News Summary
Generated by OK AI. Editorially reviewed.- स्याग्रेन्स सिन्ड्रोम आँखा र मुखको ग्रन्थीमा असर गर्ने एक स्वप्रतिरक्षी रोग हो, जसलाई सामान्य सुख्खापन सम्झेर बेवास्ता गर्नु हुँदैन।
बारम्बार आँखा पोल्ने, मुख सुक्ने वा पटक–पटक पानी पिउनुपर्ने समस्या धेरैले सामान्य ठान्छन् । तर यस्ता लक्षण लामो समयसम्म रहिरहे, त्यससँगै अत्यधिक थकान, जोर्नी दुख्ने वा छाला सुख्खा हुने समस्या पनि देखिए, यो स्याग्रेन्स सिन्ड्रोम नामक स्वप्रतिरक्षी रोगको संकेत हुन सक्छ ।
समयमै रोग पहिचान गरेर उपचार सुरु गर्न सके आँखा, मुख तथा शरीरका अन्य महत्वपूर्ण अंगमा हुने जटिलताबाट बच्न सकिन्छ ।
हरेक वर्ष विश्व स्याग्रेन्स दिवस मनाएर स्याग्रेन्स सिन्ड्रोमबारे जनचेतना फैलाउने प्रयास गरिन्छ । यो दिवसले धेरै मानिसलाई असर गर्ने तर अझै पनि पर्याप्त रूपमा पहिचान हुन नसकेको एक महत्वपूर्ण अटोइम्युन रोगबारे जानकारी दिने अवसर प्रदान गर्छ ।
स्याग्रेन्स सिन्ड्रोम यस्तो स्वप्रतिरक्षी रोग हो, जसमा शरीरको प्रतिरक्षा प्रणालीले आफ्नै शरीरका केही ग्रन्थीमाथि आक्रमण गर्छ । विशेषगरी आँसु उत्पादन गर्ने ग्रन्थी र थुक उत्पादन गर्ने ग्रन्थी प्रभावित हुँदा आँखा र मुख अत्यधिक सुख्खा हुने समस्या देखिन्छ । तर स्याग्रेन्स सिन्ड्रोम केवल आँखा र मुख सुक्ने रोग मात्र होइन । यसले शरीरका अन्य विभिन्न अंगहरूमा पनि असर गर्न सक्छ ।
स्याग्रेन्स सिन्ड्रोमको मुख्य लक्षणहरू
–आँखा सुख्खा हुने, पोल्ने वा आँखाभित्र केही परेको जस्तो महसुस हुने ।
–मुख सुख्खा हुने र पटक–पटक पानी पिउनुपर्ने ।
–मुख सुख्खा भएकै कारण दाँत छिट्टै बिग्रिने ।
–लामो समयसम्म रहने अत्यधिक थकान ।
–जोर्नी दुख्ने वा सुन्निने ।
–छाला सुख्खा हुने ।
–महिलामा योनि सुख्खा हुने ।
केही बिरामीमा यो रोगले आँखा, फोक्सो, मिर्गौला, स्नायु प्रणाली तथा रगतसँग सम्बन्धित अंगहरूमा पनि असर गर्न सक्छ ।
कसलाई बढी हुन्छ ?
स्याग्रेन्स सिन्ड्रोम पुरुषको तुलनामा महिलामा धेरै देखिन्छ । विशेषगरी मध्यम उमेरपछि यसको जोखिम बढी हुन्छ । यद्यपि यो रोग जुनसुकै उमेरका महिला वा पुरुषमा पनि हुन सक्छ ।
सामान्य सुख्खापन र स्याग्रेन्स सिन्ड्रोमबीचको फरक
कहिलेकाहीँ मौसम परिवर्तन, पर्याप्त पानी नपिउनु, केही औषधिको असर वा अन्य कारणले पनि आँखा र मुख सुख्खा हुन सक्छ । तर यदि यस्तो समस्या लामो समयसम्म रहिरहन्छ र त्यससँगै अत्यधिक थकान, जोर्नी दुख्ने वा अन्य स्वप्रतिरक्षी रोगसँग मिल्ने लक्षणहरू पनि देखिन्छन् भने स्याग्रेन्स सिन्ड्रोमको सम्भावना मूल्यांकन गराउनुपर्छ ।
कसरी गरिन्छ निदान ?
स्याग्रेन्स सिन्ड्रोमको निदान कुनै एउटै परीक्षणबाट सम्भव हुँदैन । बिरामीका लक्षण, शारीरिक परीक्षण तथा विभिन्न प्रयोगशाला परीक्षणको आधारमा रोगको पहिचान गरिन्छ ।
प्रमुख परीक्षणहरू
–एएनए ‘एन्टिन्युक्लियर एन्टिबडी’
–एन्टि–रो÷एसएसए एन्टिबडी
–एन्टि–ला÷एसएसबी एन्टिबडी
–रुमाटोइड फ्याक्टर
–कम्प्लिमेन्टको स्तर
–शिर्मर परीक्षण : ‘आँसु उत्पादनको मात्रा जाँच्ने परीक्षण’
–आवश्यकता अनुसार थुक उत्पादन गर्ने ग्रन्थीको सानो तन्तु परीक्षण ‘बायोप्सी’
उपचार र व्यवस्थापन
हालसम्म स्याग्रेन्स सिन्ड्रोमलाई पूर्ण रूपमा निको पार्ने निश्चित उपचार उपलब्ध छैन । तर समयमै उपचार सुरु गरेर र नियमित चिकित्सकीय निगरानीमा रहेर लक्षण नियन्त्रण गर्न तथा जटिलता कम गर्न सकिन्छ।
उपचार बिरामीको अवस्था र रोगको गम्भीरताअनुसार फरक–फरक हुन्छ । आँखा सुख्खा भए कृत्रिम आँसु ‘आर्टिफिसियल टियर्स’ तथा आवश्यक आँखामा हाल्ने औषधि प्रयोग गरिन्छ ।
मुख सुख्खा भए पर्याप्त पानी पिउने, कृत्रिम थुक ‘सलाइभा सब्स्टिच्युट’ प्रयोग गर्ने तथा दाँत र मुखको राम्रो हेरचाह गर्न सल्लाह दिइन्छ । रोगले शरीरका अन्य अंगहरूमा असर गरेको अवस्थामा हाइड्रोक्सिक्लोरोक्विन लगायत प्रतिरक्षा प्रणालीलाई सन्तुलित बनाउने औषधिहरू प्रयोग गर्न सकिन्छ।
समयमै पहिचान किन आवश्यक छ ?
स्याग्रेन्स सिन्ड्रोमका सुरुवाती लक्षण सामान्य जस्तो देखिने भएकाले धेरै बिरामीमा यसको पहिचान ढिलो हुन सक्छ । लामो समयसम्म उपचार नपाउँदा आँखा, दाँत, फोक्सो, मिर्गौला तथा अन्य अंगमा गम्भीर समस्या आउन सक्छ ।
त्यसैले लामो समयदेखि आँखा वा मुख सुख्खा हुने, असामान्य थकान हुने वा स्वप्रतिरक्षी रोगसँग मिल्ने अन्य लक्षण देखिएमा सम्बन्धित विशेषज्ञ चिकित्सकसँग परामर्श लिनु आवश्यक हुन्छ ।
विश्व स्याग्रेन्स दिवसको सन्देश
‘आँखा र मुखको सुख्खापनलाई सामान्य समस्या भनेर बेवास्ता नगरौँ । समयमै रोगको पहिचान, सही उपचार र नियमित निगरानीबाट स्याग्रेन्स सिन्ड्रोम भएका व्यक्तिले पनि स्वस्थ, सक्रिय र गुणस्तरीय जीवन बिताउन सक्छन् ।’
प्रतिक्रिया 4