+

ढाड वा घाँटीको दुखाइलाई सामान्य ठान्नु हुँदैन

२०८३ असार  ३२ गते ११:३३ २०८३ असार ३२ गते ११:३३

एक जना बिरामीको मेरुदण्डमा गम्भीर चोट लाग्दा त्यसले बिरामी स्वयंलाई मात्रै नभएर सम्पूर्ण परिवारको जीवनमा दीर्घकालीन असर पार्छ ।

ढाड वा घाँटीको दुखाइलाई सामान्य ठान्नु हुँदैन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले इन्डोस्कोपिक प्रविधिबाट मेरुदण्डको आधुनिक शल्यक्रिया सुरु गरेको छ, जसले गर्दा बिरामीको उपचार कम समय र न्यून क्षतिमा सुरक्षित रूपमा सम्पन्न हुने गरेको छ।
  • ट्रमा सेन्टरका न्युरोसर्जरी विभाग प्रमुख डा. सोमराज लामिछानेले समयमै उपचार गराएमा अधिकांश मेरुदण्डका समस्या औषधि तथा फिजियोथेरापीबाटै निको हुने बताए ।

राष्ट्रिय ट्रमा सेन्टर भन्नासाथ अधिकांश मानिसको मनमा सडक दुर्घटनामा घाइते भएका बिरामीको उपचार हुने अस्पताल भन्ने बुझाइ छ । तर यहाँ दुर्घटनाबाट हुने चोटपटक मात्र होइन, मेरुदण्ड तथा स्नायुसम्बन्धी जटिल समस्याका बिरामीहरूको पनि ठूलो सङ्ख्यामा उपचार हुन्छ ।

विशेषगरी ढाड वा घाँटीको नसा च्यापिने समस्या, मेरुदण्डको ट्युमर, पक्षघात तथा स्पाइनल इन्जुरीका बिरामीका लागि ट्रमा सेन्टर अहिले प्रमुख रिफरल केन्द्र बनेको छ ।

पछिल्ला वर्षहरूमा सरकारले यहाँ दुर्बिन (इन्डोस्कोप) मार्फत गरिने आधुनिक स्पाइन शल्यक्रिया समेत सुरु गरेको छ । यसले बिरामीको उपचारलाई अझ सहज र सुरक्षित बनाएको चिकित्सकहरू बताउँछन्।

राष्ट्रिय ट्रमा सेन्टरका न्युरोसर्जरी विभाग प्रमुख डा. सोमराज लामिछानेसँग मेरुदण्डको नसा च्यापिने समस्या, त्यसका लक्षण, समयमै उपचारको आवश्यकता र शल्यक्रियामा आएको नयाँ प्रविधिबारे गरिएको कुराकानीको सम्पादित अंश:

राष्ट्रिय ट्रमा सेन्टरमा कस्ता प्रकारका बिरामी धेरै आउँछन् ?

राष्ट्रिय ट्रमा सेन्टर नेपालको एक मात्र विशिष्टीकृत ट्रमा रिफरल अस्पताल हो । त्यसैले देशभरबाट गम्भीर चोटपटक भएका बिरामी, विशेषगरी सडक दुर्घटना, लडेर, रुखबाट खसेर वा अन्य कारणले टाउको, मेरुदण्ड र हातखुट्टामा चोट लागेका बिरामी यहाँ उपचारका लागि आउने गर्छन् ।

तर धेरैलाई थाहा नपाएको अर्को महत्वपूर्ण पक्ष के हो भने ट्रमा सेन्टरमा घाँटी वा कम्मरको नसा च्यापिने समस्या, मेरुदण्डको ट्युमर, मेरुदण्डका कारण हुने ‘स्पाइनल प्यारालाइसिस’ लगायतका बिरामीको उपचार हुन्छ ।

यसरी हेर्दा ट्रमा सेन्टरको सेवा दुर्घटनाको उपचारमा मात्र सीमित छैन, स्पाइनसम्बन्धी जटिल रोगहरूको उपचार गर्ने राष्ट्रिय केन्द्रका रूपमा पनि विकसित भइरहेको छ ।

मेरुदण्डको नसा च्यापिने समस्या कति सामान्य हो ?

यो अहिले निकै सामान्य स्वास्थ्य समस्या बनेको छ । धेरैजसो बिरामी सुरुमा सामान्य ढाड दुख्ने समस्या ठानेर बस्ने वा आफैं औषधि खाने गर्छन् । कतिपयले ढाडको दुखाइसँगै खुट्टातर्फ दुखाइ सर्ने, झमझमाउने वा करेन्ट लागेजस्तो महसुस हुने समस्या अनुभव गर्छन् ।

 

यस्ता प्रारम्भिक लक्षण देखिँदैमा सबैलाई शल्यक्रिया आवश्यक पर्दैन । वास्तवमा करिब ९०–९५ प्रतिशत बिरामी औषधि, फिजियोथेरापी र जीवनशैलीमा आवश्यक सुधार गरेपछि नै निको हुन्छन् । उचित व्यायाम, तौल नियन्त्रण, लामो समय एउटै आसनमा नबस्ने, सही तरिकाले भारी बोक्ने तथा चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गरेमा अधिकांश बिरामीलाई शल्यक्रिया गर्नुपर्ने अवस्था आउँदैन ।

कुन अवस्थामा शल्यक्रिया अनिवार्य हुन्छ ?

सबैभन्दा महत्वपूर्ण कुरा बिरामीमा गम्भीर चेतावनी दिने लक्षण देखिनु हो । उदाहरणका लागि, लगातार औषधि खाँदा पनि दुखाइ कम नभएमा, खुट्टाको शक्ति बिस्तारै घट्दै गएमा, हातखुट्टा लाटो हुँदै गएमा, दिशा–पिसाब गर्ने ठाउँको संवेदना हराउन थालेमा वा नियन्त्रण गर्न नसक्ने अवस्था आएमा त्यो आपत्कालीन अवस्था हो ।

यस अवस्थामा नसामाथि अत्यधिक दबाब परिसकेको हुन्छ । समयमै शल्यक्रिया नगरे स्थायी रूपमा पक्षघात हुन सक्छ, र पछि अपरेशन गरे पनि पुरानै अवस्थामा फर्काउन सकिने सम्भावना निकै कम हुन्छ । त्यसैले ‘अझै केही दिन हेरौँ’ भनेर बस्नु भन्दा यस्ता लक्षण देखिनेबित्तिकै विशेषज्ञकहाँ पुग्नुपर्छ ।

घाँटी र कम्मरको नसा च्यापिने समस्याका लक्षण एउटै हुन्छन् ?

मूल समस्या दुवैमा नसामाथि दबाब पर्ने नै हो, तर लक्षण च्यापिएको स्थानअनुसार फरक हुन्छ । कम्मरतिरको नसामा समस्या भए सुरुमा ढाड दुख्ने, त्यसपछि दुखाइ खुट्टातिर सर्ने, झमझमाउने वा खुट्टा कमजोर हुने लक्षण देखिन्छ । घाँटीतिरको नसामा समस्या भए सुरुमा घाँटी दुख्ने, हाततर्फ दुखाइ जाने, हात झमझमाउने वा औँलाहरू लाटो हुने समस्या सुरु हुन्छ । रोग धेरै बढेमा घाँटीको नसामा परेको दबाबले घाँटीभन्दा तलको सम्पूर्ण शरीरमा असर गर्न सक्छ र बिरामी पूर्णरूपमा पक्षघातसमेत हुन सक्छन् ।

ढाड वा घाँटी दुख्दैमा एमआरआई गराउनुपर्छ ?

त्यस्तो आवश्यक छैन । सबै ढाड दुखाइ नसा च्यापिएकै कारणले हुँदैन; धेरैजसो अवस्थामा मांसपेशीको समस्या, लामो समय बस्ने बानी वा गलत जीवनशैलीका कारण पनि ढाड दुख्न सक्छ । चिकित्सकले बिरामीको लक्षण, शारीरिक परीक्षण हेरेर आवश्यक परे मात्र एमआरआई सिफारिस गर्नुहुन्छ, जसले नसामा दबाब परेको छ वा छैन र शल्यक्रिया आवश्यक छ कि छैन भन्ने स्पष्ट जानकारी दिन्छ ।

धेरै बिरामीले ढाड दुखाइलाई किन बेवास्ता गर्छन् ?

नेपालमा अझै पनि ढाड वा घाँटी दुखाइलाई सामान्य थकानको समस्या ठान्ने प्रवृत्ति धेरै छ । कतिपयले महिनौँसम्म घरेलु उपचार, मालिस वा आफूखुसी औषधि सेवन गरेर समय बिताउँछन् र रोग बढ्दै गएपछि मात्रै अस्पताल पुग्छन् । दुर्भाग्यवश, कतिपय अवस्थामा उनीहरू आइपुग्दासम्म नसामा स्थायी क्षति सुरु भइसकेको हुन्छ । त्यसैले सामान्य दुखाइ र नसामा च्यापिने गम्भीर समस्या छुट्याउन सक्ने चेतना बढाउनु आवश्यक छ ।

दुर्घटनाका कारण मेरुदण्डमा चोट लाग्दा कस्तो अवस्थामा शल्यक्रिया अनिवार्य हुन्छ ?

नसा च्यापिने समस्या उमेर, हड्डी खिइने, डिस्क सर्ने वा अन्य कारणले हुन सक्छ भने दुर्घटनामा मेरुदण्ड नै भाँचिन सक्छ । मेरुदण्डको हड्डी भाँचिएर नसामा असर गरेको छ वा गर्ने सम्भावना देखिएको छ भने त्यस्ता बिरामीलाई तत्काल शल्यक्रिया गर्नुपर्छ । शल्यक्रियामार्फत भाँचिएको मेरुदण्डलाई स्क्रु र रडको सहायताले मजबुत बनाइन्छ र नसामाथिको दबाब हटाइन्छ । समयमै उपचार नगरे बिरामी स्थायी रूपमा हातखुट्टा नचल्ने अवस्थासम्म पुग्न सक्छन् ।

उमेरसँगै हुने नसाको समस्यामा पनि सबैलाई शल्यक्रिया गर्नुपर्छ ?

पर्दैन । उमेर बढ्दै जाँदा डिस्क खिइने, डिस्क बाहिर निस्किने वा हड्डी बढेर नसामा दबाब पर्ने समस्या देखिन्छ, तर यस्ता अधिकांश बिरामीलाई सुरुमा औषधि, फिजियोथेरापी, व्यायाम र जीवनशैली सुधारबाटै उपचार गरिन्छ र निको हुन्छन् । दुखाइ असह्य हुँदै गएमा, हातखुट्टा कमजोर हुन थालेमा वा हिँडडुल गर्न गाह्रो भएमा मात्र शल्यक्रिया आवश्यक पर्छ । शल्यक्रिया अन्तिम विकल्प हो, पहिलो उपचार होइन ।

मेरुदण्डको अपरेशन गर्‍यो भने उठ्न सकिँदैन भन्ने डर अझै धेरैमा छ । यो कत्तिको सही हो ? 

यो धेरै पुरानो धारणा हो । तर आधुनिक चिकित्सा प्रविधिमा यो धेरै हदसम्म बदलिएको छ । समयमै सही प्रकारको शल्यक्रिया गरियो भने बिरामीको जीवन झन् सहज बन्छ । नसामाथिको दबाब हटेपछि दुखाइ कम हुन्छ, हातखुट्टाको शक्ति फर्किन्छ र बिरामी सामान्य जीवनमा फर्किन सक्छ । बरु आवश्यक पर्दा पनि शल्यक्रिया नगरी धेरै समय पर्खिनु बढी जोखिमपूर्ण हुन्छ, किनभने ढिलो उपचारले नसामा स्थायी क्षति पुर्‍याउन सक्छ ।

स्पाइन शल्यक्रियामा पछिल्ला वर्षहरूमा कस्तो परिवर्तन आएको छ ?

पहिले मेरुदण्डको अपरेशन गर्दा ८–१० सेन्टिमिटरसम्म ठूलो चिरा बनाउनुपर्थ्यो, जसका कारण धेरै रगत बग्ने, धेरै दुख्ने र निको हुन धेरै समय लाग्थ्यो । पछि माइक्रोस्कोप प्रयोग गरेर करिब २–३ सेन्टिमिटर मात्रै चिरा बनाएर गरिने सर्जरी सुरु भयो । अहिले प्रविधि अझ अगाडि बढेर दुर्बिन (इन्डोस्कोप) को सहायताले एक सेन्टिमिटरभन्दा पनि सानो प्वालबाट गरिने इन्डोस्कोपिक स्पाइन सर्जरी उपलब्ध भएको छ, जसलाई मेरुदण्डको उपचारमा महत्वपूर्ण उपलब्धिका रूपमा लिन सकिन्छ ।

इन्डोस्कोपिक स्पाइन सर्जरीका मुख्य फाइदा के हुन् ?

यसको सबैभन्दा ठूलो विशेषता बिरामीको शरीरमा हुने क्षति न्यूनतम हुनु हो । सानो प्वालबाट शल्यक्रिया गरिने भएकाले मांसपेशी धेरै काट्नुपर्दैन, दुखाइ र रगत बग्ने कम हुन्छ, र संक्रमणको जोखिम पनि कम हुन्छ । धेरैजसो बिरामी अपरेशन भएकै दिन हिँड्न सक्ने हुन्छन् र भोलिपल्टै घर फर्किन सक्छन् ।

पहिला अपरेशनपछि दुई–तीन महिनासम्म आराम गर्नुपर्थ्यो भने अहिले धेरै बिरामी एक–दुई साताभित्रै आफ्नो नियमित काममा फर्किन सक्छन्, जसले बिरामीको मानसिक तनाव र आर्थिक भार दुवै घटाउँछ । विशेषगरी दैनिक ज्यालादारीमा वा शारीरिक श्रममा आधारित काम गर्ने बिरामीका लागि यो निकै ठूलो राहत हो, किनभने लामो समय काम गर्न नसक्दा उनीहरूको आम्दानीमा प्रत्यक्ष असर पर्छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा यो प्रविधि कहिलेदेखि सुरु भएको हो ?

करिब आठ महिनाअघि नियमित रूपमा इन्डोस्कोपिक स्पाइन सर्जरी सुरु भएको हो । अहिले हरेक हप्ता यस्तो शल्यक्रिया भइरहेको छ र हालसम्म करिब २५–३० जना बिरामीमा सफलतापूर्वक गरिसकिएको छ । नेपालमा निजी अस्पतालमा यो प्रविधि केही वर्षअघि सुरु भए पनि सरकारी अस्पतालमा नियमित रूपमा उपलब्ध गराउने काम राष्ट्रिय ट्रमा सेन्टरले सुरु गरेको हो । यसले आर्थिक रूपमा कमजोर बिरामीलाई पनि आधुनिक उपचारको पहुँच विस्तार गरेको छ ।

सरकारी अस्पतालमा नयाँ प्रविधिको उपचार महँगो पर्छ भन्ने धेरैको बुझाइ छ, वास्तविकता के हो ?

बिरामीले यसबारे अनावश्यक चिन्ता लिनु पर्दैन । इन्डोस्कोपिक स्पाइन सर्जरीका लागि राष्ट्रिय ट्रमा सेन्टरले अतिरिक्त शुल्क लिएको छैन । बिरामीले पहिलेदेखि लागू रहेको सरकारी शल्यक्रिया शुल्कअनुसार नै उपचार पाउँछन् । यही कारण पछिल्लो समय धेरै बिरामी ट्रमा सेन्टर आउने गरेका छन्।

इन्डोस्कोपिक स्पाइन सर्जरी सबै बिरामीका लागि उपयुक्त हुन्छ ?

चिकित्सा विज्ञानमा सबै बिरामीका लागि एउटै विधि उपयुक्त हुँदैन । कुन बिरामीका लागि कुन प्रकारको शल्यक्रिया गर्ने भन्ने निर्णय रोगको अवस्था, नसामा परेको दबाब, मेरुदण्डको स्थायित्व र एमआरआईजस्ता परीक्षणको आधारमा गरिन्छ ।

कतिपय बिरामी इन्डोस्कोपिक शल्यक्रियाका लागि निकै उपयुक्त हुन्छन्, तर मेरुदण्ड धेरै अस्थिर भएको, हड्डी धेरै भाँचिएको वा धेरै तहमा समस्या भएको अवस्थामा खुला शल्यक्रिया गरेर स्क्रु, रड वा प्लेट राख्नुपर्ने हुन सक्छ । त्यसैले बिरामीले आफूखुसी कुनै एक प्रविधि रोज्नुभन्दा चिकित्सकले गरेको जाँच र सिफारिसमा भरोसा गर्नु उचित हुन्छ ।

नेपालमा यो प्रविधि नयाँ भएकाले बिरामीमा सुरक्षाबारे केही आशंका पनि देखिन्छ नि ?

नेपालका लागि यो प्रविधि अपेक्षाकृत नयाँ भए पनि अन्तर्राष्ट्रिय रूपमा हेर्दा इन्डोस्कोपिक स्पाइन सर्जरी धेरै वर्षदेखि सफलतापूर्वक प्रयोग हुँदै आएको प्रविधि हो । विशेषगरी दक्षिण कोरिया, जापान, युरोप र अमेरिकाजस्ता देशमा अहिले धेरैजसो उपयुक्त बिरामीको शल्यक्रिया यही प्रविधिबाट हुने गरेको छ ।

नेपालमा पछिल्ला ५-६ वर्षदेखि मात्रै यो विस्तार हुन थालेको हो, र सरकारी अस्पतालमा नियमित सेवा सुरु हुनु अझ पछिल्लो उपलब्धि हो । योग्य चिकित्सक र उचित बिरामी छनोटका आधारमा गरिने इन्डोस्कोपिक शल्यक्रिया सुरक्षित र प्रभावकारी मानिन्छ ।

शल्यक्रियापछि फेरि समस्या दोहोरिने सम्भावना हुन्छ ?

कुनै पनि शल्यक्रियापछि शतप्रतिशत समस्या नदोहोरिने ग्यारेन्टी चिकित्सा विज्ञानले दिन सक्दैन । तर सही बिरामी छनोट गरेर, उचित प्रविधिबाट शल्यक्रिया गरिएमा अधिकांश बिरामीले राम्रो नतिजा पाउँछन् । शल्यक्रियापछि चिकित्सकले दिएका सुझाव पालना गर्नु, उचित व्यायाम गर्नु र तौल नियन्त्रण गर्नु पनि उत्तिकै आवश्यक हुन्छ, नत्र भविष्यमा फेरि समस्या आउन सक्छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराउन आउने बिरामीको चाप कस्तो छ ?

देशकै एक मात्र विशेषीकृत ट्रमा रिफरल अस्पताल भएकाले यहाँ बिरामीको चाप स्वाभाविक रूपमा धेरै छ । तर अस्पतालको जनशक्ति, अपरेशन थिएटर र सञ्चालन गर्न सकिने शल्यक्रियाको सङ्ख्या सीमित भएकाले कहिलेकाहीँ बिरामीले पालो कुर्नुपर्ने अवस्था आउँछ । यद्यपि आपत्कालीन अवस्थाका बिरामीलाई कुनै ढिलाइ नगरी प्राथमिकताका साथ तत्काल शल्यक्रिया गरिन्छ । अन्य नियमित शल्यक्रियाका लागि सामान्यतया एक हप्तादेखि १० दिनभित्र पालो मिलाइने प्रयास गरिन्छ ।

यो अस्पतालमा टाउको र मेरुदण्डमा चोटपटक लागेका बिरामी धेरै आउँछन् यस्तो समस्या हुनुको मुख्य कारण के देख्नुहुन्छ ?

यहाँ आउने न्युरोसर्जरीसम्बन्धी बिरामीमध्ये धेरैजसो टाउको र मेरुदण्डमा चोट लागेका हुन्छन्, जसको मुख्य कारण अझै पनि सडक दुर्घटना नै हो । सकारात्मक पक्ष के छ भने काठमाडौं उपत्यकाभित्र ट्राफिक नियमको कार्यान्वयन पहिलेको तुलनामा केही कडा भएको छ ।

दक्षिण एसियाका धेरै सहरसँग तुलना गर्दा काठमाडौंमा ट्राफिक व्यवस्थापन तुलनात्मक रूपमा व्यवस्थित छ । मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट वा सिटबेल्ट नलगाउने तथा ट्राफिक नियम उल्लङ्घनका कारण हुने दुर्घटनामा १० वर्ष अघिको तुलनामा केही कमी आएको अनुभव हुन्छ, तर समस्या पूर्णरूपमा समाधान भइसकेको भने होइन।

राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंका लागि मात्र होइन, देशभरकै रिफरल अस्पताल भएकाले सबै ठाउँबाट बिरामी आउँछन् । विशेषगरी राजमार्गमा हुने ठूला बस दुर्घटना, पहिरो, सडकबाट सवारीसाधन खस्ने घटना, बर्खायाममा हुने सवारी दुर्घटना, निर्माणस्थल वा रुखबाट लड्ने दुर्घटनाले गम्भीर मेरुदण्डका चोटपटक गराइरहेका छन् ।

यस्ता दुर्घटनामा बिरामी अस्पताल आइपुग्दा धेरैजसो मेरुदण्ड भाँचिएको, नसामा गम्भीर असर परेको वा पक्षघातको अवस्था देखिन्छ । त्यसैले दुर्घटना भएपछि बिरामीलाई जथाभावी उठाउने, तान्ने वा सार्ने काम झन् खतरनाक हुन सक्छ; मेरुदण्डमा चोट लागेको शंका लागेमा सही तरिकाले सुरक्षित रूपमा अस्पताल पुर्‍याउनु अत्यन्त महत्वपूर्ण हुन्छ ।

सडक सुरक्षामा सबैभन्दा महत्वपूर्ण कुरा नियमको पालना हो । सानो लापरबाहीले पनि जीवनभरका लागि अपाङ्गता निम्त्याउन सक्छ । गति नियन्त्रण गर्ने, हेल्मेट र सिटबेल्ट अनिवार्य प्रयोग गर्ने, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने, मोबाइल प्रयोग नगर्ने तथा थकित अवस्थामा लामो दूरीको यात्रा नगर्ने जस्ता सामान्य सावधानीले पनि धेरै दुर्घटना रोक्न सकिन्छ ।

चिकित्सकको दृष्टिकोणबाट हेर्दा उपचारभन्दा दुर्घटना हुनै नदिनु सबैभन्दा प्रभावकारी उपाय हो । एक जना बिरामीको मेरुदण्डमा गम्भीर चोट लाग्दा त्यसले बिरामी स्वयंलाई मात्रै नभएर सम्पूर्ण परिवारको जीवनमा दीर्घकालीन असर पार्छ । त्यसैले सामान्य सावधानीलाई हल्का रूपमा लिनु हुँदैन ।

मेरुदण्डको शल्यक्रियाबारे समाजमा अझै धेरै भ्रम छन्, बिरामीलाई के भन्न चाहनुहुन्छ ?

ढाड वा घाँटी दुख्दैमा सबैलाई अपरेशन गर्नुपर्छ भन्ने होइन । अधिकांश बिरामी औषधि, फिजियोथेरापी र जीवनशैली सुधारबाटै निको हुन्छन् । तर वास्तवमै शल्यक्रिया आवश्यक पर्ने बिरामीले डरका कारण उपचार टार्नु पनि हुँदैन ।

मिनिमली इनभेसिभ तथा इन्डोस्कोपिक स्पाइन सर्जरीका कारण शल्यक्रिया धेरै सुरक्षित, कम पीडादायी र प्रभावकारी बनेको छ । पहिलेजस्तो ठूलो चिरा, लामो समय ओछ्यानमा बस्नुपर्ने वा महिनौँ आराम गर्नुपर्ने अवस्था धेरै हदसम्म हटेको छ । त्यसैले शल्यक्रियालाई अन्तिम विकल्पका रूपमा होइन, आवश्यक परे सुरक्षित उपचारका रूपमा बुझ्नुपर्छ ।

यदि दुखाइ लगातार बढ्दै गएको छ, हात वा खुट्टातिर सर्न थालेको छ, झमझमाउने वा लाटो हुने समस्या देखिएको छ, हातखुट्टाको शक्ति घट्दै गएको छ, हिँड्न गाह्रो भइरहेको छ वा दिशा–पिसाब नियन्त्रणमा समस्या देखिएको छ भने ढिलाइ नगरी न्युरोसर्जन, स्पाइन सर्जन वा न्युरोलोजिस्टसँग परामर्श लिनुपर्छ ।

अन्त्यमा बिरामी र सर्वसाधारणलाई के सन्देश दिन चाहनुहुन्छ ?

मेरुदण्डको समस्या अहिले उपचार नहुने रोग होइन । समयमै पहिचान भयो भने अधिकांश बिरामी औषधि र फिजियोथेरापीबाटै निको हुन्छन् । शल्यक्रिया आवश्यक परे पनि आधुनिक प्रविधिका कारण पहिलेभन्दा धेरै सुरक्षित र प्रभावकारी उपचार सम्भव भएको छ । त्यसैले ढाड वा घाँटीको समस्या लुकाएर, घरेलु उपचार गर्दै वा डरका कारण रोग पालेर बस्नु हुँदैन । नसामा असर पुगेको संकेत देखिएपछि प्रत्येक दिन महत्वपूर्ण हुन्छ —उपचार जति छिटो हुन्छ, निको हुने सम्भावना पनि त्यति नै बढी हुन्छ ।

सरकारी अस्पतालमै पनि अहिले आधुनिक प्रविधिबाट मेरुदण्डको शल्यक्रिया उपलब्ध छ, र त्यो पनि पहिलेदेखि लागू रहेको सामान्य शल्यक्रिया शुल्कमै । त्यसैले भ्रम र डरभन्दा तथ्यमा विश्वास गर्नुपर्छ। समयमै विशेषज्ञ चिकित्सकको परामर्श लिएर उचित उपचार गरे अधिकांश बिरामी सामान्य जीवनमा फर्कन सक्छन् सही समयमा सही परामर्शले धेरै जटिलता रोक्न सकिन्छ ।

घाँटीको दुखाइ ढाड मेरूदण्ड
लेखक
सुमित्रा लुइटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय