News Summary
Generated by OK AI. Editorially reviewed.- पहिले मदिरा सेवनकर्तामा मात्र देखिने फ्याटी लिभर रोग अहिले अस्वस्थ जीवनशैलीका कारण सामान्य व्यक्तिमा समेत तीव्र रूपमा बढिरहेको छ।
पहिले अत्यधिक मदिरा सेवन गर्ने व्यक्तिहरूसँग मात्र जोडिने फ्याटी लिभर अहिले सबैखाले व्यक्तिमा देखिन थालेको छ । विशेषगरी मोटोपना, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, प्रशोधित तथा चिल्लो खाना र शारीरिक गतिविधिको कमीका कारण यो रोग तीव्र रूपमा बढिरहेको छ ।
समस्या के छ भने यसको सुरुवाती चरणमा बिरामीले कुनै विशेष लक्षण महसुस गर्दैनन् । त्यसैले धेरैले यसलाई सामान्य थकान वा पाचनसम्बन्धी समस्या ठानेर बेवास्ता गर्छन् । तर रोग बढ्दै जाँदा यसले कलेजोमा स्थायी क्षति पुर्याउने मात्र होइन, सिरोसिस, कलेजोको क्यान्सर, मुटुरोग र स्ट्रोकजस्ता गम्भीर जटिलताको जोखिमसमेत बढाउन सक्छ । त्यसैले फ्याटी लिभरलाई सामान्य समस्या ठान्नु उचित हुँदैन ।
फ्याटी लिभर भनेको के हो ?
कलेजो शरीरका सबैभन्दा महत्वपूर्ण अंगहरूमध्ये एक हो । यसले खाना पचाउन सहयोग गर्ने, ऊर्जा सञ्चय गर्ने, शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्ने तथा आवश्यक प्रोटिन उत्पादन गर्ने जस्ता महत्वपूर्ण काम गर्छ ।
तर जब कलेजोका कोषिकामा सामान्यभन्दा बढी बोसो जम्न थाल्छ, त्यस अवस्थालाई फ्याटी लिभर भनिन्छ । कलेजोमा करिब ५–६ प्रतिशत वा सोभन्दा बढी बोसो जम्मा भएमा त्यसलाई फ्याटी लिभर मानिन्छ ।
फ्याटी लिभर मुख्यत : दुई प्रकारका हुन्छन्
१. अल्कोहोलिक फ्याटी लिभर डिजिज
लामो समयसम्म अत्यधिक मदिरा सेवन गर्ने व्यक्तिमा हुने फ्याटी लिभर ।
२. नन–अल्कोहोलिक फ्याटी लिभर डिजिज
पहिले ‘नन–अल्कोहोलिक फ्याटी लिभर’ भनेर चिनिने अवस्थालाई अहिले नयाँ परिभाषाअनुसार ‘मेटाबोलिक एसोसिएटेड स्टिएटोहेपाटाइटिस’ भनिन्छ । मदिरा नपिउने वा अत्यन्त कम पिउने व्यक्तिमा मोटोपना, मधुमेह, इन्सुलिन प्रतिरोध वा उच्च कोलेस्ट्रोलका कारण हुने फ्याटी लिभर ।
के फ्याटी लिभर ज्यानै जोखिममा पार्न सक्छ ?
प्रारम्भिक अवस्थामा फ्याटी लिभर धेरै गम्भीर हुँदैन । समयमै पहिचान गरी उपचार र जीवनशैलीमा सुधार गरेमा यसलाई नियन्त्रण गर्न वा निको पार्न सकिन्छ ।
तर लामो समयसम्म बेवास्ता गरिएमा यसले गम्भीर रूप लिन सक्छ । फ्याटी लिभर बढ्दै जाँदा कलेजो सुन्निने स्टियाटोहेपाटाइटिस, फाइब्रोसिस, सिरोसिस र केही अवस्थामा कलेजोको क्यान्सरसम्म हुन सक्छ।
यसबाहेक, फ्याटी लिभर भएका व्यक्तिमा मुटुरोग, स्ट्रोक तथा मिर्गौलासम्बन्धी रोगको जोखिम पनि बढ्ने देखिएको छ ।
फ्याटी लिभरका प्रारम्भिक लक्षण
प्रारम्भिक चरणमा धेरैजसो बिरामीमा कुनै लक्षण देखिँदैन । रोग बढ्दै गएपछि मात्र लक्षण देखापर्न थाल्छन् ।
त्यसैले निम्न संकेतलाई बेवास्ता गर्नु हुँदैन :
–लगातार थकान वा कमजोरी महसुस हुनु ।
–पेटको दाहिने माथिल्लो भागमा दुखाइ वा भारीपन महसुस हुनु ।
–अचानक भोक कम हुनु ।
–कुनै प्रयासबिना तौल घट्दै जानु ।
–पेट वा खुट्टा सुन्निनु ।
–गम्भीर अवस्थामा छाला र आँखामा पहेँलोपन (जन्डिस) देखिनु ।
फ्याटी लिभर कसरी पत्ता लगाइन्छ ?
फ्याटी लिभरको आशंका भएमा चिकित्सकले आवश्यक परीक्षण गर्न सल्लाह दिन सक्छन् । तीमध्ये प्रमुख परीक्षण लिभर फङ्सन टेस्ट, रगतमा चिनी (ब्लड सुगर) परीक्षण, लिपिड प्रोफाइ, अल्ट्रासाउन्ड, फाइब्रोस्क्यान, आवश्यक परे एमआरआई वा सिटी स्क्यान र गम्भीर अवस्थामा लिभर बायोप्सी पनि गरिन्छ ।
के फ्याटी लिभरको औषधि उपलब्ध छ ?
फ्याटी लिभरका लागि हालसम्म सबै बिरामीमा समान रूपमा प्रभावकारी हुने कुनै विशेष औषधि उपलब्ध छैन । उपचार बिरामीको अवस्था, रोगको चरण तथा अन्य स्वास्थ्य समस्याका आधारमा गरिन्छ । त्यसैले चिकित्सकको सल्लाहबिना कुनै औषधि वा सप्लिमेन्ट सेवन गर्नु हुँदैन ।
के फ्याटी लिभर निको हुन सक्छ ?
यदि रोग प्रारम्भिक चरणमै पत्ता लाग्यो भने फ्याटी लिभरलाई रिभर्स फर्काएर सामान्य अवस्थामा ल्याउन सकिन्छ । यसका लागि औषधिसँगै स्वस्थ जीवनशैली अपनाउनु अत्यन्त आवश्यक हुन्छ ।
तौल नियन्त्रणमा राख्ने
मोटोपना फ्याटी लिभरको प्रमुख कारणमध्ये एक हो । तौल घटाउँदा कलेजोमा जमेको बोसो र सुन्निने समस्या कम गर्न मद्दत मिल्छ ।
सन्तुलित आहार खाने
दैनिक भोजनमा हरियो सागसब्जी, मौसमी फलफूल, दाल, गेडागुडी तथा प्रोटिनयुक्त खानेकुरा समावेश गर्ने । प्याकेज्ड खाना, प्रशोधित खाद्यवस्तु, चिनी धेरै भएका पेय पदार्थ, तारेका, भुटेका तथा धेरै मसलेदार परिकारको सेवन सकेसम्म कम गर्नुपर्छ ।
शारीरिक रूपमा सक्रिय रहने
फ्याटी लिभर भएका व्यक्तिले नियमित व्यायाम गर्नुपर्छ । हिँड्ने, साइकल चलाउने, पौडी खेल्ने वा योगाभ्यास लाभदायक हुन सक्छ । हप्तामा कम्तीमा ४–५ दिन नियमित शारीरिक गतिविधि गर्नु राम्रो मानिन्छ।
मदिरा सेवन पूर्ण रूपमा बन्द गर्नुपर्छ
मदिरा फ्याटी लिभरको प्रमुख कारणमध्ये एक भएकाले रोग देखिएपछि यसको सेवन पूर्ण रूपमा बन्द गर्नुपर्छ ।
रगतमा चिनी र कोलेस्टेरोल नियन्त्रणमा राख्ने
मधुमेह र उच्च कोलेस्ट्रोल भएका व्यक्तिले यी दुवैलाई नियन्त्रणमा राखेमा कलेजोमा थप क्षति हुनबाट जोगाउन सकिन्छ ।
कसलाई फ्याटी लिभर हुने जोखिम बढी हुन्छ ?
फ्याटी लिभर कुनै पनि व्यक्तिमा हुन सक्छ । तर निम्न समूहका व्यक्तिमा यसको जोखिम बढी हुन्छ :
–मोटोपन भएका व्यक्ति ।
–उच्च रक्तचाप र मधुमेह भएका व्यक्ति ।
–उच्च कोलेस्ट्रोल वा ट्राइग्लिसराइड्स भएका व्यक्ति ।
–नियमित शारीरिक गतिविधि नगर्ने तथा लामो समयसम्म बसेर काम गर्ने व्यक्ति ।
–जंक फुड, प्रशोधित खाना तथा अत्यधिक चिनी भएका पेय पदार्थ धेरै सेवन गर्ने व्यक्ति ।
–अत्यधिक मदिरा सेवन गर्ने व्यक्ति ।
प्रतिक्रिया 4