News Summary
Generated by OK AI. Editorially reviewed.- वीर अस्पतालमा कक्लियर इम्प्लान्ट सेवा सुरु भए पनि १३ लाख खर्चमा ६ लाख सरकारले दिने र बाँकी ७ लाख बिरामीले तिर्नुपर्ने भएकाले धेरै बिरामी उपचारबाट वञ्चित छन्।
- जनचेतनाको अभाव र ढिलो निदानका कारण नेपालका ग्रामीण क्षेत्रका धेरै बालबालिकाले कक्लियर इम्प्लान्टको सेवा नपाउने अवस्था छ।
वीर अस्पतालको नाक, कान, घाँटी रोग विभाग । बिहान १० बज्दैछ । डा. रवि सुवालको टेबलमा फाइलहरूको थुप्रो छ । उनी भर्खरै महेन्द्रनगरबाट आएकी एक आमासँग कुरा गरेर फर्किएका छन् ।
दुई वर्षको बच्चा काखमा च्यापेकी ती आमा रोइरहेकी थिइन् । त्यो बच्चा जन्मजात कान सुन्दैन । कक्लियर इम्पालन्ट गर्न सके बच्चाले कान सुन्न सक्छ । ‘उनी सुरुमा कुरा सुन्दा उत्साहित देखिन्थिन् । तर जब मैले कुल खर्च १३ लाख जति लाग्छ, सरकारले ६ लाख दिन्छ, बाँकी ७ लाख आफैं व्यवस्था गर्नुपर्छ भनेर सुनाएँ उनको अनुहारको रङ उड्यो, ’नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. सुवालले सुनाए ।
‘खान बस्न त धौधौ पर्ने स्थिति छ । ७ लाख कहाँबाट ल्याउने ?’ उनले उल्टै प्रश्न गरिन् । प्रत्यारोपण गर्ने त टाढाको कुरा । उनीसँग एमआरआई र सीटिस्क्यान गर्नका लागि पनि पैसा थिएन ।
श्रीमानले आफू र बच्चालाई नहेर्ने, माइती सहयोगले बच्चालाई काठमाडौं ल्याएको ती महिलाले सुनाएको डा. सुवाल बताउँछन् । उनलले जति सम्झाए पनि, पैसाको कुरा सुनेर उनी रोएरै फर्किइन् ।
त्यस्तै, रोल्पाकी १० वर्षीया बालिका, सुस्मा घर्ती मगर । आमाले जतिसुकै बोलाए पनि उनी फर्केर हेर्दिनन् । गाउँको स्वास्थ्य चौकीले ‘अलि ठूलो भएपछि आफैं सुन्न थाल्छे’ भनेर पठायो । अन्ततः केही सीप नलागे पछि बुबाआमा छोरीलाई बोकेर काठमाडौं आए ।
वीर अस्पताल पुगेर परीक्षण गरे । परीक्षणको रिपोर्ट आयो- गम्भीर श्रवणहानि । एक मात्र विकल्पः कक्लियर इम्प्लान्ट, जसको उपचारका लागि ठूलै रकम लाग्ने भयो ।
बुबाको हात काँप्यो । उनले चिकित्सकलाई एक वाक्य मात्र भने, ‘डाक्टर साब, हामी खेती र ज्यालामजदुरी गरेर वर्षमा तीन–चार लाख कमाउँछौं । यत्रो पैसा कहाँबाट ल्याउने ?’
तर अन्तमा परिवार हार मान्यो र गाउँ फर्कियो । उपचार गरेर छोरीलाई कान सुन्ने बनाउँला भन्ने उनीहरूको आशा हरायो । नेपालमा यसअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मात्र यो सेवा थियो । यही कारण उपचार गर्न सक्षम भए पनि धेरै बिरामी भारत जान बाध्य थिए । अब वीरमा नियमित सेवा सुरु भएपछि भारत जाने बाध्यता हट्ने अपेक्षा थियो । तर शुल्क महँगो हुँदा उपचारबाट बन्चित छन्, बिरामी ।
बुझ्न धेरै हुन्छन्, आउने शून्य जत्तिकै
वीरमा हाल ‘कक्लियर इप्लान्ट’ प्रत्यारोपण इएनटी विषेशषज्ञ डा.रवि सुवालले गरिरहेका छन् । माथिका घटना स्मरण गर्दै उनी भन्छन्, ‘हरेक साता यस्तै २–३ वटा यस्तो घटना दोहोरिन्छन् ।
उनका अनुसार हरेक महिना इम्प्लान्ट आवश्यक पर्ने ८–१० जना बिरामी आउँछन् । तर, सेवा सुरु भएको एक वर्ष बितिसक्दा जम्मा सातवटा मात्र इम्प्लान्ट गरेको डा.सुवाल सुनाउँछन् । प्रत्यारोपण मन भएर पनि पैसा जुटाउन नसक्ने भएकाले उसै फर्किन्छन्।
जन्मजात कान नसुन्ने वा पछि कुनै समस्या आएर सुन्ने क्षमता गुमेकाहरूका लागि श्रवण क्षमता दिने सानो विद्युतीय उपकरण हो कक्लियर इम्पालान्ट ।
यो कानको भित्री भागमा राखिन्छ । कानका बाहिरी, मध्य र भित्री भाग गरी तीन भाग हुन्छन् । कानको भित्री भागमा कक्लिया हुन्छ । कक्लियाको सुनाइ भाग वा त्यहाँ रहेका कोषले काम नगरेर सुनिँदैन ।
यो उपकरणले भने काम नगर्ने कोषलाई हटाएर बाहिरबाट आएको ध्वनि ‘मेकानिकल इनर्जी’लाई इलेक्ट्रिक इनर्जीमा परिवर्तन गरेर नसालाई तरंगित गरी मस्तिष्कसम्म पुर्याउने काम गर्छ र हामी सुन्छौँ ।
जन्मँदै वा अन्य विविध कारणले कक्लियाले काम गरेन भने मानिसमा सुन्ने क्षमता हुँदैन । यस्तो अवस्थामा थुप्रै केसमा ‘कक्लियर इम्प्लान्ट’ राखेर सुन्न सक्ने बनाउन मिल्ने डा. सुवाल बताउँछन् ।
श्रवणशक्ति कम भएर उपचारमा आउने धेरै बिरामी कक्लियर इम्प्लान्टको उपचार आवश्यक हुने खालका हुने गर्छ ।
डा.सुवालका अनुसार २ वर्षभन्दा कम उमेरमा इम्प्लान्ट गरे बच्चा सामान्यजस्तै बोल्न सक्छ । ४ वर्ष नाघेपछि सुन्ने क्षमता फर्किए पनि बच्चाले उस्तै बोल्न सक्ने सम्भावना घट्छ ।
करिब ७ वर्षको उमेर सम्ममा मस्तिष्कको नयाँ विकास गर्ने क्षमता (न्युरल प्लाष्टिसिटी) गुमाइसक्ने हुन्छ । यसकारण ७ वर्षको उमेरपछि शल्यक्रिया गरी सुन्ने क्षमता फर्काउन सके पनि बोलीको विकास राम्रो नहुन सक्छ ।
तर, जन्मजात समस्या नभई उमेर बढेपछि कुनै समस्या आएको खण्डमा श्रवणशक्ति गुमेकोमा पनि यो प्रत्यारोपण सफल हुने चिकित्सक बताउँछन् ।
महँगो प्रविधि : सबैभन्दा ठूलो समस्या
एउटा कोक्लियर इम्प्लान्टको कुल खर्च करिब १३ लाख रुपैयाँ लाग्छ । त्यसमा सरकारले प्रत्यारोपणका लागि ६ लाख र त्यस पछिको थेरापीका लागि ५० हजार अनुदान दिन्छ । बाँकी ७ लाख बिरामी आफैंले बेहोर्नुपर्छ ।
वर्षमा स्वास्थ्य मन्त्रालयबाट १२ जनाका लागि मात्र यो अनुदान आउने वीर अस्पतालकी इएनटी विभाग प्रमुख डा.अनिता जीसीले जानकारी दिइन् ।
‘गत वर्ष ६–७ वटा गर्यौं । यो वर्ष पनि उस्तै होला’ डा.जिसी भन्छिन्, ‘बिरामी धेरै आउँछन् बुझ्न, तर पैसाको कुरा सुन्नासाथ
फर्किहाल्छन् । हिजो मात्र एकजना आउनुभएको थियो, पैसा धेरै लाग्छ भनेर फर्किनुभयो ।’
वीरमा आउने अधिकांश निम्न वर्गका हुने उनी बताउँछिन् । ‘सरकारले ६ लाख दिए पनि बाँकी ७ लाख उनीहरूलाई पहाडजस्तै लाग्छ’ डा. जिसी भन्छिन्, ‘जनचेतनाको अभाव त छँदैछ, तर मुख्य समस्या पैसा हो ।’
यसमा सर्जरीपछि पनि खर्चहरू भइरहन्छ । स्पिच थेरापी, नियमित फलोअप, काठमाडौं आउजाउ, बसोबास आदि । एक निम्न आय भएको परिवारका लागि यो असम्भवजस्तै बनिरहेको डा. रवि बताउँछन् ।
यो उपचार पूर्णरुपमा निःशुल्क गर्न सकिँदैन त ? यसका लागि प्रयास भइरहेको डा.अनिता बताउँछिन् ।
‘सरकारले टिचिङ अस्पताललाई ६ लाख दिन्थ्यो, त्यही आधारमा हामीलाई पनि दिने निर्णय भयो’ डा.अनिता भन्छिन्, ‘निःशुल्क गर्न पहल त गरिरहेका छौं, तर अहिले बजेट छैन भन्ने जवाफ आउँछ ।’ सेवा भर्खरै सुरु भएकाले पछि यो नि:शुल्क हुनसक्ने आशा उनको छ ।
करिब आधा शुल्क सरकारले व्यहोर्ने हुँदा केही राहत भए पनि आँट गरेर शल्यक्रिया गराइहाल्ने अवस्था अधिकांश ओपिडिमा आउनेहरूमा नदेखिएको डा.सुवाल बताउँछन् ।
जनचेतनाको अभाव र ढिलो निदान समस्या
पैसाको अभाव मात्र नभई जनचेतनाको कमीले गर्दा पनि कक्लियर इम्प्लान्ट के हो भन्ने थाहै नहुने डा.सुवाल बताउँछन् ।
‘नेपालमा हजारौं बालबालिका सुन्ने–बोल्ने अवसरबाट वञ्चित छन्’ उनी भन्छन्, ‘कक्लियर इम्प्लान्टले उनीहरूलाई सामान्य जीवन दिन सक्छ । तर आर्थिक र चेतनाको अभावले सेवा लिनेको कमी छ ।’
परिस्थिति यस्तै रहेमा यो प्रविधि भोलिका दिनमा वीर अस्पतामा त्यत्तिकै थन्किने अवस्था आउला कि भन्ने चिन्ता व्यक्त गर्छन् डा.सुवाल ।
नेपालका ७० प्रतिशतभन्दा बढी ग्रामीण क्षेत्रमा कक्लियर इम्प्लान्ट के हो भन्ने थाहै नभएको उनको जिकिर छ । उनका अनुसार धेरैजसो अभिभावकले यो कानमा तार झुण्ड्याउने प्रविधि भन्ने बुझ्ने गरेका छन् । यो लगायो भने बच्चा रोबोटजस्तै हुन्छ, वा जीवनभर ब्याट्री चाहिन्छ भन्ने बुझ्ने गर्छन् ।
तर, यो पूरै भित्री कानमा राखिन्छ, बाहिर सानो प्रोसेसर मात्र देखिन्छ जुन हेयरक्लिपजस्तै हुन्छ । यो २ वर्षभन्दा कम उमेरमा लगाए ९५ प्रतिशत बच्चा सामान्य रुपमै फर्किन्छन् ।
कानको समस्या भएर बोली नआएको बच्चालाई उमेर भएपछि बोल्छ भनेर राख्दाराख्दै बहिरोपनको शिकार भइरहेको डा.सुवाल बताउँछन् ।
प्रतिक्रिया 4