News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरी, सिरहा र धनुषामा देखिएको धार्मिक तथा सामुदायिक तनावका कारण मुलुकमा सामाजिक सद्भाव खलबलिने जोखिम बढेको छ।
- अपुष्ट सूचना र भ्रामक सामग्रीले हिंसा निम्त्याउन सक्ने भएकाले सामाजिक सञ्जालमा कुनै पनि सामग्री सेयर गर्नुपूर्व त्यसको सत्यता जाँच गर्न जरुरी छ।
- राजनीतिक नेतृत्व र सञ्चारमाध्यमले उत्तेजक अभिव्यक्ति त्यागी तथ्यमा आधारित र समाजलाई जोड्ने भाषा प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ।
सुनसरीको कप्तानगन्जमा उत्पन्न घटना र त्यसपछि सिरहा, धनुषालगायत विभिन्न स्थानमा देखिएको तनाव गहिरिने चिन्ता सुरु भएको छ । स्थानीय तहमै सल्टिनुपर्ने समस्याले धार्मिक तथा सामुदायिक तनावको रूप लिन सक्ने जोखिम बढिरहेका बेला प्रत्येक नागरिक, सञ्चारमाध्यम, राजनीतिक दल, सामाजिक अभियन्ता तथा सामाजिक सञ्जाल प्रयोगकर्ताको भूमिका अत्यन्त संवेदनशील र जिम्मेवार बन्न पुग्छ ।
यस परिस्थितिमा अपुष्ट सूचना, पुराना तथा असान्दर्भिक भिडियो, सम्पादन गरिएका तस्वीर, उत्तेजक अभिव्यक्ति र सम्पूर्ण समुदायलाई दोषी देखाउने सामग्रीले थप हिंसा निम्त्याउन सक्छ। एउटा गलत सूचना वा भ्रामक पोस्टले केही मिनेटमै हजारौं मानिससम्म पुगेर भय, आक्रोश र प्रतिशोधको भावना उत्पन्न गर्न सक्ने भएकाले कुनै पनि सामग्री प्रकाशन वा प्रसारण गर्नुअघि यसको स्रोत र सत्य जाँच गर्न अनलाइनखबर सबैमा आग्रह गर्दछ।
पाठक तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध
१. घटनासम्बन्धी कुनै तस्वीर, भिडियो वा सूचना सेयर गर्नुअघि विश्वसनीय सञ्चारमाध्यम वा सम्बन्धित सरकारी निकायबाट पुष्टि गर्नुहोस् । कुनै सामग्री कसले, कहाँ र कहिले तयार गरेको हो भन्ने नखुलेसम्म त्यसलाई पत्याएर प्रचार नगर्नुहोस् ।
२. पुराना घटना, विभिन्न मुलुक र समयका भिडियो अहिलेको घटनासँग जोडेर प्रसारण गरिएको हुन सक्छ । भिडियोमा देखिएको दृश्य मात्रका आधारमा घटना भएको स्थान, मिति र कारणबारे निष्कर्षमा नपुग्नुहोस्।
३. कुनै व्यक्तिको गैरकानुनी वा हिंसात्मक कार्यका लागि उसको सम्पूर्ण धर्म, जाति, समुदाय वा भूगोललाई जिम्मेवार नठहराउनुहोस् । अपराधमा जिम्मेवारी व्यक्तिको हुन्छ, समुदायको होइन।
४. धार्मिक आस्था, प्रतीक, पोसाक, भाषा वा सांस्कृतिक पहिचानलाई अपमान गर्ने अभिव्यक्ति प्रयोग नगर्नुहोस्। उत्तेजक नारा, धम्की, हिंसाको समर्थन, प्रतिशोधको आह्वान वा सामूहिक दोषारोपण समाज र कानुन दुवैका दृष्टिले गम्भीर विषय हुन्।
५. घाइते, मृतक तथा पीडित परिवारको सम्मान र गोपनीयतालाई प्राथमिकता दिनुहोस्। पीडितको अनुमति नलिई संवेदनशील तस्वीर, रगताम्य दृश्य, शव वा व्यक्तिगत विवरण सार्वजनिक नगर्नुहोस्।
६. बालबालिका, वृद्धवृद्धा तथा घटनासँग असम्बन्धित सर्वसाधारणको अनुहार र परिचय अनावश्यक रूपमा सार्वजनिक नगर्नुहोस्। यसले उनीहरूको सुरक्षा र सामाजिक जीवनमा दीर्घकालीन असर पार्न सक्छ।
७. कुनै सामग्री भ्रामक वा घृणात्मक भएको आशंका लागेमा त्यसलाई थप प्रचार नगरी सम्बन्धित सामाजिक सञ्जाल प्लाटफर्ममा रिपोर्ट गर्नुहोस्। आवश्यक परे स्थानीय प्रशासन वा सुरक्षा निकायलाई जानकारी दिनुहोस्।
राजनीतिक तथा सामाजिक नेतृत्वलाई अपिल
१. अनलाइनखबर राजनीतिक दल, जनप्रतिनिधि, धार्मिक गुरु, सामाजिक अगुवा र सार्वजनिक प्रभाव भएका व्यक्तिहरूलाई तथ्यमा आधारित, संयमित र समुदायहरूलाई जोड्ने भाषा प्रयोग गर्न अनुरोध गर्दछ।
२. संकटका बेला दोहोरो अर्थ लाग्ने, समुदायविशेषलाई लक्षित गर्ने वा राजनीतिक लाभका लागि नागरिकको संवेदनशीलता प्रयोग गर्ने अभिव्यक्तिले परिस्थिति थप जटिल बनाउन सक्छ। नेतृत्व तहबाट आउने प्रत्येक शब्दले तनाव घटाउन वा बढाउन सक्ने भएकाले सार्वजनिक वक्तव्यमा विशेष सावधानी आवश्यक छ।
सञ्चारमाध्यमका लागि आग्रह
१. घटनालाई सनसनीपूर्ण बनाउनुभन्दा तथ्य, सन्दर्भ र समाधानमा केन्द्रित समाचार सम्प्रेषण गरिनुपर्छ। शीर्षक, तस्वीर र भिडियो छनोट गर्दा कुनै समुदायप्रति पूर्वाग्रह वा सामूहिक दोषारोपण हुने भाषा प्रयोग नगरौं ।
२. अफवाह, सामाजिक सञ्जालका दाबी र प्रत्यक्षदर्शीका भनाइलाई स्वतन्त्र पुष्टि नगरी तथ्यका रूपमा प्रस्तुत नगरौं। मृतक, घाइते र आरोपितका धार्मिक वा सामुदायिक पहिचान घटनासँग प्रत्यक्ष र सार्वजनिक रूपमा प्रासंगिक नभएसम्म अनावश्यक रूपमा उल्लेख नगरौं।
३. समाचार सामग्रीले हिंसाको कारण, प्रशासनिक कमजोरी, पीडितको अवस्था, शान्ति प्रयास र कानुनी प्रक्रियालाई समान गम्भीरताका साथ समेटौं।
अनलाइनखबरको प्रतिबद्धता
१. अनलाइनखबर यस संवेदनशील परिस्थितिमा पुष्टि भएका तथ्य, आधिकारिक विवरण, स्थलगत रिपोर्टिङ र विविध पक्षका आवाजका आधारमा समाचार सम्प्रेषण गर्न प्रतिबद्ध छ।
२. हामी कुनै पनि धर्म, जाति वा समुदायलाई सामूहिक रूपमा दोषी देखाउने भाषा प्रयोग गर्ने छैनौं। हिंसालाई सामान्यीकरण गर्ने, प्रतिशोध उक्साउने वा अपुष्ट सामग्रीलाई सनसनीपूर्ण बनाउने अभ्यासबाट टाढा रहनेछौं।
३. हामी पीडितको सम्मान, सामाजिक सद्भाव, सार्वजनिक सुरक्षा र नागरिकको सूचनाको अधिकारलाई केन्द्रमा राखेर समाचार, विश्लेषण तथा तथ्यजाँच सामग्री प्रस्तुत गर्नेछौं।
४. अनलाइनखबरको नाम, लोगो वा समाचारको स्वरूप दुरुपयोग गरी फैलाइएका सामग्रीप्रति सचेत रहन पनि पाठकलाई आग्रह गर्दछौं। अनलाइनखबरका आधिकारिक वेबसाइट तथा प्रमाणित सामाजिक सञ्जाल खाताबाट प्रकाशित सामग्रीलाई मात्र आधिकारिक मान्नुहोस्।
५. अहिले समाजलाई थप विभाजन गर्ने होइन, सत्य, न्याय र संवादमार्फत जोड्ने समय हो। फरक धर्म, जाति र समुदायका नागरिक एकअर्काका प्रतिद्वन्द्वी होइनन्; उनीहरू साझा समाज, साझा भविष्य र साझा देशका सदस्य हुन्।
६. हाम्रा सामाजिक सञ्जाल र वेबसाइटमा आउने घृणास्पद, उत्तेजक र समुदायलाई लक्षित गरी गरिने टिप्पणीहरूलाई हामी कडा रूपमा अनुगमन र नियन्त्रण गर्ने अधिकतम् प्रयास गर्नेछौं ।
७. हामी सबैलाई संयम अपनाउन, अफवाह रोक्न, पीडितप्रति संवेदनशील बन्न र सामाजिक सद्भाव कायम राख्न जिम्मेवार भूमिका निर्वाह गर्न हार्दिक अपिल गर्दछौं।
-अनलाइनखबर, १४ साउन २०८३
प्रतिक्रिया 4