+
+
Shares

तिमीले गल्ती गर्‍यौ, मान्छेको कोखमा जन्म नलिएर

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते १५:२८
Photo Credit : तस्वीर : नरेन्द्र केसी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बधशालाबाट भागेको एउटा बुढो भैंसीलाई प्रहरीले लामो समयको प्रयासपछि नियन्त्रणमा लिएका छन्।

अबोध हुनु तिम्रो गल्ती थियो । निरीह र कमजोर हुनु तिम्रो गल्ती थियो । मान्छे नहुनु तिम्रो गल्ती थियो ।

मान्छे भइदिएको भए तिमीलाई प्रहरी नै लागेर यति कठोरतापूर्वक व्यवहार गर्दैनथे ।

जीवनभर एउटै डोरीमा बाँधिएर दूध दियौ । बालबच्चा दियौ । मल दियौ । जब तिमी बुढी भयौं, तिम्रो मालिकले बधशालामा पुराइदियो । त्यहाँ तिमीलाई मार्ने तयारी हुँदैथियो । खतराको संकेत पाएर तिमी डरायौ र भाग्यो । कति भाग्यौ कति । तर भागेर जाने कहाँ ?

पीडाले रन्थनिएका तिमीले बाटो छेक्न आउनेलाई सायद लछारेर पछारेर गयौ । मान्छहरूले भने, ‘भैंसीले आतंक मच्यायो ।’

आतंक कसको थियो ? यो प्रश्नलाई कसैले तिम्रो कित्ताबाट हेरेन । किनभने मान्छेको साम्रज्यमा तिमी जस्ता एक्लो प्राणीलाई कुनैपनि न्यायलयले निसाफ दिँदैन । गल्तीको पल्ला तिम्रै भागमा पर्‍यो । यहाँ मान्छेलाई गाली गर्न पाइँदैन । तर, तिमीलाई क्रुरतापूर्वक मार्न पाइन्छ । किनभने यो देश तिम्रो होइन । यो समाज तिम्रो होइन । तिम्रो राज्य छैन, सत्ता छैन, न्यायलय छैन । तिम्रो त केही पनि छैन ।

तिमीलाई सृष्टिले दिएको जीवन बाँच्नु थियो । तर, तिमीलाई यहाँ बाँच्न दिने कोही थिएन । तिमी बाँच्न खोज्नुलाई मान्छेले आफ्नो अधिकार हनन सोच्यो सायद । त्यसैले भएभरको शक्ति खर्चिएर उनीहरू तिमीलाई पक्राउन तयार भए ।

आखिर तिमी भाग्दा भाग्दै थाकेर कुखुराको खोरमा गएर लुक्यौ । तर, तिमीलाई मान्छेले कहाँ छाड्थ्यो र ? प्रहरीहरु नै लगाएर तिमीलाई समातियो । तिमी भाग्न सकेनौं, चलमलाउन सकेनौं ।

उनीहरुले तिम्रो टाउकोमा डोरी लगाए, घाँटीमा डोरी लगाए, मुखमा डोरी लगाए, खुट्टामा डोरी लगाए । अनि उम्कनै नसक्नेगरी डोरीले कसेर तिमीलाई लम्पसार पारियो ।

बुढ्यौली शरीर, ४ दिनसम्म भाग्दा भाग्दै थाकेको ज्यान । आखिर तिमी के नै गर्न सक्थ्यौ र ? चुपचाप लम्पसार पर्‍यौं । मान्छेले जे जे गर्छन्, सबै गर्न दियौं । नदिनका लागि तिमीसँग के नै अधिकार थियो र ? के नै शक्ति थियो र ?

तिमीजस्तो शक्तिहीन हुनु सबैभन्दा दुर्भाग्य हो, यो संसारमा ।

कमजोर र निरीह भएर फेरि कहिल्यै नजन्मनू ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?