+

हेडफोनदेखि मेसिनको चर्को आवाजसम्म : सुन्ने क्षमतामा स्थायी क्षतिको जोखिम

२०८३ साउन  ७ गते १०:३० २०८३ साउन ७ गते १०:३०

जसरी घामबाट छाला जोगाउँछौँ, त्यसैगरी ठूलो आवाजबाट कान जोगाउनुपर्छ ।

हेडफोनदेखि मेसिनको चर्को आवाजसम्म : सुन्ने क्षमतामा स्थायी क्षतिको जोखिम

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ठूलो आवाजले कानका संवेदनशील कोषिकालाई स्थायी क्षति पुर्‍याउने भएकाले विशेषज्ञहरूले कानको सुरक्षामा विशेष ध्यान दिन सुझाव दिएका छन् ।
  • कानमा समस्या देखिएमा वा टिनिटसको संकेत महसुस भएमा हेलचेक्र्याइँ नगरी समयमै नाक, कान र घाँटी रोग विशेषज्ञसँग परीक्षण गराउनु पर्दछ ।

हामी हरेक दिन हजारौँ आवाज सुन्छौँ । बिहान चराको आवाजदेखि मोबाइलको घन्टी, मानिसको कुराकानी, सवारी साधनको आवाजसम्म हाम्रो कानले निरन्तर काम गरिरहेको हुन्छ । तर यही कानलाई हामीले कति सुरक्षित राखिरहेका छौँ भन्ने विषयमा भने धेरैले ध्यान दिँदैनौँ ।

आँखा कमजोर भएपछि चस्मा लगाउने, दाँत दुखेपछि उपचार खोज्ने मानिसहरू कानको समस्या भने धेरै समयसम्म बेवास्ता गर्ने गर्छन् । तर कानको अवस्था फरक छ । एकपटक कानभित्रका संवेदनशील कोषिकामा गम्भीर क्षति पुगेपछि त्यसलाई पहिलेकै अवस्थामा फर्काउन कठिन हुन्छ ।

नाक, कान तथा घाटी रोग विशेषज्ञ डा. अरुण केसी भन्छन्, ‘सुन्ने क्षमता हाम्रो जीवनसँग जोडिएको महत्वपूर्ण पक्ष हो । तर मानिसहरूले कानलाई त्यति प्राथमिकता दिएको देखिँदैन । ठूलो आवाजबाट भएको क्षति धेरैपटक स्थायी हुन सक्छ, त्यसैले समस्या भएपछि उपचारभन्दा पहिले सुरक्षा महत्वपूर्ण हुन्छ ।’

नाक, कान तथा घाटी रोग विशेषज्ञ डा. अरुण केसी

पछिल्लो समय कानको समस्या उमेर पुगेका मानिसमा मात्र होइन, युवापुस्ता र बालबालिकामा समेत देखिन थालेको चिकित्सकहरू बताउँछन् । लामो समयसम्म हेडफोन प्रयोग गर्ने, ठूलो आवाजमा गीत सुन्ने, मोबाइल र अन्य उपकरणको अत्यधिक प्रयोग गर्ने बानीले नयाँ पुस्तामा सुनाइ कमजोर हुने जोखिम बढाएको छ ।

विशेषज्ञहरूका अनुसार ठूलो आवाजको असर तत्काल देखिनैपर्छ भन्ने हुँदैन । कतिपय अवस्थामा वर्षौँसम्म कुनै लक्षण नदेखिए पनि विस्तारै कानभित्रको संरचनामा क्षति भइरहेको हुन सक्छ ।

कानले बाहिरको आवाज कसरी मस्तिष्कसम्म पुर्‍याउँछ ?

हामीले सुन्ने प्रक्रिया निकै जटिल हुन्छ । बाहिरबाट आएको आवाजको तरंग पहिले कानको बाहिरी भाग हुँदै भित्र प्रवेश गर्छ । त्यसपछि कानको पर्दामा कम्पन पैदा हुन्छ । यही कम्पन मध्य कान हुँदै भित्री कानसम्म पुग्छ ।

भित्री कानमा रहेको ‘कक्लिया’ नामक संरचनाभित्र हजारौँ साना रौँजस्ता कोषिका हुन्छन् । यी कोषिकाले आवाजको कम्पनलाई विद्युतीय संकेतमा परिवर्तन गर्छन् । त्यसपछि श्रवण स्नायुमार्फत ती संकेत मस्तिष्कसम्म पुग्छन् र हामीले आवाजलाई बुझ्छौँ । तर समस्या के हो भने यी साना कोषिका अत्यधिक आवाज सहन नसक्ने हुन्छन् ।

कानभित्र रहेका यी संवेदनशील भागलाई हामीले जोगाउनुपर्ने अर्का नाक कान घाटी रोग विशेषज्ञ डा. ओम प्रकाश यादव बताउँछन् । बाहिरबाट हेर्दा कान सामान्य देखिए पनि भित्र निकै नाजुक संरचना हुने उनको भनाइ छ ।

नाक कान घाटी रोग विशेषज्ञ डा. ओम प्रकाश यादव

ठूलो आवाजले यी कोषिकामा चोट पुर्‍याउन सक्छ । सुरुमा केही समय कान बन्द भएको जस्तो लाग्न सक्छ, कानमा आवाज आउन सक्छ वा कम सुनिएजस्तो हुन सक्छ ।

तर पटक–पटक यस्तो अवस्था दोहोरिँदा स्थायी असर पर्न सक्छ ।

मानिसको कानभित्र भएका श्रवणसम्बन्धी कोषिका जन्मदेखि नै निश्चित संख्यामा हुन्छन् । एकपटक नष्ट भएपछि ती सजिलै पुनः विकास हुँदैनन् । त्यसैले, कानको सुरक्षा नै सबैभन्दा प्रभावकारी उपाय भएको डा. यादव बताउँछन् ।

केही मिनेटमै सुरु हुन सक्छ असर

धेरै मानिसलाई ठूलो आवाज भन्नासाथ विस्फोट, पटाका वा रक कन्सर्ट मात्र सम्झिन्छन् । तर हाम्रो दैनिक जीवनका धेरै गतिविधिले पनि कानमा असर गरिरहेका हुन्छन् ।

डिजे, लाउडस्पिकर, ठूलो आवाजको संगीत कार्यक्रम, खेल मैदान वा भीडभाड भएको ठाउँमा लामो समय बस्दा कानमा दबाब पर्न सक्छ । विशेषज्ञहरूका अनुसार धेरै ठूलो आवाज भएको ठाउँमा केही मिनेटमै कानको भित्री भागमा असर सुरु हुन सक्छ । विशेषगरी लगातार ठूलो आवाजमा बस्दा जोखिम बढ्छ ।

‘मानिसहरू मनोरञ्जनका लागि ठूलो आवाज भएको ठाउँमा जान्छन् तर कानले त्यो आवाज कति समयसम्म सहन सक्छ भन्ने सोच्दैनन्’ डा. यादव भन्छन्।

उनका अनुसार ठूलो आवाज भएको कार्यक्रममा जानैपर्ने अवस्था भए कानलाई सुरक्षित राख्ने उपाय अपनाउनुपर्छ । जसरी घामबाट बच्न छाला जोगाउँछौँ, त्यसैगरी ठूलो आवाजबाट कान जोगाउनु पर्ने उनको सुझाव छ ।

हेडफोन : सुविधा कि जोखिम ?

आज हेडफोन र इयरफोन हाम्रो जीवनको हिस्सा बनेको छ । कार्यालयको काम, अनलाइन पढाइ, यात्रा, गीत सुन्ने वा भिडियो हेर्न सबैका लागि मानिसहरू घण्टौँसम्म कानमा उपकरण लगाएर बस्छन् ।

समस्या हेडफोन प्रयोग गर्नुमा मात्र होइन, त्यसको आवाजको मात्रा र प्रयोग गर्ने समयसँग जोडिएको हुन्छ । नाक, कान घाँटी रोग विशेषज्ञ डा. ओम प्रकाश यादव भन्छन्, ‘कानमा लगातार ठूलो आवाज पठाउनु भनेको संवेदनशील अंगलाई निरन्तर दबाब दिनु हो । सुरुमा केही महसुस नहुन सक्छ, तर लामो समयपछि यसको असर देखिन सक्छ ।’

लामो समय हेडफोन प्रयोग गरेका कारण पछिल्लो समय बालबालिका र किशोरकिशोरीमा समेत सुनाइसम्बन्धी समस्या देखिन थालेको विशेषज्ञहरू बताउँछन् । बालबालिकामा परिवारले थाहा नपाउँदै सुनाइ कमजोर भएको पाइएको छ ।

व्यक्तिगत श्रवण उपकरण र ठूलो आवाजका कारण विश्वभर ३५ वर्षभन्दा कम उमेरका धेरै व्यक्तिमा समयअगावै सुनाइ कमजोर हुने जोखिममा रहेको अनुमान गरिएको छ ।

त्यसोभए, आवाज सुरक्षित छ कि छैन कसरी थाहा पाउने ?

धेरै मानिस आफ्नो हेडफोनको आवाज सुरक्षित सीमाभित्र छ कि छैन भन्ने थाहा पाउँदैनन् । यसका लागि एउटा सामान्य नियम अपनाउन सकिन्छ ।
यदि हेडफोन लगाएर बस्दा छेउमा रहेको व्यक्तिसँग सामान्य आवाजमा कुरा गर्न सक्नुहुन्छ भने आवाज धेरै ठूलो नहुन सक्छ । तर उसले बोल्न चिच्याउनुपर्ने अवस्था छ भने आवाज अत्यधिक ठूलो भएको बुझ्नुपर्ने डा. यादवको भनाइ छ ।

हेडफोन प्रयोग गर्दा आवाज कम राख्ने र बीच–बीचमा कानलाई आराम दिने बानी सबैभन्दा राम्रो सुरक्षा उपाय भएको डा. केसी बताउँछन् । मोबाइल र अन्य उपकरणमा अहिले आवाज नियन्त्रण गर्ने सुविधा पनि हुन्छ । त्यस्तो सुविधा प्रयोग गर्न चिकित्सकहरू सुझाव दिन्छन् ।

किन बालबालिकाको कानमा विशेष ध्यान दिनुपर्छ ?

पहिले सुनाइ कमजोर हुने समस्या उमेर बढ्दै गएपछि मात्र देखिने गर्छ भन्ने धारणा थियो । तर अहिले परिस्थिति बदलिएको छ । सानै उमेरदेखि मोबाइल, ट्याबलेट, अनलाइन कक्षा र हेडफोनको प्रयोग बढेसँगै बालबालिका र किशोरकिशोरीमा समेत कानको स्वास्थ्य चुनौती बन्दै गएको छ ।

बालबालिकाले ठूलो आवाजमा भिडियो हेर्ने, गेम खेल्ने वा लामो समय हेडफोन लगाउने बानी बसाले भने त्यसको असर विस्तारै देखिन सक्छ ।

‘बच्चाले राम्रोसँग नसुन्दा उसले प्रतिक्रिया नदिएको मात्र होइन, उसको सिकाइ प्रक्रिया पनि प्रभावित हुन सक्छ’ डा. ओम प्रकाश यादव भन्छन्, ‘भाषा विकास, पढाइ र सामाजिक व्यवहारमा समेत यसको असर पर्न सक्छ ।’

बच्चाले बोलाउँदा पटक–पटक नसुन्ने, टेलिभिजनको आवाज धेरै ठूलो बनाउने, धेरै नजिक गएर आवाज सुन्न खोज्ने वा विद्यालयमा शिक्षकले भनेको कुरा बुझ्न कठिन हुने अवस्था देखिएमा अभिभावकले ध्यान दिनुपर्छ ।

सुनाइसम्बन्धी समस्या भएका कतिपय बालबालिकामा व्यवहार परिवर्तन पनि देखिन सक्छ । उनीहरू चुप लाग्ने, कुराकानीबाट टाढा रहने वा ध्यान नदिएको जस्तो देखिन सक्छन् ।

त्यसैले, बच्चाको कानमा समस्या छ कि छैन भन्ने कुरा समयमै पहिचान गर्नु महत्वपूर्ण हुन्छ ।

कानमा घण्टी बज्नु सामान्य होइन

कतिपय मानिसलाई शान्त वातावरणमा बस्दा कानभित्र घण्टी बजेजस्तो वा आवाज आएजस्तो महसुस हुन्छ । यसलाई धेरैले सामान्य ठान्छन् । तर लामो समयसम्म यस्तो समस्या रहिरहेमा ध्यान दिनुपर्छ ।

चिकित्सकीय भाषामा यसलाई ‘टिनाइटस’ भनिन्छ ।

विशेषगरी ठूलो आवाज सुनेपछि कानमा लगातार आवाज आउन थालेको छ भने त्यो कानमा परेको असरको संकेत हुनसक्छ । डा. अरुण शाही भन्छन्, ‘ठूलो आवाजको सम्पर्कपछि केही समय कान बज्नु वा सुनाइ कम हुनु भयो भने त्यसलाई सामान्य ठानेर छोड्नु हुँदैन । बारम्बार यस्तो भए कानको परीक्षण आवश्यक हुन्छ ।’

‘टिनाइटस’ आफैँ रोग नभए पनि यो कानभित्र भएको कुनै समस्या, श्रवण क्षति वा अन्य अवस्थाको संकेत हुन सक्छ । अचानक सुनाइ हराउनु आपतकालीन अवस्था हुनसक्छ । 

धेरै मानिसलाई कान बन्द भयो भने केही समयपछि आफैँ ठीक हुन्छ भन्ने लाग्छ । तर अचानक एउटा कानले सुन्न छाड्नु वा सुनाइ निकै कम हुनु गम्भीर अवस्था हुन सक्छ । कहिलेकाहीँ केही घण्टा वा केही दिनभित्र अचानक सुनाइ कम हुन सक्छ । यस्तो अवस्थामा ढिला नगरी चिकित्सकको सल्लाह लिनुपर्छ ।

अचानक सुनाइ कम हुनु सामान्य कान बन्द भएको अवस्था मात्र नहुन सक्छ । समयमै उपचार सुरु भए सुधारको सम्भावना राम्रो हुने डा. केसी बताउँछन् ।

त्यसैले, अचानक सुनाइमा परिवर्तन आएमा घरमै बसेर पर्खिनुभन्दा विशेषज्ञसँग जाँच गराउनु राम्रो हुन्छ ।

मेसिनको आवाज पनि कानका लागि खतरा

कान बिगार्ने आवाज केवल गीत–संगीत मात्र होइन । धेरै मानिसले काम गर्ने ठाउँमा पनि निरन्तर ठूलो आवाजको सामना गरिरहेका हुन्छन् । कारखानाका मेसिन, निर्माण क्षेत्रमा प्रयोग हुने उपकरण, घाँस काट्ने मेसिन, इलेक्ट्रिक आरा वा अन्य ठूलो आवाज निकाल्ने उपकरणले कानमा असर पुर्‍याउन सक्छन् ।

यस्ता काम गर्ने मानिसले कानको सुरक्षालाई प्राथमिकता दिनुपर्छ । डा. अरुण भन्छन्, ‘कामको क्रममा कानमा लगातार ठूलो आवाज परिरहेको छ भने भविष्यमा सुनाइ कमजोर हुने जोखिम बढ्छ । त्यसैले, सुरक्षाका उपकरण प्रयोग गर्नु आवश्यक हुन्छ ।’

इयरप्लग वा कान ढाक्ने सुरक्षा उपकरणले आवाजको मात्रा घटाउन मद्दत गर्छ ।

यात्रा गर्दा कान कसरी जोगाउने ?

लामो यात्रा गर्दा धेरै मानिस गाडीको झ्याल खोलेर हावा खाँदै यात्रा गर्न रुचाउँछन् । तर तीव्र गतिमा चलिरहेको सवारी साधनभित्र आउने हावाको आवाज पनि कानका लागि हानिकारक हुन सक्छ ।

विशेषगरी मोटरसाइकल चालकहरूमा यस्तो जोखिम बढी हुन्छ ।

लामो समयसम्म इन्जिनको आवाज र हावाको दबाब कानमा परिरहँदा विस्तारै सुनाइमा असर पर्न सक्छ । मोटरसाइकल चलाउनेहरूले कानको सुरक्षामा ध्यान दिन हेल्मेट लगाउने मात्र नभई, कानमा पर्ने आवाजको असरबारे पनि सोच्नुपर्ने डा. ओम प्रकाश यादव बताउँछन् ।

तर कान पूर्णरूपमा बन्द गर्ने उपकरण प्रयोग गर्दा वरपरका महत्वपूर्ण आवाज नसुनिने जोखिम हुन सक्छ । त्यसैले सुरक्षित र उपयुक्त उपकरण छनोट गर्नुपर्ने उनको भनाइ छ ।

कान सफा गर्ने नाममा गल्ती नगरौं

प्रा.डा. दिपेन्द्र श्रेष्ठ
नाक, कान घाँटी रोग विशेषज्ञ

कानमा मैलो जम्यो भनेर धेरै मानिस कटन बड वा अन्य वस्तु प्रयोग गर्छन् । तर यस्तो बानीले कानलाई फाइदा होइन, हानि पुर्‍याउन सक्छ । कान आफैँ सफा हुने प्राकृतिक प्रणाली भएको अंग हो । कानमा बन्ने मैलोले धुलो, जीवाणु र बाहिरी पदार्थबाट सुरक्षा दिने काम गर्छ । तर कटन बड वा अन्य वस्तु कानभित्र हाल्दा मैलो बाहिर निस्कनुको सट्टा अझ भित्र धकेलिन सक्छ ।

यसले कान बन्द भएको महसुस हुने, सुनाइ कम हुने, संक्रमण हुने दुखाइ वा असहजता हुने जस्ता समस्या ल्याउन सक्छ । कान सफा गर्ने नाममा कानभित्र गहिरोसम्म केही पनि हाल्ने, कोट्याउने गर्नु हुँदैन । समस्या भए चिकित्सकबाट सफा गराउनु सुरक्षित हुन्छ ।

सुनाइ परीक्षण पनि आवश्यक

धेरै मानिस कानको परीक्षण गर्न आवश्यक ठान्दैनन् । जबसम्म ठूलो समस्या आउँदैन, उनीहरू जाँच गराउन जाँदैनन् । तर सुनाइ कमजोर हुने समस्या जुनसुकै उमेरमा सुरु हुन सक्छ ।

यी अवस्थामा परीक्षण गराउनु उचित हुन्छ

– आवाज बुझ्न समस्या हुन थालेमा

– मानिसले बोलेको कुरा दोहोर्‍याउन लगाउनुपर्ने भए

– कानमा लगातार आवाज आएमा

– एउटा कानले अर्कोभन्दा कम सुनेमा

– ठूलो आवाजमा काम गर्ने भए

– बच्चाको बोली विकासमा ढिलाइ भए

डा. श्रेष्ठ भन्छन्, ‘कानको समस्या गम्भीर भएपछि मात्र होइन, सुरुवाती संकेत देखिएदेखि नै ध्यान दिनुपर्छ ।’

हेडफोन प्रयोग गर्दा ‘६०–६० नियम’

कान सुरक्षित राख्न चिकित्सकहरूले एउटा सरल नियम अपनाउन सुझाव दिन्छन् ।

त्यो हो, ६०–६० नियम

– आवाज ६० प्रतिशतभन्दा बढी नराख्ने

– लगातार ६० मिनेटभन्दा बढी हेडफोन प्रयोग नगर्ने

– त्यसपछि केही समय कानलाई आराम दिने

यसले कानमा पर्ने निरन्तर दबाब कम गर्न मद्दत गर्छ ।

त्यस्तै, सुत्ने बेला हेडफोन लगाएर सुत्ने बानी पनि राम्रो होइन । लामो समयसम्म कान बन्द अवस्थामा राख्दा संक्रमण र अन्य समस्या बढ्न सक्छ ।

कान सुनाइ हेडफोन
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हेडफोनदेखि मेसिनको चर्को आवाजसम्म : सुन्ने क्षमतामा स्थायी क्षतिको जोखिम

हेडफोनदेखि मेसिनको चर्को आवाजसम्म : सुन्ने क्षमतामा स्थायी क्षतिको जोखिम

रोगबाट बच्न भान्सालाई स्वस्थ राख्ने १० सजिलो तरिका

रोगबाट बच्न भान्सालाई स्वस्थ राख्ने १० सजिलो तरिका

प्रत्यारोपण गर्ने अस्पतालमा किन आवश्यक छ रक्त बैंक र ट्रान्सफ्युजन मेडिसिन सेवा ?

प्रत्यारोपण गर्ने अस्पतालमा किन आवश्यक छ रक्त बैंक र ट्रान्सफ्युजन मेडिसिन सेवा ?

कुन भिटामिनको कमी हुँदा हाम्रो शरीरले कस्तो संकेत देखाउँछ ?

कुन भिटामिनको कमी हुँदा हाम्रो शरीरले कस्तो संकेत देखाउँछ ?

गोरो बनाउने क्रिमको अँध्यारो पाटो : करोडौंको स्वास्थ्य जोखिम

गोरो बनाउने क्रिमको अँध्यारो पाटो : करोडौंको स्वास्थ्य जोखिम

भारतमा पहिलो पटक डेंगु विरुद्धको खोपले पायो अनुमति

भारतमा पहिलो पटक डेंगु विरुद्धको खोपले पायो अनुमति