+

आवश्यक छ राम्रो कोलेस्टेरोल बढाउनु, के गर्ने के नगर्ने ?

२०८३ असार  ३१ गते १७:४२ २०८३ असार ३१ गते १७:४२
आवश्यक छ राम्रो कोलेस्टेरोल बढाउनु,  के गर्ने के नगर्ने ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शरीरमा खराब कोलेस्टेरोल घटाउनुका साथै राम्रो कोलेस्टेरोलको स्तर ४० मिलीग्राम/डिएल भन्दा माथि हुनुपर्छ।

अहिले विश्वभर मुटु रोग मृत्युको प्रमुख कारण बनिरहेको छ । मुटुमा समस्या भएर मृत्यु हुनुमा उच्च कोलेस्टेरोल मुख्य कारक मानिन्छ । त्यसैले कुल कोलेस्टेरोल २०० मिलीग्राम/डिएल भन्दा कम राख्न भनिन्छ । कोलेस्टेरोलको मात्रा सही हुनका लागि खराब कोलेस्टेरोल र राम्रो कोलेस्टेरोलको सुन्तुलनलाई पनि सही स्तरमा राख्नु आवश्यक छ ।

कोलेस्टेरोल १३० मिलीग्राम/डिएल भन्दा कम र राम्रो कोलेस्टेरोल ४० मिलीग्राम/डिएल भन्दा बढी कायम राख्नुलाई उचित मानिन्छ ।

हाइ डेन्सिटी अफ लिपोप्रोटिन (एचडीएल) लाई राम्रो कोलेस्टेरोल भनिन्छ भने लो–डेन्सिटी अफ लिपोप्रोटिन (एलडीएललाई) खराब कोलेस्टेरोल भनिन्छ।

कोलेस्टेरोल मुख्यतया कलेजोमा उत्पादन हुन्छ । कोषको बाहिरी तह बनाउन, शरीरलाई आवश्यक केही हर्मोनहरू उत्पादन गर्न, भिटामिन ‘डी’ को निर्माण गर्न पनि हाम्रो शरीरलाई कोलेस्टेरोल चाहिन्छ ।

यसबाहेक यसले पाचन प्रणालीलाई सहायता गर्ने, मस्तिष्क र स्नायु प्रणालीका कोषहरूलाई सन्देश आदानप्रदान गर्न सहयोग गर्ने र रोगप्रतिरोधि क्षमता बढाउन समेत यसले सहयोग गर्छ ।

खराब कोलेस्टेरोल बढी हुँदा यसले मुख्यतया रक्तनलीहरू ब्लक गरेर मुटु र मस्तिष्कमा गम्भीर असर पुर्‍याउँछ ।

मान्छेहरू प्राय खराब कोलेस्टेरोल घटाउने कुरामा मात्रै बढी ध्यान दिन्छन् । कोलेस्टेरोल घटाउनु मात्रै पर्याप्त हुन्छ भन्ने कुरा सत्य होइन। शरीरमा राम्रो कोलेस्टेरोल बढाउनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । राम्रो कोलेस्टेरोल ४० मिलीग्राम/डिएल भन्दा माथि हुनु राम्रो भए पनि ६० मिलीग्राम/डिएल वा सोभन्दा बढीको स्तरमा हुने अझ बढी फाइदाजनक मानिन्छ ।

राम्रो कोलेस्टेरोल कसरी बढाउने

राम्रो कोलेस्टेरोल बढाउनको लागि, आफ्नो आहारमा स्वस्थ चिल्लोयुक्त खानेकुरा समावेश गर्नु महत्त्वपूर्ण हुन्छ । यसका लागि ओखर, बदाम, जैतुनको तेल, अलस आदि खाने गर्नुपर्छ । मांसाहारी खानेकुरा खाने हो भने माछा सबैभन्दा राम्रो हुन्छ । डिपफ्राइ गरेको माछा नभएर सामान्य तरिकाले पकाएको माछा खानुपर्छ । माछामा पनि साल्मन धेरै फाइदाजनक हुन्छ ।

आफ्नो आहारमा फलफूल, हरियो तरकारी र ताजा अन्नहरू समावेश गर्नुपर्छ ।

धेरै तारेको खानेकुरा, रातो मासु र प्रशोधित खानेकुरा खानु हुँदैन । यस्तो खानेकुरालशरीरमा खराब कोलेस्टेरोल बढाउँछ । खराब कोलेस्टेरोल बढ्नु भनेको राम्रो कोलेस्टेरोल घट्नु पनि हो ।

धूम्रपान छाड्ने

धूम्रपानले फोक्सोलाई मात्र हानि पुर्‍याउँछ भन्ने बुझाइ आमा मान्छेको छ । तर यसले मुटुलाई पनि हानि पुर्‍याउँछ । धूम्रपान गर्ने बानी छ भने त्यो छोड्ने मुटु स्वास्थ्यका लागि समेत धेरै राम्रो हुन्छ । धूम्रपानको दर घटाउनाले शरीरमा खराब कोलेस्टेरोल कम गर्न मद्दत गर्दछ।

तौल नियन्त्रणामा राख्ने

बढ्दो तौलले राम्रो कोलेस्टेरोल कम गर्न सक्छ । यदि धेरै छ भने घटाउने प्रयास गर्नुपर्छ । खानपान तथा व्यायामको सुन्तुलन मिलाउनुपर्छ ।

कोलेस्टेरोरोको अवस्था कस्तो छ भनेर समय–समयमा जाँच गर्नुपर्छ । विशेष गरी युवा उमेर भएपछि कम्तीमा वर्षमा एक पटक लिपिड प्रोफाइल परीक्षण गर्नु राम्रो हुन्छ । यदि उमेर बढी छ भने कुनै समस्या नदेखिँदा पनि वर्षमा २ पटक लिपिड प्रोफाइल जाँच गर्नु राम्रो हुन्छ ।

यसले कोलेस्टेरोल सही राख्न मद्दत गर्छ ।

एचडीएल एलडीएल कोलेस्टेरोल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय