+
+
Shares
विशेष रिपोर्ट :

सेनाको नाइटभिजन हेलिकप्टर : भीआईपीका लागि उड्छ, जनताको ज्यान बचाउन उड्दैन

संकटका बेला उद्धारका लागि आग्रह गरे पनि त्यस क्रममा बेहोर्नु पर्ने झन्झटिलो प्रक्रिया, अर्कातिर सेनाले दिने प्राविधिक तर्कका कारण आम मानिसले नाइटभिजनको पहुँच पाउन सकेका छैनन् ।

आदित्य नेपाल आदित्य नेपाल
२०८३ साउन २२ गते १९:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सेनासँग नाइटभिजन हेलिकप्टरको सुविधा भए पनि सर्वसाधारणको उद्धारका लागि रातिको समयमा प्रयोगमा नआउँदा धेरैले अकालमा ज्यान गुमाइरहेका छन् ।
  • भीभीआईपीहरूको सुरक्षा र भ्रमणका लागि रातारात हेलिकप्टर परिचालन गर्ने सरकार तथा सुरक्षा निकायले विपद्‌मा परेका नागरिकको उद्धारमा भने चासो देखाएको छैन ।
  • दुर्गमका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यविधि भए पनि व्यवहारमा रातिको समयमा उडान नहुँदा नागरिकले सरकारी सेवाको अनुभूति गर्न पाएका छैनन् ।

२२ साउन, काठमाडौं । २०८२ माघ २२ गते राति करिब १० बजे तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्यालका प्रमुख स्वकीय सचिव धीरज जोशीको फोनको घण्टी बज्यो। त्यतिबेलासम्म जागै बसेका जोशीले पहिलो घण्टीमै फोन उठाए।

बैतडीको पुर्चौडी नगरपालिकाबाट आत्तिएको स्वरमा आवाज आयो, ‘जन्ती बोकेको बस तल खसेको छ, उद्धारका लागि सहयोग गर्नुस्।’ यो कुरा जोशीले तुरुन्तै फोन गरेर गृहमन्त्री अर्याल र गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेलाई जानकारी गराए।

‘गृहमन्त्रीजीले मलाई सम्बन्धित सीडीओहरूसँग समन्वय गरेर घटनाको विस्तृत जानकारी र ताजा अवस्थाका अपडेट लिन भन्नु भयो,’ जोशी सुनाउँछन्, ‘सबै बुझ्दा बस २०० मिटर तल खसेको रहेछ। ८ जना यात्रीको त मृत्यु नै भइसकेको कुरा सुन्दा बाँकीलाई हेलिकप्टरबाट उद्धार गरेर भए पनि बचाउन सकिन्छ कि जस्तो लाग्यो।’

जोशीले घटनाको संवेदनशिलता बुझेर सहसचिव काफ्लेलाई सेनासँग समन्वय गरेर नाइटभिजन हेलिकप्टर उडाउन आग्रह गर्छन्। काफ्ले पनि ‘हुन्छ, एक पटक प्रयास गरिहेर्छु’ भन्छन्।

तर, त्यो रात सेनाको नाइटभिजन हेलिकप्टर उडेन।

बिहानसम्म बसमा सवार थप पाँच जना गरी १३ जनाको मृत्युको खबर सार्वजनिक भयो। भर्खरै बिहे सम्पन्न भएको घर शोकमा डुब्यो। पुर्चौडी नगरपालिकाले एक दिनको शोक बिदा दियो।

गत वर्ष माघमा बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किँदै गर्दा दुर्घटनामा परेको बस।

काफ्लेका अनुसार उनले त्यो रात सेना मुख्यालय जंगी अड्डाको ‘अपरेसन डेस्क’ मा नाइटभिजन हेलिकप्टर उडाउन आग्रह गरेका थिए। तर उताबाट जवाफ आयो, ‘हामीसँग नाइटभिजन हेलिकप्टर छैन।’

‘उहाँहरूले स्काई ट्रकको कुरा गर्नु भयो तर रातिको समयमा स्काई ट्रक उडाउन पूर्वाधार चाहिन्छ,’ काफ्लेले अनलाइनखबरसँग भने, ‘भएको यत्ति हो, हामीले प्रयास नै नगरेको होइन।’

हेलिकप्टर नउडेकोमा जोशी अहिलेसम्म थकथकी मानिरहेका छन्। उनी भन्छन्, ‘हेलिकप्टर भएर पनि नउडाउनु हत्या गर्नुजत्तिकै अपराध हो।’

अधिकांश राति हुने घटनामा हेलिकप्टरको प्रयोग आवश्यक देखिए पनि ‘सेनाले राति के हेलिकप्टर उडाउला र ?’ भन्ने जिज्ञासासहित त्यसको पहलको प्रयास सुरु नहुँदै समाप्त हुने गरेको छ।

यसको पुष्टि दुई वर्षअघिको घटनाले पनि गर्छ।

२०८० पुस २७ गते बाँकेको नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस राति साढे १० बजेतिर दाङको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीमा खस्यो। घटनास्थलमा सशस्त्र, नेपाल प्रहरी र स्थानीयवासी उद्धारकार्यमा तत्कालै खटिए।

तर पाँच जनाले घटनास्थलमै प्राण त्यागे। २५ जनाभन्दा बढीलाई उद्धार गर्न हेलिकप्टरको अभाव महसुस भयो तर, उड्ने आश नहुँदा पहलको प्रयास नै गरिएन।

राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट यो घटनामा हेलिकप्टरका लागि पहल रातिको समय भएकै कारण नगरिएको बताउँछन्। उनका अनुसार एकातिर झन्झटिलो प्रक्रिया, अर्कातिर अबेर रातका कारण एम्बुलेन्सकै सहारामा उद्धार गर्ने निर्णय भयो।

‘हेलिकप्टर भएको भए पक्कै पनि सबैको उद्धार अलिक छिटो हुन्थ्यो,’ विष्टले अनलाइखबरसँग भने, ‘तर दिउँसै त प्रक्रियामा जानुपर्छ, त्यो रात झन् के हेलिकप्टरको विकल्पमा जान्थ्यौँ।’

सुत्केरीका लागि हेली उड्छ, तर दिउँसो मात्रै

साउन ५ गते बागलुङको निसीखोला गाउँपालिका-३ का ३९ वर्षीया मीना सुनारलाई सुत्केरी बेथाले च्यापेपछि उनी नजिकै रहेको बोहोरागाउँ स्वास्थ्य चौकीमा भर्ना भइन्। साउन ६ गते बिहान करिब साढे सात बजे उनले छोरीलाई जन्म दिइन्।

त्यतिञ्जेल उनी स्वस्थकर नै देखिएकी थिइन्, डेलिभरी पनि नर्मल भएको थियो। त्यसै कारण उनी र उनका परिवार त्यही दिन घरै जान खोज्यो । तर स्वास्थ्य चौकीका अधिकृत टोपबहादुर चन्दले एक दिन कम्तीमा बस्न भनेपछि मीनाका श्रीमान् नन्दराम सुनार राजी भए।

७ गते बिहान डेढ बजे मीनालाई एक्कासि पेट दुख्यो, सहनै नसक्ने गरी। त्यही बेला अधिकृत चन्दलाई पनि खबर गयो। चन्द आउँदा उनले तत्कालै बुर्तिबाङ अस्पताल रेफर गर्नुपर्ने भनेपछि सुनार परिवारसँगै स्वास्थ्य चौकी पनि गाडीको जोहो गर्नतिर लाग्यो। तर गाडी बिहानको ४ बजे मात्र आइपुग्यो।

अचेत अवस्थामै बिहान ७ बजेतिर बुर्तिबाङ अस्पतालमा पुर्‍याइएकी मीनाको उपचार थालेका अस्पतालका स्वास्थ्यकर्मीले आन्तरिक रक्तस्राव अत्यधिक भएको अनुमान गर्दै थप उपचारको लागि काठमाडौं रेफर गरे।

‘एम्बुलेन्समा पुग्न ढिला हुन्छ भनेरै हामी राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतका सुत्केरी निस्शुल्क हवाई उद्धारका लागि प्रदेशको स्वास्थ्य मन्त्रालयलाई सम्पर्क गर्‍यौं,’ बुर्तिबाङ अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट अविनाश पोख्रेल भन्छन्, ‘त्यसको केही समयपछि सेनाको हेलिकप्टर आइपुग्यो।’

काठमाडौं लाने तयारी भए पनि बीच बाटोमै अवस्था जटिल भएपछि सेनाले पोखराकै मणिपाल अस्पतालमा हेलिकप्टर ल्यान्ड गरायो। तर, अस्पतालको शय्यामा पुग्दा मीनाले प्राण त्यागिसकेकी थिइन्।

बुर्तिबाङ अस्पतालभन्दा बोहरागाउँ चौकीबाटै हेलिकप्टर उद्धारको प्रयास नगरेकोमा अधिकृत चन्दलाई पछुतो छ। उनी भन्छन्, ‘हामीले यहींबाट पहल गरेको भए मीना बाँच्थिन् होला। तर के गर्ने, हेलिकप्टर राति उड्दैन, दिउँसो उड्दा त कति प्रक्रिया पार गर्नुपर्छ। फेरि यहाँ एउटै डाक्टर नभएर पनि हामीले समयमै मीनाको भित्री पीडा बुझ्न सकेनौं।’

गण्डकी स्वास्थ्य मन्त्रालयका गुनासो सुन्ने अधिकारी डा. रमेशकुमार केसी मन्त्रालयले दिउँसो सुत्केरीको लागि हेलिकप्टर उडाउन सक्षम भए पनि रातको समयमा असक्षम नै भएको बताउँछन्। उनका अनुसार मन्त्रालयमा रातको समयमा हेलिकप्टरको माग आउँदा सेनालाई पहल गरे पनि प्रयास असफल हुने गरेको छ।

‘हामी त सेनासँगै निजी कम्पनीसँग पनि सहकार्य गर्ने गरेका छौं। निजीले साँझ हुने बित्तिकै उडाउन मान्दैन,’ केसीले अनलाइनखबरसँग भने, ‘तर सेनासँग सहयोग माग्दा पनि भिजिबिलिटीले गर्दा सकिंदैन भन्ने जवाफ पाउने गरेका छौं।’

ग्रामीण भेगका महिला उत्थानका लागि २०७३ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको जोडबलमा ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ ल्याइयो। सुरुमा विभिन्न ३५ जिल्लामा महिलाले उत्पादन गरेका सामग्री मेला तथा प्रदर्शनी गरेर कार्यक्रम सुरु गरियो।

पछि आर्थिक वर्ष २०७५र०७६ मा सोही कार्यक्रमअन्तर्गत दुर्गम हिमाली तथा पहाडी भेगका सुत्केरी तथा गर्भवती महिलाको उद्धारका लागि कार्यविधि बनाएरै हेली उद्धार गर्ने योजना पनि ल्याइयो।

मन्त्रिपरिषद्‌बाट स्वीकृत भएको ‘दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि हवाई उद्धारका लागि कार्यविधि २०७७’ अनुसार पहिलो प्राथमिकतामा रक्षा मन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकप्टर नै प्रयोग गर्ने भनिएको छ। कार्यविधिमा कतै पनि ‘यो सेवा दिउँसो मात्रै उपलब्ध हुने’ उल्लेख छैन।

रक्षा मन्त्रालय व्यवस्थापन शाखा प्रमुख ज्ञानेन्द्र पौडेललाई अनलाइनखबरले सेनाको हेलिकप्टरबाट रात्रि सेवा किन दिइँदैन भनेर सोधेको थियो। सुरुमा पौडेलले नेपालको भौगोलिक विकटताका कारण नउडेको बताए। त्यसपछि आफूले सेनाका हवाई निर्देशनालय प्रमुख उपरथी रामसुन्दर बोहोरासँग सोध्दा सेनासँग त्यस्तो कुनै किसिमको हेलिकप्टर नभएको जानकारी पाएको पौडेलले बताए।

भद्रकालीस्थित सैनिक मुख्यालय

२०७७ असोज ११ गतेदेखि कार्यान्वयनमा आएको यो कार्यविधिले ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, मनाङ, मुस्ताङ, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, डोल्पा, कालीकोट, मुगु, हुम्ला, बाजुरा, अछाम र दार्चुला गरी १८ वटा जिल्लाले पूर्ण रूपमा हवाई सुविधा पाउने भनेको छ।

२९ वटा पहाडी तथा हिमाली जिल्लाका हकमा भने विभिन्न पालिका तोकेर आंशिक सुविधा पाउने व्यवस्था गरेको छ। ओखलढुंगास्थित सुनकोशी गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारी आफ्नो पालिकामा रातिको कुनै त्यस्तो केस हालसम्म नआए पनि दिउँसै उद्धारका लागि सहयोग माग्दा पनि निकै ढिलो गरी आइपुग्ने बताउँछिन्।

उनका अनुसार ढिलाइ हुँदा बिरामीको अवस्था झन् जटिल हुने गरेको छ। ‘प्रक्रिया नै झन्झटिलो भयो। सीडीओ कार्यालयमै भन्दा पनि अनेकन प्रक्रिया हुँदो रहेछ,’ अधिकारी भन्छिन्, ‘यसलाई छिटोछरितो बनाए जनतालाई समयमै उद्धार भएको आभास हुन्थ्यो।’

भीभीआईपीका लागि उड्छ, जनताका लागि छैन

२०७६ असोज २५ गते चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने राजकीय भ्रमणमा नेपाल आएका थिए। २५ गते अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका राष्ट्रपति सीको सुरक्षामा साँझदेखि नै नेपाली सेनाले इकुरेल हेलिकप्टरबाट हवाई गस्ती गरेको थियो।

आवश्यक बत्ती, नेभिगेसन प्रणाली र प्रविधि जडित इकुरेल हेलिकप्टर भौगोलिक रूपमा विकट र हिमाली देशका लागि ‘लाइफलाइन’ कहलिन्छ। ६ हजार मिटरभन्दा बढीको उचाइबाट उद्धार ‘हाई अल्टिट्युड रेस्क्यु’ गर्न समेत यो हेलिकप्टर सबैभन्दा भरपर्दो मानिन्छ।

राष्ट्रपति सीका लागि सेनाले इकुरेल मात्रै होइन, उनी बसेको होटल सोल्टीलाई केन्द्र बनाएर नाइटभिजन उपकरण जडित एमआई-२६ हेलिकप्टरले पनि रातभरि गस्ती गरेको थियो। अझै ‘ब्याकअप फोर्स’को रूपमा अगुस्टा वेस्टल्यान्ड हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको थियो।

सीको भ्रमण अवधिभर नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र चिनियाँ जनमुक्ति सेना गरी ४ तह तथा हवाई गस्तीबाट सुरक्षा व्यवस्थापन मिलाइएको थियो। गत निर्वाचनमा मात्रै पनि सेनाले तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीका लागि नाइटभिजन हेलिकप्टर उडाएको थियो।

विभिन्न जिल्लाको निर्वाचनस्थल अनुगमनका लागि उपत्यका बाहिर गएकी कार्कीलाई बालुवाटार फिर्ता ल्याउन सेनाले नाइटभिजन हेलिकप्टर प्रयोग गरेको थियो। २०७२ असार सात गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामै सेनाले रुसबाट दुई वटा नाइटभिजन जडित एमआई-१७ हेलिकप्टर खरिद गरेको थियो।

सेनाका एक उच्च अधिकारीका अनुसार नेपाली सेनासँग हाल पाँच वटा नाइटभिजन हेलिकप्टर छन्। तर नागरिककै करबाट खरिद गरिएका ती हेलिकप्टर उनीहरूलाई नै बचाउन किन प्रयोग गरिँदैन भन्ने विषयमा उनले जवाफ दिन सकेनन्।

अनलाइखबरले यही प्रश्न नेपाली सेनाको मुख्यालय जंगी अड्डा पुगेर जनसम्पर्क तथा सूचना निर्देशनालयका प्रमुख राजाराम बस्नेतलाई सोधेको थियो। तर उनले पनि सिधा र सटिक जवाफ दिन सकेनन्। सुरुमा भिजिबिलिटी र भौगोलिक विकटतालाई कारण देखाएका बस्नेतले पछि प्राविधिक विषय भएका कारण आफू बुझेर अनलाइखबरलाई प्रतिक्रिया दिने बताए।

सेनासँग कति वटा नाइटभिजन हेलिकप्टर छन् भन्ने औपचारिक प्रश्नमा उनले आफूलाई जानकारी नभएको बताए। तीन दिन बित्दा पनि उताबाट खबर नआएपछि अनलाइनखबर आफैंले बस्नेतलाई सम्पर्क गर्‍यो। ‘उताबाट केही खबर आइसकेको छैन। आएपछि म जानकारी गराउँला,’ बस्नेतले चौथो दिनमा भने।

नाइटभिजन हेलिप्याड

‘उताबाट भन्नाले कताबाट ?’ भन्ने प्रश्नमा बस्नेतले जवाफ दिए, ‘हाम्रो हवाईबाट।’ उनले हालसम्म पनि सेनाको हवाई युनिट मधेशतिरकै तनावमा व्यस्त रहेको संकेत गरे। सेनाले नाइटभिजन हेलिकप्टर नउडाए पनि विभिन्न जिल्लामा स्थानीय तहसँगको सहकार्यमा नाइटभिजन हेलिप्याड भने बनाएको छ।

अनालइनखबरको खोजीमा एकै आर्थिक वर्ष २०७७र०७८ मा सेनाले सल्यानको शारदा नगरपालिका, रौतहटको गौर नगरपालिका र बाराको गढीमाई नगरपालिकामा गरी तीन वटा नाइटभिजन हेलिप्याड बनाएको थियो। सेनाले कहाँकहाँ थप नाइटभिजन हेलिप्याड बनाएको छ भन्ने प्रश्नमा बस्नेतले खुलाउन चाहेनन्।

शारदा नगरपालिकामा नाइटभिजन हेलिप्याड बनेपछि सोही पालिकामा पर्ने सबजु गण सिमखर्कका तत्कालीन प्रमुख सेनानी कृष्णकञ्चन बस्नेतले त्यतिबेला भनेका थिए, ‘जिल्लामा अहिलेसम्म नाइट भिजन हेलिप्याड नभएकै कारण राति हेलिकप्टर अवतरण हुन नसकेकाले उद्धार तथा व्यवस्थापनमा ढिला हुँदै आएको छ। हेलिप्याड निर्माण भएपछि राति हुने विपद्का घटनामा हेलिकप्टर प्रयोग गरी उद्धार गर्न सहज हुनेछ।’

सशस्त्र र नेपाल प्रहरीसँग किन छैन ?

जनताको जीउधनको रक्षा, शान्ति, अमनचयन तथा बोर्डर सुरक्षाका लागि खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल जनतासँग प्रत्यक्ष जोडिएका छन्।

केही दैनिक समस्या आइपरे वा विपद् जोखिममा खटिनु परे सुरुमा यिनै दुई सुरक्षा निकायसँग सर्वसाधारण ठोकिन्छन्। तर यिनै दुई निकायसँग एउटा सामान्य हेलिकप्टरसमेत छैन।

नेपाल प्रहरीले पटकपटक सरकारसँग हेलिकप्टर माग गरे पनि अत्यधिक खर्चको कारण प्राप्त नभएको पूर्वप्रहरी प्रमुख धीरजप्रताप सिंह बताउँछन्। उनका अनुसार सरकारले हेलिकप्टर खरिद गरिदिए पनि मर्मत खर्च नै उपलब्ध गराउन नसकिने बताउँदै आएको छ।

‘विपद् व्यवस्थापनका लागि हेलिकप्टर त नेपाल प्रहरीका लागि अत्यावश्यक नै हो। तर नभएपछि प्रहरीले जरुरत पर्दा भाडाको हेलिकप्टर प्रयोग गर्दै आएको छ,’ सिंह भन्छन्, ‘एक पटक हेलिकप्टर खरिद् गरेर गृह मन्त्रालयमै राख्ने कुरा पनि भएको थियो। तर पछि प्रक्रिया नै अगाडि बढेन।’

सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार गृह मन्त्रालयसँग सशस्त्र प्रहरीको पनि हेलिकप्टरका लागि पटकपटक छलफल भएको थियो। ‘तर अहिलेसम्म छलफलभन्दा अगाडि बढेको प्रक्रिया हाम्रो जानकारीमा छैन,’ कार्कीले अनलाइनखबरसँग भने।

सेनाले पहिलो पटक नाइटभिजन जडान गरिएको हेलिकप्टर माओवादी द्वन्द्वकालमा भित्र्याएको थियो। नेपाली सेना र नेपाल प्रहरीका एक उच्च अधिकृतका अनुसार अमेरिकी सरकारले सहयोगस्वरूप उक्त हेलिकप्टर सेनालाई प्रदान गरेको थियो।

‘नाइटभिजन लेन्स लगाएर हेलिकप्टर उडाउने सुविधा नेपालमा सेनालाई मात्रै छ। निजी क्षेत्रलाई यो सुविधा छैन।’

नेपालका एक प्रतिष्ठित कम्पनीमा लामो सामयदेखि हेलिकप्टर उडाइरहेका एक चालकका अनुसार जुनसुकै हेलिकप्टर उडाउन खर्चिलो नै हुन्छ। ‘नाइटभिजन भएरै छुट्टै खर्च लाग्दैन। नाइटभिजन एउटा लेन्स मात्रै हो, घाममा निस्किँदा सन ग्लास लगाए जस्तो’, उनी भन्छन्, ‘नाइटभिजन लेन्स लगाएर हेलिकप्टर उडाउने सुविधा नेपालमा सेनालाई मात्रै छ। निजी क्षेत्रलाई यो सुविधा छैन।’

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभामै दुर्घटनाको बेला आफूले सम्बन्धित निकायलाई हेलिकप्टर उडाउन आग्रह गर्दा पनि नउडाएको भनेर बोलेका छन्। शाहीले दुर्घटनामा नागरिकको जीवन बचाउन हेलिकप्टर परिचालन नगरिएको, तर सोही समय (असार १८ गते) सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्दा मन्त्रीको सवारीका लागि हेलिकप्टर प्रयोग भएको भन्दै सरकारको आलोचना गरेका थिए। माइक्रोमा सवार चार जना सुरुमा बेपत्ता भनिए पनि पछि उनीहरू सबैको शव मृत भेटिएको थियो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्वकार्यकारी प्रमुख तथा विपद् विज्ञ अनिल पोखरेलका अनुसार विपद्‌मा नेपाली सेनाको प्रयास तारिफयोग्य नै छ। उनले विपद्‌मा सेनाले थुप्रै महत्वपूर्ण र साहसिक काम गरेको सम्झन्छन्। यद्यपि, रातिको विपद् व्यवस्थापनमा आफूसँग नाइटभिजन जडान गरिएको हेलिकप्टर नभएको भन्न नपाउने उनी बताउँछन् ।

‘सेनासँग भएको खण्डमा त दायाँबायाँ नसोची उसले उडाउनु पर्छ। तर रहेनछ भने पनि आफूसँग नभएरै नउडाएको भन्ने छुट सेनालाई छैन,’ पोखरेल भन्छन्, ‘आफैंले गर्न सक्दैन भने निजी क्षेत्रको मद्दत मागेर भए पनि सेनाले रातिको अवस्थामा हेलिकप्टर उडाउनु पर्छ।’

लेखक
आदित्य नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?