+

गोरो बनाउने क्रिमको अँध्यारो पाटो : करोडौंको स्वास्थ्य जोखिम

२०८३ साउन  ५ गते १४:२८ २०८३ साउन ५ गते १४:२८

छालारोग उपचारमा स्टेरोइड औषधिको महत्त्व अत्यन्त ठूलो छ । तर गलत प्रयोगले यही औषधि सबैभन्दा हानिकारक बन्न सक्छ ।

Shares
गोरो बनाउने क्रिमको अँध्यारो पाटो : करोडौंको स्वास्थ्य जोखिम

News Summary

Generated by OK AI. Editorially reviewed.
  • छाला गोरो बनाउने सौन्दर्य उत्पादनहरूमा प्रयोग हुने विषाक्त रसायनले मानिसको मिर्गौला, स्नायु प्रणाली र कलेजोमा गम्भीर असर पुर्‍याइरहेको स्वास्थ्य विज्ञहरूले औंल्याएका छन्।

पहिले ऐना मात्र थियो, अहिले हातमा मोबाइलको स्क्रिन छ दिनमा कैयौँ पटक आफ्नै अनुहार नियाल्न । पहिले घरपरिवार वा छरछिमेकबाट सुनिन्थ्यो, ‘अलिक गोरो भएको भए झन् राम्रो देखिन्थ्यो ।’ अहिले सामाजिक सञ्जालका फिल्टर, लाइक र सौन्दर्यका कृत्रिम मापदण्डले त्यो आवाजलाई अझ चर्को बनाइदिएका छन् ।

त्यसपछि सुरु हुन्छ एउटा अन्त्यहीन खोज गोरो बनाउने क्रिम, फेसवाश, सिरम, इन्जेक्सन वा अनलाइनमा बेचिने ‘चमत्कारी’ उपायहरूको । आखिर राम्रो देखिन कसलाई इच्छा हुँदैन र ? तर एउटा गम्भीर प्रश्न भने हामीले आफैँलाई सोध्नैपर्छ । के मानिसको सुन्दरता वा मूल्य छालाको रङले निर्धारण गर्छ ?

यही प्रश्नमाथि उभिएको एउटा सपना ‘अझ गोरो, अझ सुन्दर’ लाई बेचेर विश्वभर अर्बौं डलरको उद्योग फस्टाएको छ । तर विडम्बना के छ भने, यही सानो डब्बाभित्र लुकेका केही विषाक्त रसायनले लाखौँ मानिसको छाला मात्र होइन मिर्गौला, स्नायु प्रणाली र समग्र स्वास्थ्यलाई पनि बिस्तारै क्षति पुर्याइरहेका छन् । बाहिरबाट चम्किलो देखिने यी उत्पादनहरूको भित्री कथा भने सोचेजति उज्यालो छैन ।

गोरो बनाउने क्रिमको अँध्यारो पाटो : करोडौंको स्वास्थ्य जोखिम

छाला गोरो बनाउने उत्पादनहरू आज विश्वको सबैभन्दा तीव्र रूपमा विस्तार भइरहेको सौन्दर्य उद्योगमध्ये एक हुन् । बजार अनुसन्धान संस्था फच्र्युन बिजनेस इन्साइट्सका अनुसार सन् २०२३ मा मात्रै यस उद्योगको विश्वव्यापी बजार करिब ९ अर्ब अमेरिकी डलर पुगेको थियो । आगामी दशकमा यसको आकार १५–१६ अर्ब अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ । तर यो आर्थिक सफलताको पछाडि एउटा गम्भीर प्रश्न लुकेको छ के सुन्दरताको खोजी स्वास्थ्य भन्दा ठूलो हुन सक्छ ?

विश्वभरका हामी जस्ता छाला रोग विशेषज्ञहरू, तिनीसँग सम्बन्धित संघसंस्थाहरू, स्वास्थ्य विज्ञहरू तथा विश्व स्वास्थ्य सङ्गठनले लामो समयदेखि चेतावनी दिँदै आएका छन्– छाला गोरो बनाउने धेरै उत्पादनहरूमा मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक रसायन प्रयोग भइरहेका छन् ।

यस्ता उत्पादनले तत्काल केही समयका लागि छाला उज्यालो देखाए पनि दीर्घकालमा त्यसको मूल्य मिर्गौला फेल, स्नायु प्रणालीमा क्षति, कलेजोमा असर, स्थायी रुपमा छाला बिग्रिने समस्या, क्यान्सरको जोखिम तथा मानसिक स्वास्थ्यमा गम्भीर प्रभावका रूपमा चुकाउनुपर्ने हुन सक्छ ।

गोरोपनको सपना कसरी अर्बौं डलरको उद्योग बन्यो ?

गोरो छाला चाहने प्रवृत्ति केवल व्यक्तिगत रोजाइको विषय मात्र होइन । यसको जरा इतिहास, संस्कृति, सामाजिक संरचना र मनोविज्ञानसँग गहिरो रूपमा जोडिएको छ । औपनिवेशिक इतिहासले गोरो छालालाई शक्ति र उच्च सामाजिक वर्गसँग जोड्यो । चलचित्र, विज्ञापन उद्योग, फेसन संसार र अहिले सामाजिक सञ्जालले त्यसलाई झन् बलियो बनाएका छन् ।

फोटो फिल्टर, एआई ब्यूटी इफेक्ट, सेलिब्रिटी संस्कृति र इन्फ्लुएन्सर मार्केटिङले युवापुस्तामा ‘उज्यालो छाला नै आकर्षक छ’ भन्ने सन्देश निरन्तर दोहोर्‍याइरहेका छन् । आज पनि धेरै समाजमा विवाह, रोजगारी, मोडलिङ, मनोरञ्जन तथा सामाजिक स्वीकार्यतामा छालाको रङलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मूल्याङ्कन गरिन्छ । यही सामाजिक दबाबले छाला गोरो बनाउने उत्पादनहरूको मागलाई निरन्तर बढाइरहेको छ ।

नेपाल पनि यो प्रवृत्तिबाट अछुतो छैन । नेपालमा पनि छालाको रङसँग जोडिएको सामाजिक सोच अझै बलियो छ । दैनिक जीवनमा प्रयोग हुने ‘गोरी’, ‘गोरे’, ‘काली’ वा ‘काले’ जस्ता सम्बोधनहरूले नै व्यक्तिको पहिचान छालाको रङसँग जोडिएको देखाउँछन् ।

नेपालकै एक मेडिकल कलेजमा गरिएको अध्ययनले झन् चिन्ताजनक अवस्था देखाएको छ । उक्त अध्ययनमा तीन चौथाईभन्दा बढी महिला स्वास्थ्य विज्ञानका विद्यार्थीहरूले छाला गोरो बनाउने उत्पादन प्रयोग गरेको पाइएको थियो ।

स्वास्थ्यसम्बन्धी ज्ञान भएका विद्यार्थीहरूमा समेत यस्तो प्रवृत्ति देखिनुले सामाजिक दबाब कति गहिरो छ भन्ने स्पष्ट हुन्छ । छिमेकी भारतमा मात्रै छाला गोरो बनाउने उद्योगको बजार करिब ५० करोड अमेरिकी डलर रहेको अनुमान गरिएको छ, जसले त्यहाँको सम्पूर्ण स्किनकेयर बजारको करिब आधा हिस्सा ओगटेको बताइन्छ । विश्व स्वास्थ्य संगठनले पनि भारतमा यस उद्योगको वार्षिक कारोबार ५० करोड डलरभन्दा बढी रहेको उल्लेख गरेको छ ।

सबैभन्दा ठूलो समस्या क्रिमभित्र लुकेका विषाक्त रसायन

छाला गोरो बनाउने धेरै उत्पादनहरू औषधि पसल, कस्मेटिक पसल, सैलुन, सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्ममार्फत सजिलै उपलब्ध छन् । अझ चिन्ताजनक कुरा के हो भने धेरै उत्पादनहरूमा वास्तविक सामग्री स्पष्ट रूपमा उल्लेख गरिएको हुँदैन ।

कतिपयमा वैज्ञानिक नाम प्रयोग गरेर रसायन लुकाइन्छ भने कतिपयमा लेबल नै भ्रामक हुन्छ । यस्ता उत्पादनहरूमा प्रायः तीन प्रकारका अत्यन्त जोखिमपूर्ण रसायन पाइन्छन् ।

१. पारो : सुन्दरताको नाममा मौन विष

पारो छाला गोरो बनाउने सबैभन्दा खतरनाक रसायनमध्ये एक हो । यसले मेलानिन उत्पादन घटाएर छाला उज्यालो देखाउँछ । छालामा लगाइएको पारोको ठूलो हिस्सा शरीरभित्र अवशोषित हुन्छ भनेर वैज्ञानिक अध्ययनहरूले देखाएका छन् । त्यसपछि यो रगतमार्फत मिर्गौला, कलेजो, मस्तिष्क, मुटु तथा स्नायु प्रणालीसम्म पुग्छ।

दीर्घकालीन प्रयोगले निम्न समस्या निम्त्याउन सक्छ

मिर्गौला फेल हुने जोखिम, स्नायु प्रणालीमा स्थायी क्षति, स्मरणशक्ति कमजोर हुने, हातखुट्टा काप्ने, दृष्टि र श्रवणमा असर, गर्भमा रहेको शिशुको मस्तिष्क विकासमा गम्भीर प्रभाव, केही अवस्थामा क्यान्सरको जोखिम बढ्ने सम्भावना ।

नेपालमा समेत गरिएको परीक्षणहरूले लोकप्रिय फेयरनेस क्रिमहरूमा पारोको मात्रा भेटिएको विभिन्न अनुसन्धानहरूले देखाएका छन् । यसले नेपाली उपभोक्ताको स्वास्थ्य सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ ।

२. हाइड्रोक्विनोन : चिकित्सकको निगरानी बिनाको प्रयोग

हाइड्रोक्विनोन चिकित्सा क्षेत्रमा पोतो तथा केही विशेष छालाका रोगहरूको उपचारमा सीमित अवधिका लागि चिकित्सकको निगरानीमा प्रयोग गरिने औषधि हो । तर बजारमा पाइने धेरै सौन्दर्य उत्पादनमा यसको अनियन्त्रित प्रयोग भइरहेको छ । लामो समय वा गलत तरिकाले प्रयोग गर्दा यसले छालामा जलन हुने, छालाको रङ असमान हुने, स्थायी नीलो–कालो दाग हुने र उपचार गर्न निकै कठिन हुने गरी छालामा क्षति गराउन सक्छ ।

३. कर्टिकोस्टेरोइड क्रिम : सबैभन्दा बढी दुरुपयोग हुने औषधि

छालारोग उपचारमा स्टेरोइड औषधिको महत्त्व अत्यन्त ठूलो छ । तर गलत प्रयोगले यही औषधि सबैभन्दा हानिकारक बन्न सक्छ । फेयरनेस क्रिममा शक्तिशाली स्टेरोइड मिसाइएपछि छाला केही दिनमै उज्यालो र चिल्लो देखिन सक्छ । यही कारण धेरै उपभोक्ता त्यसमा आकर्षित हुन्छन् । तर केही महिनापछि देखिन सक्ने समस्या धेरै गम्भीर हुन्छन्, जस्तै छाला अत्यधिक पातलो हुनु, अनुहारमा मसिना रक्तनलीहरु देखिनु, स्ट्रेच माक्र्सवा छाला च्यातिएको जस्तो देखिनु, रातोपन आउनु, फंगल, ब्याक्टेरियल तथा भाइरल संक्रमण बढ्नु, स्टेरोइड–निर्भर अनुहार आदि हुन सक्छन् ।

अन्तर्राष्ट्रिय छाला रोगसम्बन्धी समाजहरूको महासंघ (आईएलडीएस) ले यसलाई अहिले ‘बढ्दो विश्वव्यापी सार्वजनिक स्वास्थ्य संकट’ को रूपमा घोषणा गरिसकेको छ । (आईएलडीएस) ले स्टेरोइड र छाला गोरो बनाउने सामाग्रीको दुरुपयोगसँग सम्बन्धित स्क्वामस सेल कार्सिनोमा जस्ता छालाको क्यान्सरका घटनासमेत रिपोर्ट हुन थालेको उल्लेख गरेको छ ।

जब तीनवटै विष एउटै डब्बाभित्र हुन्छन्

सबैभन्दा डरलाग्दो अवस्था तब हुन्छ जब एउटै उत्पादनमा पारो, हाइड्रोक्विनोन र शक्तिशाली स्टेरोइड मिसाइएको हुन्छ । यस्ता उत्पादनले सुरुवाती केही हप्तामा ‘चमत्कारिक’ परिणाम देखाउन सक्छन् । तर वास्तविकता भने यसको ठीक उल्टो हुन्छ ।

छाला कमजोर बन्दै जान्छ, प्राकृतिक सुरक्षा प्रणाली नष्ट हुन्छ र प्रयोग रोक्नेबित्तिकै अनुहार झन् बिग्रन सुरु हुन्छ । धेरै प्रयोगकर्ताहरू त्यसपछि फेरि त्यही क्रिम प्रयोग गर्न बाध्य हुन्छन्, जसले दीर्घकालीन स्वास्थ्य जोखिम अझ बढाउँछ ।

समाधान केवल उपचार होइन, सोचको परिवर्तन पनि

(आईएलडीएस) ले हालै जारी गरेको आफ्नो अधिकारीक धारणामा पनि विश्वभरका सरकार, स्वास्थ्य संस्था तथा चिकित्सकहरूलाई पाँच प्रमुख कदम चाल्न आह्वान गरेको छ ।

–शक्तिशाली स्टेरोइडयुक्त उत्पादनको खुला बिक्रीमा कडा नियन्त्रण

–स्पष्ट राष्ट्रिय उपचार निर्देशिका तयार गर्ने

–सर्वसाधारणमा व्यापक जनचेतना अभियान सञ्चालन गर्ने

–सुरक्षित चर्मरोग अभ्यासको प्रवर्द्धन गर्ने

–स्वास्थ्य, शिक्षा, नियामक निकाय तथा नीति निर्माताबीच समन्वय बढाउने

हालसम्म विश्वभरका ५० भन्दा बढी (आईएलडीएस) सदस्य डर्माटोलोजी सोसाइटीहरूले यस पहललाई समर्थन गरिसकेका छन् ।

नेपालका लागि अब के आवश्यक छ ?

नेपालमा समेत यस्ता क्रिमको बेचबिखन र प्रयोगको स्थिति बिजोग नै छ । त्यसर्थ, नेपालमा पनि निम्न कदम तत्काल आवश्यक देखिन्छन्:

–बजारमा उपलब्ध छाला गोरो बनाउने उत्पादनहरूको नियमित प्रयोगशाला परीक्षण

–पारो तथा प्रतिबन्धित रसायन भएका उत्पादनको आयात र बिक्रीमा कडा निगरानी

–स्टेरोइडयुक्त क्रिमको अनियन्त्रित बिक्री रोक्ने प्रभावकारी व्यवस्था

–सामाजिक सञ्जालमार्फत हुने भ्रामक विज्ञापनमाथि नियमन,

–विद्यालयदेखि समुदायसम्म छालाको प्राकृतिक रङप्रति सकारात्मक सोच विकास गर्ने स्वास्थ्य शिक्षा

छालाको रङ होइन, स्वास्थ्य सबैभन्दा ठूलो सुन्दरता

छाला गोरो बनाउने उद्योग केवल सौन्दर्य प्रसाधनको व्यापार होइन; यो सामाजिक मनोविज्ञान, असमान सौन्दर्य मापदण्ड र व्यावसायिक स्वार्थको जटिल मिश्रण हो । अर्बौं डलरको यो उद्योगले करोडौं मानिसमा ‘गोरोपन’ बेचिरहेको छ, तर धेरै अवस्थामा त्यसको मूल्य स्वास्थ्यले तिरिरहेको छ ।

छालाको प्राकृतिक रङ कुनै कमजोरी होइन । गोरो, कालो, गहुँगोरो वा खैरो—हरेक छालाले आफ्नै जैविक विशेषता, सौन्दर्य र पहिचान बोकेको हुन्छ । वैज्ञानिक तथ्यले स्पष्ट भन्छः छालालाई स्वस्थ बनाउने कुनै सर्टकट छैन, र कुनै पनि फेयरनेस क्रिमले व्यक्तिको मूल्य, क्षमता वा सफलताको मापन गर्न सक्दैन ।

स्वस्थ छाला नै सुन्दर छाला हो । त्यसैले छालाको रङ परिवर्तन गर्ने होइन, छालाको स्वास्थ्य जोगाउने संस्कृतिको विकास आजको सबैभन्दा ठूलो आवश्यकता हो ।

छाला सौन्दर्य सौन्दर्य सामग्री
डा. विकास पौडेल
लेखक
डा. विकास पौडेल
छाला, यौन तथा सौन्दर्य विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर :९१११ एमबीबीएस, एमडी, फेलोसिप इन क्लिनिकल डर्माटोलोजी (दक्षिण कोरिया) ललितपुर लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापक, पाटन अस्पताल, नेसनल मेडिकल कलेज वीरगञ्ज, शंखमूल हेल्थकेयरर इलिट हेल्थ क्लिनिकमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

कुन भिटामिनको कमी हुँदा हाम्रो शरीरले कस्तो संकेत देखाउँछ ?

कुन भिटामिनको कमी हुँदा हाम्रो शरीरले कस्तो संकेत देखाउँछ ?

गोरो बनाउने क्रिमको अँध्यारो पाटो : करोडौंको स्वास्थ्य जोखिम

गोरो बनाउने क्रिमको अँध्यारो पाटो : करोडौंको स्वास्थ्य जोखिम

भारतमा पहिलो पटक डेंगु विरुद्धको खोपले पायो अनुमति

भारतमा पहिलो पटक डेंगु विरुद्धको खोपले पायो अनुमति

यो वर्ष डेंगु संक्रमण कम तर मनसुनसँगै बढ्न सक्छ जोखिम

यो वर्ष डेंगु संक्रमण कम तर मनसुनसँगै बढ्न सक्छ जोखिम

कलेजोमा बोसो जम्नु होइन सामान्य, उपचार नगरे क्यान्सरसम्मको जोखिम

कलेजोमा बोसो जम्नु होइन सामान्य, उपचार नगरे क्यान्सरसम्मको जोखिम

कुन अवस्थामा पिसाबबाट असामान्य गन्ध ‍आउँछ ? १० कारण

कुन अवस्थामा पिसाबबाट असामान्य गन्ध ‍आउँछ ? १० कारण