News Summary
Generated by OK AI. Editorially reviewed.- देवानगञ्ज र गोलबजारमा साम्प्रदायिक तनावका कारण निर्दोष नागरिकका घर र पसलहरूमा आगजनी हुँदा धेरैको रोजीरोटी खोसिएको छ।
- साउन ११ गते प्रशासनको गोली लागेर दुई युवाको मृत्यु भएपछि फैलिएको हिंसात्मक द्वन्द्वले धेरै निर्दोष व्यापारीहरूको वर्षौँको मेहनत क्षणभरमै खरानी बनाएको छ।
- राज्यले साम्प्रदायिक संवेदनशीलतालाई बेलैमा पहिचान गरी पहलकदमी लिन नसक्दा घृणाको आगो डढेलोसरी फैलिएको पीडितहरूको गुनासो छ।
‘अब बिस्तारै पसल खोल्न पाए हुन्थ्यो ।’
देवानगञ्ज गाउँपालिका-४ कप्तानगञ्जका ६१ वर्षीय ओमप्रसाद मेहता सुस्तरी बोले । ‘हो, अब जे हुनु भइहाल्यो,’ २२ वर्षका अंकित मेहताले सही थपे ।
कप्तानगञ्जका नागरिकको जीवन या त खेतीपातीबाट चल्छ, कि त व्यापारबाट । ओमप्रसादले व्यापार रोजेका हुन् । घर नजिकैको बजारमा थापेको किराना पसल उनको आम्दानीको स्रोत हो, कप्तानगञ्जबासीका लागि सुविधाको माध्यम ।
‘मेरो पसलमा नुन तेल,दाल चामल सबै मिल्छ,’ उनले आफ्नो पसलको बन्द सटरलाई यस्सो हेरे । तर ओमप्रकाशलाई अब कहिले पसल खोल्न मिल्छ, त्यो भने थाहा छैन ।
उनलाई अब फेरि उसैगरि पसल खोल्न मिल्छ कि मिल्दैन त्यो पनि थाहा छैन । थाहै छैन, ओमप्रसादलाई उनको किराना पसलमा उनै पुराना ग्राहक आउलान् कि नआउनलान् ? पुराना खाताहरू उसैगरि पल्टेलान् कि नपल्टेलान् ? पुराना नाताहरू उस्तै आत्मीय होलान् कि नहोलान् ? ‘रहर त छ नि,’ ओमप्रसादले भने, ‘तर राज्यले हामीहरूको घाउ पुरिदेओस् ।’

साउन ११ गते प्रशासनको गोली लागेर कप्तानगञ्जका दुई युवा ओमप्रकाश मेहता र जयप्रकाश मेहताको निधन भयो ।
स्थानीय बासिन्दा झन् आक्रोशित भए, दुई दिनसम्म शव उठेन । गत बिहीबार गृहमन्त्रीसँग सहमति भएपछि भने स्थानीयले शवको सदगत् गोली लागेर ढलेकै ठाउँमा गरे ।
उनीहरूको सम्झनामा चोकमा फोटोहरू टाँसे, शोकमा बजारको सटर बन्द गरिदिए । ओमप्रकाशले पनि छरछिमेकी र गाउँलेहरूले जसोजसो गरे, उसैउसै पछ्याए । कप्तानगञ्जमा सन्नाटा छायो, उनको मनमा उकुसमुकुस ।
‘न त हिन्दु न मुस्लिम यहीका मान्छेहरू मेरो पसलका ग्राहक हुन्,’ उनी भन्छन्, ‘अब फेरि त्यो दिन छिट्टै आओस् ।’
‘अब छिट्टै त्यही दिन आओस्,’ देवानगञ्ज गाउँभरीका किसानका घरघरमा पुगेर खसीबाख्रा किन्ने र बिराटनगर पुर्याएर बेच्ने जाबिर आलाम भन्छन्, ‘अब काम नगरे भोकभोकै मर्ने अवस्था छ ।’

साउन साउन ११ गते यता एकाएक फेरिएको दैनिकी अहिले दुई पक्षजस्तै बनेका कम्तानगञ्जबासीलाई सकसपूर्ण भइरहेको छ । ‘यहाँको घटनाले देशैभरी दुईवटा समूहजस्तै देखियो,’ स्थानीय सुनितादेवी मेहताले भनिन्, ‘यहाँ जान्नेसुन्नेहरूले बेलैमा पहल गरेको भए, हाम्रो पीडा अन्तसम्म फैलिने थिएन होला ।’
हुन पनि साउन ११ गते कप्तानगञ्जमा दुई युवाको निधन भएपछि आक्रोशको आगो हावाभन्दा तीव्र बेगमा पश्चिमतर्फ सर्दै-सर्दै आयो ।
हानी नोक्सानीलाई बलशाली मान्ने भिडले छानीछानी पसलहरू जलाउन थाले, आक्रमण गर्न थाले, आतंक मच्चाउन थाले । जहाँ जसको धेरै शक्ति छ उसैले कमजोरमाथि प्रहार गर्न थाल्यो ।
प्रहरीको गोली लागेर ढलेका युवाहरूका शोकमग्न घर होउन् या अराजक भिडले आगो झोस्दा विलखबन्दमा परेको परिवार विना कारण पीडामा छन् । यी नागरिकहरू न कहिल्यै हिन्दु धर्म भनेर दौडिएका थिए, न मुस्लिम हुनुको अतिरिक्त अनुराग ।

तर यो अराजकताको आगो किन र कसले यसरी झोस्यो र फैलायो, प्रश्न भने छ ।
हामी सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जबाट कोशी गाउँपालिका स्थित कोशी कटान क्षेत्र हुँदै सिरहाको गोलबजारसम्म करिब १ सय २५ किलोमिटर यात्रा गर्दा आगोका लप्काले सखाप पारेका निर्दोष मान्छेका घर र पसलहरू छिर्दै छिर्दै आएका थियौं ।
जसै सुनसरीको कोशीकटान पुग्यौं, स्थानीय सरजुग कुमार गोइत डढेर खरानी भएको पसल हेरेर टोलाइरहेका थिए । कप्तानगञ्जको घटनासित कुनै साइनोसम्बन्ध नभएका सरजुगको ८ वर्षदेखिको रोजीरोटी क्षणभरमै खरानी भयो ।
‘एक्कासी सय दुईजना युवाहरू यो हिन्दुको पसल हो बाँकी राख्न हुन भनेर आएर आगो लगाउन थाले, हामी पछाडिबाट भागेर घर पुग्यौं,’ उनले भने, ‘भोलिपल्ट फर्किंदा पसल बाँकी नै थिएन ।’
उनले आफू कहिँ कतै नजोडिएको विषयमा पनि मान्छेहरूले किन त्यसरी धर्मका नाममा अपराध गरेका होलान् भनेर उल्टै हामीलाई सोधे । खैर,यसको जवाफ न तपाईंसँग छ, न हामीसँग । त्यस आगलागीमा सरजुगको करिब ३ करोड नोक्सानी भएको छ । अब यो नोक्सानीको कसले कहाँबाट भर्पाई गर्ने हो उनलाई थाहा छैन ।

‘प्रशासनले घटनाको मुचुल्का त उठाएर गएको छ,’ उनले भने, ‘तर मेरो त आजैदेखि रोजिरोटी गुम्यो नि।’ सिंगो परिवार त्यही पसलको भरमा चलाएका सरजुग भक्कानिँदै गर्दा उनका स-साना तीन छोराछोरी र श्रीमतीले एकटकले उनलाई हेरिरहे ।
त्यसरी आगो झोस्न आउनेहरू अहिलेसम्म पक्राउ नपरेकोमा पनि सरजुग चिन्तित छन् । ‘हाम्रो गाउँमा हिन्दु पनि छन् मुस्लिम पनि छन् । हामी त कहिल्यै अलग-अलग भएर हुर्किएनौं,’ उनले भने, ‘आज यो के परिस्थिति आइलाग्यो हिजोसम्म विश्वास गरेका छरछिमेकीलाई आज शंकाले हेर्न परिरहेको छ ।’
साम्प्रदायिक द्वन्द्वको संवेदनशीलता तीनै तहको सरकारले सुरूमै बुझेर पहलकदमी लिन चुक्दा कप्तानगञ्जको खबर साउन ११ गते बिहानसम्म डढेलोसरी फैलिइसकेको थियो । त्यो भन्दा तेज गतिमा थियो घृणाको आगो र विल्कुल सुस्त थियो राज्यको तदारूकता ।
साउन १४ गते त घटनाहरू यति उग्र बन्दै गए कि, सबैभन्दा ठूलो मारमा पर्यो, सिरहाको गोलबजार । स्थानीय रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पस अघिल्तिर प्रहरीको गोली लागेर १५ वर्षका गणेश यादवको मृत्यु भयो । उनको मृत्यु भएपछि भिड झन् आक्रोशित भयो ।

गोलबजार आगोको मुस्लोले भरियो । मुस्लिम समुदायका पसलहरूमा खोजिखोजी आगजनी हुन थाल्यो, पार्किङमा राखिएका गाडी र मोटरसाइकलहरू जलाइयो । परिस्थिति भयावह बन्यो । त्यसैको मारमा परे साबिर खान ।
गोलबजारमा उनको आइरन स्टोर्स राम्रै चलिरहेको थियो । पुर्ख्यौली जग्गाजमिन बेचेर, ऋणपान गरेर जेजित गरेका थिए उनले पसलकै निमित्त गरेका थिए । पसलले उनको जिविकोपार्जन त भएकै थियो, स्थानीयले रोजगारी पनि पाएका थिए ।
तर उत्तेजित र अराजक भिडले खानको पसलमा आगो झोस्यो, प्रशासनले दमकल लगेन । उनको पसलमा आगो लागेको चार दिनपछि हामी पुग्दासम्म पनि पसलबाट धुवाँ पुत्ताइरहेको थियो । उनका साथीहरूले सकिनसकी ढाढस दिइरहेका थिए ।

‘२० वर्षको मेहनतले बनाएको पसल एक घण्टामै नष्ट पारिदिए,’ साबिरले भने, ‘अब गाउँमा घर पनि छैन, गोलबजारमा पसल पनि छैन । प्रशासनले गोली चलायो, हामीमाथि हिन्दु-मुस्लिमको बात लाग्यो ।’
उनलाई सान्तवना दिन त्यहाँ पुगेका उनका धेरै साथी त हिन्दु नै थिए । उनको आँसुमा सँगै आँसु बगाउने हिन्दु नै थिए । तर आगो झोस्ने अराजकहरू को थिए उनलाई थाहा छैन ।
‘यो न हिन्दुको घर हो, न मुसलमानको,’ साबिरले एकदमै कडा राग छोडेर धुँइपत्ताल पुत्याइरहेको आगोको लप्कातिर संकेत गरे, ‘यो इन्सानको घर हो इन्सानको, कसले साजिस रच्यो ?’
तस्वीर : कमल प्रसाईं/अनलाइनखबर




प्रतिक्रिया 4