News Summary
Generated by OK AI. Editorially reviewed.- हिन्दु, बौद्ध र मुस्लिम धर्मका अगुवाले अंगदानमा कुनै धार्मिक बाधा नरहेको र जीवन बचाउनु ठूलो पुण्यको काम भएको स्पष्ट पारेका छन् ।
- नेपालमा वर्षेनी करिब तीन हजार मिर्गौला र एक हजार कलेजो प्रत्यारोपणको आवश्यकता रहे पनि अंगदान गर्नेहरूको संख्या निकै कम रहेको चिकित्सकहरूले बताएका छन् ।
२८ साउन, काठमाडौं । मृत्युपछि गरिने अंगदानका लागि धर्मशास्त्रमा कुनै बाधा नरहेको धार्मिक अगुवाहरूले बताएका छन् । विश्व अंगदान दिवस २०२६ का अवसरमा स्वास्थ्य अभियान नेपालले बिहीबार छलफल कार्यक्रम आयोजना गरेको थियो । उक्त छलफलमा सहभागी भएका बौद्ध, हिन्दु र मुस्लिम धर्मका अगुवाले अंगदानमा कुनै धार्मिक बाधा नरहेको स्पष्ट पारेका हुन् ।
हिन्दु धर्मका गुरु चिन्तामणि योगीले धार्मिक कारण अंगदान गर्न मिल्दैन भन्ने कुरा हिन्दु धर्मका कुनै शास्त्रमा नभएको उल्लेख गरे । कसैको जीवन बचाउन गरिने अंगदान ठूलो पुन्यको काम भएको योगीले बताए । अहिले अंगदान गर्दा अर्को जन्ममा त्यो अंगबिनै जन्मिनुपर्छ भन्ने कुरा पनि कतै नभएको उनले स्पष्ट पारे ।
धर्मले अंगदान गर्न दिँदैन भन्ने कुरा केही गर्न नचाहने व्यक्तिले काम छल्न कुनै बहाना बनाएजस्तै भएको योगीले तर्क गरे ।
पौराणिक कथामा समेत विभिन्न प्रयोजनका लागि आफ्नो अंगदान गरिएका थुप्रै प्रसंग रहेको उनले सुनाए । दधिची ऋषिले आफ्ना अंग दान गरेको कथा पुराणमा रहेको उनले जानकारी दिए ।
बौद्धधर्मका गुरु भिक्षु कौडिन्यले बुद्ध धर्ममा आफ्ना शरीरका भागको दानको विषय पनि रहेको बताए । आफ्नो ज्यानको जोखिमका राखेर गरिने यस खालको दानलाई उपपर्मिता दानको रूपमा लिइने उनले जानकारी दिए ।

बुद्धले कुनै सन्दर्भमा हृदय नै दान दिन मन छ भनेको कुरा पनि धार्मिक ग्रन्थमा रहेको उनले उल्लेख गरे । मृत्युपछिको अंगदानका लागि धार्मिक समुदायले सहजिकरण गनुपर्ने भिक्षु कौडिन्यले बताए ।
अंगदानबारे धार्मिक रूपमा रहेको गलत धारणा हटाउन आफूहरूले सक्दो योगदान दिने प्रतिबद्धता उनले जनाए ।
मुस्लिम धर्म गुरु काजी अबुबकर सिद्दिगी कासिमीले आफूहरूको धर्मभित्र अंगदानका विषयमा ढोका खुल्ला राखिएको बताए । इस्लाम धर्मको मान्यतामा यदि कसैले कसैको ज्यान बचायो भने उसले सम्पूर्ण मानवता नै बचाएको मानिने उनले उल्लेख गरे ।
यस्तो अवस्थामा कसैको जीवन बचाउन अंगदान गरिने कुरालाई धर्मले बाधा नगर्ने उनले स्पष्ट पारे ।
वैदेशिक रोजगारीमा जाने युवामा मिर्गौला फेल हुने समस्या धेरै रहेको बरिष्ठ प्रत्यारोपण सर्जन डा. पुकार चन्द्र श्रेष्ठले जानकारी दिए । डा.श्रेष्ठका अनुसार नेपालमा मिर्गौला प्रत्यारोपित र नियमित डायलासिस गराइरहेकामध्ये करिब ३० प्रतिशत व्यक्ति वैदेशिक रोजगारीबाट फर्किएकाहरू छन् ।
नेपालमा हरेक वर्ष करिब ३ हजारको मिर्गौला, १ हजारको कलेजो प्रत्यारोपण गर्नुपर्ने आवश्यकता रहेको डा.श्रेष्ठले जानकारी दिए । अंगदान कम हुँदा आवश्यकताको अति कम मात्रै प्रत्यारोपण गर्न सकिएको उनको भनाइ छ ।
अहिले प्रत्यारोपणका लागि अंगदान गर्न कानुनी रूपमा निकै सहज रहेको उनले जानकारी दिए । डा.श्रेष्ठका अनुसार नेपालमा २००८ मा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो भने २०१६ मा कलेजो प्रत्यारोपण भएको थियो ।
मानव अंग प्रत्यारोपणसम्बन्धी कानुन पनि २०१६ मै बनेको थियो । अन्य देशको तुलनामा अंगदानका लागि नेपालको कानुन निकै उदार रहेको उनले सुनाए । यही कानुनका कारण सेवा विस्तार हुन सकेको उनले बताए ।
आवश्यकता अनुसार हुन नसके पनि नेपालमा प्रत्यारोपण नै नुहने अवस्थाबाट मिर्गौला र कलेजो प्रत्यारोपण नियमित सेवा बन्नु राम्रो उपलब्धि भएको डा.श्रेष्ठले जिकिर गरे ।

अहिले प्राप्त तथ्यांकअनुसार नेपालमा मिर्गौला प्रत्यारोपणका लागि प्रतीक्षमा रहेको संख्या १२२७ र कलेजो प्रत्यारोपणको प्रतीक्षामा रहनेहरू ९६ जना रहेको उनले जानकारी दिए ।
हरेक वर्ष सडक दुर्घटनाबाट नेपालमा १ हजार जनाको मस्तिष्कमृत्यु हुने भए पनि अंगदान हुन नसकेको डा.श्रेष्ठले बताए ।
उनले आम समुदायमा चेतनाको अभाव, स्वास्थ्यकर्मीलाई नै यसबारे पर्याप्त तालिमको नहुनु र हतारमा रातारात गर्नुपर्ने काम भएकाले मस्तिष्क मृत्यु पछिको अंगदानमा समस्या भइरहेको उनको भनाइ छ । यसमा उल्लेख्य प्रगति नभए पनि कुनै देशले सुरुवात नै नगरेको अवस्थामा नेपालजस्तो देशले यसलाई सुरु गर्नु राम्रो मान्न सकिने डा.श्रेष्ठले बताए । उनका अनुसार हालसम्म नेपालमा मस्तिष्क मृत्यु भएका ९ जनाबाट अंग लिएर २५ जनामा प्रत्यारोपण गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक सुरेश काफ्लेले अंगदानका विषयमा मृतकका परिवारलाई आग्रह गर्न प्रहरीलाई अप्ठ्यारो हुने बताए । मृतकका परिवारका सदस्यहरू धेरै शोकमा हुने भएकाले मस्तिष्क मृत्यु भएपछि ‘अंगदान गर’ भनेर प्रहरीले भन्न नसक्ने उनले स्पष्ट पारे।
काफ्लेका अनुसार नेपालमा सडक दुर्घटनाको स्थिति भयावह छ । अघिल्लो आर्थिक वर्षमा देशमा २९ हजार ९८८ वटा सडक दुर्घटना भए । जसमा २७०७ जनाको ज्यान गयो । ४६ हजार भन्दा बढी घाइते भए ।
दुर्घटनाबाट मृत्यु हुँदा सकेसम्म पोस्टमार्टम समेत नगर्न दबाब आउने गरेको उनले सुनाए । समाजमा यस खालको चेतना रहेको अवस्थामा मृत्युपछि अंगदानका लागि आग्रह गर्न सक्ने अवस्था नहुने काफ्लेको भनाइ छ ।

यस्तो अवस्थामा अंगदानका लागि समुदाय स्तरमै चेतना फैलाउन आवश्यक रहेको उनले बताए ।
मस्तिष्क मृत्युपछिको अंगदानका लागि कानुनअनुसार सहजिकरण गर्न प्रहरी सधैं तयार रहने प्रतिवद्धता बरिष्ठ प्रहरी उपरीक्षक काफ्लेले जनाए ।
नेपालमा वर्षमा १८०० देखि २००० हजार जनाको मस्तिष्क मृत्य हुने अनुमान रहेको बरिष्ठ न्यूरो सर्जन प्रा.डा.राजीव झाले बताए । वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख रहेका डा.झाका अनुसार मस्तिष्कको मृत्यु भइसकेको र कृत्रिम श्वास दिएर अन्य अंग चालु अवस्थामा राखिएको अवस्थालाई मस्तिष्क मृत्यु भनिन्छ ।
मस्तिष्क मृत्यु भएकाको अंगदानका लागि परिवारलाई सम्झउनै कठिन हुने गरेको उनले सुनाए ।
मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग निकाल्नका लागि पनि निकै समय भेन्टिलेटरमा राख्नुपर्ने भएकाले समस्या हुने गरेको अनुभव डा.झाले सुनाए । लामो समय भेन्टिलेटरमा राख्दा निजीमा धेरै खर्च हुने, सरकारी अस्पतालमा पालो पर्खिरहेका अन्य बिरामी हुने भएकाले मस्तिष्क मृत्युपछि धेरै समय राख्न समस्या हुने गरेको उनले बताए । मस्तिष्क मृत्युको घोषणापछि प्रत्यारोपणका लागि अंग ननिकाल्दासम्म राख्नका लागि छुट्टै व्यवस्था हुनुपर्ने धारणा उनले राखे ।

समुदायमा अंगदान समान्य कुरा हो भन्ने धारणा बनाउने गरी काम गर्नुपर्ने बरिष्ठ सर्जन प्रा.डा.सुनिल शर्माले बताए । कुनै समय नेपालमा कसैले रक्तदान गर्न नमान्दा राजा महेन्द्रले नै रक्तदान गरेको प्रसंग उनले सुनाए । अंगदान पनि सामान्य प्रक्रिया हो भन्ने कुरा बुझाउन यस्तै कुनै प्रभावकारी उपाय आवश्यक भएको डा.शर्माले बताए ।
गोरखा पत्रका प्रधान सम्पादक जुनारबाबु बस्नेतले २–३ दशकअघिको तुलनामा . अहिले नेपालको स्वास्थ्य क्षेत्रले धेरै प्रगति गरेको बताए । आफूले त्यतिबेला पत्रकारिता गर्दा नेपालमा अंगप्रत्यारोपण हुन्छ भन्ने कुरा कल्पना नै नगरेको उनले सुनाए ।
अंगदानका विषयमा गोरखापत्रले निरन्तर समेतनामुक सामग्री प्रकाशन गरेको दावी उनको छ । पत्रकारिताको काम समाचार तथा विचारहरू समुदायमा प्रवाह गर्नु रहेकाले त्यसमा लागिरहेका र अब पनि लागिरहने बस्नेतले बताए ।
मस्तिष्कमृत्युपछि अंगदानकी कोअर्डिनेट डा.निभा श्रेष्ठले सबै पक्षको प्रयासबाट मात्रै यो कार्य सम्भव भएको बताइन् ।
नेपाल चिकित्सक संघका अध्यक्ष .डा.बद्री रिजालले मृत्युपछि त्यसै खेर जाने अंग प्रयोगमा ल्याउन सके प्रत्यारोपणमा धेरै ठूलो उपलब्धि हुने बताए । यसमा चिकित्सक सधैं साथमा रहने उनले बताए ।
व्यवसायी उमेश श्रेष्ठले अंगदान गर्ने विषयमा समाज र परिवार उदार हुनुपर्ने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि बरिष्ठ चिकित्सक डा.भोला रिजालले सबैले अंगदान गर्ने संस्कार बसालेमा अंग नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था नआउने बताए । अंगदान गर्नु भनेको दिनदुःखी तथा रोगीलाई सहयोग गर्नु भएकाले ठूलो पुण्यको काम भएको डा.रिजालले बताए ।
कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले मान्छेलाई रोग भन्दा बाठो बनाउनु मुख्य काम भएको बताए । ‘रोग धेरै बाठो हुन्छ, कतिबेला शरीरमा कुन कुन रोग छिर्छ थाहै हुँदैन’ श्रेष्ठले भने, ‘त्यसैले हाम्रो काम मान्छेलाई रोग भन्दा बाठो बनाउनु हो ।’
कार्यक्रममा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग लिएर प्रत्यारोपण गराएका शिव महर्जन र मीना बस्नेतले आफ्नो अनुभव सुनाएका थिए ।

प्रतिक्रिया 4