको लम्कीचुहा अस्पताल सञ्चालनको विषयमा प्रदेश सरकार र नगरपालिकाबीच सहमति बन्न सकेको छैन । प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पताल सञ्चालनका लागि मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कमलेशप्रसाद यादवसहितका तीन जना कर्मचारी गत वैशाखमा पठाएको थियो । तर मेयर शाहीले अस्पताल प्रदेशलाई हस्तान्तरण नभएको भन्दै उनीहरूलाई हाजिर नगर्न भनेपछि विवाद बढेको थियो । सोही विवादका कारण गत वैशाख ३० गते अस्पतालमा तालाबन्दीसमेत भएपछि लम्की क्षेत्रमा तनाव भएको थियो ।

सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र मेयर सुशीला शाहीबीचको आन्तरिक द्वन्द्वका कारण समस्या सिर्जना भएको स्थानीयको दाबी छ ।

अस्पतालको विषयलाई लिएर मेयर शाहीका समर्थकहरूले प्रदर्शन र अवरोध गर्न सक्ने भन्दै आज बिहानैदेखि सुरुक्षा व्यवस्था कडा पारिएको थियो । मेयर शाही भने हाल विदेशमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?